पैसा व्यापारी गम्भीरध्वज जसले बैंक बन्नुअघि नै बैंकको काम गरे
काष्ठमण्डप अगाडि लक्ष्मीनारायण मन्दिरको एक छेउ। भित्तामा टाँसेर राखिएको छ, फलामको पुरानो दराज। अनि गम्भीर मुद्रामा छन्, ढाका टोपी र सेतो सर्ट लगाएका गम्भीरध्वज जोशी।
उनीको शैली नाम जस्तै गम्भीर देखिन्छ। कुनै योग गुरुले आसन ग्रहण गरे जस्तो मुद्रामा छन् गम्भीरध्वज।
उनले लगाएको सर्टको देब्रे बगलीमा 'ओम शान्ति’ लेखिएको पदक पनि देखिन्छ।
०००
हरेक बिहान योग-ध्यान सिध्याएर खाना खानु अनि साइकल चढेर कुपन्डोलबाट आएर ’पैसाको पसल’ खोल्नु गम्भीरध्वजको दैनिकी हो। उनी दिनभरि पैसासँग खेल्छन्। साँझ रात पर्नुभन्दा अघि नै घर फर्किन्छन्। ओम शान्तिमा लागेपछि उनी साँझपर्नु अघि नै घर फर्किने नियम बनाएका हुन्।
गम्भीरध्वज विभिन्न संघ-संस्था र विशेषगरी रिह्याब सेन्टरतिर नि:शुल्क योग सिकाउन जान्छन्। 'योग सिकाउन लागुपदार्थ नियन्त्रणका लागि खुलेका संघ-संस्थामा जान्छु। केन्द्रीय कारागारमा पुग्छु। बोलाएमा नयाँ ठाउँमा पनि कक्षा लिन जान्छु।'
पूर्वदेखि पश्चिमसम्मका योग शिविरमा पुगेर आफूले योग सिकाइसकेको उनले बताए। गम्भीरध्वज भन्छन्, 'बिहान अलौकिक र दिउँसो लौकिक सेवा गर्ने नियम बनाएको छु। बिहानका सबै काम नि:शुल्क गर्छु। दिउँसो भने पैसा साट्न आउनेलाई पर्खेर बसिरहेको हुन्छु।’
ओम शान्तिको अभियानकर्ता हुँदै ब्रह्मचारी
गम्भीरध्वज २१ वर्षको हुँदादेखि ओम शान्ति (ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय) मा लागेका हुन्। सानैदेखि धार्मिक मनका गम्भीरलाई अध्यात्मतिर रुचि बढ्दै गयो।
अध्यात्ममा लागेपछि विभिन्न ठाउँमा स्वयंसेवक भएर जानुपर्ने हुन्थ्यो। भगवानको शरणमा पर्नु। ज्ञान-गुनका कुरा गर्नु अनि योग गर्नु। जिन्दगीमा खोजेको र गर्नुपर्ने चिज यही हो भन्ने लागेपछि उनी यहाँबाट टाढा जान सकेनन्।
ओम शान्तिमा लाग्ने बेला गम्भीरध्वजको जाँच चलिरहेको थियो। जाँचकै बेला स्वयंसेवक भएर जानुपर्ने भयो। 'जाँच भनेको त पछि दिउँला, अहिले सेवा गर्नुपर्छ’ भन्ने मनमा लाग्यो। त्यसैले पढाइमा धेरै गर्न सकेनन् उनले। 'ब्याक दिनुपर्ने थियो। पछि भन्दाभन्दै पछि नै भयो,’ उनले भने।
विवाह गरौं जस्तै लागेन
अहिलेसम्म अविवाहित गम्भीरध्वजलाई विवाह गरौं जस्तो कहिल्यै लागेन रे। 'मलाई विवाह जरुरी लागेन। कहिल्यै गरौं जस्तो पनि लागेन र विवाह नगरेकोमा पश्चाताप पनि छैन,' उनी भन्छन्।
कसैले श्रीमती खै त? भन्दा उनी मुस्कुराउँदै आफ्नो छातीमा झुन्ड्याइएको 'ब्रह्मचारी ट्याग’ देखाउने गर्छन्।
कामको सिलसिलामा गम्भीरध्वजले कुनै बेला कालिमाटीमा शिवशक्ति नामको फोटो स्टुडियो खोलेको थिए। झन्डै १० वर्ष चलाएर उनले त्यो स्टुडियो छोडिदिए।
'त्यतिबेला अहिले जस्तो बत्तिको सुविधा थिएन। दिनभरि जाने अनि बेलुका भएपछि आउने हुन्थ्यो। मान्छे फोटो खिच्न आउँदा बत्ति हुँदैनथ्यो। काम गर्न निकै गाह्रो भयो,' उनी सुनाउँछन्, 'सबै काम राति गर्नुपर्ने हुन्थ्यो। समस्या थपिँदै गएपछि यस्तो झन्झटको काम पनि के गर्नु भनेर १० वर्षपछि छोडिदिएँ।’
बाबुको बिँडो
फोटो स्टुडियो छोडेपछि गम्भीरध्वज बुबाले गर्दै आएको काम सम्हाल्न थाले। उनका बुबाको पैसा साट्ने पसल थियो। उनलाई पनि पैसाको संग्रहमा रुचि थियो। सानैदेखि पैसा देखेको र पैसासँग खेल्न पाएको कारण गम्भीरध्वज यो काममा रमाइलो लाग्थ्यो।
बुबाले पसल चलाएको देखेर अनुभव बटुलिसकेका गम्भीरध्वजले २०५८ सालमा बुबाको मृत्यु भएपछि त्यो काम पूर्ण रुपमा आफैंले सम्हाले।
६० वर्षदेखि पैसासँग खेल्दै
बुबा सिद्धिध्वज जोशीले सुरु गरेको कारोबारलाई निरन्तरता दिन थालेको कति भयो भनेर ठ्याक्कै याद त गम्भीरध्वजले छैन। तर आफू अहिले ६९ वर्ष भएको र ७/८ वर्षदेखि मात्र बुबासँग काम गर्न थालेको हुनाले ६० वर्षभन्दा बढी समय यक्ष क्षेत्रमा बिताएको उनी अनुमान लगाउँछन्।
गम्भीरध्वजसँग अहिले एउटा म्युजियम बनाउन पुग्ने विभिन्न किसिमका तथा पुराना पैसा, स्वस्थ र खुसी हुनको लागि योग गर्ने र गराउन गराउने कर्म तथा बुबाले कारोबार गर्दा चलाएको सानो फलामको दराज मात्र छ। त्यो दराज कहिले किनेको भन्ने उनले बिर्सिसकेका छन्। तर बुबाले त्यो समय कलकत्ताबाट चार सय रुपैयाँमा किनेको भन्ने चाहिँ याद छ।
'गोर्खाको म्युजियम खुल्दा पृथ्वीनारायण शाहको पालाको पैसा लिन आएका थिए। त्यस्तै चाँगुमा पनि पैसाकै मात्र म्युजियम खुलेको छ। त्यहाँ पनि धेरै पैसा दिएँ। अन्य ठाउँबाट आउनेलाई पनि दिने गरेको छु। त्यो पनि एउटा सेवा नै हो नि।’
'त्यसबेला यस्तो दराज कि बेलायतमा पाइन्थ्यो कि कलकत्तामा। यो चाहिँ कलकत्ताबाट चार सय रुपैयाँमा किनेर ल्याएको हो।’
काठमाडौँको बिच्छे बहालमा जन्मिएका गम्भीरध्वजले जिन्दगीको आधा शताब्दीभन्दा बढी समय यसै क्षेत्रमा बिताइसके।
काठमाडौँमा पैसा साट्ने काम आफ्नै बुबाले सुरु गरेको उनको दावी छ। 'हामी काठमाडौंका जोशी। पहिला-पहिला लाहुरेहरु यहाँ पैसा साट्न आउँथे। बाहिरबाट आइसी ल्याउने अनि नेपाली साटेर लैजाने गर्थे। त्यसरी साट्दा नाफा भनेको सय रुपैयाँको एक आना हुन्थ्यो।’
सम्झनामा मुलुकी खाना र लाहुरे
आफ्नो पसलको लागि मुलुकी खानाबाट पैसा ल्याएको उनी अहिले पनि सम्झन्छन्। 'त्यति बेला बैंक भन्ने नै थिएन। मुलुकी खानाबाट पैसा ल्याउने गर्थ्यौं। नजिकैको सेतो दरबारभित्र मुलिकी खाना थियो। अनि हामी आइसी लिएर नेपाली पैसा साट्ने गर्थ्यौं। पहिला त सबै लाहुरेहरु मात्र हुन्थे ग्राहक पनि। अब अहिले त राष्ट्र बैंक भयो। के के भयो। सबै जना नजिकैको बैंकमा कारोबार गर्न गइहाल्छान् नि। आइसी साट्ने काम पनि बैंकले नै गर्छ,’ उनी भन्छन्।
अहिले लाहुरे कम भएकाले गम्भीरध्वज विदेशी पैसाभन्दा नयाँ र पुरानो पैसा साट्ने गर्छन्। पूजा गर्नको लागि पनि विशेष गरी पुरानो सिक्काको प्रयोग गर्न थालेको उनको अनुभव छ।
उनले गरेको संग्रहमा विशेष गरी लिच्छवी र मल्लकालीन पैसा छन्। उनी पैसाबाट पैसा नै आम्दानी गर्नुपर्ने हुँदा ठ्याक्कै यति कमाइ हुन्छ भनेर भन्ने नसकिने बताउँछन्। 'कहिले लाख पनि हुन्छ, कहिले सय रुपैयाँ पनि हुँदैन,’ उनी भन्छन्, 'अहिले मानिस धेरै सोखिन भइसकेका छन्। मान्छे पैसा संग्रहमा रुचि राख्न थालेका त्यसैले अहिले पहिलाभन्दा धेरै व्यापार हुन्छ। पहिला धेरैजसो आइसी साट्ने मात्रै हुन्थे। अहिले सबै देशका, सबै किसिमका पैसा आउन थालेको छ। स्कुलतिर पनि पैसाको बारेमा शिक्षा दिने कार्यक्रम बनिरहेको रहेछ। त्यहाँ पनि धेरै मगाउँछन्।’
संग्रहालय बनाउन संकलन गरेको पैसा पर्याप्त
गम्भीरध्वजले संग्रहालयमा आफूले संकलन गरेका पैसा दिएका छन्। 'गोर्खाको म्युजियम खुल्दा पृथ्वीनारायण शाहको पालाको पैसा लिन आएका थिए। त्यस्तै चाँगुमा पनि पैसाकै मात्र म्युजियम खुलेको छ। त्यहाँ पनि धेरै पैसा दिएँ। अन्य ठाउँबाट आउनेलाई पनि दिने गरेको छु। त्यो पनि एउटा सेवा नै हो नि।’
गम्भीरध्वज आफैंले भने संग्रहालय बनाएका छैनन्। तर उनको कलेक्सन एउटा संग्रहालय बनाउन पर्याप्त रहेको उनी बताउँछन्। 'ठ्याक्कै कति छ भन्ने त थाहा छैन। तर एउटा संग्रहालयका लागि पर्याप्त छ,' उनी भन्छन्।
इतिहास बचाउन र थाहा नभएकालाई थाहा दिन आफूले पैसाको संकलन गरेको गम्भीरध्वज बताउँछन्। 'एकचोटी सबै संकलन गरेको पैसाको प्रदर्शन गर्न मन छ। आफैंलाई पनि के-के संकलन गरिएछ भनेर हेर्न मन छ,' उनी भन्छन्।
आफूसँग संकलन सबै पैसा छाउनी म्युजियमलाई दिने पनि सोचेको थिए गम्भीरध्वजले। तर उनले म्युजियमहरुले सक्कली लिएर नक्कली राख्ने गर्छ भन्ने कुरा सुने। त्यसपछि म्युजियमलाई पैसा दिने सोच त्यागे। उनले सुनाए, 'त्यस्तो ठाउँमा दिएर के गर्ने? सबैलाई ज्ञान होस्, जानकारी होस् भनेर पो म्युजियममा दिने हो त। त्यहाँ नक्कली ज्ञान हुन्छ भने किन दिने?’
संग्रहालयमै नभएका सिक्का समेत आफूसँग भएको उनको दावी छ। ब्रिटिस संग्रहालयमा नभएका पैसा समेत आफूसँग भएको थाहा पाएर उनीहरुले किनेर लगेको गम्भीरध्वजले बताए।
पैसाका डाक्टर
बच्चादेखि पैसा समाउँदा-समाउँदै कहाँको र कस्तो किसिमको पैसा हो भनेर उनी हेरेरै थाहा पाउँछन्। 'पैसा हेर्दा नै थाहा भइहाल्छ। एक जनाले त मलाई पैसाको डाक्टर समेत भने। उनले डाक्टरले नाडी हेरेर बिरामी थाहा पाउँछन्। तपाईं पैसा हेर्नासाथ कहाँको, कस्तो सबै थाहा पाउनुहुन्छ भन्थे।’
नेपालमा ऐतिहासिक पैसाहरु रहेको उनी बताउँछन्। भन्छन्, 'नेपालमा कहीं नपाइने पैसा छन्। राम्रा-राम्रा डिजाइनका पैसा छन्। अनि अचम्मका पैसा पनि छन्। तर पैसा चिन्ने मान्छे नै छैन।’
पैसामा कोर्ने, च्यात्ने, खुम्च्याउने गरेको देख्दा गम्भीरध्वजलाई चित्त दुख्छ रे। 'भगवानलाई पनि पैसा फ्याँकेर चढाउँछन्,' उनको गुनासो छ।
गम्भीरध्वजले नेपालको मात्र नभएर विश्वका थुप्रै देशको पैसा संकलन गरेका छन्। ती सब पैसा उनले पसल राख्ने क्रममै संकलन गरेका हुन्। उनी पैसा बेच्नुका साथै किन्ने पनि गर्छन्।
नेपालको सबैभन्दा महँगो सिक्का चाँदीको 'महेन्द्र मल्ली’ हो। त्यसको मूल्य लिनेले लिन नसक्ने र दिनेले दिन नसक्नेसम्म हुने गम्भीरध्वज बताउँछन्।
उनी सानो हुँदा पैसा धेरै महँगा थिए। त्यसबेला किन्न नसकेको पैसाको छाप मात्र भए पनि संकलन गरिराखेका छन् उनले।
पैसा कलेक्सन गर्ने काम सजिलो नभएको गम्भीरध्वज बताउँछन्। त्यसका लागि पैसाको ज्ञान, पैसा चिन्ने क्षमता र धैर्य चाहिने उनको तर्क छ।
लक्ष्मीनारायण मन्दिरमा नि:शुल्क बस्दै
लक्ष्मीनारायण मन्दिरमा पसल राख्दा गम्भीरध्वजले कुनै शुल्क तिर्नु पर्दैन। काठमाडौँका जोशीहरुका लागि यो विशेष सत्तल मानिन्छ। यो मन्दिर 'मरु जोशी’हरुको संगठन अन्तर्गत पर्छ।
मन्दिर बनाउने क्रममा अरु कसैले बनाउन नसकेकोले जोशीहरुले जिम्मामा आएको र ज्याला स्वरुप मन्दिरको १६ भागको १ भाग उनको पुस्ताले पाएका रहेछन्। त्यसैले अहिलेसम्म उनको परिवार नि:शुल्क बस्न पाउने रहेछन्।
'मल्लकालमा भुपत्येन्द्र मल्ल राजा भएका बेला लक्ष्मीनारायण जोशी प्रधानमन्त्री भए। उनी यति शक्तिशाली भए कि मोहरमा पनि आफ्नै नाम राखेर छापे। ठाउँ-ठाउँमा मन्दिर बनाए। शक्तिशाली भएपछि त जे गर्दा पनि चल्ने नै भयो। उनले राम्रो पनि गरे, नराम्रो पनि गरे, 'गम्भीरध्वज इतिहास कोट्याउँछन्, 'उनले यो मन्दिरको नाम लक्ष्मीनारायण राखेछन्। मान्छेले देउताको नाम राख्यो भन्ने सोच्ने गर्छन् तर वास्तवमा उनले आफ्नो नाम राखेछन्। पछि गलत काम भन्ने बुझेपछि स्थानीय मिलेर उता घन्टी अगाडि लगेर खुकुरीले हानेर मारेको कथन छ।’
पैसाकै कुरा गर्दा नेपालको सबैभन्दा महँगो सिक्का चाँदीको 'महेन्द्र मल्ली’ हो। त्यसको मूल्य लिनेले लिन नसक्ने र दिनेले दिन नसक्नेसम्म हुने गम्भीरध्वज बताउँछन्।
३६/३७ सालदेखि उनी काठमाडौं छोडेर लालितपुरको कुपन्डोलमा बस्दै आएका छन्। 'यहाँ हाम्रो पुरानो घर थियो। पछि परिवार बढ्यो। ठाउँ सानो भयो। ठाउँ नपुगेपछि कुपन्डोल पुग्यौं,' उनले भने।
असार २०, २०७९ सोमबार १३:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।