कलाकारलाई देखाएर ठगी गर्ने सूर्य कर्पोरेसनको जालोमा परेकी निरु, न जापान पुगिन् न पैसा फिर्ता भयो

कलाकारलाई देखाएर ठगी गर्ने सूर्य कर्पोरेसनको जालोमा परेकी निरु, न जापान पुगिन् न पैसा फिर्ता भयो
सूर्य अवार्डमा जापान पुगेका कलाकार र सूर्य अवार्डका आयोजकले ठगीमा दिएको चेक।

काठमाडौं : राम्रै गैर सरकारी संस्थामा काम गर्थिन गर्थिन् निरु लामा। पढाइ ब्याचलर पास। आम्दानी पनि ठिकै। साथीहरू सबै विदेश गइरहेकै थिए। उनले पनि जापान जाने सोच बनाइन्।

जापानी भाषा सिकिन्। भाषा उर्तिण गरे पनि बैङ्क स्टेटमेन्ट मिलेन भनेर उनको भिसा आएन। विदेश जाने योजनामा उनले नेपालको जागिर छाडिसकेकी थिइन्।

एक पटक असफल भए पनि जापान जान्छु नै भन्ने भयो उनलाई। २०७६ सालको सुरुवाततिर फेसबुक चलाउँदै गर्दा सूर्य कर्पोरेसनको फेसबुक पेज देखिन्।

विभिन्न साङ्गीतिक अनि पुरस्कार कार्यक्रमभन्दै उसले नेपालबाट विभिन्न कलाकारलाई विभिन्न देश लैजाने गर्थ्यो। उनले फेसबुक पेज फेला पार्दा पनि भर्खरै कार्यक्रम गरेको तस्बिर थियो।

विदेश जाने हुटहुटीले उनले कर्पोरेसनमा सम्पर्क गरिन्। सूर्य कर्पोरेसनका कर्मचारीले निरुलाई डिल्लीबजारको आफ्नो कार्यालयमा बोलाए। उनी डिल्लीबजार पुगिहालिन्।

‘विदेश जाने हुटहुटी भएपछि नेपालमा अवसरै नदेखिँदो रहेछ। जापानको भिसा नलागेर हैरान भएको म फेरि एक पटक कोसिस गर्ने सुरमा थिए,’निरुले उकेरासँग भनिन्, ‘सूर्य कर्पोरेसनले बोलाएपछि गइहाले।’

१२ लाख पैसामा चाहिन्छ भनेपछि...

निरु तीन पटक पुगिन् सूर्य कर्पोरेसन लिमिटेडको कार्यालय। भेट भइन् मिरा नाम गरेकी स्टाफ, शम्भु लामिछाने र वासुदेव लामिछाने। तीनै जनाले भिसा लाग्ने त्यसका लागि १२ लाख चाहिने बताए उनलाई।

निरु राजी भएर भिसाका लागि चाहिने कागजात छाडिन्। एक महिना बित्यो। दुई महिना बित्यो। तर भिसाको सुरसार भएन।

उनलाई फेरि भनियो, ‘१२ लाख दिनु अनि मात्रै भिसा लाग्छ।’ उनले १ लाख २० हजार बुझाइसकेकी थिइन्। उनलाई त्यहाँका कर्मचारीले १२ लाख नसके ६ लाख दिनु भने।

उनले त्यत्रो पैसा जुटाउन नसक्ने बताइन्। गाउँकै एक जना दाइ पर्नेलाई सोधिन् पनि। उनले भिसा नलगाई पैसा नदिनु भनेका थिए। 

कलाकार र पत्रकार विदेश लगेर कार्यक्रम गर्ने 'अवैध' सूर्य कर्पोरेसनमा छापा मार्दा चर्चित कलाकारका पासपोर्ट भेटियो

६ महिना कटेपछि भने उनले आफ्ना डकुमेन्ट सबै निकालिन्। अनि बुझाएको १ लाख २० हजार फिर्ता मागिन्।

‘उनीहरूले एकोहोरो ६ लाख भए नि दिनु भनेपछि मैले दिन नसक्ने भन्दै ओरिजिनल डकुमेन्ट सबै फिर्ता लिएँ। उनीहरूसँग मैले बुझाएको १ लाख २० हजार पनि मागेँ,’ निरुले भनिन्, ‘उनीहरूले चेक त दिए तर अहिलेसम्म साटिएको छैन।’

न पैसा आयो न भिसा

२०७६ सालमा पैसा बुझाएर भिसा नआएपछि लिएको चेक साटिएन। चेक नसाटिएपछि उनले शम्भु लामिछानेसँग सम्पर्क गरिन्। उनीहरूले चेक साटिदिने त भने तर साटिदिएनन्। विश्वव्यापी कोभिड महामारीका कारण घरमै बस्नुपरेपछि पैसाको लागि फलोअप गर्न नसकेको निरुको गुनासो छ।

‘कोभिड १९ को महामारीपछि सम्पर्क हुन सकेन। मसँग अझै पनि चेक छ। उहाँहरूले मेरो भिसा त लगाउनु भएन नै पैसा पनि फिर्ता दिनु भएन’ निरुले भनिन्।

सुरुवाती देखि नै निरुको भिसा लगाउन सहयोग गर्ने बताएका वासुदेव लामिछानेलाई उकेराले प्रश्न गर्दा आफूलाई यो कारोबार थाहा नभएको र आफू नयाँ समूहमा रहेको भन्दै कसको कति तिर्नुपर्ने हो कार्यालयमा गएर भन्न भन्दै म्यासेज गरे।

अमेरिकामा रहेका लामिछानेले फेसबुक म्यासेन्जरमा भने, 'हजुर अफिस जान भन्दिनुस् नै है के हो कुरा। कहिले कोसँग कारोबार भएको हो। म अहिले नयाँ समूहमा छु। कार्यालयमा रिकभर गरिदिनुहुन्छ।’

उनलाई उकेराले तपाईँहरूको कर्पोरेसनबारे छापिएको समाचारबारे तपाईँको धारणा के भन्दा अहिलेसम्म जवाफ दिएका छैनन्।

इभेन्ट र ट्राभल्सको नाममा ठगी

सूर्य कर्पोरेसनको फेसबुक पेज हेर्ने हो भने उ सबैभन्दा प्रतिष्ठित कम्पनी जस्तै भान पर्छ। हरेक वर्ष उसले विभिन्न नाममा विभिन्न देशमा नेपालका प्रतिष्ठित कलाकारहरू लगेर साङ्गीतिक र मनोरञ्जन क्षेत्रसँग सम्बन्धित पुरस्कार कार्यक्रमहरू आयोजना गर्ने गरेको थियो।

उकेराले केही दिन अघि उसको अवैध धन्दा सार्वजनिक गरेको थियो। उकेराले प्रकाशित गरेको समाचारकै आधारमा निरुलाई हाम्रो सम्पर्कमा आएकी हुन्।

सूर्य ट्राभल्स कम्पनीको रूपमा दर्ता भएर कसैलाई विद्यार्थी भिसामा त कसैलाई पर्यटन भिसामा विभिन्न देश लैजाने भनेर पैसा उठाउन सक्रिय देखियो।

ठगीमा कलाकार सहयोगी

वैदेशिक रोजगार विभागले उसको कार्यालयमा छापा मार्दा २० बढी राहदानी फेला पारेको थियो जसमा अधिकांश अहिलेका चर्चित कलाकारहरूको थियो।

उसले जापानमा साकुरा नाइटको नाममा साङ्गीतिक कार्यक्रम गर्न नेपाली कलाकारहरू तस्बिर राखेर प्रचार गरिरहेको थियो। चर्चित ९ जना कलाकार लिएर नेपालसहित १२ देशमा म्युजिकल टुर गर्ने प्रचार सामाग्रीमा उल्लेख छ।

सूर्य अवार्डमा सहभागी कलाकार। 

प्रचार सामाग्रीमा उल्लेख भएअनुसार जनवरीदेखि डिसेम्बरसम्म जापान, दुबई, मलेसिया, जापान, कोरिया, बेलायत, युरोप, क्यानडा, अमेरिका र भारतमा कार्यक्रम गर्ने उल्लेख छ।

साकुरा नाइट कार्यक्रममा गायिका समीक्षा अधिकारी, मिलन नेवार, शिव परियार, प्रशान्त तामाङ, कमेडियन सन्दीप क्षेत्री, कार्यक्रम सञ्चालक नरेश भट्टराई, कमल खत्री, मेलिना मैनाली र नायिका नम्रता सापकोटाको नाम छ। सो कम्पनीले अस्ट्रेलियामा डिसेम्बर २१ देखि ३१ सम्म कार्यक्रम गर्ने तयारी गरेको देखिन्छ।

सूर्य कर्पोरेसनले आफ्नो मानव तस्करीको धन्दालाई सहज बनाउन मनोरञ्जनात्मक कार्यक्रम अनी फिल्मी अवार्ड भनेर प्रतिष्ठित कलाकारहरूलाई प्रयोग गर्ने गरेको देखिन्छ। अनी विदेश घुम्न पाउने र पुरस्कृत हुने लोभमा प्रतिष्ठित कलाकारहरु समेत सहजै प्रयोग भएको देखियो।

प्रतिष्ठित अनी चर्चित कलाकारहरुले आयोजकको पृष्ठभुमी नहेरी कार्यक्रममा सहभागी हुने, चलचित्र विकास बोर्ड नै सहयोगी बन्दा ठगी धन्दाका सञ्चालकहरुलाई प्रतिष्ठित आवरण लिन सहज भएको छ नै अनी निरुजस्तैलाई ठग्न सफल भइरहेका छन्।

गैर कलाकारहरूसँग पैसा लिने अनि कार्यक्रम आयोजकको टिमको सदस्य बनाएर विदेश लगेर उतै छाड्ने उसको कार्यशैलीले देखाउँछ। यो विद्यमान नेपाली कानुन अनुसार अवैध मानव ओसारपसारमा पर्छ। तर गम्भिर अपराध हेर्ने प्रहरी युनिटले समेत चासो राखेको देखिदैन।

ट्राभल कम्पनीले भिजिट भिसा भन्दा अन्य भिसा लगाउन सक्दैन। उसले त्यही ट्राभल्सकै आवरणमा काम गर्दै आएको थियो। सूर्य कर्पोरेसनले विदेशमा नेपाली फिल्मको वितरण, सूर्य इन्टरनेशनल अवार्ड र साकुरा नाइट्स कार्यक्रमको आयोजना गर्ने गरेको उल्लेख छ।

उसले यस अगाडि २ पटक सूर्य इन्टरनेशनल अवार्ड कार्यक्रम आयोजना गरिसकेको देखिन्छ। तेस्रो पटक सन् २०२३ मा कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको थियो। बिगेस्ट कलिउड अवार्ड दाबी गरिएको कार्यक्रमको नोमिनेशन कार्यक्रम जापानमा, घोषणा दुबइमा र कार्यक्रम अमेरिकामा गर्ने उल्लेख छ। उसले सन् २०१८ र सन २०२० मा जापानमा सूर्य इन्टरनेशनल अवार्ड गरेको थियो जसमा चर्चित र प्रतिष्ठित कलाकारहरूलाई जापान लगेको देखिन्छ।

उसको अपराध कार्यशैली हेर्ने हो भने कलाकारहरूमाझ गैर कलाकारहरू राखेर अवैध रूपमा पैसा असुल्ने गरेको देखिन्छ। उसले सन् २०१६ र सन् २०१७ मा जापानमा साकुरा नाइट्सको आयोजना गरेको देखिन्छ।

यसले सन् २०१६, २०१७, २०१८ र सन् २०२० मा भएका कार्यक्रममा जापान गएकाहरूको सूची र फर्किएकाहरूको सूची हेर्ने हो भने उसले कार्यक्रमको आवरणमा गरिरहेको मानव तस्करी खुल्न सक्छ।

झारा टार्दै वैदेशिक रोजगार विभाग

केही दिन अघि वैदेशिक रोजगार विभागले छापा हान्दा कार्यालयमा २२ थान राहदानी फेला पारेको थियो। ६ जना सेवाग्राहीले आफू ठगीमा परेका भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा जानकारी दिएपछि विभागले छापा मारेको थियो।

वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य पर्यटन मन्त्रालय अन्तर्गतको भएकाले आफूहरूले कर्पोरेसनलाई कारबाही गर्न नमिल्ने दाबी गरे। जबकि उसले अधिकांशसँग विदेशमा काम लगाइदिन्छु भनेर पैसा लिएको विभिन्न प्रमाणले पुष्टि गरिरहेको छ।

यो वैदेशिक रोजगार ठगीमा समेत पर्छ। अझ ट्राभल्सको आवरणमा काम लगाउँछु भनेर विदेश पठाउनु थप गम्भीर अपराध हो। सूर्य कर्पोरेसनको आधिकारिक अनलाइन पोर्टल हेर्ने हो भने पनि उसले ट्राभल्सको मात्र काम नगरी जापानका लागि कामदार भिसाको समेत काम गर्ने गरेको पुष्टि हुन्छ।

अमेरिकाको पाँच वर्षको भिसा लगाइदिने, जापानमा विद्यार्थी भिसामा लगेर सो भिसालाई वर्किङ भिसामा बदलिदिने जस्ता आश्वासनहरू राखिएका छन्।

तर विभाग भने शृङ्खलाबद्ध ठगीमा संलग्न देखिएको कम्पनी आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै तर्किरहेको छ।

‘कर्पोरेसन ट्राभल एन्ड टुर रहेछ। हामीले कारबाही गर्न मिल्दैन। तर वैदेशिक रोजगारको नाममा ठगी भएको पाइयो। यसै आधारमा हामीले पक्राउ पनि गर्यौ। जो-जो पीडित हो उहाँहरूले पर्यटन मन्त्रालयमा जानकारी गराए हुन्थ्यो।’

पुष ४, २०७९ सोमबार २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।