काठमाडौँ ५ : बदनाम पृष्ठभूमिका पोखरेललाई 'टुरिस्ट' उम्मेदवार पौडेलको चुनौती, रञ्जुलाई उज्ज्वलको लिगेसीको भर
काठमाडौँ : जति पटक सरकारमा गयो उति पटक विवादमा परेका एमालेका ईश्वर पोखरेल। अनि संसदीय अभ्यास गर्दा असफल भएका प्रदीप पौडेल। स्वतन्त्र उम्मेदवारहरू सहित ३० जनाबिचको प्रतिस्पर्धामा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर पाँचबाट प्रतिनिधि सभामा जान अहिले यी दुवै नेताबिच टक्कर देखिन्छ।
सो क्षेत्रबाट २०७४ मा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनेर सम्मानजनक मत पाएकी तत्कालीन विवेकशील साझाकी नेता रञ्जु दर्शना स्वतन्त्र उम्मेदवार उठेकी छिन्।
कांग्रेसबाट टिकटको आंकाक्षी डा. प्रशणशमशेर राणा पार्टीको कारबाहीमा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। कांग्रेस पृष्ठभुमकीकै शैलेन्द्र बस्नेत समेत सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवार बनेका छन्। एमाले राजनीतिमा सक्रिय सुशान्त श्रेष्ठ पनि स्वतन्त्र उम्मेदवार बनेका छन्।
यी बाहेक पनि टन्नै छन् स्वतन्त्र उम्मेदवारहरू क्षेत्र नम्बर पाँचमा। तर मुख्य प्रतिस्पर्धी परम्परागत २ पार्टी एमाले र गठबन्धनको उम्मेदवारको रूपमा उठेका कांग्रेसका उम्मेदवारबिचै देखिन्छ।
पोखरेलको संसदीय यात्रा
पोखरेल २०६४ र २०७० मा कांग्रेसका उम्मेदवार नरहरि आचार्यसँग काठमाडौँ पाँचमै पराजित भएका थिए। २०७४ मा एमाले र माओवादी केन्द्रबिच सहकार्य भएपछि उनले कांग्रेसका उम्मेदवार प्रकाशरण महतलाई ठुलो अन्तरमा पराजित गरे।
२०७४ को निर्वाचनमा पोखरेल २३ हजार २९ मतसहित विजयी भए। नुवाकोटबाट काठमाडौँ आएका उनका निकटतम प्रतिद्वन्द्वी महतले १३ हजार १ सय ६९ मत पाए। विवेकशील साझा पार्टीका उम्मेदवार उज्ज्वल थापाले ६ हजार ८ सय ५३ मत पाएका थिए।
विवादित पृष्ठभूमि
स्थानीय तहको निर्वाचनमा आएको मतलाई आधार बनाएर हेर्ने हो भने पोखरेल निर्वाचित हुन कठिन देखिन्न। तर उनको विवादित पृष्ठभूमिले स्थानीय तहमा जस्तै मत संसदीय निर्वाचनमा पनि एमालेकै निर्वाचन चिन्हमा खसाउन सहज देखिन्न उनलाई।
उनी केही न केही विवादमा परिरहने नेता हुन्।
२०५१ मा एमालेबाट मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री बन्दा पोखरेल प्रमुख राजनीतिक सल्लाहकार भए। २०६१ मा उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए।
उनी २०६९ मा उपप्रधानमन्त्री सहित परराष्ट्र, कृषि विकास र युवा तथा खेलकुद मन्त्री भए। २०७४ मा उनी रक्षामन्त्री भए। उनीमाथि ट्याङ्कीमा पैसा लुकाएको आरोप लाग्यो जुन कहिल्यै प्रमाणित भएन।
तर रक्षा मन्त्रीको रूपमा भने उनी निकै विवादमा आए। सैनिक नेतृत्वसँगको टकराबमा होस् या नेपाल ट्रस्ट ऐन संशोधन गराएर ट्रस्टको सम्पत्ति निश्चित व्यापारिक समूहलाई दोहनमा सघाउनमा होस् उनी जोडिई नै रहे।
‘कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति’को नेतृत्वमा पुगेपछि उनी स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितता, छोराको लगानी भएको कम्पनीमार्फत सरकारी स्वास्थ्य संस्थाहरूको टेन्डरमा हालीमुहाली गराएको लगायतका गम्भीर आर्थिक अपचलन र नैतिक सङ्कटका आरोपहरू लागे। जसलाई उनले प्रभावकारी खण्डन गर्न सकेका छैनन्।
कोरोनाकालमा स्वास्थ्य सामाग्री खरिदमा भएका अनियमितताका फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगे पनि अनुसन्धान निष्कर्षमा पुगेको छैन।
उनी रक्षामन्त्रीहुँदा नेपाली सेनाले पाएको फास्टट्रयाकको ठेक्का आफू अनुकूलका कम्पनीलाई दिलाउन उनको छोरा नै सक्रिय रहेको दाबीहरू सार्वजनिक भएका थिए।
सांसदका लागी नौला पौडेल
कांग्रेस उम्मेदवार पौडेलका लागि उम्मेदवार बन्ने अनुभव नयाँ हैन। तर प्रतिनिधि सभाको निर्वाचनको अनुभव पहिलो हो।
नेपाल विद्यार्थी सङ्घको अध्यक्ष भएका उनी २०७४ मा तनहुँबाट प्रदेश सभाको उम्मेदवार बनेका थिए। तर पराजित भए। पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका उनी पराजित भएका थिए।
उनी अहिले काठमाडौँ-५ मा बौद्धिक पलायन रोक्ने (स्टप ब्रेन ड्रेन), भ्रष्टाचार विरुद्ध लड्ने (फाइट करप्सन) अनि दिगो विकास (सस्टेनेबल डेभप्लमेन्ट) बिसिडी अभियानको नारा लिएर चुनावी मैदानमा छन्।
बौद्धिक छवि तर पाँचका लागि टुरिस्ट
तनहुँबाट उम्मेदवार बन्न खोज्दाखोज्दै एक्कासि काठमाडौँबाट उम्मेदवार हुनु, कांग्रेसका स्थानीय नेताहरूबिचको असन्तुष्टि, प्रभावशाली स्वतन्त्र उम्मेदवारहरू उठ्नु अनि स्वतन्त्र उम्मेदवारहरूको प्रभाव प्राय कांग्रेसका मतदाताहरूमा देखिने हिजोको रेकर्डले अहिलेसम्म विवादमा नआएका युवा नेता पौडेलका चुनौती हुन्।
नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा अगाडि बढाएका पौडेल राजनीतिक वृत्तमा बौद्धिक युवा नेताको रूपमा परिचित नेता हुन्। राजनीतिक विचार पस्किरहने उनी कांग्रेस रूपान्तरणका लागि सुरु भएको युवा अभियानका सक्रिय सदस्य हुन्।
पार्टीमा विश्वप्रकाश शर्मा र गगन थापापछि उनको नाम आउने गर्छ। तार्किक भाषण गर्न खप्पिस उनी पार्टीको आन्तरिक राजनीतिमा भने अस्थिर देखिन्छन्।
पछिल्लो समय पौडेल पार्टीभित्रको तेस्रो गुट कृष्ण सिटौलासँग छन्। उनी सिटौला समूहबाटै पार्टीको महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका थिए। तनहुँ २ मा टिकट नपाएपछि काठमाडौँ ५ बाट उम्मेदवार बन्न सक्नुमा पनि गुटको प्रभाव देखिन्छ नै।
आर्थिक रूपमा पौडेल विवादमा नआएका नेता हुन्। बौद्धिक छवि अनि आर्थिक रूपमा विवादरहित छवि भए पनि संसदीय राजनीतिमा काठमाडौँ- ५ उनका लागि नयाँ क्षेत्र हो।
राष्ट्रिय छवि निर्माण गरेकाले कांग्रेस नेताका रूपमा उनी पार्टीगत मतदातामाझ अपरिचित हैनन्। तर पार्टी बाहिरका मतदातामाझ भने उनी पर्यटक उम्मेदवार हुन्।
किनकि उनी आफ्नो संसदीय यात्राका लागि काठमाडौँ-५ सक्रिय भएनन्। उनले तनहुँ २ लाई नै केन्द्रमा राखेर सक्रिय भएका थिए। २०७४ को निर्वाचनमा उनी प्रदेशबाट उम्मेदवारै थिए। त्यसपछिको पाँच वर्ष उनी तनहुँमै केन्द्रित भएका थिए। स्थानीय तहको निर्वाचनमा पनि उनी तनहुँमै केन्द्रीय भए।
त्यता कांग्रेस नेता शङ्कर भण्डारी उम्मेदवार हुने भएपछि पौडेल अन्तिम समयमा काठमाडौं ५ मा आएका हुन्।
गत निर्वाचनमा यसरी नै प्रकाशशरण महत नुवाकोटबाट काठमाडौँ ५ मा घर भएको नाता जोडेर यतै उम्मेदवार बने र नराम्रोसँग हारे। उनको हारको एक कारण एमाले-माओवादीको तालमेल त थियो नै। सँगै टुरिस्ट उम्मेदवारको ट्यागले पनि हराउन मलजल गर्यो नै।
त्यसैको झस्काले हुन सक्छ यो पटक उनी गठबन्धनबाट पनि उम्मेदवार बन्न तयार भएनन् र समानुपातिकमा बसे।
उनलाई आफ्नो कमजोर पाटोबारे जानकारी छ नै। त्यसैले त निर्वाचन प्रचार अभियानमा उनले ‘तपाईँहरूको मत लिएर गएपछि पाँच वर्षसम्म नफर्कने टुरिस्ट कि म टुरिस्ट?’ भनेर प्रश्न गर्ने गरेका छन्।
उज्ज्वल थापाको लिगेसीको भर
अन्य स्वतन्त्र उम्मेदवारहरू नभएका हैनन्। तर तेस्रो शक्ति बन्न सक्छिन् रञ्जु दर्शना।
२०७४ को निर्वाचनमा तेस्रो शक्ति बनेको थियो विवेकशील साझा। त्यसका संयोजकमध्येका एक उज्ज्वल थापा सो क्षेत्रबाट दोस्रो पटक उम्मेदवार बनेर ६ हजार बढी मत ल्याए।
दर्शना उनै थापाको राजनीतिक स्कुलिङबाट अगाडि बढेकी नेतृ हुन्। स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार बनेर उनले आफ्नो सार्वजनिक छवि विस्तार गरेकी थिइन्।
पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेकी उनका लागि यो क्षेत्र उज्ज्वलका लागि झैँ सहज भने देखिन्न। पहिलो त अहिले विवेकशील अभियान छिन्नभिन्न भएको छ। उनी नै पार्टीबाट उम्मेदवार नबनी स्वतन्त्र उम्मेदवार बनेकी छिन्।
मेयरको उम्मेदवार बन्दा रणनीतिकदेखि प्रचारसम्म समूहगत सक्रियता देखिएको थियो। त्यो अहिले छैन। उनी एक्लै छिन्। मेयरमा पराजित भएपछिको समयमा उनी निष्क्रिय बसिन्। राजनीतिक रूपमा स्थानीय मुद्दाहरूमा सक्रिय हुन सकिनन्।
साझासँगको एकता टुटाएर थापा समूह साझाबाट निस्किएर विवेकशील अभियान सुरु गर्दै गर्दा उनी थापाको भावनाविपरित मिलन पाण्डेसँगै पुन साझासँग एकता गर्न गएकी थिइन्। तर त्यो बसाई लामो भएन। रवीन्द्र मिश्रसँगको वैचारिक लडाइँपछि उनी पार्टीबाट बाहिरिइन्।
स्थानीय अङ्क गणितमा एमालेलाई सहज
काठमाडौं–५ अन्तर्गत काठमाडौं महानगरपालिकाको वडा नम्बर २, ३, ४ र ५ सँगै बुढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको २, ३, ४, ५, ६ र ७ वडाहरू पर्छन्।
२०७४ को निर्वाचनको मत परिणाम गठबन्धनका उम्मेदवार र स्वतन्त्रका लागि उत्साहजनक छैन। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाका अध्यक्षका उम्मेदवारले पाएको एकीकृत मतमा एमाले अगाडि छ।
एमालेका उम्मेदवारहरूले १९ हजार ७३ मत पाएका थिए। पाँच दलीय गठबन्धनका दलहरूको उम्मेदवारहरूले स्थानीय तहको निर्वाचनमा पाएको एकीकृत मत १७ हजार हाराहारी देखिन्छ।
निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूले १४ हजार ८ सय ५३, माओवादी केन्द्रको उम्मेदवारहरूले १ हजार १ सय ६८, एकीकृत समाजवादीका उम्मेदवारहरूले १ हजार ८ सय २७ मत पाएको देखिन्छ।
राप्रपाका उम्मेदवारहरूले २ हजार ६ सय २२ मत पाएका थिए। यो मत एमाले वा गठबन्धनका उम्मेदवारहरूमा जाने हो भने निर्णायक देखिन्छ।
एमालेका पोखरेलकै उम्मेदवारी दोहोर्याउँदा अनि एकाएक पौडेल तनहुँबाट काठमाडौँ आउँदा टिकटका आकाङ्क्षी पार्टीका स्थानीय नेता सन्तुष्ट देखिएका छैनन्। एमालेबाट स्थानीय तहको राजनीति गरेर अहिले स्वतन्त्र उम्मेदवार बनेका श्रेष्ठले पोखरेललाई टाउको दुखाउने पक्का छ।
राणा र बस्नेतको प्रभाव ठुलै पार्टीगत मत काट्ने खालको देखिँदैन। तर रजनी थापा अनि राजु श्रेष्ठ लगायतका कांग्रेसी नेतालाई मनाउने चुनौती पौडेलसँग पनि छ नै।
स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनासहितले केही न केही मत त ल्याउँछन् नै। ती मत कुन दलका मतदाताको हुन्छ त्यसले परिणाममा असर पार्ने नै छ।
कात्तिक ११, २०७९ शुक्रबार १६:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।