पार्टी एकताबारे कुनै दलसँग कुरै नभएको एकीकृत समाजवादीका नेताको दाबी
काठमाडौं : एकीकृत समाजवादीको जारी पार्टी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार खिचडी सरकार भएकाले सहभागी हुन नहुने पक्षमा नेताहरूले आफ्नो धारणा राखेका छन्। शनिवारबाट सुरु भएको स्थायी समितिको बैठकमा ३० जना नेताले आफ्नो धारणा राखिसकेका छन्।
उनीहरूले सरकारले आवश्यक बहुमत पाइसकेकाले समर्थन गर्नुको अर्थ नहुने र यही बेलामा एमालेका केही नेताहरूले पार्टी एकताबारे चलाएको हल्ला चिर्न पार्टी सुदृढीकरण अभियान चलाउन समेत नेतृत्वलाई सुझाव दिएका छन्।
पार्टीका उपमहासचिव गङ्गालाल तुलाधर पत्रकारहरूसँगको कुराकानीमा गठबन्धन, सरकार र पार्टी एकताको विषयमा छलफल भइरहेको जानकारी दिए। उनले पार्टी पुनर्गठन अभियान सुरु गर्ने तयारीमा लागेको जानकारी दिए।
बैठकमा धारणा राख्ने नेताहरूले प्रचण्ड नेतृत्वको सरकार खिचडी सरकार भएको धारणा राख्दै पार्टीले समर्थन नदिए पनि सरकार चल्ने भएकाले सरकारमा सहभागी हुने या समर्थन गर्नेबारे हतार नगर्न सुझाव आएको उनले बताए।
'हिजो सँगै हिँडेका प्रचण्ड प्रधानमन्त्री भएकै कारणले समर्थन दिने विषयमा पनि सुझाव आएका छन्। तर सरकारमा जान हतार गर्न हुँदैन। प्रधानमन्त्रीबाट समर्थनका लागि औपचारिक पत्र आए यसबारे पार्टीले निर्णय गर्न सक्छ।'
उनले एमाले/माओवादी वा जनता समाजवादी पार्टीसँग पार्टी एकता हुन लागेकोबारे हल्ला मात्र भएको र यो केही नेताले हल्ला चलाएको दाबी गरे। उनले बृहत्तर वाम एकताको पहल गर्ने पक्षमा पार्टी रहेको भए पनि कुनै एक पार्टीसँग एकता गर्ने विषयमा छलफल नभएको दाबी गरे।
माधव नेपाललाई राष्ट्रपति बनाउन एमालेले प्रस्ताव गरेको पनि हल्ला मात्र भएको उनको दाबी थियो।
पुष १७, २०७९ आइतबार १५:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।