एकीकृत समाजवादीमा चर्कियो असन्तुष्टि: मन्त्रीहरूले भने- 'अपराधीलाई जस्तो व्यवहार गरियो'
काठमाडौंः नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू फिर्ता बोलाउने पार्टीको निर्णयप्रति पार्टी सदस्यहरूको चर्को असन्तुष्टि छर्लङ्ग भएको छ। हिजो सरकारमा रहेका मन्त्रीहरूसहित १० सांसदले पार्टी अध्यक्ष माधव नेपाललाई पत्र लेखेर आफूहरूलाई अपराधी जस्तो व्यवहार गरिएको बताएका छन्।
पत्र आज बिहान १० बजे दर्ता गराइएको छ। पत्रमा आगामी आ.व.२०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख छ।
यस्तै आफूहरूले पूर्व जानकारी पाएर स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गर्ने बताउँदा बताउँदै पनि पटक पटक अपराधीलाई जस्तो व्यवहार गरिएको बताइएको छ। पत्रमा उल्लेख छ- 'पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउछौं भनेर नेतृत्त्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापी ठीक मान्न सकिँदैन।'
यस्तै अध्यक्ष नेपालले नै गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरूसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्षविपरीत पटक पटक नयाँ मन्त्रीहरूलाई शपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब स्वीकार्य नभएको पनि असन्तुष्टि पत्रमार्फत् जनाइएको छ।
यस्तै प्रस्ताव गरिएका नयाँ मन्त्रीहरूको नामावली पनि असमावेशी र असन्तुलित रहेको भन्दै सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नगरिएको, महिलाको सहभागिता नभएको, गैरसांसद र एकै जिल्लाबाट दुई जना एकै पटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको आरोप लगाइएको छ।
असन्तुष्ट सांसद तथा मन्त्रीहरूले यी विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गरेका छन्।
असार १०, २०७९ शुक्रबार १२:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।