सिनामंगलको होटलको सिसिटिभीमा जे देखियो- आएको : बेलुका ११: ५५, निस्किएको बिहान : ६ बजे

सिनामंगलको होटलको सिसिटिभीमा जे देखियो- आएको : बेलुका ११: ५५, निस्किएको बिहान : ६ बजे

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपको अनुसन्धानकोक्रममा प्रहरीले बलियो प्रमाण फेला परेको दाबी गरेको छ।

अनुसन्धान स्रोतका अनुसार पीडित किशोरीको तर्फबाट परेको जाहेरीमा उल्लेख भएको होटलको सिसिटिभी फुटेजमा उनले होटलमा गएको भनिएको समयमा दुवै जना होटेलभित्र प्रवेश गरेको र चेक आउट गरेर बिहान ६ बजे निस्किएको फुटेज फेला परेको हो।

यसले घटना भएको भनिएको दिन भदौ ५ गते बेलुका सन्दीप पीडित किशोरीसँग होटलमा गएको हो भन्ने पुष्टि भएको छ। सन्दीपले होटलको ३०५ नम्बरको कोठा लिए पनि त्यसको रेकर्ड भने होटलमा फेला परेन।

होटलको गेस्ट बुकमा सन्दीपको नाम छैन। सन्दीप नियमित सोही होटलमा जाने भएकाले फोन कलको आधारमा होटलको कोठा दिएको र लग बुकमा नराखेको होटेल प्रशासनले प्रहरीलाई बताएको अनुसन्धानरतस्रोतले बतायो।

किशोरीले पहिला एउटा कोठामा बसेको तर त्यसको एसी नचलेपछि अर्को कोठामा गएको जाहेरीमा उल्लेख गरेकी छिन्। होटेलका कर्मचारीहरूले प्रहरीलाई त्यसको पुष्टि गरिदिएको स्रोतको दाबी छ। होटलमा पुगेका सन्दीपले मदिरा पिएको समेत देखिएको छ।

'अहिलेसम्मको अनुसन्धानमा फेला परेका प्रमाण र विवरणले सो दिन सन्दीप र पीडित किशोरी सँगै रहेको पुष्टि गर्छ। बाँकी स्वास्थ्य परीक्षण प्रतिवेदन लगायतका आएपछि मात्र भन्न सकिन्छ,' काठमाडौँ परिसरका एक प्रहरी अधिकारीले उकेरालाई भने।

प्रहरीले जाहेरीमा उल्लेख भएको समय तालिका अनुसार अनुसन्धानलाई डोर्याइरहेको देखियो। जाहेरीमा उल्लेख भए अनुसार लामिछानेले किशोरीलाई पुरानो बानेश्वर क्षेत्रबाट आफ्नै गाडीमा पिक गरेका थिए। उनले मास्क लगाएका थिए।

उनी त्यहाँबाट नगरकोट हिँडे। उनी नगरकोटमा पनि गइरहने रिसोर्टमै पुगे। रिसोर्टमा पुग्दा पौनै ९ जति भएको दाबी छ। उनीहरू त्यहाँबाट ११ बजे आसपास हिँडेको दाबी आएको छ। लामिछानेले रिसोर्टमा डिजिटल पेमेन्ट गरेकाले प्रहरीका लागि त्यो समेत प्रमाण बनेको छ।

सिनामंगल एयरपोर्ट नजिकको होटलमा रात बिताएका उनी बिहान ६ बजे आसपास होटलबाट निस्किएर किशोरीलाई होस्टल नजिक पूर्याएर फर्किएका थिए। लामिछाने भदौ ६ मै नेपाली राष्ट्रिय क्रिकेट टिमसँगै विदेश गएका थिए।  

सन्दीप प्रकरणमा फलोअप

भदौ २२, २०७९ बुधबार १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।