दुनियाँलाई पानी खुवाउने सन्तकुमारीको इच्छा– काम गर्दागर्दै मरियोस्, थला पर्न नपरोस्
काठमाडौँ : घामले डढेर कालो बनाएको अनुहार। निधारमा टीका, नाकमा फुली र सुनको दाँत अनि बुट्टेदार चौबन्दी चोली। दुई वटा झोला बोकेर हँसिलो अनुहारमा बसन्तपुर क्षेत्र घुमिरहन्छिन् ७४ वर्षीया सन्तकुमारी केसी।
उनले बोकेको एउटा झोलामा मिनरल वाटर हुन्छ भने अर्को झोलामा दिनभरिको कमाइ। जीवन धान्नका लागि सडक–सडक चहारेर पानी बेच्नु यी आमैको मुख्य कर्म हो। सन्तकुमारी कहिले दिनमा दुई कार्टुनसम्म पानी बेच्छिन् त कहिले एक कार्टुन मात्र बेचेर फर्किन्छिन्।
बसन्तपुर क्षेत्रमा आउने आन्तरिक र वाह्य पर्यटकको नजिक गएर मुस्कानका साथ पानी किन्ने प्रस्ताव गर्छिन् सन्तकुमारी।
बिहान उठ्ने, नित्यकर्म सक्ने, औषधि खाने अनि पानी बेच्न निस्कने उनको दैनिकी नै बनेको छ। १४ वर्षअघि आफ्नै उपचारका लागि काठमाडौँ आएकी सन्तकुमारी अहिले आफ्नो दैनिकी गुजाराको लागि बिरामी शरीर लिएर दिनभर घाममा घुमिरहन बाध्य छिन्।
दोलखाको माझापौवामा जीवनको ६० वर्ष बिताएकी उनी एक्कासि ज्वरो आउने, जिउ काप्ने, हातखुट्टा चलाउन गाह्रो हुने र ढाड पोलेको महसुस हुने भएपछि उपचारको लागि काठमाडौं आएकी थिइन्। यहाँ आएपछि नरदेवीमा बस्न थालेकी सन्तकुमारीलाई बसन्तपुरको चहलपहलले लोभ्यायो। गाउँमा हुँदा काम गरिराख्नुपर्ने बानी जो थियो।
रहँदा–बस्दा उनले मन्दिर वरपर परेवाका लागि मकै र गहुँ लगायतका अन्न बेच्न राखेको देखिन् र आफू पनि यस्तै काम गर्न पाए हुन्थ्यो भन्ने सोचिन्। व्यापार पनि हुने र चहलपहल पनि हेर्न पाइने भएपछि सन्तकुमारीले पहिलादेखि त्यो काम गरिरहेका केहीसँग सल्लाह गरिन्। सल्लाह गरेकै भोलिपल्टदेखि उनी त्यहाँ उनसले पसल सुरु गरिन्।
दिउँसो अस्पताल गइराख्नुपर्ने हुँदा उनी बिहान–बिहान मात्र बस्ने गर्थिन्। करिब ७ वर्षसम्म औषधि खाँदै त्यो काम गरिन्। एक दिन अचानक आफ्नो पसलमा बस्दाबस्दै बेस्सरी ज्वरो आयो र हातखुट्टा बस्यो। आधा घण्टाभन्दा बढी बस्न नसकेपछि उनी डेरामै फर्किइन्।
६ महिनाजसो उनी थला परिन्। त्यति समयसम्म खाटमा पल्टिएकी उनलाई लुगा लगाउन पनि अरुको सहारा आवश्यक पर्न थाल्यो। छोरी र बुहारीको सहयोगमा लुगा लगाउनुपर्नेसम्म भइन्। औषधिको मात्रा बढ्दै गयो भने बल पनि घट्दै गयो। त्यसपछि बिहान सबेरै उठेर परेवाको लागि मकै बेच्न जान सकिनन्। हाल दुई वर्षदेखि भने उनी काष्ठमण्डपको पछाडि, मरुहिटीमा आफ्ना छोराबुहारीसँगै बस्ने गर्छिन्। छोरीको घर पनि नजिकै छ। कहिले खाना खाएर आउँछिन् भने कहिले भोकै पनि आउने गरेको उनी बताउँछिन्।
‘बुहारीले खाना पकाउन अल्छी लाग्यो भन्छिन्। म धेरै बच्चा पाएकी आमा हुँ। गन्हायो पनि भन्छिन् कहिले त! आमाजुकोमा गएर खानु समेत भन्छिन्। कहिलेकाहीं भने पकाएर पनि दिन्छिन्,’ उनी भन्छिन्, ‘घरमा पाकेको बेला घरमा खान्छु। कहिलेकाहीं छोरीकोमा गएर खान्छु। सधैं छोरीकहाँ के जानु जस्तो लाग्छ। त्यस्तो लागेको बेला खान्न।’
७४ वर्ष पुगेकी सन्तकुमारीको १६ वर्षकै उमेरमा विवाह भयो। स्कुल कस्तो हुन्छ देख्न पाइनन् उनले। मेलापात, घरको काम र गोठालो गर्दै बित्यो बाल्यकाल। सानै उमेरमा विवाहको प्रस्ताव आएको उनी सम्झिन्छिन्। भन्छिन्, ‘त्यो बेलामा माग्न आएपछि बाआमाले भनेको नमान्ने भन्ने नै हुँदैनथ्यो।’
विवाह हुँदा सन्तकुमारी सानै भए पनि श्रीमान् भने परिपक्व थिए। त्यसमाथि पहिलो विवाह गरिसकेका। ‘श्रीमान् त ४२ वर्षको हुनुहुन्थ्यो नि। जेठी छोरी नै मभन्दा ३ वर्षकी ठूली थिई। अनि माइली मभन्दा २ वर्ष जेठी। पहिलो श्रीमतीको मृत्यु भएको रहेछ। अनि छोरा भएन भनेर मसँग विवाह गरेको रहेछ।’
विवाह हुँदा सन्तकुमारीका श्रीमान् ११ वटा बच्चाका बाबु बनिसकेका रहेछन्। छोरा त जन्मिएका रहेछन् तर हुर्कंदा हुर्कंदै मृत्यु भएको रहेछ। ११ वटा बच्चा जन्मिए पनि तीन छोरी मात्र बाँचेका रहेछन्।
सन्तकुमारी आफैंले पनि १३ जना सन्तानलाई जन्म दिइन्। तर पाँच जनालाई मात्र बचाउन सकिन्। एक जना छोराको भने केही वर्षअघि मात्र मृत्यु भयो र अहिले उनका ३ जना छोरा र एक जना छोरी छन्। त्यति धेरै सन्तान भए पनि अहिले साथमा कोही नहुँदा भावुक भइरहन्छिन् सन्तकुमारी। उनलाई श्रीमानले छोडेर गएको ३० वर्ष भइसकेछ।
आफू लगायत भएका सबै छोराछोरी काठमाडौँ आएपछि फर्केर गाउँ नगएको र गाउँमा भएको अचल सम्पत्ति त्यत्तिकै खेर गएकोमा उनको गुनासो छ। ‘सबै जना काठमाडौँ आए। हाम्रो घर मात्रै होइन गाउँ नै सुनसान छ,’ उनी भन्छिन्, ‘सबै बेचेर आउँ भने पनि बिक्री हुँदैन के गर्ने।’
सन्तकुमारीले आफ्नै कमाइबाट तीन वर्षअघि सुनको दाँत हालेकी छिन्। ‘आफूले कमाएको १२÷१५ हजार जत्ति थियो। जत्ति कमाए पनि पुग्ने हैन भनेर रिसले सुनको दाँत हालें। अहिले त पानी बेच्दै गर्दा ‘सुनको दाँत रहेछ’ भन्दै मान्छे मलाई हेरेर हाँस्छन्। कत्तिले त हामीभन्दा पनि धनी रहिछन् भन्दै हिँड्छन्,’ उनी भन्छिन्।
काठमाडौँ आएदेखि औषधि खान थालेकी सन्तकुमारीलाई अहिलेसम्म आफूलाई के भएको भन्ने नै थाहा छैन। छोराले बेलाबेला अस्पताल लगिदिन्छ। कहिले वीर अस्पताल र कहिले थापाथाली अस्पताल। उनलाई श्वास फेर्न गाह्रो हुन्छ। दम भएको छ पनि भन्ने गर्छिन् उनी। त्यस बाहेक उनलाई थाहा भएको भनेको कुनबेला कुन औषधि खाने भन्ने मात्र हो। अहिले पनि महिनामा ९÷१० हजारको औषधि खानु परिरहेको सन्तकुमारी बताउँछिन्।
कुनैकुनै डाक्टरले त निको भइसकेको पनि बताएका छन्। तर अझै आफूलाई सन्चो भने नभएको उनी बताउँछिन्। ‘औषधिले लट्याएको जस्तो हुन्छ। केहीछिन्पछि उस्ताको उस्तै,’ उनी बेदना पोख्छिन्।
अब एउटा मात्र इच्छा छ सन्तकुमारीको, सकेसम्म काम गर्ने, जिन्दगीको अन्तिम समयमा थला नपर्ने। उनी भन्छिन्, ‘माटोमा मिल्ने ज्यान हो। यसो केही काम गर्दागर्दै मरियोस्। थला पर्न नपरोस् त्यत्ति हो।’
जेठ १६, २०७९ सोमबार १६:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।