चौथो अंग : व्यापारीसँग पत्रकारको अपवित्र गठबन्धन हुँदा सत्तासँगको ‘नेक्सस’ बाहिर आउँदैन

चौथो अंग : व्यापारीसँग पत्रकारको अपवित्र गठबन्धन हुँदा सत्तासँगको ‘नेक्सस’ बाहिर आउँदैन

२०७४ को चुनावताका एक पार्टीको अर्थ समितिका सदस्यले भन्नुभएको थियो, ‘त्यति धेरै पैसा त मैले अहिलेसम्म देखेको थिइन। कोठा भरि पैसा। नेताहरूले कार्यकर्तालाई बिटाका बिटा पैसा झिक्दै बाड्ने रहेछन्।’

यत्रो पैसा कहाँ बाट आयो? औपचारिक च्यानल भन्दा अनौपचारिक च्यानलबाट पैसा कसरी वितरण भइरहेको छ? यसबारे जति खोजविन हुनुपर्ने हो त्यति भएको देखिँदैन। 

सबैलाई थाहा छ, निर्वाचन आयोगले उम्मेदवारलाई तोकेको भन्दा धेरै नै खर्च गर्छन् भन्ने तर पनि न त मिडियाले नै लेख्न सकेको छ प्रमाण सहित न आयोगले नै अनुगमन गर्न सकेको छ।

नेता र व्यापारीको अपवित्र गठबन्धन, व्यापारी र पत्रकारको पनि अपवित्र गठबन्धनले पनि केही हदसम्म काम गरेको होला तर सबै कारण यहि भने होइन।

‘आर्थिक पत्रकारितामा ब्रेक गर्न सकेनौँ’
मैले पत्रकारिता गरेको १४ वर्ष भयो। यसबीचमा १० वर्षभन्दा बढि भयो मैले आर्थिक पत्रकारिता गरेको। ‘यो साता’ भन्ने पत्रिकामा अग्रज पत्रकार किशोर नेपालसँग काम गरेपछि मैले आर्थिक पत्रकारिता गरेको हो।

त्यतिबेला सिनियरहरूले जस्तो शैली, जस्ता विषयवस्तुको छनोट, लेखाइ र प्रस्तुति गर्ने शैली थियो हामीले त्यसलाई अहिले पनि ब्रेक गर्न सकेका छैनौँ। जति ग्रोथ हुनुपर्ने त्यति भएको छैन लेखाइमा भन्ने लाग्छ। यस अर्थमा हामीले अग्रजले बनाउनुभएका बेञ्चमार्क भत्काएर नयाँ सेट गर्न सकेका छैनौँ। यसरी हेर्दा परम्परागत शैलीमा नै रिपोर्टिङ भएको देखिन्छ।

बेञ्चमार्क नै निर्धारण हुने गरि काम गर्न नसक्नुको कारण धेरै छन्, एउटा मात्र होइन। पहिलो धेरै आर्थिक पत्रकार पलायन हुनु। दोस्रो सामथ्र्य नहुनु। तेस्रो चाहे अनुसार काम गर्न नसक्नु वा नपाउनु।

रिपोर्टरको जाँगर सामर्थ्य मात्रै हुँदैन, मिडियाको लगानी पनि हुन जरुरी छ। कुनै पनि खोजी पत्रकारिता गर्न एक्लैले सक्ने काम होइन समूहले गर्ने हो। उदाहरणको लागि कुनै व्यवसायीले कति कर बुझाउँछ उसको कति बिजनेस कति छ वासलात हेरेर चिरफार कतिले गरेका छौँ?

एउटै व्यत्तिको धेरै कम्पनी खोलेका हुन्छन्, उनीहरूको बदमासी कति निकाल्न सकेका छौँ? त्यो सेक्रेसी निकाल्ने क्षमता हामीसँग छ ? केही पत्रकारले गरेका छन्, तर यो पर्याप्त छैन। अर्थको खोजी पत्रकारिता हुन सकेको देखिँदैन। यसमा एक्लो पत्रकारको मात्रै दोष हुँदैन। मिडियाले कस्तो टिमलाई खटाएको छ, कति लगानी गरेको छ र कतिको निखारिएको पत्रकार छ भन्ने कुराले भर पर्छ।

यसमा मिडिया हाउसको नियतको कुरा पनि आउँछ अनि रिपोर्टरको व्यवसायीसँग अपवित्रसम्बन्धले पनि प्रभाव पारेको देखिन्छ। पत्रकार यति नजिक भइदिन्छ कि समाचारका लागि चाहिने प्रश्न पनि सोध्न सक्दैन। आफू निकट व्यवसायीको बदमासी बारे लेखे पनि सबैभन्दा पहिले त्यही पत्रकार डिफेन्स गर्न आइपुग्छ।

सूचना पत्रकारलाई नहुने होइन, छ। थाहा भएकाले लुकाएका छन्। धेरै जसो पत्रकार त्यो नेक्सससम्म पुग्नै सकेका छैनन्। धेरैले भन्छन्, ‘चुनावमा लुकेका धन बाहिर आउँछन्, तरलताको अभाव कम हुँदै जान्छ, हाम्रो अर्थतन्त्र चलायमान हुन्छ।’

हामीले यसरी सिधै हेरेर मात्र हुँदैन त्यो पैसा अहिले धेरै जग्गामा थन्किएर बसेको छ। तरलता जति हुनुपर्ने हो त्यति बजारमा देखिन्छ जस्तो लाग्दैन। हामीले अर्थतन्त्रलाई चिरफार गरेर लेख्न सकेका छैनौँ। केही पत्रकारले नलेखेका होइनन् तर पर्याप्त छैन। 

‘सत्ता र व्यापारीको अपवित्र गठबन्धन चिर्न सकेका छैनौँ’
चुनावको बेला दलहरूले नीतिगत हस्तक्षेप गरेको विभिन्न व्यवसायीलाई पोसेको समाचार अलि बढि बाहिरिन्छ। चुनावको बेला मात्र हुने होइन, अघिपछि पनि हुने गर्छ। जस्तो केपी ओली प्रधानमन्त्री भएको बेला हिमालयन पुनर्बीमा कम्पनीले लाइसेन्स पायो।

बीमा संस्थानमा आवेदन दिएका अन्य चारवटाले आवेदन दिए पनि नियोजित रूपमा शक्तिशाली व्यापारिक समूहले प्रवर्द्धन गरेको हिमालयन पुरर्बीमाले अनुमति पायो। त्यतिबेला प्रधानमन्त्रीका सचिवालयका एकजनाले भनेका थिए १ सय करोडको चलखेल भएको छ।

यसबाट के प्रष्ट हुन्छ भने सत्ता र व्यापारीको सम्बन्ध डरलाग्दो गरी झाँङ्गिएको अपवित्र गठबन्धन हो। यसलाई हामीले चिर्ने गरी लेख्न सकेका छैनौँ।

अहिले स्टक एक्सचेञ्जको विवाद देखियो। आर्थिक पत्रकारको हैसियतले भन्दा कम्पनीहरू नयाँ–नयाँ खुल्नुपर्छ यसमा कुनै विवाद छैन। तर, फ्रि इन्ट्री र फ्रि एक्जीट हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। यस्तो भएको देखिँदैन। अनुमति पाउने र दिने प्रक्रिया पारदर्शी र स्वच्छ हुनुपर्छ।

यो अहिलेको मात्रै समस्या होइन। जंगबहादुर राणा नै प्रधानमन्त्री भएको बेलामा आफ्ना जुवाडे साथीहरूलाई व्यापार गर्न अनुमति दिएकोदेखि पञ्चायतकालमा दरबारले नयाँ व्यवसाय गर्नेसँग शेयर लिने गरेको सम्मका उदाहरण पढ्न सकिन्छ।

बिनोद चौधरीले आफ्नै किताबमा लेखेका छन्, ‘कुनै कम्पनी खोल्दा दरबारले ४९ प्रतिशत शेयर मागेको।’

त्यस्तै पञ्चायती गृहमन्त्री नवराज सुवेदीले एक विदेशी घडी कम्पनीको ब्रान्च यहाँ खोल्न लाग्दा राजदरबारले शेयर मागेपछि आएन लेख्नुभएको छ। हाम्रो देशको परिप्रेक्ष्यमा के देखियो भने, सत्ताले केही न केही व्यत्तिगत फाइदा व्यपारीबाट लिने रहेछ।

तिनै व्यापारीको लागि ऐन नियमदेखि कानूनसम्म परिर्वतन गर्ने रहेछ। सत्तामा जो सुकै रहोस् व्यत्ति फेरियो प्रवृत्ति फेरिएको देखिएन।

नीतिगत हस्तक्षेप भने ६४ सालपछि भएको देखिन्छ। समानुपातिक सांसद बन्न व्यवसायीहरूले ठूलै पैसा बुझाएँ भनेको पनि सुनियो। हामीले केही सानो रकमको समाचार त लेखेका छौँ तर छिमलेर यस्ता इस्युलाई लेख्न सकेका छैनौँ।

पत्रकारको कमजोरी होइन यहाँ मिडिया कसरी चल्छन्? ठूला–ठूला केस छिमल्न सक्ने पत्रकार कति छाँै? छिपिछिपे समाचार दिएको जस्तो होइन घोटलाको कुरा लेख्न।

पत्रकारिताको थ्यौरीटिकल मात्र पढाइ, सिकाइमा खोट, मिड करियरमा तालिमको अभाव, सिप दक्षता तिखारिएको जनशक्तिको अभाव र मिडियाको लगानी कस्तो प्रकृतिको छ। त्यसले पनि फरक पार्छ कस्तो समाचार आउँछ भन्नुमा।

‘मिडियाको लगानीबारे पुनर्विचार गर्नैपर्छ’
जसरी सत्ता र व्यापारीको नेक्सस छ, त्यसरी नै पत्रकारको पनि भएको देखिन्छ। त्यसकारण सोध्नैपर्ने प्रश्नहरू पनि पत्रकारले सोधेको देखिँदैन। जसरी नेतालाई प्रश्न गर्छौं, त्यसरी नै निजी क्षेत्रलाई प्रश्न सोधेका छैनौँ। समाचार लेखे पनि ढङ्ग नपु¥याइ लेखेका छौँ।

कतिपय अवस्थामा त लेख्नैपर्ने समाचार पनि नदेखे झैँ गर्छौँ। यसको कारण एउटै हो, लगानी। लगानी कताबाट आउँछ? प्रकाशकहरूको मिडियामा मात्र लगानी हुँदैन। घर जग्गा लगानीदेखि अन्य कम्पनीहरूमा लगानी गरेको देखिन्छ।

त्यस्तै, मिडिया देखाउने दाँत, नियत अर्कै देखिन्छ। त्यसकारण भारतीय मिडिया ‘द वायर’को जस्तो लगानी अथवा कम्पनीहरूको सिएसआर मोडलबाट आउन जरुरी छ। अहिलेको जस्तै लगानी मिडियामा हुने हो भने आउनपर्ने समाचार आउँदैनन्, नआउनुपर्ने समाचार आउँछन्। स्वार्थको सिकार हुनुहुँदैन मिडिया।

मिडिया आफैं कन्टेन्ट बेच्नसक्ने स्थानमा पुग्न जरुरी छ। यसको लागि मिडियाले दिने कन्टेन्ट दरो हुन जरुरी छ। उत्कृष्ट विद्यार्थी कति आएका छन् मिडियामा? आएकाले तालिम कति पाएका छन्? काम गर्न उत्प्रेरणा कतिको पाएका छन्?

सिकाइ रोकिएको छ मिडियामा। सिकाइको निरन्तरता हुन जरुरी छ। सिनियरहरूले सिकाइरहनुभएको त छ तर पर्याप्त भएन। कुनै खोज पत्रकारलाई बाहिरबाट झिकाएर किन तालिम दिन सकिँदैन? न्युज रुममा अन्तरसिकाइको कमी देखिन्छ।

विश्वका पत्रकारितामा एकदमै नयाँ तरिकाले काम भइरहेका छन्। प्रस्तुतिदेखि रिर्पोटिङसम्म नयाँ सीपको आवश्यकता यता देखिन्छ।

अनलाइनमा कन्टेन्ट दिने तरिका पनि फरक भएन हाम्रोमा। इन्फोग्राफिक्समा खेल्न सकिन्थ्यो नि! त्यता पनि सुधारेको देखिँदैन। समाचार कक्षमा नयाँ एक्सपोजर सहितका जनशक्तिको आवश्यकता देखिन्छ जसले नयाँ–नयाँ आइडियामा काम गर्न सकुन्।

नयाँ व्यक्तिले केही परिर्वतन नै गरेको देखिन्छ। यद्यपि, रिपोर्टिङ गरेको १० वर्ष पुगेको छैन, न्युजरुम लिड नै नगरी सम्पादक हुँदा परिर्वतन नभएको हो कि जस्तो देखिन्छ।

अहिले नयाँ पुस्तामा पत्रकारितामा नआएका होइनन्, आएका छन्। तर, उनीहरूले कस्तो शिक्षा पाएका छन्? सिकाइको स्तर कस्तो छ? त्यसले फरक पर्छ। किन टप गरेका विद्यार्थी पत्रकारितामा आएका छैनन्? पत्रकारिता नै गरेका पनि लामो समय टिकेको देखिँदैन। यस्ता समस्यालाई मिडिया हाउसले नजिकबाट हेर्न जरुरी छ।

मिड करियरमा तालिम
आधारभूत तालिम हरेक बिटमा दिइएको देखिन्छ। तर, मिड करियर पुगेपछि तालिमको अभाव देखिन्छ।

अघि पनि भनेँ, मिड करियरमा सिकाइ ब्रेक लागेकाले खोज पत्रकारिता जति सक्रिय हुनुपर्ने हो त्यति नभएको हो। स्रोतसम्म पुग्नै नसक्ने, पुगे पनि छिमलेर लेख्नै नसक्ने भए पत्रकार। यसमा मिडिया हाउसले ध्यान दिने हो भने पत्रकारिताको भविष्य नराम्रो छैन।

‘दैनिकी डटकम, यो सात, आर्थिक अभियानमा काम गरेका रमेशकुमार अहिले हिमाल मिडियामा आबद्ध छन्, उनीसँग उकेराको चौथो अंगका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित) 

कात्तिक २९, २०७९ मंगलबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।