पूर्व एसएसपीको अनलाइनका पत्रकार सहित सात जना सात करोड रकम असुलीमा पक्राउ

पूर्व एसएसपीको अनलाइनका पत्रकार सहित सात जना सात करोड रकम असुलीमा पक्राउ

काठमाडौँ : विभिन्न व्यक्ति लाई  धम्क्याएर सात करोड रकम मागेको आरोपमा उपत्यका प्रहरी अपराध महाशाखाले सात जनालाई शुक्रवार पक्राउ गर्यो। पक्राउ पर्नेमा एक जना कारोबार नामक विज्ञापन एजेन्सीका र अन्य चार जना पत्रकार देखिए। २ जना भने मिडियामा संलग्न देखिएनन्।

महाशाखाले उनीहरूमाथि योजनाबद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी, प्रत्यक्ष भेटेर डर, धम्की र त्रास देखाएर  ७ करोड मागेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने म्याद लिएको छ।

पक्राउ पर्नेमा सुजन आचार्य, टेक विक, धर्मराज थापा , उमेश भण्डारी, बसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्की छन्। महाशाखा स्रोतका अनुसार सुजन यस अगाडि प्रहरीसँग मिलेर हिरा लुटेको अभियोगमा २१ महिना जेल परेर छुटेका थिए। उनी पहिला एबिसी टेलिभिजनमा काम गर्थे।

धर्मराज थापा नेपाल प्रहरीका पूर्व एसएसपी विक्रमसिंह थापा सञ्चालक रहेको नेपालताराडटकममा काम गर्ने खुलेको छ। अहिले सो अनलाइनको सम्पादकमा विक्रान्तसिंह थापाको नाम छ।

सुरज कार्की र बशन्ता पनि एबिसी टेलिभिजनमा काम गर्ने र हालै सो टेलिभिजन छाडेको खुलेको छ। पक्राउ परेका उमेश कारोबार नामक विज्ञापन एजेन्सीसँग सम्बद्ध देखिएको महाशाखाका एक अधिकारीले जानकारी दिए। टेक विक नेत्रविक्रम चन्दको पार्टीका विद्यार्थी नेता हुन् भने सुरज शर्मा र श्रवण कार्की सर्वसाधारण रहेको स्रोतले बतायो।

प्रहरीले उनीहरुले कसलाई कसरी धम्क्याएर रकम मागेको हो भन्नेबारे खुलाएको छैन। सो विवरण खुलेपछि हामी पुन अपडेट गर्ने छौँ।

जेठ १३, २०७९ शुक्रबार १८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।