ब्याच नम्बर ६९ : दूतावासका कर्मचारीलाई गोली हानेपछि पाकिस्तानी अधिकारीले रिसाउँदै भने 'भिड्ने भए बैंकक आउँ'
नेपालमा मारिएका मिर्जादिलसाद बेगदेखिकै घटनामा कुनै न कुनै रूपमा भारतीय सुरक्षा निकायका व्यक्तिको कुनै न कुनै संलग्नता खुलेकै थियो। त्यो यूनुस अन्सारी हत्या प्रयासको घटनासम्म पनि जोडियो।
मिर्जादेखि हालसालैको लाल मोहम्मद हत्याको घटनासम्म हेरौँ। यो बिचमा ७-८ जना एकै खालको आपराधिक शृङ्खलामा मारिए। रोक्न सकिएन। र प्रहरीको मात्र जिम्मा हो भनेर बस्ने हो भने यो शृङ्खला रोक्न पनि सकिँदैन।
जमिम शाह हत्यालाई नै हेरौँ न। जमिम मिडिया चलाएको व्यक्ति अनि व्यापारी पनि। प्रभावशाली नेताहरूसँग उठबस थियो उनको। नेपाल सरकारको अवकाशप्राप्त सह-सचिवको छोरा पनि। तर उनको हत्याउँदा सामान्य व्यक्ति मारिए जस्तै व्यवहार भयो। गम्भीर देखिएन सरकार।
यस्तो घटनामा 'अनि प्रहरीले के गर्यो त' भन्ने गरेको सुनिन्छ। प्रस्ट भए हुन्छ यस्तो घटना केवल सुरक्षा सङ्गठनका सदस्यले चाहेर मात्र नियन्त्रण सम्भव छैन। यसमा राजनीतिक तथा कूटनीतिक सक्रियता र प्रतिबद्धता नै चाहिन्छ।
यस्ता घटना किन र कहाँबाट भइरहेका छन् भन्नेमा कुनै अन्योल नै छैन। जुन विषयमा अन्योल छैन त्यस विषयको समस्या समाधान गर्न नसक्नु सरकारको कमजोरी हो। फेरि सरकारलाई दोष भने जस्तो लाग्ला। हो सबै कुरा सुरक्षा सङ्गठनको क्षमतामा हुन्न। कुनै विषय उच्च तहको राजनीतिक अनि कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने पनि हुन्छ। यी आपराधिक शृङ्खला यस्तै प्रकृतिका हुन्।
हाम्रा लागि जुन विषय गैर कानुनी र हाम्रो देशका लागि सुरक्षा चुनौती देखिन्छ त्यही घटना अर्को देशको सुरक्षासँग जोडिएको पनि हुनसक्छ। नेपालमा जुन खालको हत्या शृङ्खला चल्यो त्यो हाम्रो लागि गैर कानुनी नै हो। तर भारतका लागि राष्ट्रिय सुरक्षा पनि हुनसक्छ।
उनीहरूले किन यस्तो अप्रेशन चलाइरहेका छन्? उनीहरूले खोजेको प्रतिबद्धता के हो भन्ने विषय केवल सुरक्षा सङ्गठनले मात्र पहिल्याउन सक्दैन। पहिल्याए पनि उनीहरूले खोजेको प्रतिबद्धता सुरक्षा सङ्गठनले मात्रै पुरा गर्न नसक्ने पनि हुन सक्छन्। यस्तैका लागि त हो चाहिने उच्चस्तरीय राजनीतिक अनि कूटनीतिक संवाद।
उनीहरूले सरकारको प्रशासनिक हैन राजनीतिक र कूटनीतिक तहबाटै कुनै विषयमा प्रतिबद्धता खोजिरहेका हुन सक्छन्। यस्तोमा हाम्रो सरकारले ' कोही नेपालीले नेपालमा बसेर भारत विरुद्ध गतिविधि गरिरहेको प्रमाण छ भने लेउ हामी कारबाही गर्छौँ' भनेर भन्न सक्नुपर्छ। उनीहरूले प्रमाण दिए भने अनुसन्धान गरेर संलग्न देखिए कारबाही गर्नु पनि पर्छ।
यदि उनीहरूले प्रमाण दिन सकेनन् केवल शङ्काको आधारमा मात्रै यस्तो गतिविधि गरिरहेको हो भने 'हाम्रो देशको नागरिक मर्दा हामी मौन बस्न सक्दैनौ ' भनेर प्रस्ट अडानसहित भन्न सक्नु पनि पर्छ।
यस्ता विषय राजनीतिक र कूटनीतिक उच्चतहमै उठायो भने समाधानको उपाय पनि निस्कन सक्छ। तर हाम्रोतर्फबाट न उनीहरूलाई विश्वस्त बनाउन सकेको देख्छु म न त प्रमाणविनाको अप्रेसनमा दह्रोसँग आपत्ति नै जनाउन सकेको देखिन्छ।
यस्तो पाराले यस्ता खालका अपराधको शृङ्खला रोकिने देख्दिन म त।
अर्को समस्या भारत र पाकिस्तानको प्रोक्सीवारमा नेपालको भूमि प्रयोग हुनु पनि हो। प्रोक्सिवारमा कहिले कूटनीतिक तहमा त कहिले खुफिया एजेन्सी तहमा नेपालको भूमिको प्रयोग भइरहेको देखिन्छ पनि।
केही वर्ष अगाडि काठमाडौँको महाराजगन्जमा नेपालस्थित पाकिस्तानी दूतावासका द्वितीय सचिव तहका अधिकारीमाथि गोली प्रहार भयो। त्यो घटनाले बाहिर न देखिएता पनि भारत र पाकिस्तानबिच ठुलै तनाव निम्त्याएको थियो जसको प्रत्यक्ष साक्षी म थिए।
त्यो बेलामा दूतावासको भिसा शाखाका कार्यरत मेहवुव असीममाथि महाराजगन्जमा रहेको कार्यालयमा आउनेक्रममा नारायण गोपाल चोकको पश्चिम तिरको उकालोनिर गोली प्रहार भयो। उनी मोटरसाइकलमा आएका थिए। उनीहरूले टाउकोको अनुमानै गर्न सकेनन्।
सुटरले उनलाई समातेर टाउकोमै पेस्तोल राखेर गोली हानेका थिए। मोटरसाइकलमा आइरहेका उनलाई केही व्यक्तिले रोकेरै गोली हाने। योजना हत्याकै थियो। टाउको र हेलमेटको आकार अनुमान गर्न सकेको भए टाउकैमा गोली लाग्ने थियो। तर उनीहरूले हेलमेट र टाउकोको आकार अनुमानै गर्न सकेनन्। टाउकैमा ताकेर गोली हाने पनि हेलमेटमा लाग्यो र ज्यान जोगियो। सामान्य घाइते भए।
घटनामा २ जना संलग्न रहेको देखियो। नारायण गोपाल चोकमा सिसिटिभी पनि राखेको रहेछ। तर त्यो बिग्रिएको रहेछ। त्यो चलेको अवस्थामा भएको भए अनुसन्धानमा निकै सजिलो हुन्थ्यो।
अनुसन्धान गर्दै जाँदा घटनामा प्रयोग भएको मोटरसाइकल नम्बर खुल्यो। केही समयपछि मोटरसाइकल कान्ति बाल अस्पताल अगाडि भेटियो। ट्र्याक कुकुर ल्याएर मोटरसाइकल सुँघायौँ। कुकुर दौडँदै दौडँदै रिङ रोडसम्म पुग्यो। त्यसपछि कुकुरले ट्र्याक गर्न सकेन। उनीहरू त्यहाँबाट गाडी चढेर गएकाले ट्र्याक गर्न सकेन कुकुरले।
अनुसन्धानमा पाकिस्तानी एम्बेसीका अधिकारीलाई भारतले भारत विरोधी गतिविधिमा संलग्नहरूको संरक्षण गरेको, उनीहरूलाई नेपालमा सेल्टरको व्यवस्था गर्ने, नक्कली पासपोर्ट बनाएर अन्य देशमा पठाउन सक्रिय रहेको भनेर शङ्का गरेको रहेछ। त्यसैले आक्रमण गरेको खुल्यो।
यो घटनाले नेपालमा भारतीय एम्बेसी र पाकिस्तानी एम्बेसीका अधिकारीबिच व्यक्तिगत दुस्मनी नै बढायो। बिचमा पर्यौँ हामी। त्यो बेलामा भारतीय कूटनीतिक तहबाट गल्ती भएकै हो। त्यो तहको कूटनीतिक व्यक्तिलाई अर्को देशमा आक्रमण गर्नु कूटनीतिक मर्यादा विपरीतको काम हो नि।
पाकिस्तानीहरू खुब रिसाएका थिए। पाकिस्तानी अधिकारीहरूले मलाई भनेको अहिले पनि सम्झन्छु। 'नेपाल हाम्रो मित्र देश हो। हामी यहाँ खुनखराबा गर्न सक्दैनौँ। हिम्मत भए बैंककमा भिड्न आए भयो त' भन्थे उनीहरू।
त्यो घटनामा भारतीय दूतावासका कूटनीतिक तहका अधिकारीहरूले गल्ती महसुस गरेका थिए। त्यो घटनाले लामो समयसम्म हामीलाई पनि तनाव दियो। कतै पाकिस्तानले बदलाको अप्रेशन चलायो भने त्यसले खराब मोड लिन सक्थ्यो। तर उनीहरूले त्यसो गरेनन्। रिसाउन चैँ खुब रिसाए।
ब्याचका पुराना अंक
मंसिर २१, २०७९ बुधबार २२:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।