लुम्बिनी प्रदेशमा सरकारको नेतृत्त्व कसले गर्ने भन्ने विषय अझै टुङ्गिएन
बुटवल: लुम्बिनी प्रदेश सभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। प्रदेश सभाको नवनिर्मित हल दाङको राप्ती उपत्यकामा दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनले सबै सांसदहरूलाई एकमुष्ठ शपथ गराउने कार्यक्रम छ।
लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी ८७ सांसद छन्। १० दल र तीन स्वतन्त्र सांसदको सहभागिता छ।
२९ सिट ल्याएको एमाले प्रदेशको सबैभन्दा ठूलो दलका रूपमा रहेको छ। तर, आइतबार बिहानसम्मको अवस्थामा प्रदेश सरकारको नेतृत्त्व एमालेले गर्छ वा माओवादीले भन्ने निश्चित छैन।
लुम्बिनीमा एमाले र माओवादी गठबन्धनको सरकार बन्ने पक्का भए पनि नेतृत्त्व कसले गर्नेबारे केन्द्रले टुङ्गो लगाएको छैन।
२७ सिट ल्याएर दोस्रो बनेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल बन्ने निश्चित जस्तै छ। त्यस्तै नौ सिट ल्याएको माओवादी प्रदेश सभाको तेस्रो दल हो।
राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना, जसपा, लोसपा र जनमत पार्टीबाट ३/३ जना, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाबाट १/१ जना र तीन जना स्वतन्त्र सांसद छन्। उनीहरूले केन्द्रमा आफ्नो कित्ता प्रष्ट पारे पनि प्रदेशमा कता उभिने भन्नेबारे ठोस निर्णय दिइसकेका छैनन्।
प्रदेश सभाको अधिवेशन प्रदेश प्रमुखले सोमबारको लागि आह्वान गरेका छन्।
पुष १७, २०७९ आइतबार ०९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।