घर जाने बहानामा होटल हायात प्लेसबाट निस्किएका थिए सन्दीप, बिहीबार अदालती प्रक्रिया सुरु गर्ने तयारी
काठमाडौँ : केन्या जाने क्रिकेटको राष्ट्रिय टिमका सदस्यसँगै होटल हायात प्लेसको क्लोज क्याम्पमा बसेका कप्तान सन्दीप लामिछाने घर जाने बहानामा होटलबाट निस्किएको खुलेको छ।
नेपाली क्रिकेट टोली भदौ ६ मा लामिछानेकै कप्तानीमा केन्या जाँदै थियो। त्यसको अघिल्लो दिन घर जान भनेर ६ बजेतिर उनी होटलबाट निस्किएका थिए।
सार्वजनिक भएको विवरण अनुसार उनी घर गएको देखिएन। उनी त्यहाँबाट पुरानोबानेश्वर गएर किशोरीलाई लिएर नगरकोट गए।
नगरकोटमा करिब ११ बजेसम्म बसेर उनी काठमाडौँ फर्किएर सिनामंगल क्षेत्रमा रहेको होटलमा पुगेर बिहान ६ बजे निस्किए।
किशोरीलाई होस्टलमा पूर्याएर उनी हायातमा फर्किएर नेपाली टोलीसँगै केन्या गएको देखिन्छ। पाँच गतेको सो घटनाबारे मंगलबार जाहेरी परेपछि ११ : ५५ देखि ६ बजेसम्म बसेको होटलमा किशोरीको बलात्कार गरेको आरोप लाग्यो।
मंगलबार जाहेरी दर्ता भए लगत्तै प्रहरीले उनीहरू बसेको होटलमा गएर मुचुल्का लगायतका काम गरेको थियो। बुधवार प्रहरी टोलीले नगरकोटको रिसोर्ट र सिनामंगलको होटलमा गएर क्लोज सर्किट टेलिभिजनको फुटेज संकलन, होटलका स्टाफहरूको बयान र सन्दीप किशोरी सहित रिसोर्ट र होटलमा गएको थप प्रमाण संकलन गरेर फर्किएको छ।
बिहीबार प्रहरीले किशोरी र जाहेरीकर्तालाई अदालतमा पेस गरेर बयान प्रमाणित गराएर सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गराउने तयारीमा देखिन्छ।
सन्दीप जाहेरीपछि भागेका हैनन्। उनी आफ्नो पूर्व निर्धारित कार्य तालिका अनुसार सिरिज खेल्न गएका हुन्। क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका उनी विरुद्ध कोर्टबाट पक्राउ आदेश लिएर उनलाई नेपाल फर्काउन क्रिकेट एसोसिएसन अफ नेपालसँग समन्वय गर्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए।
' उनी जाहेरीपछि भागेको अवस्था भए अलग हुन्थ्यो। उनी भागेका हैनन्। त्यसैले अहिले हामी जाहेरीमा उल्लेख भए अनुसार घटना हो हैन भन्ने प्रमाण सङ्कलनमा केन्द्रीय छौँ,' ती प्रहरी अधिकारीले भने' अधिकांश प्रमाण संकलन भइसकेको छ। अबको प्रक्रिया भनेको अदालतबाट गराउने हो। उनी तत्काल नफर्कने वा अन्त भाग्न सक्ने अवस्था देखिए सोही अनुसारको प्रक्रिया अगाडि बढाउँछौँ।'
उनी सहजै नेपाल फर्किएको अवस्थामा पक्राउ आदेशको आधारमा विमानस्थलमै नियन्त्रणमा लिएर हिरासतमा राखिन्छ।
उनी नेपाल नफर्किई अन्य देश भाग्न सक्ने जोखिम भएमा प्रहरीले नेपालमा रहेको इन्टरपोलको शाखा मार्फत अदालतको पक्राउ आदेशको आधारमा डिफ्युजन नोटिस जारी गराउन पक्रिया सुरु गर्न सक्छ।
डिफ्युजन नोटिस जारी भएको अवस्थामा इन्टरपोलका सदस्य राष्टमध्ये जहाँ गए पनि उनलाई नियन्त्रणमा लिएर नेपाल फर्काउन सक्छन्।
यो बाध्यकारी भने हैन। समन्वयात्मक प्रक्रिया मात्रै हो। तर लागु औषध, अवैध हतियार, मानव बेचबिखन अनि महिला तथा बालबालिका विरुद्धको हिंसामा सदस्य राष्ट्रहरूले कडा नीति लिने गरेको देखिन्छ। नाबालिग बलात्कार आरोप भएकाले उनी नेपाल नफर्किएको अवस्थामा डिफ्युजन नोटिस जारी गराएर सहजै नेपाल ल्याउन कठिन देखिँदैन।
सन्दीप प्रकरणमा फलोअप
भदौ २२, २०७९ बुधबार २२:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।