सन्दीप लिग सकेर नेपाल आउने, आरोप अस्वीकार गर्दै क्यानसँग मागे कानूनी सहयोग
काठमाडौं: नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफूविरुद्धको आरोप अस्वीकार गरेका छन्। उनले आफू निर्दोष भएको भन्दै कानूनी लडाइँ लड्ने नेपाल क्रिकेट संघ (क्यान)लाई जानकारी गराएका छन्।
उनले कानूनी प्रक्रियाका लागि सहयोग गरिदिन क्यानसमक्ष माग पनि गरेका छन्। क्यानका सचिव प्रशान्तविक्रम मल्लले सन्दीप आफूहरूको सम्पर्कमा रहेको र कानूनी प्रक्रियाका लागि सहजीकरणको अपेक्षा गरेको बताएका छन्।
हाल सन्दीप वेष्ट इण्डिजमा छन्। क्यानसमक्ष सन्दीपले आफू क्यारेबियन प्रिमियर लिग सकेर नेपाल फर्कने बताएका छन्।
उनीमाथि एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ।
सन्दीपमाथि आरोप लागेपछि क्यानले उनलाई कप्तानबाट निलम्बन गर्ने या नगर्ने भन्नेबारे छलफल गरेको थियो। तर जाहेरी मात्र परेको र अनुसन्धानको विषय भएकाले तत्काल कुनै कारबाही नगर्ने क्यानले निष्कर्ष निकालेको थियो।
क्यानले प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ।
भदौ २३, २०७९ बिहीबार ११:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।