नयाँ सरकार गठनमा बालुवाटारमाथि बालकोट हाबी भयो, एमालेले माओवादीको नेतृत्व सकारे काँग्रेस प्रतिपक्षी
काठमाडौँ : गठबन्धनमा सहमति नभएसँगै माओवादी केन्द्रका नेताहरू सरकार बनाउने विषयमा एमालेसँग छलफलमा जुटेपछि नयाँ सरकार गठनमा एमाले अध्यक्ष केपी ओली निवास बालकोट केन्द्र बनेको छ।
आइतबार बिहानसम्म प्रधानमन्त्री निवास बालुवाटार सरकार गठनको केन्द्र बनेको थियो। पहिलो चरणको प्रधानमन्त्री र राष्ट्रपतिमा नेपाली काँग्रेस र माओवादी केन्द्र बिच कुरा नमिलेपछि प्रचण्ड गठबन्धन सकिएको भन्दै सिधै बालकोट गएका थिए।
उनीसँगै बालकोटमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू समेत छन्। यी चार दल मिलेमा सरकार बनाउन आवश्यक १३८ मध्ये एक सय ४४ पुग्ने छ। उता १२ सिट रहेको जनता समाजवादी पार्टीका नेता अशोक राई पनि एमाले अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीमा छलफल गर्ने भनेर बाहिरिएका छन्।
यी पाँच दल मिलेमा बलियो अङ्क गणित १५६ सहितको नयाँ सरकार बन्नेछ। सरकार कसको नेतृत्वमा बनाउने अनि प्रमुख चार पद कसरी भागबन्डा गर्ने सो विषयमा सहमति भएमा यही दलहरूले आज पाँच बजेभित्र नयाँ सरकार गठनको लागि राष्ट्रपति समक्ष आग्रह गर्न सक्नेछन्।
अलमलमा बालुवाटार
पहिलो चरणको प्रधानमन्त्री अनि राष्ट्रपतिको दाबी गरिरहेको माओवादी केन्द्रका नेता बाहिरिएसँगै बालुवाटार भने सुनसान भएको छ।
माओवादी बाहिरिएमा राष्ट्रिय स्वतन्त्र पार्टीसहितको अर्को दलको समेत समर्थन चाहिन्छ काँग्रेसलाई १३८ पूर्याउन। रास्वपा नै बालकोमा गएको र काङ्ग्रेसभन्दा एमाले नेतृत्वमा सरकारमा जान सकारात्मक रहेकाले यदि माओवादीले एमालेको साथ लिएमा वा दिएमा काँग्रेस प्रतिपक्षमा जाने सम्भावना छ।
बालकोट-बालुवाटारको अङ्क गणित
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहमुत दाबी गर्ने समय आज पाँचबजेसम्म दिएकी छिन्।
सरकार बनाउने अङ्कमा बालुवाटारभन्दा बालकोट शक्तिशाली देखिन्छ। बालकोटमा एमाले ७८, माओवादी ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २० र राप्रपा १४ सिट रहेको छ। यसमा जसपा पनि मिसिन सक्छ। जसपा नमिसिए पनि १४४ सिट पुग्ने भएकाले को आधारमा सरकार बन्न सक्छ नै।
कांग्रेसका लागि माओवादी विना नै सरकार बनाउन काँग्रेस ७८, एकीकृत समाजवादी १०, जनमत पार्टी ६, लोसपा ४ र नागरिक उन्मुक्ति पार्टी ३ ले मात्र पुग्दैन।
अहिलेको प्रक्रियामा २ वा २ भन्दा बढी दलले सरकार बनाउने दाबी गर्ने हो। त्यसैले अहिलेको अवस्थामा स्वतन्त्र पाँच सांसदको भूमिका हुन्न।
यो अवस्थामा काँग्रेसको पक्षमा ११२ मात्र पुग्छ। यसमा रास्वपा र जसपा वा राप्रपाको समर्थन नभई सरकार बन्न सक्दैन।
उता बालकोटको बैठकको निर्णय हेरेर यता गठबन्धनको बैठक राख्ने काँग्रेसको तयारी देखिन्छ। बालकोट बैठकमा पनि सरकार कसको नेतृत्वमा भन्नेमा एमाले र माओवादीबिच आआफ्नो दाबी छ।
माओवादीको नेतृत्वमा सरकार अनि राष्ट्रपति एमालेलाई दिएर अन्य प्रमुख तीन पदमा बाँकी दललाई दिने सहमतिसँगै मन्त्रालयको सङ्ख्या फाइनल भएमा बालकोटको बैठक नयाँ सरकार गठनमा निर्णायक भएर काँग्रेस र एकीकृत समाजवादी प्रतिपक्षी दल बन्न सक्छन्।
पुष १०, २०७९ आइतबार १५:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।