चौथो अंग : समाचारमा सिन्डिकेट चलेको छ, पत्रकार व्यस्त हैन अस्तव्यस्त छन्
२०७२ को विनाशकारी भूकम्पपछिको पुननिर्माणबारे रिपाेर्टिङ गर्न आएका जापानका एक पत्रकारले सहयोग मागे। उनी भूकम्पलगत्तै नेपाल आएर भक्तपुर र काभ्रेपलाञ्चोकको केही स्थानको रिपोर्टिङ गरेका रहेछन्।
त्यतिबेला नै कुरा गरेका नागरिकहरूको नामसहित पुन: त्यहीँ भेटाइदिनुपर्ने भन्दै मलाई आग्रह गरे। ती पत्रकारको बुझाइ थियो, 'भुकम्प गएपछि सरकारी तथ्यांकमा होइन कि नागरिकको जीवनस्तरको पुननिर्माण कति भयो भन्ने रिपोर्टिङ हुनुपर्छ।'
पुननिर्माणपछि बनेका घर र नागरिकको जीवनस्तरमा आएको परिर्वतनबारे हामीले रिपाेर्टिङ गर्याैं र? अँह। हामी फिल्डमा कमै गयौं। हामी भने सिंहदरबारभित्र रहेको पुननिर्माण प्राधिकरणले सार्वजनिक गरेको पुन:निर्माणकाे तथ्यांक छापेर बस्यौं।
पुननिर्माण प्राधिकरणले दिने तथ्यांक बोकेर फिल्डमा गएर क्रसचेक गर्न सकेको भए पूननिर्माणको नाममा भएको बेथिति अनि राज्यले लगानी गरेको स्रोतले भूकम्पपीडितको जीवनस्तर उकास्न सहयोगी भयो या भएन प्रष्ट हुनसक्थ्यो। तर हामीलाई जाँगर चलेन त्यहि काभ्रे अनि सिन्धुपाल्चोकसम्म पुग्ने।
यति घर बनेको दाबी, यति पहिलो किस्ता यतिले पाए अनि उतिले पाए भन्ने तथ्यांकमै हामीले चित्त बुझायौँ। आखिर समाचार सरकारी तथ्यांक मात्रै हो र? पक्कै हैन। यो त समाचार तयार पार्ने प्रारम्भिक स्रोत मात्रै हो नि! तर हामीले प्रारम्भिक स्रोतलाई नै पूर्ण समाचार बनाएर बस्यौँ।
जुनसुकै माध्यमको पत्रकारिता होस् कन्टेन्ट दिन सकेको छैन। माध्यम र त्यसका पाठक हेर्ने हो भने यहाँको भू–राजनीति, जलवायु परिर्वतनले पारेको असर, यहाँको सास्कृतिक विविधता र प्राकृतिक प्रकोपबारे चासो राख्ने अन्तराष्ट्रिय पाठक पनि छन्।
हामीले अंग्रेजी माध्यमको पत्रकारितामा यसलाई ध्यान दिएका छौँ र?
छैनौँ। हाम्रा लागि माध्यम मात्र फरक भयो तर कन्टेन्ट उही। नेपाली माध्यमको पत्रकारितामा जे मुख्य चासोको विषय हुन्छ अंग्रेजी माध्यममा त्यही हुनुपर्छ वा हुन्छ भन्ने हुन्न। तर यहाँ भइरहेको यही छ।
नेपाली माध्यमबाट अंग्रेजीतिर
मैले पत्रकारिता सुरू गरेको दुई दशक पुग्यो। पहिला नेपाली माध्यममै पत्रकारिता गरेको हुँ। पछि अंग्रेजी माध्यममा गए।
पहिला साहारा पत्रिकाबाट सुरुवात गरेको हुँ। त्यतिबेला सुरूवातमा नै सिपी मैनालीको अन्तर्वार्ता लिन पाएको थिएँ। त्यतिबेला सिपी मैनालीको चमकधमक नै अर्को थियो। पहिले राजनीतिक समाचारले प्राथामिकता पाउँथ्यो। यद्यपि नेपाली पत्रकारितामा त्यो शैली अझै बदलिएको छैन।
भारतमा केही समय कान्तिपुर पब्लिकेशनको रिपाेर्टर भएर काम गरेँ। त्यहाँ काम गर्दा अंग्रेजी पत्रकारिता हिन्दीभन्दा धेरै गुणस्तरीय रहेको देखेँ।
त्यहाँका अंग्रेजी माध्यमका मिडिया परराष्ट्र र कुटनीति मामिलामा सरकारबाट प्रभावित त थिए तर अन्य मामिलामा हिन्दीको तुलानामा धेरै माथिल्लोस्तरको सामग्री। तर अहिले त भारतको समग्र मिडियाकै स्थीति दयालाग्दो देखिन्छ।
नेपालमा भारतमा जति अंग्रेजी मिडिया मौलाएन। पहिला त सुरूवाती समयमा यसका पाठक कम थिए। विदेशी कुटनीतिक नियोगका कार्यलयमा मात्रै जाने जस्तो देखिन्थ्यो अंग्रेजी पत्रिका। सोहीअनुसार व्यवहार हुन्थ्यो अंग्रेजी माध्यमका पत्रकारलाई पनि।
तर, पछिल्लो समय अंग्रेजी माध्यमको पत्रकारिताको महत्त्व ह्वात्तै बढेको देखिन्छ। भू–राजनीतिको कारणले अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो देशको राजनीतिक समाचारको चासो बढेको देखिन्छ।
भारत र चीनको बीचमा भएका कारण पनि अन्य शक्तिराष्ट्रले समेत यहाँ हुने गतिविधिमा चासो देखाउँछन्। हामीले यसलाई चिर्ने गरी समाचार प्रकाशन गर्न सकेका छौँ त? नेपालको अंग्रेजी माध्यमको पत्रकारिताले अंग्रेजी माध्यम रुचाउने नेपाली पाठक र विदेशीलाई भरपूर जानकारी हुने समाचार दिन सकेका छौँ त?
यहाँको सामाजिक, आर्थिक, कुटनीतिक सम्बन्धमा हाम्रो अंग्रेजी माध्यमको पत्रकारिताको विकास समयक्रम अनुसार बढ्दै गएको छ की खस्कदै गएको छ? नेपालमै पनि अंग्रेजी माध्यमका पाठक बढेका छन्। तर उनीहरूलाई हामीले हाम्रो सामग्रीप्रति आकर्षित गर्न सकेका छौँ?
नेपालीको अनुवाद जस्ता सामग्री
नेपाली माध्यमको पत्रकारितामा स्रोतदेखि पहिचानको हिसाबले धेरै छिटो समाचार तयार पार्न सकिन्छ। स्रोत बन्छ। केही राजनीतिक घटनालाई ६/७ जनासँग कुरा गरे राम्रै रिपाेर्ट तयार गर्न सकिन्छ। तर, अंग्रेजी माध्यममा पनि यस्तै शैली अपनाउने हो भने त्यो समाचारको स्वाद आउँदैन। नेपालीको अनुवाद जस्तो समाचार बन्छ।
नेपालमा अंग्रेजी माध्यमको पत्रकारिताको सबैभन्दा ठूलो समस्या नै यसैमा देख्छु म। माध्यम फरक भनेको भाषा मात्र फरक हैन शैली पनि फरक हो। विषयको प्राथमिकता पनि फरक हो। विषयवस्तु पनि फरक हो। तर हामीले यो बुझ्ने प्रयासै गरेनौँ।
कतिसम्म भने नेपाली र अंग्रेजी दुवै माध्यमको पत्रिका प्रकाशित गर्ने सञ्चारमाध्यमले त नेपालीमा छापिएकै समाचार अनुवाद गरेर जस्ताको त्यस्तै अंग्रेजी पत्रिकामा समेत छापेको देखियो। यसले माध्यम भनेको अक्षर फरक हुनु मात्रै हो भन्ने भ्रममा रहेको देखियो।
पछिल्लो समय अंग्रेजी माध्यमको पत्रकारिताले यस्ता समस्या केही रियलाइज गरेको हो कि भन्नेसम्म देखिन्छ। अहिले ठ्याक्कै अनुवाद कम आउन थालेका छन्। तर, हराइसकेको छैन।
अहिलेको नयाँ पुस्ता अंग्रेजी पढ्न खोज्छन् तर हामीले अहिलेको युवा समूहलाई लक्षित गरेर कन्टेन्ट दिनै सकेका छैनौँ। तिनै नेताको भाषण छाप्ने अनि युवा पुस्ताले अंग्रेजी माध्यमका पत्रिकै पढेनन् भनेर हुन्छ र?
यत्रो मिडिया छन्। कम्तीमा ४-५ वटा स्टोरी त पढ्नलायक होस् न मज्जाले। तर भेटाइन्न। अंग्रेजी माध्यममा मात्रै हैन नेपाली माध्यमको समस्या पनि यही हो। हामीले कन्टेन्टमा काम गर्नै सकेका छैनौँ। म आफैँलाई यसमा भने रिग्रेट फिल हुन्छ।
दलका नेता जस्तै रूमल्लिए पत्रकार
हामी यति रुम्मलिएका छौँ र कन्सिपरेसी थ्यौरीमा अल्झेका छौँ कि के भन्ने। एउटा उदाहरण, केही समयअघि भारतीय राजदूत तथा विदेशी नियोगका कुटनीतीज्ञले चुनाव सकिएलगत्तै भेटघाट गरे। हामीलाई लाग्यो पक्कै सरकार गठनका लागि दवाव दिन गएका हुन् राजदुतहरू।
हामीले 'सरकार गठनमा विदेशीलाई चासो' भनेर समाचार बनायौँ। भेटघाट गर्नु नै सरकार गठनमा चासो दिएको वा दवाव दिन गएको भन्ने त हुन्न नि। भेटघाटको प्रसंग अनि दुवै पक्षबीच भएका कुराको सन्दर्भ तान्दा त्यही आएको हो भने अर्को कुरा। तर हामी भेटेकै आधारमा लेखिदिन्छौँ चासो र दवाव भनेर। यो हेडलाइनमै सकिने समाचार त लेख्न भएन नि!
त्यसैले काठमाडौंलाई 'क्यापिटल सिटि अफ कन्सिपरेसी थ्यौरी' पनि भनिन्छ। हामी विदेशी आउँदा यस्तै नचाहिने हुइँयामा लागेका छौँ। कुनै अमेरिकी मन्त्री आए उस्तै हुइँया मच्चाउँछौँ।
उनीहरूले यहाँ लैंगिक अल्पसंख्यक, मानव अधिकार, दलित अधिकार विभिन्न विषयमा काम गरिरहेका हुन्छन्। ति अधिकारीहरू यही कामले पनि नेपाल आएका हुनसक्छन्। उनीहरूले नेतादेखि सरकारी अधिकारीसम्म भेट्न सक्छन्।
तर के हो समेत नबुझी हामी विदेशी चलखेल देखिहाल्छौँ। उनीहरूको भ्रमणको उदेश्यको मतलबै हुन्न। २-४ नेता भेटेको तस्बिर मुख्य प्रमाण बन्छ।
हाम्रोमा समाचारको सिन्डिकेट पनि मज्जाले चल्छ। एउटा उदाहरण है।
तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको सवालमा केही दिनमा फैसला आउँदै थियो। केही मिडियाले 'संसद पुनस्थापना हुने सम्भावना न्यून' भनेर प्रमुखताका साथ लेखे। तर केही दिनमा संसद पुनस्थापनाकाे फैसला आयो।
केहीको आशंका या अनुमान नमिल्नु त ठिकै हो। तर सबैतिर एकै एंगलको समाचार आउनु अनि त्यो पनि नमिल्नु सिण्डिकेट हैन र? पत्रकार, नेता अनि कानून व्यवसायी कुनै गुटले चलाएको सिण्डिकेटको सिकार भएको प्रमाण होइन यो?
पत्रकार व्यस्त होइन, अस्तव्यस्त भयौँ
दिनभर स्रोत भेट्यो। बेलुका रिपाेर्टरबीच कुराकानी गर्याे अनि साँझमा समाचार लेख्न हतार हुन्छ। विषयवस्तु बुझ्ने, शंका लागेका मसिना कुराको भेरिफाइ गर्ने समय नै हुन्न। सबै काम सकियो भने पनि मज्जाले लेख्ने समयसमेत पाउँदैनन् नेपाली पत्रकारले।
अनि विहानदेखि बेलुकासम्म व्यस्त देखिन्छन् पत्रकार तर कन्टेन्ट आउँदैन। भनेपछि यो व्यस्त भएकाे भन्दा पनि हामी अस्तव्यस्त भएका हौँ।
अहिले सरकारले ल्याएको अध्यादेशकै कुरा गरौँ न। यसलाई रेशम चौधरी छुटाउन ल्याएको अध्यादेश भनियो। भोलिपल्ट कांग्रेस नेता मोहम्मद आलम पनि जोडिए। अर्को दिन माओवादीको मुद्दा जोडियो। अनि अहिले यो त पहिले पनि ल्याउन खोजिएको थियो पनि लेखियो।
एकै विषय तर दिनकै नयाँ-नयाँ ट्वीस्ट आइरहेको छ। यसले जसले अध्यादेशबारे लेखिरहेका छन् उनीहरूलाई यो किन ल्याएको हो र यसले कुन-कुन मुद्दा प्रभावित पार्छ भन्नेसम्म जानकारी नभई लेखिरहेको देखियो।
हामीले यो अध्यायदेश ल्याउनु गलत कि सही भनेर भनेरसमेत हेर्न सकेका छैनौँ। सिधै शंका गरिरहेका छौँ सरकारी निर्णयमाथि। अदालत, मानवअधिकार, राजनीतिक र पारिवारिक दृष्टिकोणबाट हेरेको भए सबै प्रष्ट हुनसक्थ्यो। सरकारले जुन पक्षलाई सम्बोधन गर्न भनेर अध्यादेश ल्यायो त्यो पक्षसँग सरकारले कहिलेदेखि के-के सम्झौता गरेको थियो भनेर हेरेको भए पनि केही प्रष्ट हुनसक्थ्यो। तर हामीले यो काम गर्न सकेनौँ।
यो एउटा उदाहरण मात्र दिएको अहिलेको तातो विषय भएकाले। एउटा मात्रै हैन प्राय हरेक यस्ता विषयमा हामी बत्तासिएको अनुभव हुन्छ मलाई।
अंग्रेजी माध्यमको पत्रकारिताको समस्या पनि यही नै हो। रिपाेर्टिङ, सम्पादन र प्रिजेन्टेशनमा कामै गर्न सकेनौँ हामीले। अहिले त अर्को समस्या थपियो जनशक्तिको। अंग्रेजी माध्यमका दक्षहरू किन पत्रकारितामा आइरहेका छैनन्? आए पनि दुई-चार वर्षपछि पेशाबाटै किन पलाएन हुन्छन्? यसबारे कसले विवेचना गर्ने?
अंग्रेजी माध्यममा पत्रकारिता गर्नु भनेको एनजिओ/आइएनजिओमा जागिरका लागि पोर्टफोलियो बढाउने वा विदेश जाने माध्यम बनाउन मात्र कोही आएका हुँदैनन्। तर यहाँ सोचिन्छ यस्तै। तर त्यस्तो हैन। अंग्रेजी माध्यममा पत्रकारिता गर्न आउनेहरू पनि यसलाई स्थायी रूपमै पेशा बनाउन भनेर आएका हुन्छन्। तर टिक्ने वातावरणै हुन्न। त्यही बेलामा अन्त अवसर आउँछ अनि जान्छन्।
माध्यमकै रूपमा मात्र केन्द्रित हुने हो भने अंग्रेजी माध्यमको पत्रकारितामा पाठक छन्। यसको बजार पनि छ। समस्या पाठक र बजार नै हैन। समस्या सामग्रीमा हो। हाम्रो सोचाइमा हो। अंग्रेजीमा पत्रकारिता गरे पनि नेपालीमा गरे पनि विषयवस्तु यही नेपालकै हो। तर एकै विषय हैन।
नेपाली माध्यमका लागि जुन विषय महत्त्वपूर्ण हुनसक्छ त्यही विषय अंग्रेजी माध्यमका लागि नहुनसक्छ। त्यसैले अब माध्यमसँगै कन्टेन्टमा सोच बदल्नु जरुरी छ। यदि सोच बदल्न सक्यौँ र माध्यम मात्र फरक हो भनेर जे नेपालीमा आउँछ त्यही अंग्रेजीमा अनुवाद शैलीमा दिने हो भने अवस्था यस्तै हुने हो। माध्यममात्रै हैन पाठकै फरक हुन् त्यसैले सामग्री पनि फरक दिनुपर्छ भन्ने मात्र सोच्ने हो भने पनि अंग्रेजी माध्यमको पत्रकारितामा सुधारको सुरुवात हुनसक्छ।
(साहारा, विमर्श, हिमाल, द हिमालयन टाइम्स, द काठमाण्डु पोष्टसँगै विभिन्न अन्तर्राष्ट्रिय मिडियामा कलम चलाएका भट्टराई अहिले अन्नपूर्ण एक्सप्रेसको सम्पादक छन्। उनैसँग उकेराको लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित)
पुष ५, २०७९ मंगलबार २०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।