नयाँ मन्त्रीको सपथ भोलिसम्म हुन्छः राजेन्द्र पाण्डे

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री एवं एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने बताएका छन्।
एकीकृत समाजवादीको पोलिटब्युरो बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पाण्डेले मन्त्री हेरफेरको निर्णयले पार्टीमा केही विवाद देखिए पनि शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने र पुराना मन्त्री फिर्ता हुने जानकारी दिए।
‘पहिले सरकारमा सामेल हुँदा म आफैं बसेको बैठकले पत्र पठाएर उहाँहरू मन्त्ती हुनु भएको हो। अब त्यस्तै पत्र पठाएर उहाँहरू फिर्ता हुनु हुन्छ र भोलि (शनिबार) सम्म नयाँ मन्त्रीको सपथ हुन्छ,’ उनले भने।
मुख्यमन्त्री पाण्डेले विगतमा आफ्नो पार्टीसँग थोरै सिट भएकाले ‘तपाईहरु (मन्त्री)लाई फिर्ता गरेर नयाँ मान्छे पठाउँछौं भनिएको थियो। उहाँहरू सबैले हुन्छ भन्नुभएको हो। अहिले मलाई थाहा छैन भन्नु बेकारको कुरा हो’ भने। बजेटमाथि संसदमा छलफल भइरहेको र मन्त्रीहरूले जवाफ दिने बेला मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय अलि अपरिपक्व रहेको पनि उनले स्वीकारे। तर, अहिले सबै मन्त्रीहरूले आफ्नो मन्त्रालयबारे जवाफ दिइसकेकाले मन्त्री हेरफेर उनको भनाइ छ।
यस्तै एक पोलिट्ब्युरो सदस्यका अनुसार मन्त्री प्रेमबहादुर आलेले पोलिटब्युरो बैठकमा पार्टीको निर्णय १२ घण्टा भित्र कार्यान्वयन गराउन आफैँ लागि पर्ने बताए। बैठक नसकिँदै बारिएका मन्त्री आलेले कुनै प्रतिक्रिया दिन चाहेनन्।
आलेको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, म पार्टीको निर्णय मान्न तयार छु। मैले पहिले नै भनेको हुँ। अब १२ घण्टाभित्र यो निर्णय कार्यान्वयन गर्नका लागि मेरो भूमिका हुन्छ,म पार्टीको पद्धति मान्छु।
असार १०, २०७९ शुक्रबार १६:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।