वैदेशिक रोजगारीले सम्बन्धमा ल्याएको खटपटले निम्त्यायो अर्को बीभत्स घटना, श्रीमती र २ सन्तानको हत्या गरेर दिनेशले आत्महत्या गरेको शंका
काठमाडौँ : चितवनमा एक साता अगाडि श्रीमानले श्रीमतीको हत्या गरेर छतबाट हाम फालेर आत्महत्या गरेको घटनाको कारण देखिएको थियो लामो समय श्रीमान्-श्रीमती अलग बस्दा बढेको असमझदारी। पारिवारिक विवाद अदालतमा पुगेर सम्बन्ध विच्छेदको चरणमा प्रवेश गर्नु अगाडि नै त्यो घटना भएको खुलेको थियो। सोमबार काठमाडौँको तारकेश्वरमा फेरि त्यस्तै बीभत्स घटना सार्वजनिक भयो।
४१ वर्षका दिनेश पाण्डे, ३९ वर्षकी सुनिता पाण्डे, १३ वर्षकी छोरी अनी ८ वर्षका छोराको एकै घरमा शव फेला परेको सो घटनाको प्रारम्भिक अनुसन्धानमै दिनेशले परिवारका तीन सदस्यको हत्या गरेपछि आफूले आत्महत्या गरेको देखिएको छ।
प्रहरीले घटनास्थलमा सुसाइड नोट समेत फेला पारेको छ। तर सो नोटमा के लेखिएको छ भन्ने प्रहरीले खुलाइसकेको छैन। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीका अनुसार सोमबार बिहान नौ बजे तार्केश्वर नगरपालिका वडा नम्बर २ मा रहेको पदमसालस्थित एकतले घरमा उनीहरूको शव फेला परेको थियो।
दिनेशको छोरी सधैँ बिहान विद्यालय जाने गरे पनि सोमबार बिहान ८ बजे विद्यालय जान नआएपछि छिमेकी उनीहरूको घरमा गएका थिए। तर बोलाउँदा कोही पनि नबोलेको र घरको झ्याल ढोका समेत बन्द रहेको देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी वृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली घटनास्थलमा पुग्दा घरको सबै झ्याल ढोका भित्रबाट चुकुल लगाएर बन्द गरेको अवस्थामा फेला परेपछि प्रहरीले ढोकाको चुकुल फुटाएर भित्र प्रवेश गर्दा बीभत्स दृश्य देखेको थियो।
पाण्डे परिवारबारे जानकारहरूबाट प्रहरीले पाएको जानकारी अनुसार दिनेश १२ वर्ष जति कुवेत बसेर नेपाल फर्किएका थिए। उनी नेपाल फर्किएर गोरखाको घरमा नबसी तारेकेश्वरमा एक तले घर बनाएर बसेका थिए। उनी चार वर्ष अघि नेपाल आएपछि श्रीमतीसँग पटक-पटक विवाद हुने गरेको थियो।
सरकारी खातामा रेमिटेन्स भर्न १५ वर्ष विदेशिएका कृष्णको परिवारको कथा सरकारलाई के थाहा !
चितवन घटनाझैँ यी दुवै जनाको झगडा पनि पटक-पटक प्रहरी कार्यालयसम्म पुगेको थियो। तीन पटक त उनीहरू बालाजु वृत्तमा पुगेका थिए।
दिनेश सम्बन्धविच्छेद गर्ने पक्षमा थिए। तर सुनिताले मानेकी थिइनन्। बरु उनी पनि विदेश जाने तयारीमा थिइन्। उनी बेलायत जाने तयारीमा लागेपछि घरायसी विवाद थप बढेको थियो। दिनेश उनी बेलायत जाने निर्णयको विपक्षमा देखिएको छ।
तर उनले प्रक्रिया अगाडि बढाइसकेकी थिइन्। उनको पासपोर्टमा ६ महिनाको सिजनल भिसा लगिसकेको थियो। दुई हप्तापछि बेलायत जान उनले आइतबार माछापोखरीमा रहेको मेगाड्रिम सहकारीमा आफ्नो नाममा रहेको पैसा झिकेर खाता बन्द गरेको देखिएको छ।
'डिभोर्स गर्न नमानेको तर जवर्जस्ती बेलायत जाने तयारी गरेकाले पारिवारिक विवाद बढ्दा घटना भएको हुनसक्ने देखिन्छ,' घटनास्थलमा रहेको एक प्रहरी अधिकारीले भने' सुसाइड नोट पनि फेला परेकाले हत्या गरेर आत्महत्या गरेको सम्भावना बढी छ। तर पोस्टमार्टमको रिपोर्ट नआई अहिले नै यही हो भनिहाल्न सक्ने अवस्था छैन।'
साउन १६, २०७९ सोमबार १६:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।