मौन अवधिमा रेनु जिताउन सुरक्षा घेरामै चलखेल, सशस्त्रको स्कटिङमा रहेका प्रचण्डलाई चलखेलको छुट !
चितवन : मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरेको भन्दै उम्मेदवार र समर्थकहरूलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधिरहेको छ भने यस्ता गति धीमा संलग्न देखिएकालाई स्थानीय सुरक्षाकर्मीले नियन्त्रणमा समेत लिइरहेका छन्।
तर चितवनमा भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुरक्षाकर्मीको घेरामै रहेर चुनावी प्रचारमा खटिएका छन्। मौन अवधिमा उम्मेदवार र उनका समर्थकलाई मतदाता प्रभावित पार्ने गतिविधि नगर्न आयोगले सचेत गराउँदै आएको छ।
२ दिनदेखि भरपुरमा रहेका प्रचण्ड होटेलको भेलादेखि लिएर महानगरको मेयरको उम्मेदवार रेनु दाहालको घरमा बसेर भेटघाट र चुनावी छलफललाई तीव्र बनाएका छन्।
उनी एक्लै छैनन् त्यहाँ। एकीकृत समाजवादीका नेता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ, नेपाली काङ्ग्रेसकी नेतृ तथा महिला तथा बालबालिका मन्त्री उमा रेग्मी र विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठ समेतसँगै छन्।
उनी सुरक्षाकर्मीको घेरामा बसेर माडी पुगेर उम्मेदवार र स्थानीय नेताहरूसँग छलफल समेत गरेका थिए। माडिको मेयरमा गठबन्धनबाट माओवादीका उम्मेदवार उठेका छन्। उनीसँगै प्रदेशका मन्त्रीहरू घनश्याम दाहाल, मिलनबाबु श्रेष्ठ, बलराम पौडेल र कृष्ण खनाल पनि सँगै छन्।
भरतपुर महानगरपालिकामा प्रचण्डको छोरी रेनु दाहाल मेयरको उम्मेदवार छिन्। गठबन्धनको तर्फबाट उनी उम्मेदवार बने पनि कांग्रेसबाट बागी उम्मेदवार उठेकाले चुनावी प्रतिस्पर्धा त्रिपक्षीय बनेको छ। एमालेबाट विजय सुवेदी उम्मेदवार छन्।
भरतपुरमा बसेर प्रचण्डले चुनावी गतिविधि बढाएपछि एमाले चितवनका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गरेर मन्त्रीसहित आएर भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको दाबी गरेका छन्। उनले आयोगलाई छानबिन गरी सो कार्य तुरुन्त रोक्न माग समेत गरेका छन्।
वैशाख २९, २०७९ बिहीबार १६:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।