प्रचण्डको नेतृत्वमा सरकार बनाउने बालकोट बैठकमा सहमति, कांग्रेस प्रतिपक्षी दल बन्दै

प्रचण्डको नेतृत्वमा सरकार बनाउने बालकोट बैठकमा सहमति, कांग्रेस प्रतिपक्षी दल बन्दै

काठमाडौँ : माओवादी केन्द्रका नेता वर्षमान पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एमालेसहितको दलको सरकार बनाउने सहमति भएको पुष्टि गरेका छन्। यो सहमतीसँगै दोस्रो दल हुँदा सरकारको नेतृत्व गर्ने अवसर पाएको नेपाली कांग्रेस पहिलो दल बन्दा प्रतिपक्षी हुने भएको छ।

बालकोटमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको बैठकमा माओवादी र एमालेले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने र पहिलो कार्यकालमा माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएपछि देउवा पुन प्रधानमन्त्री बन्ने प्रयास खेर जाने पक्का भएको हो।

बालकोट बैठकमा सरकार बनाउन आवश्यक १३८ मात्रै हैन १५६ को अङ्क गणित निस्किइसकेको छ। बैठकमा नेताहरूबिच सरकारको नेतृत्वबारे सहमति भएकाले अब यता नेपाली काँग्रेसको नेतृत्वमा रहेको गठबन्धनका नेताहरू प्रतिपक्ष दल बन्ने भएका छन्।

काँग्रेसको पक्षमा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी मात्र देखिएका छन्। अन्तमा ६ सिट भएका सिके राउत समेत माओवादी-एमाले गठबन्धनमा सहभागी भएका छन्।

माओवादी-एमाले गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदै छन्। यी चार दल मिलेमा सरकार बनाउन आवश्यक १३८ मध्ये एक सय ४४ पुग्ने छ।

१२ सिट रहेको जनता समाजवादी पार्टीका नेता अशोक राई पनि एमाले अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीमा छलफल गर्ने भनेर बाहिरिएका छन्।

यी पाँच दल मिलेमा बलियो अङ्क गणित १५६ सहितको नयाँ सरकार बन्नेछ। यसमा सिके राउत मिसिए सरकारको अङ्क १६२ पुग्नेछ।

माओवादीले प्रधानमन्त्री लिँदा राष्ट्रपति एमालेले लिनेछ। सभामुखमा स्वतः राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी रहनेछ। उपराष्ट्रपति अनि उपसभामुख अन्य दलले पाउनेछन्। 

पुष १०, २०७९ आइतबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।