नेपालले समात्नुपर्ने यस्ता छन् भारतीय सुटर, तर खोज्दैनन् कुनै निकायले
काठमाडौं : गोठाटारमा मारिएका लाल मोहम्मद भनिने मोहम्मद कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले शुक्रबार तीन जना सार्वजनिक गर्यो।
प्रहरीको दाबीअनुसार यी तीन जना योजनाकार, हतियार व्यवस्थापन गर्ने र मोहम्मदको निगरानी गर्ने भूमिकामा संलग्न व्यक्ति हुन्।
ती थिए वीरगञ्ज-१६ का २१ वर्षीय महोरम मियाँ। काठमाडौं जिल्ला परिसरका एसएसपी भरत बोहोराका अनुसार मोहम्मद हत्यामा उनको भूमिका थियो योजनाकार तथा हतियार व्यवस्थापन।
अर्का वीरगञ्ज-१५ का १९ वर्षका रेहान मियाँ। उनीमाथिको आरोप पनि हत्याको योजनाकार तथा हतियार व्यवस्थापनकै छ।
तेस्रो व्यक्ति मकवानपुर-१ की २१ वर्षीया सुमी भन्ने सुस्मिता स्याङताङ। उनको भूमिका मोहम्मदको गतिविधिको निगरानी गर्ने।
यी तीन जनामध्ये २ जना युवकले वीरगञ्जबाट सार्वजनिक बसमा काठमाडौं आएर हतियार दिएर फर्किएका थिए। प्रहरीले उनीहरूको सम्बन्ध कोसँग थियो अनि उनीहरूले कसलाई हतियार दिएका थिए भन्ने खुलाएको छैन।
अनुसन्धानस्रोतको दाबीअनुसार बब्लु पासवानले यी दुवैलाई ४० हजार दिने प्रलोभनमा पारेर वीरगञ्जमा एक व्यक्तिसँग हतियार लिएर काठमाडौं आउन मनाएका थिए। त्यस बाहेक उनीहरूको भूमिका के हो अनि उनीहरू कसरी योजनाकार भए प्रहरीले खुलाउन सकेको छैन।
काठमाडौंको कपन फैका बस्ने २१ वर्षीया स्याङतानले मोहम्मदको दैनिक गतिविधिको निगरानी गरेर सूचना दिएको मात्र प्रहरीले खुलाए। उनीहरूले थप खुलाएको विवरण भनेको उनी २०७६ असार ११ देखि २०७८ फागुन ७ गतेसम्म चोरी मुद्दामा केन्द्रीय कारागार सुन्धारामा थिइन् भन्ने मात्र हो।
असोज ४ साँझ गोठाटारमा संगठित र योजनाबद्ध रूपमा मारिएका मोहम्मदको हत्या अनुसन्धानमा नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला परिसरका 'दक्ष' प्रहरीले १० दिन गरेको अनुसन्धानको उपलब्धि यही नै हो।
मोहम्मदको हत्यामा संलग्न तीन जनामध्ये एक जना गोठाटारको उनको घर नजिकै रहेको कोसीपारी गेष्ट हाउसमा बसेको र उनको नाम नीतिन मोहन रहेको खुलेको थियो। सँगै उनको सम्बन्ध रसुवाको कारगारमा अपहरणमा संलग्न रहेकोमा पाएको सजाय काटिरहेका उदय सेट्टीसँग समेत जोडिएको थियो। तर, प्रहरीले सार्वजनिक गरेको विवरण यी दुवैबारे मौन छ।
अनुसन्धानबारे जानकार एक प्रहरी अधिकृतले नयाँ नाम लिए बब्लु पासवानको। शुक्रबार सार्वजनिक गरिएका तीनै जनालाई उनैले परिचालन गरेको देखिएको ती प्रहरी अधिकारीको दाबी छ।
अहिले पनि प्रहरी टोली अनुसन्धानमै संलग्न छन्। तर, जुन रूपमा अनुसन्धानले गति लिन समय लागिरहेको छ, त्यसको आधारमा शुक्रबार सार्वजनिक भएका सहयोगीकै हैसियतमा रहेकाहरू पक्राउ गर्ने बाहेक हत्याको कारण अनि योजनाकारसम्म प्रहरीको पहुँच पुग्नेमा भने सहज देखिँदैन।
यस अगाडि भएका मोहम्मदकै शैलीका हत्या अनि त्यसको अनुसन्धानको उपलब्धिले पनि यस्तै देखाउँछ।
OOO
२०६८ असोज ९ गते दिउँसो २ बजे काठमाडौं घण्टाघर नजिकको मस्जिद नजिक गोली हानेर फैजान अहमदको हत्या गरियो। उनको हत्या भारतीय नागरिकको योजनामा बनेकोसम्म खुल्यो।
हत्यामा भारतीय नागरिक आदित्य पल, रीमा पल, फहद आलम र अक्रम भन्ने मुख्य सुटरसँगै सुनिल र इमरान संलग्न भएको भनेर नाम खुल्यो। तर, पक्राउ परे धनबहादुर थापा मात्रै।
फैजानको हत्यामा संलग्नहरू कलंकीमा आएर बसेको खुल्यो। अनि धनबहादुरको भूमिका उनीहरूलाई कलंकीबाट घन्टाघर क्षेत्रमा ल्याएर छाड्ने अनि लैजाने।
त्यो बेला केन्द्रीय अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको अनुसन्धान विवरणमा घटनाको दिन पनि उनैले सुटरसहितको टोलीलाई घन्टाघर क्षेत्रमा ल्याएर छाडेर ट्याक्सीमा लगेर छाडेको खुलेको थियो।
घटनामा संलग्नमध्ये एक जनाले हत्यामा प्रयोग भएको हतियार उनलाई राख्न दिएको र उनले लुकाएकोसम्म देखियो उनको संलग्नता। तर, उनले जसलाई ट्याक्सीमा राखेर ओहोरदोहोर गराए ती भारतीय अपराधी भएको जानकारी भएको देखिएन उनलाई।
फैजानको हत्याको समाचार सार्वजनिक भएपछि ती व्यक्तिहरूले नै मारेको शंका लागेर भागेर भारत पुगेका थिए। पक्राउ पर्दाताका २७ वर्षका उनी अझै जेलमा छन्। घटनामा संलग्न अन्य भारतीय नागरिकहरूको नाम र तस्वीरसमेत सार्वजनिक भएको थियो। तर, अहिलेसम्म दोस्रो कुनै व्यक्ति पक्राउ परेका छैनन्। एक सामान्य सहयोगी पक्राउमै यो घटनाको अनुसन्धानको रोकियो।
त्यसयता फरार रहेका सुटरसहितका भारतीय नागरिकहरूलाई प्रहरीको कुनै युनिटले खोज्न चासो दिएको देखिएन।
OOO
यस्तै भयो जमिम शाहको घटनाको अनुसन्धानमा पनि। काठमाडौंको लाजिम्पाटमा २०६६ माघ २४ मा मारिएका जमिम शाहको हत्यामा संलग्न रहेको खुलेका भारतीय नागरिक पक्राउ परेनन्।
अनुसन्धानमा बब्बु भन्ने त्रिलोक सिंह, दिलीप सिंह, मोहमद वकार सइद (हैदर), सरजी भन्ने दान उदीर, नाम नखुलेका अर्का एक भारतीय नागरिक योजनामा संलग्न देखिए। यीमध्ये मोहम्मद यो घटनाका सुटर रहेको खुल्यो।
योजनामा नेपाली नागरिक नेपाल प्रहरीका पूर्व डिएसपी जगदिश चन्द, श्रीकृष्ण पौडेल, प्रकाश क्षेत्री, किशोर खड्का, लक्ष्मण धमला र राजु लामा संलग्न देखिए। यीमध्ये प्रकाश नेपाल प्रहरीका बहालवाला सई थिए।
प्रहरीले नेपाली सहयोगीहरूलाई पक्राउ गर्योा। तर, घटनामा संलग्न त्रिलोकसहित कसैलाई पक्राउ गर्न सकेको छैन अझै।
केही समय अगाडिसम्म नेपाल प्रहरीका उच्च अधिकारी त्रिलोक सिंहलाई नेपाल ल्याउन सघाउन दिल्ली प्रहरीका केही अधिकारीको सम्पर्कमा थिए। तर, सकेनन्।
त्रिलोकले नेपाली नागरिकता समेत लिएको पुष्टि भएको थियो अनुसन्धानमा। उनले कृष्णनगर गाविसको स्थायी ठेगाना देखाएर २०६३ सालमा नेपाली नागरिकता लिएका थिए। यसैलाई टेकेर नेपाली नागरिकका रूपमा नेपाल पठाउन सहयोग मागे पनि प्रहरी सफल भएन।
जानकार एक प्रहरी अधिकारीका अनुसार नेपालमा लुकेर बसेका हाइप्रोफाइल भारतीय अपराधीलाई पक्राउ गर्न सघाउने र त्यसबापत दिल्लीमा रहेका त्रिलोकलाई नेपाल ल्याउन सघाउनुपर्ने शर्त राखिएको थियो। तर, त्यसमा उताबाट 'यो हाम्रो क्षमताको कुरा हैन' भन्ने जवाफ आयो। खोजी बन्द भयो।
७२ सालसम्म त्रिलोकको अवस्थाबारे भारतमा रहेका सहयोगीमार्फत नेपाल प्रहरीका अन्तरदेशीय अपराध हेर्ने प्रहरी अधिकारीले विवरण संकलन गरिरहेका थिए।
उनी नेपाल नआउने अनि उनलाई भारतबाट नेपाल ल्याउन नसक्ने देखिएपछि उनीबारे सूचना लिन पनि छाडे। गोठाटारमा लाल मोहम्मदको हत्यापछि जमिम हत्यामा संलग्नहरूबारे प्रहरीको विशेष ब्यूरोमा रहेका कसैलाई केही जानकारी छ कि भनेर बुझ्ने प्रयास गर्दा थप जानकारी भएको देखिएन।
OOO
प्रहरी अनुसन्धान अनि छानबिन आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसार छोटा राजन समूहका बब्लु श्रीवास्तब र भरत नेपालीको निर्देशनमा शाहको हत्या भएको देखिएको थियो।
भारतको जेलमा रहेका बब्लु श्रीवास्तबको निर्देशनमा काठमाडौंमा आएर नेपाल प्रहरीका बहालवाला र निलम्बित प्रहरी अधिकृत लगायत विभिन्न व्यक्तिसँग सम्पर्क सम्बन्ध बढाउने, नेपाल आएका भारतीय सहयोगी र सुटरको बसोबासको प्रबन्ध मिलाउने काम भारतीय नागरिक बब्बु उर्फ दिपक शाही उर्फ त्रिलोक सिंहले गरेका थिए।
शाहलाई गोली हानी हत्या गर्ने अर्का भारतीय मोहमद वकार सइदको पहिचान खुल्यो। तर, अर्का एक सुटरको पहिचान खुलेन।
उनीहरूले नेपाल प्रहरीका पूर्व डिएसपी चन्द, ठमेलका कार्गो व्यवसायी श्रीकृष्ण पौडेल, नेपाल प्रहरीका सई प्रकाश क्षेत्री लगायत अन्य किशोर खड्का, लक्ष्मण धमला, राजु लामालाई सहयोगीको रूपमा परिचालन गरेका थिए।
घटनापछि उनीहरू काठमाडौंबाट सहजै रक्सौल पुगे यत्रो नाकाहरू कटेर। तर, कसैले फेला पार्न सकेन। नाका कटेपछि फेला पार्ने सम्भावना रहेन।
OOO
सिंगापुरमा पक्राउ पर्नुअघि बब्लु श्रीवास्तव नेपालमा पटक-पटक आएर बस्ने मात्रै हैन विभिन्न अवैध धन्दा र कारोबारमा समेत संलग्न रहेको मिर्जा दिलसाद बेगको हत्या अनुसन्धानमा खुलेको थियो।
उनी नेपालमा पक्राउ पर्दा बेगकै सहयोगमा छुटेका थिए। पछि २०५५ मा सिफलमा मिर्जा मारिँदा उनै बब्लु र छोटा राजनको योजनामा उनको हत्या भएको खुलेको थियो।
बब्लुले कपिलबस्तुबाट अरुणकुमार अग्रवालको नाममा नेपाली नागरिकता लिएर नेपालमा जग्गा समेत किनेका थिए। नागरिकताबारे भ्रष्टाचार मुद्दामा विशेष प्रहरीले पक्राउ गरेका गाविस अध्यक्ष शिवप्रसाद चौधरीलाई मिर्जा नै जमानीमा बसेर छुटाएका थिए।
मिर्जाको हत्यामा जोडिएका उनी जमिम हत्यामा पनि जोडिए। नेपाल दूरसंचार संस्थानबाट उपलब्ध टेलिफोनको कल डिटेल्स रेकर्डबाट त्रिलोकले प्रयोग गरेको मोबाइल नं. ९७२१५३५०७३ मा बब्लु श्रीवास्तबको भनी पहिचान गरिएको मोबाइल नं. ९१९९५६०९९६८२ बाट र बब्बुले बब्लु श्रीवास्तवको उक्त नम्बरमा गरेको कल रेकर्ड भएको खुलेको थियो।
घटनाका अर्का योजनाकार भरत नेपाली पनि छोटा राजन समूहकै कुख्यात अपराधी थिए। जमीम हत्यापछि एभिन्यूज च्यानल र स्पेसटाइम केबलमा फोन गरेर भरत नेपालीले हत्याको जिम्मेवारी लिएका थिए।
दुवै हत्यामा जोडियो कृष्णनगर
कृष्णनगरको सीमा पारि भारतको बढनी बजार पर्छ। बढनीका वासिन्दा बब्बु भन्ने दिपक शाही उर्फ त्रिलोक सिंह कृष्णनगरमा आउने, बसोबास गर्ने, बालुवा गिट्टी तथा ढुङ्गाको व्यापारसँगै स्टेशनरी सम्बन्धी व्यवसायमा संलग्न थिए।
बहालवाला डिएसपी अर्जुन चन्दसँग समेत उनको चिनजान थियो। बब्बुले कृष्णनगर गाविसको स्थायीवासी देखाएर २०६३ सालमा नेपाली नागरिकता लिए।
उनीहरू जमिमकझ घटना हुनुभन्दा ३ महिना अघिदेखि काठमाडौं आएर बसेका थिए। उनीहरू सशस्त्र प्रहरीका पूर्व डिआईजी ज्ञानेन्द्र राईको घरमा भाडामा बसेका थिए।
उनीहरूले श्रीकृष्ण पौडेलको म्हेपी स्थित डेरा, बागबजारको संगम गेष्ट हाउस अनि गोगंबुस्थित सविता श्रेष्ठको भाडाको घरमा बसेका थिए।
पहिला उनीहरूको टार्गेट युनुस अन्सारी थिए। तर, युनुस जाली भारतीय रूपैयाँको कारोबारमा संलग्न रहेको अभियोगमा कारागारमा रहेकाले योजना बदलियो। जमिम टार्गेटमा परे।
त्रिलोक सिंहले प्रकाश क्षेत्रीमार्फत सम्पर्क सञ्जाल बढाएको र पूर्व डिएसपीमार्फत जमिम शाहको दैनिक गतिविधीबारे जानकारी लिएको प्रहरी अनुसन्धान अनि आयोगको प्रतिवेदनमा उल्लेख छ।
हत्याको दोस्रो दिनसम्म त्रिलोक काठमाडौंमै थिए। गोली हानेपछि त्रिलोकले सुटरलाई प्रकाश क्षेत्री, किशोर खड्का, लक्ष्मण धमला, श्रीकृष्ण पौडेलको सहयोगमा त्यही दिन भगाएका थिए।
त्रिलोक त्यो दिन पौडेलकै डेरामा बसेर विहान थानकोट, कृष्णनगर हुँदै भारत पुगे। त्यसयता उनी नेपाल आएको खुलेको छैन।
मिर्जाका सुटर पनि समातिएनन्
जमिम शाहको हत्यापछिको अनुसन्धानको नतिजा र सफलता जस्तै नै थियो मिर्जा हत्या अनुसन्धानको नतिजा र प्रहरी अनुसन्धानका सफलता।
जमिम हत्यामा जसरी नेपाली सहयोगी मात्र पक्राउ परे मिर्जा हत्याको अनुसन्धानको सफलता पनि उस्तै नै थियो। मिर्जाको हत्या योजनामा छोटा राजन अनि बब्लु श्रीवास्तव देखिए जमिममा झैँ।
संलग्न देखिएका नेपाली नागरिक सतिक मोहम्मद खान, सुरेन्द्रकुमार भण्डारी, पुष्पराज गौतम र सतिष गौतम पक्राउ परे।
घटनाका मुख्य योजनाकार भारतीय नागरिक मग्गा सरदार, ओपी सिंह, मन्जित सिंह, जुवेर साह, राजेन्द्र प्रसाद शर्मा, अर्पणा शर्मा, रोहित शर्मा, अजय लगायतकाहरू नेपालमा पक्राउ परेनन्। यी कति उतै मारिए। कतिको पछि मृत्यु भयो। कति भारतमा गरेको अपराधमा पक्राउ परे।
युनुस-फैजानको नतिजा पनि उस्तै
जमिमको हत्यापछि युनुस अन्सारीको हत्या प्रयास अनि फैजान अहमदको हत्या भयो। केन्द्रीय कारागारभित्रै गएर युनुसको हत्या प्रयास गरेकाले सुटर मनमित सिंह भाटिया पक्राउ परे। तर, बाँकी सबै फरार भए।
युनुसको हत्यामा संलग्नहरू भक्तपुरको बोडेमा तीन वटा घरमा भाडामा बसेको खुल्यो। भाटिया पक्राउ परेपछि उनीहरू काठमाडौंको ठमेलमा आएर गेष्ट हाउसमा बसेर दोस्रो दिन भारत हिँडेका थिए।
युनुस घटनामा सहयोगी रहेका ६ जना नेपाली नागरिक पक्राउ परे। तर, मनमित बाहेक अन्य भारतीय नागरिक पक्राउ परेनन्। प्रहरी अनुसन्धानमा सुरेश अली, सुरेश द्ववेदी, रामु द्ववेदी, मुस्ताक अहमद खान, अमर सिंह अनि अरविन्द कुमारको पहिचान खुलेको थियो।
तर, कुनै भारतीय पक्राउ परेनन्। मुस्ताक अहमद लगायतकाले केन्द्रीय कारागारमा गएर चाल्स शोभराज र अमर टण्डनसँग समेत पटक-पटक भेट गरेको रेकर्डबाट खुलेको थियो। यो अनुसन्धानमा प्रहरीको सफलता भनेको अपराधमा संलग्नको पहिचान, नेपाली सहयोगी पक्राउ अनि उनीहरू डेरामा बसेको भक्तपुरको तीन वटा घरको पहिचान मात्रै हो।
जितपुरमा आफताव अन्सारीलाई गोली हानेर भाग्दा-भाग्दै सुटर रवि पाण्डे र विपिन यादव पक्राउ परेका थिए। उनी मारिनु अगाडि मारिएका शौकत बेग अनि मजिद मनिहारको हत्या कसले गरेको भन्नेसम्म खुलेन। त्यसमा त सहयोगी नेपाली नागरिक पनि पक्राउ परेनन्। पछि रवि पाण्डे भन्नेले मनिहारको हत्या गरेको भन्नेसम्म खुल्यो।
मध्य बानेश्वरमा मारिएका कमलसिंह नेपालीको हत्या अनुसन्धान पनि उपलब्धिहीन नै भएर बसिरहेको छ।
२०७० असोज ११ गते काठमाडौं जोरपाटी नारायणटारमा महम्मद समसुल हकमाथि गोली प्रहार भएको थियो। तर, उनलाई कसले गोली हानेको हो र किन हानेको खुलेन। पछि प्रहरीले अर्कै भनेर झुक्किएर हानेको दाबी गर्यो।
युनुसको हत्यामा संलग्न भनिएका आदित्य पलले मनमित सिंहको कानून व्यवसायीलाई भेटेर उनको पारिश्रमिक वापतको पैसा दिएकाले फैजान हत्या र युनुस हत्या प्रयासमा संलग्न एकै समूहका सदस्य रहेकोसम्म देखियो।
उता पाण्डे पक्राउ परेपछि उनले नै फैजानलाई गोली हानेको दाबी आयो। उनकै बयानलाई टेकेर जमिमको हत्या गर्नेले नै वकार सइदले नै सौकत बेग मारेको दाबी आयो।
जो-जो झुक्किएर पक्राउ परे उनीहरूबाट खुलेको तथ्यले पुराना हत्या घटनामा समेत संलग्न रहेको खुले पनि घटनामा संलग्न रहेका सुटर अनि योजनाकार भने सधै फरारै रहे। जेल पुगे नेपाली सहयोगी।
लाल मोहम्मदको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनाको प्रोफाइल अनि हत्यामा प्रयोग भएको अपराध शैली हेर्दा यसको उपलब्धि पनि पुराना घटना भन्दा अगाडि बढ्ने देखिँदैन।
फलोअप स्टोरीहरू
असोज १४, २०७९ शुक्रबार २०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।