चौथो अंग : पत्रकारिता गरेर रवीश कुमार हैन विनोद चौधरी बन्न चाहनेहरू नेपाली मिडियामा हावी भए
पत्रकारितामा आउनेहरू के बन्न आएका हुन्? अर्बपति?, राजनीतिज्ञ, दलाल, विचौलिया या पत्रकार? अहिलेको मुख्य प्रश्न नै यही हो। पत्रकारिता गर्ने पत्रकार हुनका लागि हो। यसमा कुनै दुईमतै हुनसक्दैन। तर, नेपालको पत्रकारितामा संलग्नहरू केवल पत्रकार बन्नका लागि मात्रै पत्रकारिता गरिरहेका छन् त?
एउटा उदाहरणबाट सुरू गर्छु म।
मंसिर ४ को प्रतिनिधिसभा अनि प्रदेशसभाको निर्वाचनमा केही टेलिभिजनले क्षेत्रमै गएर उम्मेदवारहरूसँग बहस चलाए। उनीहरूको उम्मेदवार भेला पारेर बहस गरे। त्यो बहसको प्रश्नको शैली हेर्ने हो भने उनीहरूले सत्तालाई भन्दा प्रतिपक्षलाई बढि केराकार गरेको देखियो। प्रश्न सोध्ने कसलाई भन्नेमा अलमल देखियो।
अझ केही पत्रकारले त उम्मेदवारसँग ‘यति पैसा’ दिनु, तपाईंलाई सुविधा हुने प्रश्नहरू सोध्छु' भनेर ‘बार्गेनिङ’ गरेको सुनियो।
अब यो कस्तो पत्रकारिता? जसले यस्तो गरे नि उनीहरू पत्रकारिताका लागि मिडियामा छन् या अन्य स्वार्थका लागि? यसले पत्रकारितामा ठूलो विसङ्गती देखियो। नेपाली पत्रकारितामा कतै यस्तै विसङ्गती थोपरिरहेका पत्रकारहरू नै बढि हावी पो हुने हुन् की भनेर डर पो लाग्छ मलाई।
पत्रकारितामा प्रश्न कसलाई सोध्ने भन्ने हुन्छ नि! प्रश्न पीडितलाई हैन पीडकलाई हो सोध्ने। तर, यहाँ पीडितलाई उल्टो प्रश्न सोध्ने काम भइरहेको छ।
हामीले मधेसमा विरोध भएको देख्छौँ। तर, भएको दमनबारे सत्तापक्षलाई प्रश्न सोध्न सक्दैनौँ। सामाजिक, राजनीतिक र धार्मिक सत्ताको भाषा किन बोल्छन् अधिकांश मिडिया?
यसो भन्दै गर्दा नेपाली पत्रकारले प्रश्नै नउठाएको पनि हैनन्। नेपालमा सत्तापक्षलाई विना हिच्किचाहट प्रश्न सोध्ने भारतीय पत्रकार रवीश कुमार जस्ता पत्रकार पनि छन्। तर, सत्तासँग प्रश्न गर्ने मामिलामा मूलधारको पत्रकारिता संक्रमित देखिन्छ।
सत्ताको गम्छा ओढेको नेपाली पत्रकारिता
सर्लाही मेरो पुर्ख्यौली जिल्ला। मेरो ठूलो बुबाको आफ्नै पुस्तकालय थियो। मैले त्यहाँ भारतीय पत्रकार गणेश शंकर विद्यार्थीबारे पढेँ। उहाँले पत्रकारितासँगै समाज रूपान्तरणमा पनि लाग्नुभएको थियो। हिन्दु मुसलमान दंगामा उहाँको हत्या भयो।
एक पत्रकारले कसरी अंहिसाको माध्यमबाट समाज रुपान्तरणको लागि काम गर्न सक्छ भन्नेमा उहाँबारे लेखिएको लेख मार्फत बुझ्न पाएँ। त्यही पुस्तकमा हस्तलिखित पत्रिका कसरी निकाल्न सकिन्छ भन्नेबारे पनि उल्लेख थियो। त्यहीबाट प्रभावित भएर हामीले हस्तलिखित पत्रिका निकाल्यौँ 'ग्राम'।
१२ पानाको त्यो पत्रिका १ सय प्रति निकालिन्थ्यो। काठमाडौं आएपछि भने मैले गोरखापत्र पाठक पत्र लेख्न थालेँ। ४६ सालदेखि निरन्तर पत्रकारितामा सक्रिय छु। देशान्तर, राष्ट्र पुकार र हिमालमा लामै समय रिर्पोटिङ गरेँ।
गान्धीको अहिंसा आन्दोलनको पक्षधर भएका कारण मलाई पत्रकारिताले भुईंमान्छेको आवाज बोल्न प्लेटफर्म दिन्छ भन्ने लागिरह्यो। जहाँको समस्या लेख्ने हो त्यही बसेर पत्रकारिता गर्नुपर्छ भन्ने भएर वीरगञ्जलाई आफ्नो कार्यक्षेत्र पनि बनाएँ।
हामीले पत्रकारिता गर्दा र अहिले धेरै फरक भइसक्यो। प्रविधि र लगानी बढेसँगै पत्रकारितामा बिट पत्रकारिता मौलाएको छ। कुनै विषयमा केन्द्रीत भएर समाचार लेख्न सक्ने र त्यसैमा विज्ञता हासिल गर्न सक्ने स्थानमा पुगेका छन् अहिलेका पत्रकार।
पहिले एकै पत्रकारले फिल्मदेखि राजनीतिसम्मका विषयमा लेख्नुपर्ने अवस्था थियो। अहिले 'बिट' त्यसमा पनि 'उपबिट'हरू देखिन थालेका छन्। जसले गर्दा गहिरा रिपोर्टिङ भइरहेको छ। पत्रकारिताको डिस्कोर्ष बदलिएको छ। एउटै बिटमा काम गर्न पाउने सुविधाले पत्रकारले आफूले रिपोर्टिङ गरेको क्षेत्रबारे किताबै लेख्न सक्ने हैसियत बनाएका छन्। यो पत्रकारिताको सु:खद पक्ष हो।
अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले समेत हाम्रो पत्रकारितामा धेरै आयमहरू भेटाइरहेका छन्। हामीले बेस्ट प्राक्टिस गरिरहेका छौं।
वैवाहिक बलात्कारको कानून ल्याउँदा खिस्याउने मिडियाले विस्तारै महिलाको मुद्दामा गम्भीर हुँदै गएको देखिन्छ। मिडियाले आफूलाई परिपक्व बनाउँदै लगेको देखिन्छ।
राज्य पुर्नसंरचना भएसँगै स्थानीयदेखि प्रदेश सरकार बनेका छन्। भलै मिडिया आफू संघीय संरचनामा गइसकेका छैनन्। तर अवसरै खोज्ने हो भने समाचारका लागि हाम्रो देश उर्वर भूमि हो।
जहाँ घटना घटेको छ त्यहाँ गएर फिल्ड रिर्पोटिङ जानेहरू बढे। तर, तराई जानेहरू हिमाल उक्लेको देखेको छैन मैले। यहि चुनावमा पनि ग्राउण्ड जिरो भनेर तराई त छिरे पत्रकार तर हिमाल गएनन्। हिमाली क्षेत्रको दु:ख दर्दको कथा आएकै छैन।
तर, यसमा विकृति नै नभएका होइनन्। विकृतिबारे केही प्रष्ट पार्छु।
सत्ताको जहिले पनि मिडिया हुन्छ। पञ्चायतकालमा पनि थियो। ४६ साल पछि पनि थियो। अहिले पनि छ। पत्रकारिता सत्ताको मफलर अनि गम्छा भएको पनि देखिन्छ।
प्रदेश अनुसार काम के भएको छ तर मिडियाले हस्तक्षेप गर्न सकेका छैनन्। भारतमा प्रान्तैपिच्छे पत्रिका र अनलाइन हावी छन्। हाम्रोमा यो ४ वर्षमा प्राक्टिस गरेको देखिएन।
सरकारी मिडिया हाउसले अवसर दिएर पत्रकारितालाई पक्षघातको सिकार बनाइरहेका छन्। कसरी भने, सरकारको लगानी भएकाले सरकारअनुसार चल्यो सरकारी मिडिया। जनताअनुसार काम भएन।
पत्रकारहरू माथिदेखि तलसम्मै सरकारी लाभमा केन्द्रित भए। पालिका प्रमुखको समेत सल्लाहकार बनेका छन् पत्रकार। अनि यसरी समाचार आउँछ त?
अर्को तराईका पत्रकारलाई बढि शंकाको दृष्टिले हेर्छन्। यसमा कुनै तुक देख्दिन। तराईलाई मौजा ठान्ने प्रवृत्ति आजको होइन हिजो देखिकै चलन हो। यसमा सम्पादक किन चुक्थे र? रिर्पोटरबाट उपहार लिने सम्पादक भएपछि उपहार ल्याउनेले केही न केही त गर्याे होला नै।
जसरी केही पत्रकारले सत्तालाई कसेर प्रश्न सोधेका छन्, त्यसरी नै सत्ताको गम्छा ओढेका पत्रकार पनि हावी हुँदै गइरहेका छन्। कहिलेकाहिँ डर लाग्छ सत्ताको पत्रकार हावी हुन् कि भनेर। यसमा पत्रकारले बेलैमा सोच्नु आवश्यक छ।
स्रोतले बार्गेनिङ गर्न थाले
पत्रकार सत्तासँग सम्मोहित हुनु खतरनाक संकेत हो। सत्तासँग संशयित हुनुपर्छ पत्रकार। राम्रो काम भएको छ भने पनि किन भइरहेको छ तीन पटक सोच्नुपर्छ। त्यस्तै अर्को सत्ताको भक्ति गर्ने पत्रकार पनि बढिरहेका छन्। भक्तहरूले तथ्यहरूलाई आफू अनुकुल प्रयोग गरिरहेका छन्। यसले पाठक/दर्शक/स्रोता ठगिएका छन्। सचेत गराउनुपर्ने मिडियाले नै भ्रमित बनाइरहेका छन्।
जुनसुकै शासक भए पनि सँधै अवसर पाउने एउटा वर्ग हुन्छ। पत्रकारको जिम्मेवारी त्यसरी लाभ लिने समूहलाई प्रश्न गर्ने अनि शंकाले हेर्ने हो नि! सत्ताको रवैया प्रति प्रश्न गरिरहन्छ असल पत्रकारले। जो मिडियाको पहुँचमा छैन, सम्पादकलाई चिठी लेख्न सक्दैन, राम्रोसँग आफ्नो कुरा राख्न सक्दैनन् पत्रकार त्यहाँ पुगेर प्रश्न बोकेर आउनसक्नुपर्छ। अनि त्यही प्रश्न सत्तालाई गर्न सक्नुपर्छ। तर, त्यस्तो हुन सकेको छैन।
मिडियाले सत्ताको कर्कश आवाज सुनाइरहेको छ भुइँकालाई। तर, हुनुपर्ने पत्रकारले भुइँको आवास सत्तालाई सुनाउनुपर्ने हो नि!
पत्रकारले बुझ्न पर्ने के हो भने, ‘मैले जुन लिङ्ग लिएर जन्मिए त्यसलाई समाजले कस्तो ट्रिट गरिरहेको छ? जुन भुगोलमा जन्मिए राज्यले कस्तो ट्रिट गरिरहेको छ? अगाडिको कालखण्ड कस्तो थियो? यसबारे जान्न जरुरी छ। धरातल सम्झियो भने पत्रकारिता राम्रो हुन्छ। नत्र पत्रकारिताले लिक छोड्छ।'
विभिन्न मिडियामा काम गर्ने साथीहरूले खोज पत्रकारिताको अभ्यास गरिरहनुभएको पनि छ। खोज पत्रकारिता प्रभावशाली हुँदै गएको पनि छ। तर, चुनौती पनि उत्तिकै बढेको छ।
एक जना पार्टीको नेताको नागरिकताबारे लेख्ने पत्रकारलाई साइबर बिग्रेडले आक्रमण गरिरहेका छन्। समाचार लेखेको आधारमा प्रश्न आइरहेका छन्। तर, उत्तर दिनुपर्ने तर ती नेताले हो नि!
यसले हाम्रो समाजले खोज पत्रकारितालाई त्यति रुचाएको पनि देखिँदैन। प्रश्न सही छ कि छैन भन्दा पनि त्यो पत्रकारले किन लेख्यो? त्यसले पहिले के गरेको थियो? भनेर भए-नभएका प्रतिक्रिया दिने क्रम बढेका छन्।
अहिले खोज पत्रकारितालाई हौस्याउने भन्दा हतोत्साहित गर्ने जमात बढिरहेको छ। सार्वजनिक व्यक्तिबारे प्रश्न उठेको छ भने त्यसलाई मिनिमाइज गरेको देखिन्छ। यो काम पत्रकारबाटै पनि भएका छन्। यो अहिलेको पत्रकारिताको नयाँ चुनौती हो।
अहिलेको पत्रकारको अर्को चुनौती भनेको प्रविधि मैत्री हुन नसक्नु पनि हो। मल्टीमिडियामा पोख्त हुन जरुरी छ अब। समय र सन्दर्भ अनुसार अपडेट भइरहनुपर्ने पेशा हो पत्रकारिता। समाजलाई प्रभाव र दबावमा पार्ने मिडियमहरू बदलिएका छन्। तर ती मिडियममा पत्रकार अपडेट हुन सकिरहेका छैनन्।
नयाँ-नयाँ सन्दर्भ आउँछन् नै। तर, मूल कुरा हामी स्वयं आफ्नो पेशाप्रति कति इमानदार छौँ भन्ने नै हो। पत्रकारिता गरेर के बन्ने? विनोद चौधरी बन्न खोजेको हो कि रवीश कुमार? यसमा प्रष्ट हुन जरुरी छ।
रवीशकुमार बन्न खोजेको हो भने पत्रकारिता सहि पेशा हो। अब विनोद चौधरी बन्न खोजेको हो भने पत्रकारिता सहि पेशा हैन। त्यसका लागि व्यापार गर्नतिर लाग्नुपर्छ। पत्रकारितामा लाग्ने तर व्यापारको दृष्टी हेर्ने गर्यो भने के हुन्छ? अहिले भइरहेको समस्या यही हो कि भन्ने लाग्छ।
पत्रकार आफैँले जादु गरेर सूचना ल्याउने हैन। यसका विधि छन्। पत्रकार माध्यम मात्र हुन् बदमासी सार्वजनिक गर्ने। कसै न कसैले पत्रकारलाई सहयोग गर्नैपर्छ सूचनामा। त्यसलाई स्रोतका रूपमा बुझ्छौँ हामी। तर अहिले स्रोत पत्रकारसम्म आइपुग्ने भन्दा फाइल लिएर बसेर अर्को पक्षसँग बार्गेनिङ गर्ने क्रम बढेका छन्।
यस्तो हुनुमा हाम्रो विश्वसनियता खस्कँदै जानु पनि कारण होला। पत्रकारलाई सूचना दियो भने उसले पनि बार्गेनिङ नै गर्ने हो बरु मै गरौँ भन्ने गलत सन्देश पो पुगिरहेको छ कि?
सम्पादक हराउँदै गए
एनडिटिभी हेर्नुको कारण त्यहाँ रवीशकुमार छन् भन्नेले धेरै प्रभाव पारेको थियो। 'प्राइमटाइम' हिट हुनुमा त्यसका सञ्चालकले जनतालाई हैन सत्तालाई प्रश्न गर्छन् भन्ने थियो। त्यसैको प्रभावले एनडिटिभीको साख बढ्यो। रवीशकुमार सत्तालाई प्रश्न गर्नसक्ने एक्ला भारतीय पत्रकारको रूपमा उदाए।
नेपाली पत्रकारितामा सम्पादक हराउँदै गएको देख्छु म। वास्तविक सम्पादक एकदमै थोरै देख्छु। अहिले सम्पादकको नाममा कति मिडिया चलेका छन्? कुनै स्रोता वा दर्शक वा पाठकले फलानो सम्पादक भएकाले त्यो रेडियो सुन्छु वा त्यो टेलिभिजन हेर्छु वा त्यो अनलाइन वा पत्रिका पढ्छु भनेको सुनिन्छ र अहिले?
मैले त सुनेको छैन। बरु पहिला कुन मिडिया हो भन्ने भन्दा पनि कुन मिडियामा कुन व्यक्ति सम्पादक छन् भन्नेको प्रभाव देखिन्थ्यो। अहिले त्यो हुन नसक्नुको कारण सम्पादक कमजोर बन्दै जानु हैन र? हाम्रो मिडियामा पनि रवीशकुमार नभएका हैनन्। तर उनीहरू हावी हुन सकिरहेका छैनन्।
पत्रकारिता व्यवसाय मात्रै हैन यो समाज रुपान्तरणको संवाहक पनि हो। बरु पत्रकारको च्यादर थोत्रो होस् तर दागैदाग नहोस्।
समग्रमा, नेपाली पत्रकारिता मिश्रित देखिन्छ अहिले। सत्तालाई निरन्तर प्रश्न गर्नेहरू पनि यही छन्, सत्ताप्रति सम्मोहित भएका पनि यही छन्। तर, अहिले भक्तहरू हावी भइरहेका छन्। जब सत्ताभक्ती हैन सत्तालाई प्रश्न गर्नसक्ने पत्रकारहरू हावी हुनसक्छन्, त्यही विन्दुबाट पत्रकारिताले सही लिक समात्न सक्छ।
(देशान्तर, राष्ट्र पुकार र हिमालमा लामै समय रिर्पोटिङ गरेका चन्द्रकिशोर अहिले स्तम्भकारका रूपमा परिचित छन्। उनैसँग उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानीमा आधारित)
चौथो अंगका पुराना श्रृंखला
मंसिर २७, २०७९ मंगलबार १७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।