के यो कम्ताको कुरो हो त ? 

के यो कम्ताको कुरो हो त ? 

भीडमा उभिएका थिए सुन्दर। गणतन्त्र नेपालका एक आकर्षक व्यक्तित्व। राज्य शक्तिको चमक-दमकमा हुर्किएको एक जना भूतपूर्व राष्ट्रसेवक। हेर्दै खाइलाग्दो अनुहार।

उनका बारेमा छर-छिमेकका कुरा सुन्दा थाहा पाइयो- उनी एकै अंकमात्र नपुगेर सचिव हुनबाट रोकिएका थिए। उनका पितामह पश्चिम माल अड्डाका हाकिम थिए। पिताश्री चितवनको विशाल जंगलका रेन्जर थिए।

उनको चाहना थियो- छोरो बनको हाकिम होस्। जंगलका गैंडा मारेर त्यसको रगतले आफ्ना मरेका पितृहरुलाई तर्पण दिने राणाका सन्ततिहरुलाई रिझाओस्। 

पिताश्रीलाई सम्झेर सुन्दरको अनुहार खिन्न देखिएको थियो। पिताश्रीको सम्झनामा निरन्तर आँसु बहेको कारण उनका आँखा भावरहित थिए। ती आँखामा पढ्न सकिने खालको कुनै मानवीय भाव थिएन। उनी आफूलाई देशको सुविधासम्पन्न कर्मचारीतन्त्रबाट षडयन्त्रपूर्ण ढंगले घोक्र्याइएकोमा पूरै सहमत थिए।

कुरा त्यति लामो थिएन। बनारसमा पढेर आएको एउटा सोझो बाहुनले सुन्दर जस्तो खानदानी परिवारमा हुर्किएको होनहार व्यक्तिलाई असफल तुल्याइदिएको थियो। यही निहुँमा सेवा निबृत्त भएका सुन्दर राजनीतिका गोठ-गोठ चहार्न थालेका थिए।

राजनीतिक दलहरुबीच विवाद थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धनका नेताहरु मिलेर चुनाव लड्नुपर्ने पक्षमा थिए। तीमध्ये चितवनका कांग्रेसीहरुको एक पक्ष गठबन्धनमा रहेर चुनाव लड्ने तर्क गर्दै थिए।

गणेशमान सिंहको नेतृत्वमा भएको राष्ट्रिय जन-आन्दोलनले स्थापना गरेको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रदेखि आजका मितिसम्म कांग्रेसले व्यापक चुनाव जितेको कसैले जानेको छैन। आपसमा अन्तरघात गर्न सक्षम कांग्रेसीहरुले कहिले पृथ्वीमान गुरुङजस्ता शानदार नेताका विरुध्द आक्रमण गरे। कहिले के गरे, कहिले के।   

राजनीतिक भ्रमणको सिलसिलामा सुन्दर अहिले चितवनमा थिए। उनी चुनावअघि एक पटक देश भ्रमण गरेर प्रधानमन्त्रीलाई वस्तुस्थिति जाहेर गर्न चाहन्थे। 

सुन्दर प्रश्न गर्दै थिए, ‘तपाईंहरु आफैं भन्नुहोस त, आगामी वैशाख ३० गते मतदाताहरु भोट खसाउन भोटिङ बुथमा गएनन् भने देशमा के हुनेछ? चुनाव भएन भने के हुनेछ?’ मानिसको भीडबाट टड्कारो आवाज आयो, ‘केही पनि हुँदैन।’

चितवनको दियालो बंगला, जहाँ महाराजाधिराज महेन्द्र आफ्नी महारानीसँग प्रेमक्रिडा गर्न र गैंडाको शिकार गर्न आउने गर्दथे। दियालो बंगला अर्थात् महाराजाधिराज महेन्द्रले प्राण छाडेको स्थान। देवघाट जाने दोबाटोको छेउमा बनेको दियालो बंगला देख्नमा खासै सुन्दर थिएन। तर, त्यतिबेला त्यो भन्दा राम्रो बंगला बनाउन जान्ने सिकर्मी, डकर्मी र अरु कालिगढ सम्भवत: नेपाल ‘अधिराज्य’ मा नै थिएन। 

नारायणघाट चितवनको मात्र नभएर यो भेगकै सर्वाधिक ठूलो र प्रभावशाली बजार बनिसकेको थियो। त्यही बजारमा रहेको बजार संघको एउटा हलमा जम्मा भएका लगभग पाँच दर्जन मानिसलाई सुन्दर प्रश्न गर्दै थिए, ‘तपाईंहरु आफैं भन्नुहोस त, आगामी वैशाख ३० गते मतदाताहरु भोट खसाउन भोटिङ बुथमा गएनन् भने देशमा के हुनेछ? चुनाव भएन भने के हुनेछ?’

मानिसको भीडबाट टड्कारो आवाज आयो, ‘केही पनि हुँदैन।’ 

हो, केही हुँदैन। यो देशमा २००७ साल यता कति पटक चुनाव भए? ती चुनाव भएर के भयो? अब भएन भने के हुन्छ? 

‘ओहो! त्यसो नभन्नुहोस्,’ जवाफमा सुन्दरको आवाज निस्कियो, ‘हैन, त्यसो नभन्नुहोस्। चुनाव भएन भने सब बर्बाद हुनेछ। आजसम्म भएका जे-जति प्राज्ञिक, बौध्दिक, राजनीतिक र आर्थिक उपलब्धि छन्, ती सबै गुम्नेछन्। जनताले अनाहकमा दुःख पाउनेछन्। चुनाव त हर-हालतमा हुनैपर्छ।’

सुन्दर अचेल निकै चर्को आवाजमा कुरा गर्न थालेका छन्। उनी राजनीतिक नेताहरुले सारा देशलाई बर्बाद गरेको कुरा गर्छन्। देशमा राजतन्त्र हुँदा बहुत सुख-शान्ति भएको बताउँछन्।

सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा २०४६ सालमा भएको पहिलो राष्ट्रिय जन-आन्दोलनको विजयपछि देशले लय लिइसकेको थियो। कहाँबाट माओवादी आयो र मौलायो, कसैले थाहा पाएन भन्ने निष्कर्ष निकाल्छन्। 

सुन्दरको भाषण सुनेर चितवनका मानिसहरु चल्न चट्पटाउन थाले। उनीहरु आपसमा कुरा गर्दै थिए, ‘बुझ्नु भो त माइला बा। यी त कर्मचारी न भए। हजुर-हजुर भन्यो हसुर्यो। कर्मचारीको बुध्दि यति मन्द नहुने भए यो देशमा बाह्रैमास किन गाईजात्रा हुन्थ्यो र? किन यस्तो हाहाकार हुन्थ्यो र!’ 

त्यसपछि ती दुवै भलादमी उठे। छेउको एउटा रुखमा आड लागेर उनीहरुले कोटको खल्तीबाट चुरोटको बट्टा निकाले। चुरोट सल्काए। त्यसपछि मज्जाले खोक्न थाले। त्यसपछि सभा धेरैबेर चलेन। उनीहरुको खोकीसँगै सभा बिसर्जन भयो।

सभा बिसर्जन भए पनि भाषण जारी थियो। एक जना स्थानीय राजनीतिक कार्यकर्ताले माइक समाए। उनी बोल्न थाले। उनको भाषणको भाका कसैले बुझेन। सारमा यति नै बुझियो कि, प्रचण्डजीकी छोरी रेनु दाहालले राम्रो काम गरेकी छिन्। कांग्रेसले माओवादीसँग चितवनमा गठबन्धन गर्ने भनेको रेनुसँगै हो। माथि-माथिका नेता शेरबहादुरजीहरु र प्रचण्डजीहरुले के भन्छन् भन्ने होइन। हामीले सुद्ध मनले यो विचार गर्नुपर्छ, रेनु चितवनकी मेयर भएपछि ‘हुनेहुनामी’ विकास भएको छ चितवनको। यो पटक माथिको नेताले तलको कुरा बुझेछन् भन्ने लागेको छ हाम्लाई। जय नेपाल। 

स्थानीय महत्वपूर्ण नेताहरुको भाषण सुनेर सुन्दर सोच्दै थिए- देश र जनता त हामीले पाएकै हौं। यस्ता जिनियस जनता र देश पाएर पनि यसलाई कजाएर खान नसक्ने हामी मूर्ख नै हौं! देवताको मूर्ति विदेशमा लगेर बेच्नेलाई ईश्वरको अवतार भनेर पूजा गर्छौं। तैपनि, हामी हामी नै छौं।

सभामा हाँसोको फोहोरा छुट्यो। किन हाँसे मानिसहरु? कसैले थाहा पाएन। मञ्चमा उक्लिएर माइक समाउने को थिए? थाहा भएन। तर उनले जे भने त्यो गजब भने। उनी भन्दै थिए, ‘रेनु मेयर भएपछि चितवनले धेरै विकास पायो। रेनुको समयमा यति धेरै विकास भयो कि त्यति विकास न पञ्चेले गरे, न कांग्रेसले गर्यो, न कम्युनिष्टले गरे। अब रेनु मेयर भएपछि प्रचण्ड आफैं विकासको भारी बोकेर आएका छन्।

पाडो पाए पनि पाडी पाए पनि, विकास ज-जसले ल्याए पनि, हामी त भत्तु न हौं। खाली झगडा गरेको छ, बसेको छ। हामीलाई बिगौतो भए पुगिहाल्यो। अरु के चाहियो र?

त्यसपछि उभिए धर्मबन्धुजी। धार्मिक क्षेत्रका नेता। उनले भने, ‘प्रचण्डजी ठिक नेता छन्। चितवन आएर रात बसेका बेला बिहानै उठेर गंगास्नान गर्छन्। उनी यता सत्ताको राजनीतिमा लागेपछि धार्मिक भएका छन्। पूर्व जान्छन, नुहाउँछन्। उनको एकमात्र त्रुटि भनेको भैंसी पूजा गर्नु हो। भैंसीको पूजा गरेर, बाहुनको हातमा भैंसीको पुच्छर दान दिएर आफ्नो दशा निवारण गर्ने काम पूर्वी नेपालतिर खुब चलेको छ...।'

स्थानीय महत्वपूर्ण नेताहरुको भाषण सुनेर सुन्दर सोच्दै थिए- देश र जनता त हामीले पाएकै हौं। यस्ता जिनियस जनता र देश पाएर पनि यसलाई कजाएर खान नसक्ने हामी मूर्ख नै हौं! देवताको मूर्ति विदेशमा लगेर बेच्नेलाई ईश्वरको अवतार भनेर पूजा गर्छौं। तैपनि, हामी हामी नै छौं।

नपत्याए हेर्नुहोस् त! हामी नेपाली जनताका लागि अमेरिकाले एमसीसी बाहेक थप असी करोड डलर सहायता दिने निर्णय गर्यो। के यो कम्ताको कुरा हो त? 

गाथाहरू

वैशाख ४, २०७९ आइतबार १६:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।