ब्याच नम्बर ६९ : व्यापारी अपहरणका योजनाकार गृहमन्त्रीको क्वाटरमा !
नेपालसँग सीमा छोडिएको भारतीय क्षेत्रमा भएको अपराधलाई वास्ता नगर्दा त्यसको कति गम्भीर असर पर्छ नेपालमा भन्ने धेरै उदाहरणहरू छन्। त्यसमध्ये भारतको विहारमा मौलाएको अपहरणसम्बन्धी घटना बढेपछि नेपालमा परेको प्रभाव र त्यसको अनुसन्धानबारे उल्लेख गर्दा सुरक्षामा नेपाल र भारतको सुरक्षाकर्मीबिचको सम्बन्ध कतिसम्म महत्त्वपूर्ण छ भन्ने बुझ्न सजिलो हुनसक्छ।
एक पटक वीरगन्ज लगायतका क्षेत्रमा एकाएक अपहरणका घटनाहरू बढ्यो। नेपालमा एकाएक अपहरणका घटनाहरू बढ्नु अगाडि भारतको विहारमा अपहरणले सङ्गठित आकार लिइसकेको थियो। उता अपहरणका घटना बढेसँगै नेपालका ब्यपारीहरु पनि अपहरणमा पर्न थाले।
जो अपहरणमा परेनन् उनीहरूलाई यति पैसा दे नत्र उठाइदिन्छु भनेर भारतीय नम्बरहरूबाट धम्कीपूर्ण फोनहरू आउन थालेका थिए। त्यहीबिचमा मनोज ग्यासका सञ्चालकको अपहरण भयो।
पछि उनी घर फर्किए। उनले ठुलै रकम फिरौती रकम बुझाएर मात्र रिहा भएका हुन् भन्नेमा शङ्का गर्नुपर्ने विषय नै भएन। विराटनगरका नाम चलेका व्यवसायी तुल्सी अग्रवालको पनि अपहरण भयो। उनको भारतीय अपराधीले अपहरण गरेको भन्ने सुनियो। तर यसमा शङ्का गर्नुपर्ने धेरै ठाउँहरू थिए।
पछि उनी अपहरणमुक्त भए। तर अपहरणमुक्त हुन पाँच करोड फिरौती बुझाएको भन्ने आएको थियो। वीरगन्ज अनि विराटनगरका एकपछि अर्को व्यापारीहरू अपहरणमा पर्दा पनि त्यहाँका प्रहरीले त्यति राम्रोसँग काम गरेको देखिएन।
अनौपचारिक रूपमा नेपालका प्रहरीहरुविरुद्ध समेत प्रहरी प्रधान कार्यालयमा समेत गुनासोहरू आउन थाले। भारतीय अपराधीहरूसँग नेपाल प्रहरीको नै संलग्नता रहेको र उनीहरूले समेत सघाउने गरेको भन्नेजस्ता सूचना आउन थाले।
हो या हैन भन्ने एकिन त थिएन। तर सङ्गठित अपराधमा नेपाल प्रहरीकै सदस्यको संलग्न रहेको भन्ने आरोप नै गम्भीर हो नै। यो संवेदनशील सूचना पनि थियो। योबारे हेडक्वाटरमा निकै गम्भीर छलफल भएपछि हो हैन भनेर बुझ्न विशेष टोली पठाउने भन्ने निर्णय भएछ।
त्यसको नेतृत्व तत्कालीन एसएसपी विजयराज भट्टले गर्ने हुनुभयो। त्यही टोलीमा म र शैलेश थापा क्षेत्री पनि सहभागी भयौँ। वीरगन्ज, विराटनगर अनि जनपुर क्षेत्रका व्यापारीहरूबाट धेरै गुनासो आएका थिए। हाम्रो टोली वीरगन्ज केन्द्रित थियो।
जुन समयमा समिति गठन भएको थियो त्यो बेलामा मनोज ग्यासका सञ्चालक अपहरणमा परेर मोटो रकम फिरौती बुझाएर रिहा भएर आएका थिए। उनको अपहरणमा नेपालतर्फ सुरक्षाकर्मीले निभाएको भूमिका शङ्कास्पद देखिएको थियो।
जब हामी फिल्डमा गयौँ अनि आएका गुनासाहरू आधारहीन हैन भन्ने सङ्केतहरू देखिए। त्यहाँका स्थानीय व्यापारीहरूले हामीसँग भेट्न खोजे। तर उनीहरूको व्यवहार हेर्दा भेटमा सकेसम्म लोकल प्रहरी चैँ नभइदिए हुने भन्ने जस्तो देखियो।
सूचनाका लागि भेटघाट अनिवार्य थियो। अब उनीहरूले लोकल प्रहरीसँगै भेट्न नचाहेपछि हामीले माहौल मिलाएर उनीहरूसँग भेट्न थाल्यौँ। त्यहाँ चिनेका व्यवसायीहरू पनि थिए।
उनीहरूसँग भेट्दा अपहरणमा नेपालतर्फका प्रहरीहरूको प्रस्टै मिलेमतो छ भन्ने आयो। हामीले त केही ठुला व्यवसायीहरू अपहरण भएको मात्र सुनेका थियौँ। त्यहाँ गएपछि त यति धेरै अपहरणका घटनाहरू भएको देखियो कि छक्कै परियो। ५-७ हजारका लागि समेत अपहरण भएका घटनाहरू आए।
व्यापारीहरू सिधै अपहरणमा नेपाल र भारतीय सुरक्षाकर्मीहरू समेत संलग्न रहेको आरोप लगाइरहेका थिए। नेपालका कुनै व्यापारी उठाउनु अगाडि भारतीय अपराधीले पहिल्यै नेपालका सुरक्षाकर्मीलाई एडभान्स रकम नदिई अपहरणै नहुने सम्मको आरोपहरू आयो।
यसले त सुरक्षाकर्मीको प्रत्यक्ष संलग्नतामा अपहरणका घटनाहरू भइरहेको देखियो नि। नेपालका कुनै व्यवसायीको अपहरण गर्नुपर्यो भने भारतीय अपराधी प्रयोग गर्ने भए। यता नेपालबाट अपहरण गर्न नेपालका सुरक्षाकर्मीलाई पहिल्यै पैसा दिएर अपहरण गर्ने अनि उता भारतीय सुरक्षाकर्मीलाई पनि पैसा दिएर बन्धक बनाएर राख्ने। जब फिरौती रकम पायो अनि छाड्ने।
नेपालको व्यापारीको अपहरण मात्रै हैन। भारतका व्यापारीको अपहरण गरेर नेपाल ल्याएर बन्धक बनाएर राख्ने। अनि जब भारतमा फिरौती रकम पाइन्छ अनि मात्र अपहरण मुक्त गर्ने गरेका घटनाहरूसम्म देखिए।
कुनै न कुनै रूपमा भारत र नेपालका अपराधीहरू मात्रै हैन भारत र नेपालका सुरक्षाकर्मीहरूको संलग्नता र संरक्षणमा विराटनगर अनि वीरगन्ज जस्ता व्यापारी केन्द्रका अपहरणको त्रास बढेको देखियो।
अनुसन्धानमा जे जस्तो अवस्था देखियो हामीले ती सबै उल्लेख गरेर प्रतिवेदन दियौँ। व्यापारीहरूले हामीहरूसँग कुरा गर्दा कुनै व्यक्तिको नामै तोकेर भनेका थिएनन्। उनीहरूले उनीहरू कसरी संलग्न छन् भनेर मात्र खुलाएकाले को-को संलग्न छन् भनेर नामै त तोक्न सकिएन। तर मधेसका सहरी केन्द्रमा भइरहेको अपहरणमा कुनै न कुनै रूपमा नेपाल प्रहरीका सदस्यहरू सहयोगीको भूमिकामा देखिए भन्ने चैँ उल्लेख गरेका थियौँ।
यस्तो विशेष अनुसन्धानमा प्रहरी महानिरीक्षकले औपचारिक रूपमा घटाएको टोलीलाई मात्र विश्वास गर्दैनन्। त्यो टोलीले गर्ने अनुसन्धानको क्रस चेक गर्न थाहै नदिई अर्को टोली पनि पठाउने गर्छन् पनि।
मनोज ग्यासको प्रमुखको अपहरणमा प्रहरीमाथि मात्रै आरोप लाग्यो। तर तुल्सी अग्रवालको अपहरणमा त तत्कालीन बहालवाला गृहमन्त्रीमाथि नै आरोप लागेको थियो। त्यो बेलामा घरमा छापा मारेर पक्राउ गरिएको भए नामै लेख्न हुन्थ्यो। त्यो बेला अनुसन्धानै भएन। त्यसैले नाम लेखिन मैले। अहिले पनि राजनीतिमा सक्रिय नै नेता हो। यती मात्रै लेखे।
अग्रवालको अपहरणको योजनाकार भनेर नाम आएको थियो कांग्रेसमा सक्रिय उमेश गिरीको जो पछि स्वतन्त्र उम्मेदवार समेत भएका थिए। अग्रवाल पछि अपहरणमुक्त त भए। तर उनले पाँच करोड फिरौती बुझाएपछि मात्रै अपहरणमुक्त भएको सूचना आएको थियो।
यस्तोमा फिरौती बुझाएर रिहा भए कि त्यसै भन्नेसम्म अनुमान गर्न सकिन्छ। तर कति फिरौती बुझाए भन्ने अनुमान मात्र गर्न सक्ने विषय हो। अनुसन्धानकोक्रममा अपहरणमा संलग्नहरू पक्राउ परेको अवस्थामा भने फिरौतीको रकम खुल्न सक्छ।
तुल्सी अग्रवालको अपहरण गिरी गराएको सूचना आएकै हो। अनि त्यो बेला प्रहरीले गिरीलाई खोजेको पनि हो। तर फेला परेनन्। यता प्रहरीले गिरी खोजिरहँदा उनलाई तत्कालीन गृहमन्त्रीले आफ्नै सरकारी निवासमा लुकाएर राखेका छन् भन्ने समाचार आइरहेका थिए। ती समाचार मिथ्या थिएनन्।
गिरी गृहमन्त्रीको सरकारी निवासमा लुकेर बसेकोबारे प्रमाणै भए पनि बहालवाला गृहमन्त्रीको निवासभित्र गएर पक्राउ गरिहाल्न सक्दैन। अब यस्तोमा प्रधानमन्त्रीबाटै विशेष निर्देशन आए मात्र त हो प्रहरी मुभ हुने।
लुकाएको पक्का भएको अवस्थामा प्रधानमन्त्रीलाई जानकारी गराएर अनुमति लिन पनि सकिन्छ। अब बहालवाला गृहमन्त्रीले नै अपहरणको योजनाकारलाई सरकारी निवासमै लुकाउने हिम्मत गर्न सक्छन् भने त्योबारे प्रधानमन्त्रीलाई जानकारी छैन भनेर कसरी पत्याउने? यस्ता धेरै समस्याहरू आउँछन् सङ्गठित अपराधमा।
सूचना अनी समाचार सत्य हुन्छन्। तर कानुनी रुपमा पुष्टि गर्न सबैको सूचनाको प्रमाण हुन्छ भन्ने हुन्न। यो घटना पनि त्यस्तै हो। लुकाएका हुन् भन्नेमा शंका रहेन। तर लौ त प्रमाणित गर भनेमा यी यो छ प्रमाण भन्न गार्हो छ।
अध्ययनमा हामीले जे जस्ता सूचनाहरू र तथ्यहरू फेला पार्यौ ती सबै समेटेर प्रतिवेदन दियौँ। प्रहरी प्रधान कार्यालयले तराइमा रहेका प्रहरी प्रमुख र प्रहरी कर्मचारी केन्द्रित केही निर्णयहरू गर्यो। प्रहरी प्रमुखहरू परिवर्तन भए। शङ्का लागेका प्रहरीहरूको सरुवा भयो।
जसले मिर्जाको हत्याको योजना बनायो उसले सहज प्रयोग गर्न मग्गा नै ठिक छन् भन्ने लाग्यो र प्रयोग गरे। उ पनि भारत फर्कने मौकाको पर्खाइमा थिए। निर्देशन अनुसार मिर्जाको हत्या गरेर भारत गए।
अनि जिल्लाको अवस्था हेरेर आर्थिक रूपमा इमानदार प्रहरी पठाउने कि ठोक्न नडराउने प्रहरी अधिकारी पठाउने त्यो हेरेर त्यही स्वभावअनुसारका प्रहरीहरू छानेर पठाइयो। त्यसपछि अपहरणका घटना एकाएक घट्यो। भनेपछि प्रहरीमाथि जे आरोप लागेको थियो त्यो मिथ्या हैन भन्ने देखियो नै।
यदि व्यापारीहरूले केवल शङ्का मात्र गरेका भए प्रहरी परिवर्तन गर्नासाथ एकाएक आपराधिक घटना कसरी कम हुनसक्छ ?
यो घटनाले पनि नेपाल र भारतका सुरक्षाकर्मी मिले भने सिमामा कुन तहसम्मको अपराध फस्टाउन सक्छ भन्ने देखायो नै। यसरी नै यदि नेपाल र भारतका सुरक्षाकर्मीले सहकार्य गरे भने त्यस्ता सङ्गठित अपराधमा संलग्नहरूलाई तह लगाउन पनि सकिन्छ। तह लगाइएका घटनाहरू पनि छन्।
यही अनुभवका आधारमा मैले अघिल्लो अङ्कमा भारतीय गायक सिद्दु मुसेवालाको हत्यामा संलग्न व्यक्ति नेपालमा आएको शंकामा भारतीय सुरक्षाकर्मी नेपाल आएको हो भने सघाउनुपर्ने उल्लेख गरेका हौँ।
यदी अहिले सघाएर मुसेवालाको विरोधी ग्याङलाई सङ्गठन विस्तारमा बेलैमा रोकिएन भने बोलीका दिनमा यी दुवै ग्याङको रण मैदान नेपाल बन्न सक्छ नि। सामान्य रूपमा हेरौँ न दाउद इब्राहिम र छोटा राजनको समूहको नेपालसँग आर्थिक स्वार्थ के जोडिएको थियो र। आर्थिक स्वार्थ त जोडिएको देखिएन।
तर दाउद समूहको सदस्य भएको शंकामा नेपालीहरू मारिए। छोटा राजन समूहको सदस्य भएको शंकामा पनि नेपाली मारिएका हुन् नि। मध्यबानेश्वरमा मारिएका कमलसिंह नेपालीको घटना नै हेरे हुन्छ। नि। मलेसियामा सुरक्षा गार्डको काम गर्न जाँदा दाउद अनि छोटा राजन समूहका सदस्यसँग परिचय भएको अनि एक समूहको स्वार्थमा काम गर्दा असुरक्षित भएपछि नेपाल आउँदा मध्यबानेश्वरमा मारिएका हैनन् र !
मग्गा सरदार जो मिर्जा दिलसाद बेगको हत्यामा देखिए नि पहिला उनी काठमाडौँमा आएर लुकेर बसेका हैनन् र ! मग्गा नेपालमा लुकेर बसेकोबारे थाहा थिएन र। अब उसले नेपालमा के नै अपराध गरेको छ र भनेर वास्ता भएन।
जसले मिर्जाको हत्याको योजना बनायो उसले सहज प्रयोग गर्न मग्गा नै ठिक छन् भन्ने लाग्यो र प्रयोग गरे। उ पनि भारत फर्कने मौकाको पर्खाइमा थिए। निर्देशन अनुसार मिर्जाको हत्या गरेर भारत गए।
जब उनको खोजी भयो त्यो बेला उनी भागिसकेका थिए। उ नेपालमा लुकेर बसेकै बेलामा भगाउन सकेको भए सांसदकै हत्यासम्मको घटना रोकिन सक्थ्यो कि। त्यसैले सकिन्छ औपचारिक सम्बन्धबाटै अनि सकिन्न भने अनौपचारिक सम्बन्धबाटै भए पनि नेपालमा लुकेर बस्ने कुनै पनि भारतीय अपराधी पक्राउ गर्न बेलैमा सघाइहाल्नुपर्छ। अनि उ नेपाल आएर बस्नुको कारण र उसको सङ्गठनबारे बेलैमा अनुसन्धान गरिहाल्नुपर्छ।
यो त भयो अपराधीको कुरा। भारत अनि पाकिस्तानको खुफिया एजेन्सी 'रअ' अनि 'आइएसआई' का व्यक्ति जो नेपाल आएका थिए यतैबाट हराएको घटना पनि छ। त्यो चैँ अर्को अङ्कमा।
ब्याचका पुराना अंक
असार १, २०७९ बुधबार २०:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।