अब सांसद् बन्ने पालो चक्रे मिलनको !
पोखरा : आपराधिक पृष्ठभुमीकाहरु एकपछि अर्को गर्दै राजनीतिमा सक्रिय भइरहेको बेला एमालेले चक्रे मिलनको रूपमा परिचित मिलन गुरुङलाई प्रतिनिधि सभाको सदस्यका लागी नाम सिफारिस गरेको छ।
एमाले क्षेत्रीय कमिटीले गोरखा–२ को उम्मेदवारको रूपमा उनको नाम सिफारिस गरेको हो। कमिटीले गुरुङसँगै दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम समेत सिफारिस गरेको छ।
काठमाडौँको चक्रपथ क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटक-पटक पक्राउ पर्दै छुट्दै आएका चक्रे केही समयदेखि गोरखा क्षेत्रमा सक्रिय छन्। प्रहरीले आपराधिक गतिविधिमा संलग्नलाई टार्गेट गरेर इन्काउन्टर अभियानै सुरु गरेपछि अन्य गुन्डा नाइकेहरू जस्तै उनी पनि आपराधिक गतिवधीमा निष्क्रिय बसेका थिए।
उनी पहिल्यैबाट एमालेसँग जोडिएका थिए। उनले युथफोर्ससँग मिलेर काम गर्ने गरेका थिए भने उनको नाम तत्कालिन एमाले नेता प्रदीप नेपालसँग जोडिदै आएको थियो। उनले नेपालको श्रीमतीसँग भाईटिका लगाउने गरेका छन्।
उनको प्रतिस्पर्धी मानिने दीपक मनाङे गत निर्वाचनबाटै प्रदेश सांसद भएर अहिले गण्डकी प्रदेशको खेलकुद मन्त्री भइसकेका छन्। उनीभन्दा जुनियर गणेश लामा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसकेका छन्। लामा गत निर्वाचनमा काभ्रेमा प्रदेश सांसदको उम्मेदवार बने पनि पराजित भएका थिए।
परशुराम बस्नेत एमालेमा सक्रिय छन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको निर्वाचन परिचालन सचिवालयको सदस्य समेत हुन्।
भदौ १९, २०७९ आइतबार १८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।