दीपक मनाङेलाई एकीकृत समाजवादीमा स्वागत गरे माधव नेपालले
पोखरा : आपराधिक पृष्ठभूमिबाट राजनीतिमा लागेका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका सांसद गुरुङ सोमबार एकीकृत समाजवादी प्रवेश गरेका हुन्। मनाङेलाई समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरेका थिए।
पाँच वर्ष अगाडि मनाङे राप्रपा छाडेर एमालेमा प्रवेश गरेका थिए। टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर एमालेको समर्थनमा जितेका थिए।
एकीकृत समाजवादीमा प्रवेश गर्दै मनाङेले नेपालको विकास र समृद्धिका लागि प्रतिबद्ध भई सकारात्मक उद्देश्य परिपूर्ति गर्न पार्टी राजनीतिमा आबद्ध भएको दाबी गरेका छन्।
उनले राजनीति कमाउने उद्देश्यले नभएर सेवा भावले जनताप्रति समर्पित भएर गरिने कार्य भएकाले स्वतन्त्र रूपमा चुनाव लडे पनि परिवर्तित परिस्थितमा दल बाहिर बसेर कार्य गर्न भन्दा दलमा आबद्ध भई त्यसको नीति बिचार र सिद्धान्तबाट निर्देशित हुँदै गरिने कार्य महत्त्वपूर्ण हुने भएकाले पार्टी प्रवेश गरेको उल्लेख गरेका छन्।
सांसद मनाङेले आफ्नो पवित्र उद्देश्यसँग सेवा गर्ने उद्देश्य अनुरूपको मेलखाने दल एकीकृत समाजवादी लागेको उनले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनले जारी गरेको विज्ञप्तिमा समाजवादीका नेताहरूको स्वच्छ छवि, देशका लागि केही गर्ने हुटहुटीबाट प्रभावित भएर समाजवादी रोजेको उल्लेख गरेका छन्।
सांसद मनाङे यस अघि २०७४ को निर्वाचनमा मनाङ ‘ख’बाट स्वतन्त्रका तर्फबाट निर्वाचित भएका थिए। उनी यस अघि गण्डकी प्रदेशमा तीन पटक मन्त्री बनेका थिए। हाल उनी गण्डकीको खेलकुदमन्त्री समेत रहेका छन्।
मंसिर १९, २०७९ सोमबार १९:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।