नाबालिग त बुझ्न नचाहने समाजले होस्टायल बुझ्न खोज्ला र!

नाबालिग त बुझ्न नचाहने समाजले होस्टायल बुझ्न खोज्ला र!

प्रहरी कार्यालयमा जाहेरीका लागि पुग्नुअगाडि नै अभिनेता पल शाह प्रकरणमा धेरै ट्विस्ट र टर्नहरू आएकै हुन्। आइतबार पनि आयो। पीडित नाबालिगको बकपत्र बदलियो।

घटनाक्रमले नाबालिग पहिलो पटक होइन तेस्रो पटक होस्टायल भएको देखाउँछ।

पहिला दुवैको सम्बन्धबारे फिल्मी क्षेत्रमा गसिप बन्न थालेपछि नाबालिगले 'पलसँगको सम्बन्ध कलाकारको रूपमा मात्रै' भनेर फेसबुकमा लामै स्टेटस लेखिन्। त्यसको केही समयपछि त्यही स्टेटसलाई आधार राखेर अदालतमा आइतबार बकपत्र बदलेझैँ 'अर्काको दबाबमा स्टेटस लेखेको' भनेकी नै हुन्।

हामी साथी हौँ भनेर लेखेको स्टेटस जबर्जस्ती लेख्नु भनेको होस्टायल हुनु नै त हो नि!

अर्को, जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिन परिवारसहित नाबालिग पुग्दा पलसहितको समूहले 'उमेर पुगेपछि विवाहको वाचा' गरे। र, लेखिसकेको जाहेरी दर्ता नगरी परिवारसहित घर फर्किइन् उनी।

अर्थात्, दोस्रो पटक प्रभावमा निर्णय बदलियो। यो पनि होस्टायलकै परिभाषाभित्र पर्यो।

अनि पीडित मौन बस्दाबस्दैको समयमा एक फिल्मको व्यापारमा प्रभाव पर्ने भएपछि रातारात युट्युव च्यानलमा दुवैलाई सँगै राखेर यदि करबलमा अन्तर्वार्ता दिएको हो भने होस्टायल गराउनु नै हो। 

जाहेरी दर्तासम्म पुग्दा यस्ता ट्विस्टहरू धेरै आए। जाहेरीपछि पनि रोकिएन।

जाहेरीपछि पल फरार हुनु, 'मलाई फसाइएको हो' भन्दै ६ वटा अडियो पलको फेसबुक अकाउन्टबाट सार्वजनिक हुनु, एकाएक प्रहरी कार्यालय पुगेर सरेण्डर गर्नु, प्रहरी कार्यालयअगाडि पाँच दिनसम्म पलको पक्षमा नारावाजी हुनु पनि घटनालाई प्रभावित पार्न भएका श्रृंखलाकै पाटाहरू थिए।

जाहेरीपछि पनि समाजको एक पाटो पीडितको पक्षमा खुल्न लामै समय लागेकै हो। समाजले बालिग र नाबालिगको कानूनी प्रावधान नबुझी एकोहोरो पीडितलाई लान्छना लगाएकै हो।

नाबालिगको परिवारले दिएको जाहेरीमा प्रस्टै लेखिएको छ- 'प्रेम गर्छु, विवाह गर्छु भन्ने प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको।'

यसले नाबालिगलाई प्रलोभनमा पारेर प्रतिवादीले सम्बन्ध कायम गरेको देखाउँछ नै। तर, पहिला सहमतिमै सम्बन्ध राख्ने अनि अहिले फसाउने भन्दै नाबालिगमाथि निरन्तर आक्रमण भइरह्यो, सामाजिक सञ्जाल मार्फत।

नेपाली फिल्म क्षेत्रका केही कथित सेलिब्रिटीहरू अनि महिला अधिकारका पक्षमा लडेको दावी गर्नेहरू 'पल निर्दोष प्रमाणित होऊन्' भन्दै सार्वजनिक रूपमै प्रार्थनामा उत्रिएकै हुन्।

आफूलाई सेलिब्रिटी भन्ने केही त अझै पनि पल निर्दोष भएको सुन्न लालयित छन्। किरण केसी जस्ता कलाकारहरू त अहिले पनि 'त्यस्तो भलाद्मी, भद्र केटो त्यसलाई म फिल्म खेलाउँछु' भन्दै प्रतिवादीकै पक्षमा उभिएकै छन्।

यसैले देखाउँछ योबीचमा जाहेरीकर्ताले के-कति सामाजिक र मानसिक तनाव भोग्यो भनेर। ती नाबालिग अनि उनको परिवारमा एकाएक आएको समस्याको चाङबारे कमै चर्चा भयो।

मुद्दा दर्तापछि छोरीको भविष्य अन्धकार देख्ने अभिभावकलाई कसैले सम्भावनाको मधुरो उज्यालो समेत देखाइदिएनन्। गायन क्षेत्रमा आफ्नो सुन्दर भविष्य बनाउन प्रयत्नरत नाबालिगलाई कसैले 'चिन्ता नगर हामी छौँ नि' समेत भनेनन्। 

एकोहोरो प्रहार मात्र भयो। त्यसैको परिणाम हो- आइतबारको बकपत्र। अन्धकार भविष्य, गज्याङमज्याङ जिन्दगीमा स्वार्थी समूहले 'म छु नि' भन्यो। उनले भरोसा गरेझैँ देखियो। कसले सम्झाइदिओस् त्यो आड मक्किइसकेको छ। जुन कुहिन्छ नै।

तर बकपत्र बदलिनु नै नाबालिगको भविष्य बदलिनु पक्कै होइन। यो त अर्को समस्याको पहाड उभ्याउनु मात्र हो। 

अनुसन्धान अधिकारीसमक्ष पीडितले दिएको बयान जाहेरी अनुसारकै देखिन्छ। तनहुँमा मात्रै होइन, नवलपुरमा दिएको जाहेरी र बयान पनि समान देखिन्छ।

फिल्मी अनि गायन क्षेत्रमा लगभग एक्लै बन्न पुगे पनि थुनछेक बहसको आदेश नआएसम्म पीडित बयान र जाहेरीकै पक्षमा उभिएकी नै हुन्।

थुनछेक आदेश अगाडिसम्म पल पक्ष आत्मविश्वासी देखिएकै हो। तर जिल्ला अदालत तनहुँबाट पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश अनि नवलपुर अदालतबाट पनि तनहुँकै फैसला सदर हुनुले एकाएक माहोल बदलिएकै हो। यस्तोमा जस्तो आत्मविश्वासी पनि टुट्छ नै। पलको के कुरा।


पलको पक्षमा उभिएकाहरूको आवाज सुस्त भयो। लगभग फैसलाकै शैलीमा आएको तनहुँ अदालतको थुनछेक आदेशबाट पलका पक्षमा बहस गर्ने अधिवक्ताहरूले फैसला के आउनसक्छ भन्ने आकलन गर्न नसक्ने कुरै थिएन। आकलन भयो नै होला।

उनीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा गए पनि। यही अवस्था कायम रहे आउने पुनरावेदन आदेशको पूर्वानुमानबारे जानकार नहुने अवस्था पनि भएन। 

पल धरौटीमा बाहिरिने वा अन्त्यमा सफाइ नै पाउनसक्ने एक मात्रै उपाय प्रमाण कमजोर बनाउने मात्रै थियो। प्रारम्भ होस्टायलबाटै हुने त हो यस्तो केसमा। 

अब नाबालिगबाट बदलिएको बकपत्रको श्रृंखला जारी रहने जोखिम देखिन्छ। आमा, बा, परिचित दिदी, दुर्गेश थापा लगायतकाहरूको बयान पनि यसरी नै श्रृंखलावद्ध रूपमा नबदलिएला भन्न सकिन्न।

कोही अब पलको पक्षमा बलियो प्रमाण बनाउन बदलिन सक्छन्। कोही अब 'जो पीडित भनिएको हो उसले नै होइन भनेपछि म मात्र किन हो भन्नु' भनेर बयान बदल्न पनि सक्छन्।

यता बयान बदलिएसँगै सामाजिक सञ्जाल तातिसक्यो। अब 'बयान बदल्नेलाई जेल हाल्नुपर्छ' भनिरहेका छन् पल पक्ष। 

बकपत्रको क्रममा बयान फरक आएपछि पीडित भनिएकी नाबालिगलाई उनकै पक्षमा बहस गर्न गएकाहरूले प्रश्न गरेका थिए- 'बयान बदलेकोमा जेल हुनुपर्छ कि पर्दैन' भनेर।

नाबालिगले आफूले जानाजान बयान नबदलेको र पहिलो बयान करकापमा दिएकाले जसले करकाप गरेको हो उसैलाई जेल हुनुपर्छ भनिन्। 

गायन क्षेत्रमा आफ्नो सुन्दर भविष्य बनाउन प्रयत्नरत नाबालिगलाई कसैले 'चिन्ता नगर हामी छौँ नि' समेत भनेनन्। एकोहोरो प्रहार मात्र भयो। त्यसैको परिणाम हो- आइतबारको बकपत्र।

यसले उनलाई जसले बयान बदल्न उत्प्रेरित गर्योज उसले जाहेरी दिन दोस्रो व्यक्तिको नाम लिएकै भरमा अछामकी बलात्कार पीडितले बयान बदल्दा पाएको कैद सजायझैँ उनलाई पनि सजाय हुने जोखिम भएको बुझाएको देखिएन।

अछामको केसमा जाहेरीकर्ताले विवाहको प्रलोभनमा परेर बयान बदलेको तर अहिले उल्टै आफू जेल जानुपर्ने अवस्था आएको भन्दै होस्टायल बनेको बारे खुलाएको विवरण पनि उनीसम्म पुगे जस्तो देखिएन।

अर्को पक्ष
विस्तारै समाजले नाबालिगसँग सहमति या असहमति जे जस्तो अवस्थामा पनि यौन सम्बन्ध राख्नु भनेको बलात्कार हुने रहेछ भन्ने बुझ्दै थियो, यो केसबाट। 

यसका लागि पनि ठूलै बहस भयो। 

तर एकाएक बयान बदलिँदा नाबालिगहरूले पनि फसाउने रहेछन् भन्ने सन्देश जाने भयो। 

फिल्मी क्षेत्रमा यौन शोषणमा परेकाहरू भोलिका दिनमा यौन पिपाशुहरूको मनोबल घट्छ भनेर आशावादी थिए। उनीहरू निरास हुने नै भए।

छोरीको कलाकार बन्ने रहर देखेर त्यही लक्ष्यमा केन्द्रित गराउन इच्छुक एक मित्रले यो केस चल्दै गर्दा भनेका थिए- 'अब चाहिँ छोरी फिल्म क्षेत्रमा गए पनि सुरक्षित हुन्छिन् कि भन्ने आत्मबल बढ्यो।'

तर बदलिएको बयानले माहोल पनि बदलिने संकेत गर्दा पक्कै ती मित्रको आत्मबल खस्कियो होला। महिला र अझ नाबालिगको हकमा नेपाली फिल्म क्षेत्रलाई सुरक्षित हुने बाटो दिनसक्थ्यो यो केसले। तर बीचैमा धर्मरायो।

बलात्कार पीडित त्यो पनि नाबालिगको हकमा कस्तो कानूनी प्रक्रिया अनि बालिगको हकमा कस्तो? हाम्रो अदालती प्रणालीमा समस्या देखियो।

नाबालिगले एक स्टारविरुद्ध जाहेरी दिँदा उनका समर्थकहरूबाट पाउनसक्ने र पाएको मानसिक प्रताडनाको उपचार के? राज्यले हेर्दै हेरेन।

पीडित जो हिजो स्टारको माया पाउने आशमा थिइन्, उनलाई जसरी कास्की प्रहरीमा जाहेरी दिनबाट रोकियो त्यसरी नै अदालतमा बयान बदल्न लगाउने जोखिम छ भन्ने पक्षमा राज्यको ध्यान गएको देखिएन। 

आएको ट्विस्टसँगै अब होस्टायल भनेको के हो र कसरी होस्टायल बनाइन्छ भन्ने सन्देश समाजमा गए अनि मुद्दाका कुनै पक्ष पनि होस्टायल नहुने कानूनी संरचना बन्न सके भोलिका दिनमा यी नाबालिगले झैँ अन्यले मानसिक अनि सामाजिक प्रताडना भोग्नुपर्दैनथ्यो कि! 

नाबालिगको अधिकार संरक्षणका लागि खुलेका न सरकारी न गैरसरकारी निकायले नै यसमा चासो दिए।

'मलाई मर्न मनलाग्यो' भन्ने तहसम्मको सन्देश सम्बन्धित निकायमा पुग्दा पनि राज्यपक्ष मनोपरामर्शतिर लागेन। 'एक स्टारविरुद्ध एक्लै लड' भनेर छाडिदिए।

कानूनमा केही केसहरूको सुनुवाइ बन्द इजलासमा गराउन सकिने प्रावधान छ। तर जिल्ला अदालत तनहुँमा खुला इजलासमा गराइयो बकपत्र। त्यो पनि अभियुक्तकै अगाडि। 

व्यावसायिक अभिनयकर्ताले इजलासमै आँसु खसाउँदा ती नाबालिगमा पर्ने मनको दबाबबारे वास्तै भएन।

अनि जे नहुनुपर्ने थियो त्यही भयो। प्राप्त प्रमाणहरूले प्रारम्भिक बयानलाई बलियो देखाए पनि नाबालिगले इजलासमा भनिरहिन्- 'होइन, होइन, होइन।' 

प्रतिवादीलाई प्रश्न गर्न गएका अधिवक्ताहरू आफ्नै पक्षलाई निरीह भएर प्रश्न गर्न बाध्य भए।

नाबालिगको वकपत्रपछि मुद्दाको एक प्रमाण कमजोर बन्यो नै। तर बयान बदलेकै आधारमा निर्दोष प्रमाणित हुने वा जाहेरी परेर थुनछेक बहसमा पुर्पक्षका लागि थुनामा गएकै आधारमा प्रतिवादी दोषी हुने कानूनी प्रावधान छैन।

त्यसैले त आदेशमा भनिएको हो- 'बाँकी प्राप्त प्रमाणहरूले देखाएअनुसार गर्दै जाने' भनेर। तर पीडितले नै बयान बदल्दा एक प्रकारको दबाब भने बढाउँछ नै।

अदालतले प्रारम्भिक बयान करकापमा हो वा स्वविवेकमा दिएको, संकलित तथ्य र प्रमाणहरूले प्रारम्भिक बयानलाई समर्थन गर्छ कि अदालतमा गरेको बकपत्रलाई, स्वास्थ्य परीक्षण प्रतिवेदन सक्कली हो कि नक्कली, त्यो मुद्दा प्रक्रियामा जाँदै गर्दा अदालतले हेर्छ नै। 

यसमा थप 'न्यायिक मन' प्रयोग होला नै।

को दोषी को निर्दोषी छुट्टिएला। नाबालिगको बलात्कार भएको पुष्टि भए पलले सजाय पाउलान्। योजनावद्ध रूपमा फसाउन रचिएको खेल भए खेल खेल्नेहरूले दण्ड पाउलान्।

तर, सत्य के हो भने, यो मुद्दा अदालतसम्म सकसका साथ पुगेको हो। यसका लागि सम्बन्धित पक्षले भोगेको मानसिक र सामाजिक प्रताडनाको लेखाजोखा गर्न गाह्रै हुन्छ। 

भर्खर बन्दै गएको करिअरलाई दाउमा राख्ने निर्णय गर्नु पक्कै सहज हुँदैन। त्यो भोग्यो जाहेरीवाला पक्षले। 

तर समस्या, एकाएक बकपत्र बदलिँदा पनि बयान कसरी बदलियो भन्नेतिर बहस केन्द्रित हुनै सकेको छैन। र तत्काल केन्द्रित हुने पनि देखिएको छैन।

पीडित होस्टायल हुनसक्ने पक्षबारे गम्भीर बहस नहुँदा 'फसाउन खोजेको खाइस्' भनेर पुनः मानसिक र सामाजिक प्रताडना भोग्ने जाहेरीपक्षले नै हो। प्रतिवादी पक्षले होइन।

करिब २ महिना लामो बहसले बालिग र नाबालिगसँगको सम्बन्धलाई नेपालको कानूनले कुन रूपमा व्याख्या गरेको छ भन्ने एक तहसम्म कानूनी जानकारी समाजमा पुग्यो। यो सकारात्मक पक्ष हो यो केसको।

आएको ट्विस्टसँगै अब होस्टायल भनेको के हो र कसरी होस्टायल बनाइन्छ भन्ने सन्देश समाजमा गए अनि मुद्दाका कुनै पक्ष पनि होस्टायल नहुने कानूनी संरचना बन्न सके भोलिका दिनमा यी नाबालिगले झैँ अन्यले मानसिक अनि सामाजिक प्रताडना भोग्नुपर्दैनथ्यो कि! 

जो पीडित उही समाजबाट थप पीडित हुनुपर्दैनथ्यो कि! आफ्नो कानूनी पक्ष कमजोर भएपछि आँसु बगाउँदै विवाह गर्छु भनेको भरमा कुनै नाबालिगले मुटु थिचेर 'होइन, होइन, होइन' भन्ने अवस्था दोहोरिँदैनथ्यो कि!

तर बालिग र नाबालिग त बुझ्न नचाहने यो समाजले होस्टायल भनेको के हो बुझ्न खोज्ला र! 

वैशाख ५, २०७९ सोमबार १६:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।