चितवनको तातोमा ‘सुट’ लगाएका प्रचण्ड

चितवनको तातोमा ‘सुट’ लगाएका प्रचण्ड

शब्दका अर्थहरु धेरै हुन्छन्। शब्दका अनेकन गलत अर्थहरु बुनिएका होलान्। तर सबै शब्द आफैंमा स्नेहिल हुन्छन्। कहिलेकाहीँ शब्द गह्रुँगो प्रतीत हुन्छ भने कहिले फूलको थुंगा जत्तिकै हलुको।

जस्तो कि, हाम्रो यो देशमा जनतन्त्र, प्रजातन्त्र र लोकतन्त्र- तीन वटै शब्दको ब्यापक प्रयोग भएका छन्। सामान्य मानिसलाई जनतन्त्र, प्रजातन्त्र र लोकतन्त्रको कालक्रमको ज्ञान छ। जनतन्त्र कालको आगमन शताब्दी लामो राणा तानाशाही शासनको समाप्तिपछि भएको थियो। परिवर्तनका कारण समाज अलिकति बिचलित भएको बेलामा नुन र सुन, दुवैको भाउ अलिकति बढे पनि मूल्य स्थिर थियो।

त्यसपछि प्रजातन्त्र आयो। प्रजातन्त्रका प्रत्येक चरणमा खाने र गाडी गुडाउने दुवैथरी तेलको मूल्य अचाक्ली बढ्यो। प्रजातन्त्र शब्द लोकतन्त्रमा बदलिएपछि खाने, घस्ने र गुड्ने तेलको मूल्य आकाशियो। त्यो अकाशिएको अकाशिएकै छ। 

महान परिवर्तनहरुको सत्तरी वर्षको यो कालखण्डमा हामीले यी तीन वटै शब्द- जनतन्त्र, प्रजातन्त्र र लोकतन्त्रलाई मूल्यको गतिसँग दाँज्ने अवसर पाएका छौं। त्यसको बदलामा निरन्तर घट्दो जीवनमूल्य भोगेका छौं हामीले। 

राणातन्त्रको समाप्तिपछि, केही समयका लागि, नेपाली भाषामा जनतन्त्र शब्द खुब प्रचलित भयो। जनतन्त्र शब्द आफैंमा ओजिलो थियो। यो शब्द आफैंमा वजनदार थियो र यसमा प्रचुर शक्ति थियो। रेडियो नेपालका तत्कालीन महा-निर्देशक सुरेन्द्रराज शर्मा जनतन्त्र शब्दलाई लोकप्रिय बनाउन सक्रिय थिए। उनले जनतन्त्रका बारेमा विभिन्न पुस्तिका तयार पारेका थिए। 

विश्व-युध्दहरुले राष्ट्रहरुको पुनर्संरचना गरेपछि निर्माण भएको सोभियत साम्राज्यले संसारमा साम्यवादी व्यवस्थाको दिग्विजय सुरु गरेको थियो। मानिसलाई खान, बस्न, खेल्न र जुनसुकै पनि काम गर्न प्रत्याभूत गर्ने लक्ष्य र नारा थियो साम्यवादको। नेपालमा त्यसको प्रभाव बढदै थियो। तर त्यसको फैलिने ठाउँ चार भन्ज्याङ भित्रको काठमाडौं बाहेक अन्यत्रको नेपाल थिएन।

विश्व रंगमन्चमा साम्यवादीले ‘जनतन्त्र’ शब्द खुब मन पराएको देखिन्थ्यो- जताततै पिपल्स डेमोक्रेसी। ‘स्वतन्त्र विश्व’ मा जनतान्त्रिक र जनतन्त्र शब्दको प्रयोग पातलिन थालेको थियो। जनतान्त्रिक र जनतन्त्र शब्दहरु स्वतन्त्रता शब्दको ब्यापक परिधिबाट बाहिर थिएनन्।

नेपालमा राजाले जनताको नाममा शाही सम्बोधन गर्दा ‘प्यारा प्रजा तथा गैह्रके यथोचित’ भन्न थालेका थिए। २००७ सालको क्रान्तिको उप-संहारका रुपमा, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुलाई साक्षी राखेर, राजा त्रिभुवनको बाहुलीमा नेपालको राज्यसत्ता टक्य्राएपछि शासनमा ‘क्रमभंग’ हुनै परेन। शासकीय प्रचलनमा ‘प्रजा’ र ‘प्रजातन्त्र’ शब्दको बाढी नै आयो। त्यो बाढीले देशका धेरै राजनीतिज्ञलाई बगायो। कति मृत्युलोकतिर धपाइए। कति झ्यालखानमा कोचिए। कति रातारात नख्खु जेलबाट निकालेर दोबाटोमा इनकाउण्टरमा पारिए। अरु कतिपय मानिस नदी किनाराका सुनसान बगर र बस्तीमा हराए। निर्वासित बस्न थाले।

यो पटक स्थानीय चुनावमा उनी चाहिंदोभन्दा बढी नै सक्रिय भए। गर्मीको यो समयमा, लकदक सुट लगाएर, उनले पूरै चितवनका बिरौटा र बस्ती छिचोले। आवश्यकताभन्दा बढी खटे। चाहिनेभन्दा बढी बोले। आफ्नै छोरीको क्षमतामा विश्वास गर्न सकेनन्।

२०४६ सालको जन-आन्दोलनपछि नेपाली राजनीतिमा ‘संवैधानिक राजतन्त्र’ र ‘बहुदलीय प्रजातन्त्र’ शब्दहरु दुरुपयोगको हदैसम्म प्रयोग भए। यी सबै राजकीय अनाचार र अत्याचारको विरोधमा कांग्रेस र कम्युनिष्ट मिलेर चलाएको २०४६ को जन-आन्दोलन सफल भयो। तर त्यो जन-आन्दोलनले ‘संवैधानिक राजतन्त्र’को प्रतिरक्षा खोज्नु आवश्यक थिएन। आन्दोलनको पहिलो पक्ष त्यति सबल पनि थिएन। दोस्रो पक्षमा आन्दोलन सफल भयो। त्यो सफलतामा नेपालका राजनीतिक दलहरुको कडा दबाब, राजा वीरेन्द्रको ‘रियलाइजेसन’ र भारत सरकारको सदाशयको सम्मिलन थियो।

२०४६ को जन-आन्दोलनले नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई देशको सर्वमान्य राजनेताका रुपमा स्थापित गर्यो। गणेशमानजीको त्यो ‘सर्वमान्य’ छवि समाजमा स्थापित भएपछि, कसकसको छाती किन चसक्क चस्कियो? अहिले त्यसको खुलासा नगरौं। अहिले यतिमात्रै भनौं, यो देशको लोकतन्त्र सधैं संकटमा रहेको छ। २००७ देखि नै निरन्तर। अहिले पनि, यो संकटमा नै छ।

यताको समयमा, एकथरी मानिसहरुको चुरीफुरी हेर्दा लाग्छ, ‘यो देश बचाउनका लागि’ गणतन्त्र स्थापनाको ऐतिहासिक घटनापछि राजा आउन अब केही दिन मात्र बाँकी छ। 

षडयन्त्रका यस्ता चर्चा र खेल धेरै भए भने जनताको निगाहमा उद्योग-व्यवसाय गरेर मोजमस्तीको जीवन बिताइरहेका ज्ञानेन्द्र महाराजाका लागि देश बेगाना हुन कत्ति पनि बेर लाग्ने छैन। 

देशमा लोकतन्त्र शब्दको प्रयोग त्यतिबेला सुरु भयो जब संविधान सभाको पहिलो निर्वाचनमा दशक लामो जनयुद्ध जितेर आएको माओवादी शक्ति हावी भयो। स्वाभाविक थियो पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जन-निर्वाचित सरकार बन्यो। संविधान सभाको पहिलो बैठकले देशमाथि नेपाली जनताको सार्वभौम अधिकार स्थापित गर्दै पृथ्वीनारायण शाहले २४० वर्ष पहिले खडा गरेको निरंकुश राजतन्त्रको उन्मुलन गर्यो। 

राजतन्त्रको उन्मुलनसँगै राजदरबारमा चल्दै आएको ‘भुजा ज्युनार’ जस्ता ‘शब्द सभ्यता’ को पनि अन्त्य भयो। त्यसपछि पनि, राज-दरबारको आडमा हुर्केका र बढेका भारदारहरुले आफ्नो बैठक र भान्साघरमा ‘राजकीय’ शब्दहरुको प्रयोग छाडेनन्। काठमाडौंबाट देशका ठूल-ठूला सहर हुँदै पहाड-तराईमा भित्रिएका दरबारिया शब्दहरुले अहिले पनि हामीलाई निरन्तर सभ्यताको उल्टो दिशातिर धकेलिरहेका छन्। यी शब्दहरुको खोजी र संयोजन गरिरहेको अवस्थामा फेरि यो के सम्झिँदैछु म आज? 

दि गुलाग आर्किपेलागो। क्यान्सर वार्ड। वनडे इन दि लाइफ अफ इभान डेनिसोविच! कम्युनिष्ट दुनियाँका लागि प्रतिगामी। स्वतन्त्र समाजका लागि स्वतन्त्र चेतना। त्यो सोभियत संघ। बिद्रुप बनाइएको त्यो समाज। यो सोभियत संघ, राजनीतिको झन बिद्रुप अवतार। सोभियत राजनीतिमा स्टालिनपछिका खेलाडी ख्रुश्चेव र ब्रेझनेव, विज्ञानिक सखारोव, लेखक सोल्झेनित्सिन कवि एब्तुशेन्को। त्यो सोभियत संघ अहिले पुटिनको रुस भएको छ।

अनुभवीहरु भन्छन्- सोभियत संघ हुँदाका जे यातनाहरु रुसीहरुले भोगेका थिए, अहिले पुटिनको शासनमा तिनै यातना दोब्बर बढी जारी रहेका छन्। 

केही वर्ष पहिले रुसको भ्रमणमा जाँदा इतिहासका केही कथाहरु जिवन्त भएका थिए। म मस्को शहरमा यवगेनी एब्तुशेन्कोको प्रतिमा खोज्दै थिएँ। मलाइ थाहा थिएन, त्यो कहाँ पाइने हो? मलाई थाहा हुने कुरा भएन। मस्कोमा ‘एब्तुशेन्को’ नामको मेरो खोजी खेर गयो। यता बिनोदबिक्रम केसीले एब्तुशेन्कोलाई नेपालीमा अनुवाद गरेका पो छन् कि? थाहा भएन। 

त्यो जमाना बेग्लै थियो। रुसले स्पुतनिक उडाएको थियो। अन्तरिक्ष यात्रुहरु संसार घुम्दै थिए। उनीहरु पृथ्वी र अन्तरिक्षको जीवन भोग्ने बहादुर व्यक्ति थिए। त्यो स्पुतनिक, एउटा रकेट थियो कि अन्तरिक्ष यान? यहाँबाट देखिएको थियो तस्बिरमा स्पुतनिक: सोभियत संघको विश्वव्यापी वहुभाषी मुखपत्र सोभियत भूमिको आवरण पृष्ठमा। दृश्यमा आगोको एउटा तिखो मुस्लो आकाशतिर हान्निदै थियो। आँखाको एक दृष्टिपछि त्यो मुस्लो कता हरायो कता? हराउन निमेष पनि लागेन।

स्पुतनिकको अन्तरिक्ष प्रवेशपछि के भयो होला? एउटा कौतुहल मनमा रहिरहन्छ टाँस्सिएर। स्पुतनिक अन्तरिक्षमा अवतरणको समारोह मनाउन सोभियत पक्षधर पत्रकार, बुद्धिजीवी र नेताहरु सक्रिय थिए। नेपाली पत्रकारिताका माडसाब मदनमणि दीक्षितले समीक्षा साप्ताहिकमा ६०० शब्दभन्दा लामो सम्पादकीय लेख्नुभएको थियो स्पुतनिक माथि।

पार्टीमा ‘मद’ मस्तहरु झुमेर नाच्दै थिए। केही मानिसहरु सोभियत दूतावास परिसरका सजावट पोखरीमा पालिएको डल्फिन जिस्क्याउन सक्रिय थिए। केही मानिसहरु सोभियत संघले नेपालमा चुरोट मिल, चिनी मिल र हँसिया हथौडा मिल खोलिदिएकोमा रमाएका थिए। 

अनि, अमेरिकनहरु पनि के कम थिए र? उनीहरु सोभियत भूमिलाई टक्कर दिन स्वतन्त्र विश्वको प्रकाशन गर्थे। फिलिपिन्सको राजधानी मनिलामा छापिन्थ्यो स्वतन्त्र विश्व। नेपालमा काठमाडौं नयाँ सडकमा रहेको अमेरिकी सूचना केन्द्र (युएसआइएस) मार्फत वितरण हुने स्वतन्त्र विश्वमा अपोलो यानका कथाहरु छापिएका हुन्थे। सामग्री स्तरीय हुन्थे। चिल्लो र बाक्लो कागज, स्तरीय साजसज्जा। स्वतन्त्र विश्वको कुनै एक अंकको आवरणमा छापिएको कविवर सिध्दिचरण श्रेष्ठकी सुपुत्रीको तस्बिरले काठमाडौंको तत्कालीन समाजलाई झंकृत गराएको थियो।

शीतयुध्दको त्यो समय जटिल थियो। मानिसका अनुहारमा जति खुसी देखिन्थ्यो, त्यो भन्दा बढी चिन्ता लुकेका हुन्थे। मानिस युद्धबाट टाढा हुन चाहन्थे। युद्ध नजिक-नजिक आउने प्रयत्नमा हुन्थ्यो।  

खुसीहरु कसैको काम लागेनन्। महाशक्ति राष्ट्रका रुपमा सोभियत संघको पराजय सोचेभन्दा निकै पहिले सुरु भयो- बर्लिनको पर्खाल भत्किन थालेपछि। जतिबेला जर्मनहरु बर्लिनको पर्खाल भत्काएर पूर्व र पश्चिम जर्मनीको एकीकरण गर्दै थिए, त्यो समयमा अर्थात् १९८९ नभेम्बर ९ मा, म बर्लिन सहरको एकछेउमा रहेको फ्रान्ज काफ्काको घरको कफी पसलमा उभिएर ती दृश्यहरुको अवलोकनमा लागेको थिएँ।

अनि, मैले अहिलेसम्म कसैलाई नभनेको एउटा कुरा- इण्डोनेसियाको सुन्दर द्वीप बालीमा आयोजना हुन लागेको विश्व जनसंख्या सम्मेलनमा भाग लिन जाने अवसर पाएँ मैले। कसरी? मलाई नै थाह छैन। त्यतिबेला नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री थिए- गिरिजाप्रसाद कोइराला। 

नुवाकोटबाट संसदीय चुनाव हारेपछि डा. रामशरण महत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनाइएका थिए। डा. महतले मलाई राम्रै चिनेका थिए। तर उनले मेरा पक्षमा प्रधानमन्त्री कोइरालाको सदाशयता जगाउन केही गर्ने त चान्स नै थिएन।

त्यो बेला कांग्रेसमा ठूलो कोलाहल मच्चिएको थियो। प्रधानमन्त्री कोइरालाले आफनो मन्त्रिपरिषदबाट वरिष्ठ नेताहरु निष्काशन गरेका थिए। त्यसको प्रतिक्रियामा मैले स्वतन्त्रता पाक्षिकमा टिप्पणी गरेको थिएँ, ‘सुस्त मनस्थितिको प्रदर्शन।’ प्रधानमन्त्री कोइराला आफैं कुनै अखवार पढदैनथे। तर उनलाई मेरो त्यो टिप्पणी पढेर सुनाउने सयौं थिए।

रमाइलो कुरा। मेरो बाली भ्रमण रोकिएन। जापानी सहयोग नियोग जाइकाले मेरो भ्रमणको आर्थिक पक्ष सम्हालेको थियो। अमेरिकीहरुको समर्थन मेरो पक्षमा थियो। म भन्दिनँ, सबै अमेरिकीहरु स्वतन्त्र प्रेसका पक्षधर हुन्छन्। शक्ति राष्ट्रको नागरिक हुनुको नाताले उसले आफ्नो देशको शक्तिको निरन्तरता कायम राख्नुपर्छ। नत्र भने, कसले टेरपुच्छर लाउँछ र अमेरिकालाई? शक्ति निरन्तर राख्ने क्रममा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेस बाँच्न सक्दैन।

यतिबेला देश स्थानीय चुनावको लहरमय छ। स्थानीय उम्मेदवारका बीच भोट गन्ने र हार्ने-जित्ने क्रम चलिरहेको छ। खोई किन हो? आज बिहानैदेखि म आफ्नै देशका ‘प्रचण्ड’ पुष्पकमल दाहालका बारेमा सोच्दैछु।

उनको नेतृत्वमा पहिलो पल्ट सरकार बनेपछि जनताले सोचेका थिए- देशको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण अब हुनेछ देशको। तर त्यो भएन। त्यो समयदेखि अहिलेसम्म रुपान्तरण हुने सुरसार पनि देखिएन।

अहिले पनि, राप्रपाले, राप्रपा नेपालले, एमालेले, कांग्रेसले र ज-जसले पनि प्रचण्डको जतिसुकै उछित्तो काडुन्, नेपालबाट राजतन्त्र समाप्त गर्ने जनयुद्धका नेता त फेरि पनि प्रचण्ड नै हुन्।

यो पटक स्थानीय चुनावमा उनी चाहिंदोभन्दा बढी नै सक्रिय भए। गर्मीको यो समयमा, लकदक सुट लगाएर, उनले पूरै चितवनका बिरौटा र बस्ती छिचोले। आवश्यकताभन्दा बढी खटे। चाहिनेभन्दा बढी बोले। आफ्नै छोरीको क्षमतामा विश्वास गर्न सकेनन्।

अहिले कांग्रेससँग गठबन्धनमा छन् प्रचण्ड। अहिलेको यो राजनीतिक अवस्थालाई बिथोल्न थाले भने प्रचण्डको राजनीतिको समाप्ति त्यहीँबाट हुनेछ। त्यसपछि नेपाल अराजकताको नयाँ पहाडका रुपमा चुलिने छ। 

प्रचण्डले छोरी रेणु दाहाललाई नागरिक रेणु दहालकै रुपमा चुनाव लड्न दिएको भए प्रचण्डकै मानसिक तनाव कम हुन्थ्यो होला। तर प्रचण्डको छोरीका रुपमा रेणुलाई चुनाव लडाउँदा प्रचण्ड र रेणु दुवैलाई हुनुपर्ने जति राजनीतिक लाभ भएन।

तर, के गर्नु! चुनाव प्रचण्डको लक्ष्य र अभिष्ट कहिल्यै रहेन। उनले चुनाव लड्न र खेल्न कहिल्यै जानेनन्। माओत्सेतुङले संसारभरिका कम्युनिष्ट नेताहरुलाई संगठित गरे। संगठन गर्न सिकाए। तर उनका कुनै पनि चेला राजनीतिक पदाधिकारी भए, नेता भएनन्। नेता त माओत्सेतुङमात्रै भए। 

प्रचण्डले युद्ध जिते, शान्ति सम्हाल्न सकेनन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डको कुनै स्पर्धा नै थिएन। उनी कसरी कसरी दक्षिणपन्थी गफाडीको जालमा परे। 

माओवादको बिगुल फुकेर लडाईं जित्ने नेताले शान्तिलाई अँगाल्नु आवश्यक थियो। तर प्रचण्ड दायाँ र बायाँ दुवैतिर उभिएका विदेशी एजेन्टका छायासँग डराए। अहिले पनि प्रचण्डमा यो डर बढ्दो छ। दिनहुँ बढ्दो छ।

सबैभन्दा पछिल्लो पटक उच्च तहको सरकारी भ्रमणमा प्रचण्ड भारत गएका बेला डा. मनमोहन सिंह भारतका प्रधानमन्त्री थिए। देख्ने बित्तिकै प्रचण्ड मनमोहन सिंहलाई अंकमाल गर्न पुगेका थिए। अंकमालका लागि प्रचण्ड आफ्नो गलामा झुण्डिएलान् भन्ने आशंका नै थिएन मनमोहन सिंहलाई। उनी सहज देखिएनन्। उनको अनुहारमा स्पष्ट देखियो, त्यो असहज भाव। 

एक पटक गणतान्त्रिक नेपालको प्रधानमन्त्री भइसकेपछि, एक पटक धर्मनिरपेक्ष नेपाली समाजको नेता भइसकेपछि, एक पटक समावेशी शासनका सूत्रधार भइसकेपछि प्रचण्डले जित्नु के बाँकी र? उनले त यही गणतन्त्रलाई सुस्थिर र जनताका लागि सुविधाजनक बनाउनु थियो।

जहाँसम्म जनरल रुक्मांगद कटुवाल काण्डको कुरा छ, त्यो कुनै प्रसंग नै थिएन। प्रचण्डले आफ्नो राजनीतिक प्रतिबद्धताको सम्मान गर्दै गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति निर्वाचित गरेको भए प्रचण्डले अहिलेको जस्तो दुर्बल स्थितिको सामना गर्नुपर्ने थिएन।

यी गिरिजाप्रसाद कोइराला नै थिए, जसले माओवादीलाई शान्तिवार्ताको टेबलसम्म ल्याए। त्यो क्रममा उनले भारतीय मित्र श्यामशरणको सहयोग लिए कि अरु कसैको? यो एकदमै अलग कुरा हो। 

अहिले कांग्रेससँग गठबन्धनमा छन् प्रचण्ड। अहिलेको यो राजनीतिक अवस्थालाई बिथोल्न थाले भने प्रचण्डको राजनीतिको समाप्ति त्यहीँबाट हुनेछ। त्यसपछि नेपाल अराजकताको नयाँ पहाडका रुपमा चुलिने छ। 

जेठ ७, २०७९ शनिबार १५:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।