चार्ल्स शोभराज छुट्दा मक्ख निहिता, भन्छिन्- ‘तिमी घर जाँदैछौ भन्दा पहिला त पत्याएनन्’

चार्ल्स शोभराज छुट्दा मक्ख निहिता, भन्छिन्- ‘तिमी घर जाँदैछौ भन्दा पहिला त पत्याएनन्’

काठमाडौं : दुई विदेशी नागरिकको हत्या अभियोग पुष्टिसँगै १९ वर्षदेखि नेपालको केन्द्रीय कारागारमा रहेका अन्तर्राष्ट्रिय कुख्यात अपराधी चार्ल्स शोभराज शुक्रबार आफ्नै देश फ्रान्स पुग्ने भएका छन्।

नेपालको कारागारबाट भाग्ने पटक-पटकको प्रयास असफल भए पनि उनी बुधबार सर्वोच्च अदालतबाट आएको आदेशको आधारमा केन्द्रीय कारागारबाट रिहा भए। उनी रिहा भएर केही समय नेपालमा बस्न चाहन्थे। किनकि अदालतले १५ दिनभित्र डिपोर्ट गर्न भनेको थियो।

तर सुरक्षा खतराको आँकलन गर्दै गृह मन्त्रालयले उनलाई सिधै फ्रान्स डिपोर्ट गर्न निर्देशन दिएपछि उनलाई शुक्रबार केन्द्रीय कारागारबाट छुटे लगत्तै अध्यागमन विभाग पुर्याइयाे र आजै बेलुका ६ बजे फ्रान्स डिपोर्ट गरिँदैछ।

केन्द्रीय कारागारमा १९ वर्ष बिताएका चार्ल्स आफ्नो रिहाइबाट पक्कै खुसी छन् नै। उनकी श्रीमतीको रूपमा परिचित निहिता विश्वास पनि निकै खुसी देखिइन् शुक्रबार।

चार्ल्सलाई छाड्न अदालतबाट आदेश आए पनि बिहीबार कतै नदेखिएकी उनी शुक्रबार भने केन्द्रीय कारागार अनि अध्यागमन दुवै ठाउँमा पुगिन्। तर, उनले चार्ल्सलाई भेट्न भने पाएकी छैनन्। बुधबार अदालतको आदेश आएपछि 'तिमी तिम्रो देश जाँदै छौ' भन्दा चार्ल्सले नपत्याएको उनले बताइन्।

'बुधवार म र उ मात्र थियौँ। फैसला आयो। मैले तिमि घर जाँदैछौ भने। तर उसले पत्याएन। अनि मैले अफिसर्सलाई बोलाएर ट्रान्सलेट गरेपछि मात्र उसले पत्यायो,' निहिताले भनिन्।

नेपालको कानूनअनुसार चार्ल्सलाई पहिला नै छाड्नुपर्ने भए पनि अदालतले लम्ब्याउने काम गरेको तर बुधबार सरप्राइजकै रूपमा चार्ल्सलाई छाड्ने फैसला आएको उनले प्रतिक्रिया दिइन्।

अदालतको आदेशपछि पनि उनलाई अन्य कुनै अपराधमा राख्न सकिन्छ कि भनेर बिहीबार छाड्न नमाने पनि अदालतले जुनसुकै केस बाँकी रहे पनि उसलाई छाडेर डिपोर्ट गर्न भनेकाले प्रशासन बाध्य भएको र चार्ल्स डिपोर्ट भएर उसकै देश फ्रान्स जान पाउँदा आफू खुसी भएको उनले बताइन्।

केन्द्रीय कारागारमा उनी १९ वर्षको हुँदा चार्ल्ससँग विवाह गरेको तस्बिर बाहिरिएको थियो। त्यसयता उनलाई चार्ल्सको नेपाली श्रीमतीको रूपमा लिइने गरिन्छ। तर, उनी शुक्रबार चार्ल्स र आफ्नो व्यक्तिगत जीवनबारे भने उनी त्यति धेरै खुलेर बोल्न चाहिनन्।

'तपाईं पनि फ्रान्स जाने हो' भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले यति मात्र भनिन्- 'अहिले मेरा क्लाइन्टहरू छन्। म उनीहरूलाई धोका दिएर जान सक्दिन। पछि के हुन्छ हेर्दै जाऊँ।'

निहिता अहिले अधिवक्ताको रूपमा कानूनी क्षेत्रमा सक्रिय छिन्। २ वर्षदेखि उनी चार्ल्सलाई भेट्न गएकी छैनन्। यसबीचमा उनले बाहिरै विवाह गरिसकेको दाबीहरू समेत आइरहेका छन्। तर, त्यसको स्वतन्त्र पुष्टि भने हुन भने सकेको छैन।

पुष ८, २०७९ शुक्रबार १५:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।