आपराधिक पृष्ठभूमिका गोर्खालीलाई सांसद बनाउने सिन्धु कांग्रेसको रहर, क्षेत्र नम्बर २ बाट सिफारिस
काठमाडौँ : नेपाली कांग्रेस सिन्धुपाल्चोकले क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन राजु गोर्खालीको नाम सिफारिस गरेको छ। कांग्रेस जिल्ला सभापति जङ्गबहादुर लामाका अनुसार जिल्लाले गोर्खालीको नाम २ नम्बरमा राखेर सिफारिस गरेको हो।
जिल्ला समितिले आइतबार बागमती प्रदेश र केन्द्रीय समितिलाई पठाएको सिफारिस सूचीमा गोर्खालीसँगै पूर्व राज्यमन्त्री विष्णुविक्रम थापा, कांग्रेस निवर्तमान उपसभापति शिव सुनार, सचिव बिलबहादुर तामाङ र पुराना नेता शङ्कर लामाको नाम सिफारिस गरेको हो।
काठमाडौँको चाबहिल क्षेत्रलाई आधार बनाएर बालुवा खानी ठेक्का कब्जा गर्दै रात्रिकालीन व्यवसायमा संलग्न भएका उनी हत्या अभियोगमा जेल परिसकेका छन्। राकेश लिम्बुको हत्या अभियोगमा उनी लामो समय भारतमा लुकेर बसे पनि प्रहरीले पक्राउ गरेको थियो।
काठमाडौँमा दीपक मनाङे र चक्रे मिलन समूहबिच प्रतिष्पर्धाहुँदा उनी दुवै समूहसँग मिलेर काठमाडौँमा सक्रिय थिए। उनले बेबिलोन डिस्को चलाएका थिए। उनको परिवार चाबहिल क्षेत्रमा कपडा व्यापारमा संलग्न छन्।
काठमाडौँ क्षेत्र नम्बर ४ का उनलाई सिन्धुपाल्चोकका कांग्रेस नेता विकास लामाले सिन्धुपाल्चोक लगेर कांग्रेस राजनीतिमा जोडेका हुन्। उनी कांग्रेसको १४ औँ महाधिवेशन अगाडि कांग्रेसमा सक्रिय भएका हुन्। गत निर्वाचनमा उनले राप्रपालाई समर्थन गरेका थिए।
भदौ १९, २०७९ आइतबार १९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।