व्यवसायी विष्णु राईको प्रसव पीडा र खुसी: नौ महिनामा बच्चा जन्मन्छ भन्ने समेत थाहा थिएन
काठमाडौंः खोटाङमा जन्मिएकी विष्णु राई पेशाले व्यवसायी हुन्। उनले कहिले बुनाइको व्यवसाय गरिन्, कहिले क्याम्पसहरुमा होटल चलाइन्।
विभिन्न व्यवसायमा हात हालेकी उनि अहिले भने ब्वाइज होष्टल सञ्चालन गरेर बसेकी छन्। तीन सन्तानकी आमा हुन् विष्णु राई। १२ वर्षदेखि श्रीमानसँग छुटेर बसेकी उनको औपचारिक सम्बन्ध विच्छेद भने भएको छैन। साना छोराछोरीको जिम्मेवारी एक्लै वहन गरेकी विष्णु राईले आफ्नो प्रसव पीडा र खुसी उकेरासँग सुनाइन्ः
खोटाङमा मेरो जन्म भएपनि जन्मेको ठाउँमा खासै बसिन। पाँच वर्षको पुगेपछि छ्यामा (सानीमा) को घर लुक्ला बसें। मेरो अध्ययन त्यहीँ भयो। लुक्लापछि म सिधै काठमाडौं आएँ।
मेरो मामा, हाम्रो गाउँबाट र खानदानबाट नै काठमाडौं आएर सेटल हुने पहिलो व्यक्ति हुन्। काठमाडौंमा मामासँगै बसें। यसरी सानैदेखि कहिले छ्यामाको घरमा त कहिले मामाको घरमा बस्नुको कारण मेरो पारिवारिक समस्या हो।
राईहरुको कुलदेवतालाई त रक्सी नभई हुँदैन, मान्छेले छाड्ने कुरै भएन। मेरो बाबा शूरवीर राई, रक्सीको कुलतमा फस्नुभएको थियो। बाबाले आमा (दिल कुमारी राई) लाई रक्सीले मातेको समयमा सधैं कुटपिट गर्नुहुन्थ्यो। अहिले बाबा त बित्नुभयो, आमा भने बुढेसकालको जिन्दगी बिताइरहनुभएको छ।
बाबाले सधैं दुःख दिएकाले मामाले आमालाई काठमाडौं ल्याउनुभयो। आमासँगै म पनि काठमाडौं आएँ। छ्यामाको घरमा ६ कक्षासम्म पढेकी थिएँ। काठमाडौंमा आएपछि मामाघरबाट पढाउन खोज्नुभएको थियो।
केहि दिन विद्यालय पनि गएकी हुँ, तर यताको विद्यार्थीसँग घुलमिल हुनै सकिन। पहाडमा पढेको र यता पढेको स्तर नै नमिल्ने रहेछ। साथीहरूदेखि नै लाज लाग्थ्यो, त्यसैले स्कुल जानै मन लागेन।
सानैदेखि धागोबाट मोजा, स्विटर लगायतका सामानहरु बुन्थें, त्यसैमा ध्यान गयो। काठमाडौं आएपछि बुनाइबाटै पैसा कमाउन थालें। त्यतिबेला म त्यस्तै १३ वर्षजतिको थिएँ।
मेरो आमाको सात दिदीबहिनी। मामाहरु पनि टन्नै। खोटाङका हाम्रा आफन्तहरु आएपछि बस्ने ठाउँ हाम्रै मामाघर। मामाहरुसँगै तुल राई पनि मामाघरमा आउजाउ गर्ने रहेछन्। त्यही आउजाउको क्रममा मलाई देखेर मन पराएछन्। मेरो स्वभाव भने धेरै नबोल्ने, आफ्नै सुरमा बस्ने थियो, अहिले पनि त्यस्तै छ। केटा मानिसहरुदेखि बोल्न खासै राम्रो लाग्दैनथ्यो।
त्यो समयमा राती १० बजेपछि कर्फ्यु लाग्थ्यो। त्यसैले परिवारका सबै सदस्य जता गएपनि १० बजेअघि घर आइपुग्थे। रातको साढे नौ बजेको थियो होला, डाइनिङ टेवलमा परिवारको सदस्य सँगै खाना खाँदै थिएँ। त्यही समयमा रमेश दाइ (आफन्त) आउनुभयो र मलाई घर बाहिर जान आग्रह गर्नुभयो।
घरमै बस्ने कपडामा थिएँ। रातको समयमा बाहिर निस्कन मन लागेको थिएन। तर धेरै कर गर्नुभयो। खाना खाँदाखाँदै बीचमै छाडेर म घरबाहिर गएँ।
घर तल ट्याक्सीमा तुल बसिरहेको रहेछ। एकजना बहिनी, शशीलाई कपडा किन्न पर्यो हिँड भनेर तुलले मलाई कर गर्न थाल्यो। धेरै कर गरेकाले म ट्याक्सीमा चढें।
ट्याक्सी चढेपछि उसले एउटा कोठामा लग्यो। अब तँ यही बस्ने हो भन्यो। चन्द्रकला र शशी भन्ने दुईजनालाई मेरो हेरचाह गर्न राख्यो।
त्यो समयमा म १४ वर्षकी थिएँ। खान मन लागेको कुरा किनिदिन्थ्यो, लगाउन मन लागेको कपडा ल्याइदिन्थ्यो। केही काम गर्न पर्दैनथ्यो, बसीबसी सबै काम हुन्थ्यो। चुंगी खुब खेल्थें। यति धेरै माया पाइयो कि, मैले सबै कुरा भुलें। १५ दिनसम्म मलाई घर बाहिर निस्कन दिइएन।
पछि बिस्तारै थाहा भयो, मलाई त भगाइएको रहेछ। फिर्ता लैजाने भन्ने कुरा पनि भएको थियो, पछि खै के भयो, आधिकारिक रुपमा म तुलको श्रीमती भएर बस्न बाध्य भएँ। अरुको नजरबाट हेर्दा मैले मन पराएर भागेर बिहे गरेको जस्तो देखियो, तर म यो विषयमा आफैं अन्जान थिएँ।
बिहे भएको एक वर्षपछि म गर्भवती भएँ। त्यो समयमा १५ वर्षकी थिएँ।आफैं बच्चा थिएँ, बच्चा पाउने भएको कुरा लामो समयसम्म पनि थाहा भएन।
बच्चा पेटमा आएको रहेछ र पो, म बिरामी भएँ। रिंगटा लाग्ने, ज्यान भारी हुने, वाकवाकी लाग्ने, जतिबेला पनि सुत्न मात्रै मन लाग्ने। पेटमा पानीको थोपा समेत अडिदैनथ्यो। खाना खान मनै लाग्दैनथ्यो। एकदमै समस्या भएपछि अस्पतालमा जाँच गर्न गइयो। टिचिङ अस्पतालमा जाँच गराउँदा बल्ल म गर्भवती भएको थाहा भयो।
चिकित्सकले के भनेको थियो मैले चाल पाइन, सायद नौ महिनामा बच्चा जन्मन्छ भन्यो होला। मलाई भने बच्चा पेटमा आएको नौ महिना भयो भनेको जस्तो लाग्यो। बाहिर आएर बच्चा नौ महिनाको भयो रे भनें। सबैजना हाँस्नुभयो।त्यतिन्जेलसम्म मलाई नौं महिनामा बच्चा जन्मन्छ भन्ने समेत थाहा थिएन।
गर्भावस्थामा हेरचाह गर्ने कोही आफन्त थिएनन्। भागी विवाह भएकाले आमा रिसाउनुभएको थियो। उहाँले सात पर्षपछि मात्रै घर बोलाउनुभएको हो। यता, श्रीमानको पनि कान्छी आमा, त्यसैले हामीलाई खासै वास्ता गर्नुहुन्थेन।
सिकाउने मानिस पनि कोहि भएनन्। आफैं बच्चा थिएँ। धेरै कुरा ख्याल गर्न नसकेर बिरामी हुन्थें। बच्चा पेटमा आएको सात महिनासम्म केहि खान मन लागेन, सास धान्नै मुस्किल पर्योम। खाना नखाएर बेहोस हुन्थें। अस्पताल लगेर स्लाइन पानी चढाएपछि मात्रै होस आउँथ्यो।
सात महिनापछि भने बल्ल खाना रुच्न थाल्यो। धेरै पछि रुचेकाले होला, भात एकदमै मनपर्ने। थालमा दिएको आँखै लाग्थेन, बाटामा भात लिएर बस्थें। तर हेरेरै अघाउँथें। जति धेरै खान मन लागेपनि केहि गाँसमै अघाइहाल्थें। घरबेटी आमा अहिले पनि बाटामा खाना खाँदाको कुरा गर्नुहुन्छ।
उमेर नपुगेकाले बच्चा जन्माउन धेरै गाह्रो भयो। अरू धेरै त जान्दिन, त्यो समयमा पाँच सय जाने दुईओटा सुई हानिएको थियो। पाठेघरको मुख सानो भएकाले बच्चा जन्माउन मुस्किल परेको भनिएको थियो। खासमा डाक्टरहरूले अपरेसन गरेर बच्चा निकाल्न खोजेका रहेछन्। तर मेरो श्रीमान मान्नुभएनछ।
नर्मल डेलिभरी भयो तर यति धेरै ज्वरो आयो कि, तीन दिनसम्म अस्पतालमै भर्ना गरेर राखियो। हिँडडुल गर्न लामो समयसम्म गाह्रो भयो, पाइलै सार्न मिल्दैनथ्यो।
पहिलो सन्तान छोरी जन्मिइन्। त्यो समयमा मलाई म आमा भएँ, यस्तो-त्यस्तो केही अनुभूति भएन। बस, बच्चा पेटबाट निस्कियो, हल्का भयो भन्ने मात्रै भयो। अस्पतालबाट घर फर्कँदा ट्याक्सी ड्राइभरले ‘लौ, बच्चाले बच्चा पाएर के गरेको होला,’ भनेको मेरो कानमा अहिले पनि गुन्जिरहन्छ।
त्यसपछि बच्चा कसरी हुर्काएँ भन्ने खासै याद छैन। मेरो घरभन्दा एकपट्टि नेवार परिवार बस्नुहुन्थ्यो। उहाँहरुले हामीलाई छोरा९बुहारी मान्नुहुन्थ्यो। त्यही आमाले धेरै कुरा सिकाइदिनुभयो।
बच्चा सानै भएपनि मेरो चाख बुनाइमा थियो। गाडीको रुट थाहा थिएन। हामी चावहिल, सरस्वती नगरमा बस्थ्यौं। हिँडेर अनामनगर, भाटभटेनी नजिक धागो लिन आइपुग्थें। बच्चालाई बोकेर त्यत्रो बाटो हिँडेर धागो लिएर फर्कन्थें। अनि कपडा बुन्थें। कपडा बुनेरै ३५ सय, ४ हजार कमाइ गर्थें।
श्रीमान् खै कता के काम गर्नुहुन्थ्यो कुन्नि, उहाँले न मलाई पैसा दिनुहुन्थ्यो, न माग्नुहुन्थ्यो। पाँच वर्षपछि फेरि गर्भवती भएँ। पुरानै व्यथा बल्झियो। पहिलो बच्चाको समयमा सात महिना गाह्रो भएको थियो भने दोस्रो बच्चाको समयमा चार महिना धेरै गाह्रो भयो।
खाना रुचेपछि शरीरमा तागत आउने भएकाले खाना मात्रै खान मन लागे सजिलो हुने रहेछ। दोस्रो सन्तान सिनामंगलको एक अस्पतालमा जन्माएँ। उस्तै पिडा भयो। तर पहिलो सन्तान जन्माउँदाको अनुभवले दोस्रो बच्चा जन्माउँदा अलि सहज भयो। दोस्रो सन्तान पनि छोरी जन्मिइन्।
पहिलो बच्चा कसरी हुर्कियो थाहै भएन। दोस्रो बच्चाको समयमा भने म केही हदसम्म परिपक्व भइसकेको थिएँ। जान्ने बुझ्ने भएकी थिएँ। जिन्दगीमा उतार चढावहरु सुरु भयो। श्रीमान् सँगै हुँदा एक किलो गोलभेंडा समेत किनेर ल्याएनन्। विदेश गए पैसा कमाउलान् कि भन्ने सोचें। विदेश पठाएँ।
विदेश गएपछि श्रीमानले मैले चाहेको जस्तो कहिल्यै गरेनन्। मेरो नागरिकता नबनेकाले भाइको नाममा पैसा पठाउनुपर्थ्यो। एकपटक ६ हजार पठाएछ। लिन जाँदा भाइले गाली गर्यो, यति पैसा लिएर किन इज्जत फालेको भनेर। श्रीमानले विदेश गएको ऋण भने तिरे।
एक्लैले बच्चाहरू हुर्काएँ। उनले वैदेशिक रोजगारीमा गएपनि आर्थिक सहयोग केहि गरेनन्। कमाइ भएन भन्थे। यही समयमा मैले विभिन्न विद्यालयमा क्यान्टिन चलाएँ। स्कुलको फिस एकदमै महंगो थियो। मेहनत गरेर बच्चाहरूलाई विद्यालय भर्ना गरेकी थिएँ। छ्यामाको घरमा बसेकाले भाडा तिर्न पर्थेन। श्रीमान् पाँच वर्ष, तीन वर्ष, गर्दै धेरै देशमा रोजगारीको सिलसिलामा आउजाउ गरे।
पैसा पनि नपठाउने, श्रीमती घरबाट बाहिर ननिस्कियोस् भन्ने सोच। यो कस्तो खालको माया हो, मैले थाहा पाउनै सकिंन। श्रीमानको माया सम्झेर रातभर रुन्थें। पछि केहि सहयोग गर्दैन भने नाम मात्रै किन राख्ने श्रीमानको भन्ने भाव पलायो।
दुई छोरी जन्मेपछि समाजले फेरि छोराका लागि प्रेसर दिन थाल्यो। एकपटक कान्छी छोरी खेलिरहेकी थिइन्। उनले खेल्दा पुतलीलाई भाइ बनाएकी थिइन्। एक आफन्तले के भनिन् भने, भाइ मन परेर के गर्नु, भाइ पाउन त भाग्यमा हुनुपर्छ। यो कुरा सुनेर धेरै चित्त दुख्यो।
कान्छी छोरी ६ बर्षको हुँदा जसरी पनि एउटा छोरो जन्माउने निर्णय लिएँ। छोरो भएपछि श्रीमान् पनि सुध्रेलान् कि भन्ने आश थियो। पिडा उस्तै, मैले तेस्रो बच्चा पाटन अस्पतालमा छोरा जन्माएँ।
छोरा जन्मेपछि समाजको बोली त बन्द भयो तर श्रीमानसँगको सम्बन्ध राम्रो भएन। पछि सधैंका लागि नेपाल बस्ने गरेर उनी आए।
बिहान उठ्ने बित्तिकै अरुलाई चिया चाहिए जस्तै मेरो श्रीमानलाई रक्सी चाहिन्थ्यो। रक्सी खान्थे, झगडा गर्थे। एकपटक त हातै उठाए। कपाल लुछेर झण्डै मारेनन्। त्यो पछि मेरो मन सधैंका लागि मर्यो । तीन बच्चा लिएर छुट्टै बसें।
अहिले जेठी छोरी सिम्रन २२ वर्षकी भइन्। उनी ब्याचलर्स पढ्दैछिन्। कान्छी छोरी १८ वर्षकी भइन्, उनी १२ कक्षामा पढ्छिन्। १२ बर्षको भएको छोरो ६ कक्षामा पढ्छ।
श्रीमानसँग औपचारिक रुपमा छुटेको छैन। सुन्छु, धेरै रक्सीले क्यान्सर भएको छ रे। आफन्तहरु भेट्न बोलाइरहन्छन्। तर, मलाई उसको अनुहार हेर्न मन छैन। क्यानसरको अन्तिम स्टेज भएकाले डाक्टरले डेट पनि दिएको छ रे। माया मरेछ क्यारे, जे भएपनि भेट्न जान मन छैन।
पुष ३, २०७९ आइतबार १७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।