१३ वर्षदेखि पुलमुनि बसेका महेन्द्र : भएको जग्गा कोसीले लग्याे, बास खोस्न महानगर आयो
काठमाडौं : बुधबार दिउँसो एक हुल नगरप्रहरी र आफूलाई पत्रकार भन्ने केहि युट्युबर मोबाइल, क्यामेरा र बुमसहित महेन्द्र यादवको घर गए। घरमा ताल्चा लगाइएको थियो।
नगरप्रहरीको साथमा भएका युट्युबरहरूले मोबाइलमा हेर्दै घर देखाउँदै थिए। त्यतिकैमा आइपुगे महेन्द्रको छोरा। नगरप्रहरीलाई देख्नेबित्तिकै उनि आत्तिए अनि नमस्कार गरे।
उनलाई देखेर एक नगरप्रहरीले भने तिम्रै हो यो घर? उनले ‘हो’ भने। त्यसपछि ढोका खोल्न लगाएर पुरै हुल त्यो साँघुरो घरमा भिडभाड गर्दै गए। महेन्द्रको छोराले न उनीहरूलाई रोक्न सके, न केहि भन्ननै सके।
त्यसैबीच ती हुलबाट आवाज आयो, ‘ए हे! यहाँ त है। वारपार घरै पो रहेछ।’
कुना–कुना चहारेर सात दिनभित्र घर खाली गर्न ठाडो निर्देशन दिँदै उनीहरू त्यहाँबाट निस्किए। न उनीहरूले वार्ताको कुरा गरे, न व्यवस्थापन सम्बन्धी नै।
घरपरिवारलाई मजाक बनाइयो
जो कोहि पनि पुल नजिकबाट जान्छन् उनीहरू पुलुक्क त्यो घरमा आँखा लगाउन पुग्छन्। बाटोमा हिड्ने जो कोहि पनि ‘यहि हैन त्यो घर !’ भन्दै हिड्छन्। अनि हरेक मिनेटमा कोहि न कोहि आफू प्रेसबाट भन्दै मोबाइल लिएर जबर्जस्ती घरभित्र पस्न खोज्छन्। प्रेस कार्ड देखाउन आग्रह गर्दा उल्टै झोक्किएर हतार–हतार मोबाइल अन गरिहाल्छन्। उनीहरूलाई पस्न नदिँदा टहराको प्वाल–प्वाल बाट मोबाइल छिराएर खिच्दा रहेछन्।
‘हिजो त्यति धेरै मान्छे घरभित्र आए। त्यसपछि जो पनि प्रेस भन्दै मोबाइलले खिच्दै आउन थालेका छन्। अझ एक हप्तामा घर खाली पनि गर्नुपर्ने रे! त्यसरी एक्कासी अर्काको घर आएर खाली गर भन्दैमा कसरी गर्नु? महेन्द्रको माइलो छोरा(नाम नबताउने शर्तमा) भन्छन्, ‘हाम्रो जाने ठाउँ भएको भए हामी पनि यस्तो साँघुरो ठाउँमा चिसिएर किन बस्थ्यौं र?’
भर्खरै १२ को परीक्षा दिएर बसेका रहेछन् उनी। कामको सिलसिलामा खाडी जाने उनको तयारी छ। मेन पावर घुम्दाघुम्दै थाकेर बसिरहेका उनी नगरप्रहरी र ती युट्युबरसँग सँग रुष्ठ छन्। बिहीबार दिउँसो उकेराकर्मी उनको घर पुग्दा महेन्द्र र उनी मात्र थिए घरमा।
सन्चो नभएको कारण उनको आमा भने दिदीकोमा बस्दै आएकी छन्। बिदाको दिन भएर महेन्द्र पनि घरमै भेटिए। जो पनि मिडिया÷प्रेसबाट भन्दै घरभित्र छिरेर कुना–कुना खिच्न आएको देखेर उनी पनि विक्षिप्त भएका रहेछन्। महेन्द्र त मिडियाकर्मी घरभित्र आउला भनेर बाहिरै बसेर बोलिरहेका थिए। अनि कसैलाई जबर्जस्ती घर भित्र छिर्न नदिन उनको छोरा भने ढोकैमा बसिरहेका थिए।
१३ वर्षदेखि पुलमुनि नै परिवारको बास
पहिला त महेन्द्र बोल्न खोजेनन्। तर, बाहिर उभिँदा उभिँदा थाकेको भन्दै उनले हामीलाई घरभित्र आउन आग्रह गरे। तर, साइडमा थिए उनको छोरा। नगरप्रहरी र मिडियाकर्मीहरू आउँदा महेन्द्र काममै थिए। उनले सबै कुरा छोराको मुखबाट र मोबाइलबाट थाहा पाएका रहेछन्। महेन्द्र यस क्षेत्रमा बस्न थालेको करिब ३५ वर्ष भयो अनि पुलमुनि मात्रै बस्न थालेको चाहिँ १३ वर्ष भयो। यतिका समयमा न उनलाई कसैले खोजे न कसैले अर्को ठाउँमा सारे।
पुलनजिकै भएको राधा कृष्ण मन्दिरको सम्पूर्ण रेखदेख महेन्द्रले नै गर्ने रहेछन्। त्यहाँको सरसफाई गर्नेदेखि त्यहाँको सुरक्षाको सम्पूर्ण जिम्मा उनैमा छ। महेन्द्र घरको जेठा छोरा हुन्। उनीहरूको सुनसरीमा धेरै जग्गा थियो रे। तर, जंगल फडानी गरेर गाउँमा बस्ती नै सिर्जना गरेको बसेको उनीहरूको आफ्नो नाममा भने केहि पनि भएन रे। त्यसपछि आफैँले सिर्जना गर्नुपरेको गाउँमा पनि उनको परिवारको सुकुम्बासी भएर भएर बस्नुपर्यो।
आमा महेन्द्र सानैमा हुँदा बितेका कारण बाबाले अर्को आमा ल्याइन्। त्यै भएर उनले सात कक्षाभन्दा बढि पढ्न पनि पाएनन्। त्यसपछि महेन्द्रले गाउँकै दाइसँग गाडी चलाउन सिकेका रहेछन्। उनी हेभी गाडीहरू पनि चलाउँछन्। उनले केहि वर्ष त्यहाँ ट्रक चलाएर गुजारा गरे।
‘कोशी कट्या थ्यो अनि मेरो त्यहाँ केहि पनि बाँकी भएन। त्यो ऐलानी जग्गा पनि हाम्रो रहेन,’ भावुक हुँदै महेन्द्रले सुनाए।
त्यतिखेर उनको भर्खरै मात्र विवाह भएको रहेछ। अनि उनी आफ्नो केहि पोको सामान र श्रीमतीलाई लिएर कामको खोजीमा काठमाडौं आए।
टहरा भत्काइएपछि पुलमुनि नै फ्याकिदिएका थिए सामान
उनी काठमाडौं आउँदा धोबीखोलामा थुप्रै टहरा थिए। महेन्द्र र उनको श्रीमती पनि त्यहि टहराको लहरामा आफ्नो टहरा बनाएर बसे। केहि समय त्यत्तिकै बसे, केहि समय प्लास्टिक बेरेर बसे। अनि केहि–केहि समय जस्ताले बेरेर टहरा बनाएर बसे। सिंहदरबार नजिकै भएकाले उनले मन्त्रालयमा काम पनि पाए। उनी अहिले पनि सरकारी कर्मचारी नै हुन् तर, ज्यालादारी। उनी सडक विभागमा विभिन्न कर्मचारीहरूको गाडी चलाउने गर्छन्।
धोबीखोलाको टहरामा बस्दा पनि उनलाई धेरै पटक हटाउन खोजे। तर, वरिपरि छिमेकमा उनको राम्रो सम्बन्ध भएको कारण छिमेकीले उनको लागि बोलिदिन्थे। उनको पाँच जना सन्तान छन्। सबै यतै जन्मेका र हुर्केका।
‘म त सात÷आठमा पढ्थेँ होला। हाम्रो बाबा बाहिर जानुभएको बेला हाम्रो सबै जस्ताको टहरा भत्काएको थियो। सामानहरू सबै खोलामा फाल्दिएका थिए अनि केहि भने यहि पुलमुनि हुत्याइदिएका हुन्। मलाई अहिले पनि याद छ,’ लामो समयसम्म महेन्द्रसँग गफ गरेको सुनेर उनको छोराले भने, ‘त्यतिखेर हामीसँग खानको लागि पनि केहि थिएन। बाबा नभएको बेलामा हाम्रो घर भत्काउँदा छिमेकी अंकलले दिएको खाना खानुपरेको थियो।’
त्यतिखेर पुलमुनिको केही माटो मन्दिरको लागि भन्दै खन्न थालिसकेको थियो। अनि त्यसै सामानसँगै सधैका लागि उनको परिवार पनि पुल मुनिनै बसे। पुलमुनि बस्न लायकको ठाउँ बनाउन महेन्द्रलाई तीन वर्ष लाग्यो। सबै माटो खने पछि, माटो, हिलो, फोहोर हटाएर जस्ताले बेरेर बसे। पिलर पुलकै भएको कारण त्यो भने बनाइराख्नु परेन।
पुलमुनि बसे पनि बाटोलाई छोएनन्
अनि उनले बाटोमा नछुने गरेर आफ्नो परिवारलाई त्यतै व्यवस्थित गरे। साँघुरो, अँध्यारो, चिसो र होहल्ला भएको कोठामा वर्षौंदेखि उनीहरूले आफूलाई ढाल्दै आए। त्यसैबाट महेन्द्रको एउटा छोरी विवाह गरेर पनि गए। उनको अहिले नातिनी पनि छन्।
‘हाम्रो मम्मीको नाममा चाहिँ ३ कठ्ठा जग्गा रहेछ। तर, दिदिको बिहे गर्नुपर्दा दाइजोमा त्यो जग्गा बेच्नुपर्र्योे,’ महेन्द्रको छोराले सुनाए।
नगरप्रहरीले उनलाई त्यसठाउँमा पार्क बनाउने बताएका रहेछन्। तर, त्यसै पुलको पारीपट्टिको ठाउँमा भने माटो सहितको झारहरू थुप्रिएर बसेको छ। पुलको ढलान उनीहरूको घरको छाना हो। अनि पुल को पिलरनै पक्की भित्ता।
महेन्द्रले अहिलेसम्म पनि भुइँमा प्लास्टर गर्न सकेका छैनन्। भित्र इट्टा हालेको पनि धेरै भएको छैन रे। बत्तीको लागि भने नजिकैको छिमेकबाट सवामिटर हालेर काम चलाएका छन्। अनि फोहोरको र पानीको पैसा भने बकाइदा आफ्नै नाम बाट तिर्छन्।
अहिले पुलमुनि आफूले वर्षौंदेखि मिहेनत गरेर बस्न लायक बनाउँदै गरेको घर खाली गर्न भनेको खबर सुनेपछि छोराछोरीको पढाइमा नराम्रो असर गरेकोले उनी चिन्तित छन्।
‘पढ्ने बेलामा छोराछोरी सबैलाई आफ्नो घरको बारेमा भन्दै हिँड्नुपरेको छ। पछि उनीहरूलाई काम पाउने गाह्रो होला कि भन्ने लागेको छ मलाई त। श्रीमतीको स्वास्थ्य अवस्था पनि सञ्चो छैन,’ महेन्द्रले भने।
सरकारी जागिरे भनेर भन्दै गर्दा अहिले पनि ज्यालादारीकै काम गर्नु परेकोले आफ्नो समस्या कसैले नबुझेको उनको गुनासो छ। उमेरले उनले छ दशक पार गरिसके। जसमध्ये आधा जिन्दगी काठमाडौं र यहि पुल वरपर समर्पण गरिसके। आफ्नो बल, मिहेनत यतै पोखिसके। तर, यस्तो बेलामा काठमाडौंले आफ्नै ठाउँमा फर्किएर जा भनेकोमा उनलाई चित्त दुखेको छ।
‘जबसम्म बसिन्छ अपराधीलाई जस्तो नहेरियोस्’
‘अब हेरौँ अहिलेसम्म केहि लिखित जवाफ आएको छैन। सरकारी जागिरेको ड्राइभर नै भए पनि अलि–अलि नियम कानून त हामीलाई पनि थाहा छ। अब मेयरले नै आएर हाम्रो व्यवस्थापन गरेको छु भन्यो भने जान्छु,’ उनले भने, ‘यत्तिकै आएर खाली गर भनेको कुरामा त निस्कने कुरा भएन नि! नत्र सुनसरीबाट हाम्रो क्षेत्रको सञ्चारमन्त्री भएको ज्ञानेन्द्र कार्कीसँग कुरा गर्न जान्छु। यहाँको पत्रकारहरूले मेरो परिवारको चरित्र हत्या गरेको बारेमा कुरा राख्छु।’
यहाँबाट विना व्यवस्थापन निकाले भने उनी सुनसरी नै जाने सोचमा छन्। पछिल्लो समय काठमाडौंमा जातीय विभेदलाई लिएर कुरा उठिरहँदा उनलाई पनि आफू ‘मधेसी’ भएको कारण निकाल्न खोजेको हो कि भन्ने लागेको सुनाए।
जे–जस्तो भए पनि आफू यहाँ बसुन्जेलसम्म बाटोमा हिँड्ने पैदलयात्रीहरूले अपराधीलाई जस्तो नहेरोस्। आफ्नो बच्चाहरू पुलमुनि हुर्किए पनि राम्रो संस्कारमै हुर्किएका छन् भनेर स्पष्टिकरण दिइराख्नु नपरोस् अनि कोहि पनि प्रहरी र पत्रकार भन्दै सिधै आफ्नो घरभित्र नपसोस् भन्ने चाहन्छन् उनी।
मंसिर २२, २०७९ बिहीबार २२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।