७ रुपैयाँ लिटरको पेट्रोल हालेर ट्याक्सी चलाउन थालेका ८० वर्षे चालकको युवा जोस
सेतै फुलेको कपाल, भादगाउँले टोपी। कालो पाइन्ट, गुलाबी रङको धर्के सर्ट। त्यसमाथि 'ट्याक्सी चालक' लेखिएको हरियो स्टकोट लगाएका इन्द्रबहादुर पौडेल बसन्तपुरको चर्को घाममा ग्राहक कुरिरहेका छन्।
बुढेसकालको झल्को दिनेगरी चाउरिएका पौडेलका हात अहिले पनि स्फुर्तिका साथ ट्याक्सीको स्टेरिङ घुमाउन तत्पर देखिन्छन्।
सुरुमा धादिङ बसेर ट्रक चालकको काम गरेका पौडेल काठमाडौं आएर ट्याक्सी चलाउन थालेको पनि ५० वर्ष भइसकेको छ।
काठमाडौंको बन्जाहिटीमा उनको डेरा छ। बिहान उठ्ने, काममा जाने। त्यसपछि कोठामा गएर खाना पकाउने, खाने। र, फेरि काममा फर्किने उनको दैनिकी हो। डेरामा एक्लै बस्ने पौडेलकहाँ कहिलेकाहीँ भतिजको छोरा आउँछन् र उनैसँग भुल्ने गर्छन्।
पौडेलको बाल्यकाल धदिङकै एउटा गाउँमा गोठालो र खेतीपाती गरेर बित्यो। २००१ सालमा जन्मेका उनलाई पढाइ के हो थाहै भएन।
गोठ, खेत गर्दै बाल्यकाल बिताएका पौडेलको विवाह आफ्नै छिमेककी प्रेमिकासँग विवाह भयो। त्यतिखेर उनले गाडी चलाउन जानिसकेका थिए। उनी हेटौंडा-वीरगञ्ज सडकमा आफ्नो ट्रक कुदाउँथे।
तराईको फराकिलो सडकमा ट्रक चलाउन पाउँदाको खुसी अहिले पनि उनको अनुहारमा देख्न सकिन्छ। पौडेल भन्छन्, 'त्यस समयमै म महिनामा ४०/५० हजार रुपैयाँ त आरामले कमाउँथे।'
२८ वर्षको हुँदा दुई छोराका बाबु बने पौडेल। तर दुर्भाग्यबस दुवै छोरा धेरै समय बाँच्न सकेनन्। तीन वर्षको हुँदा नै पहिलो छोराको मृत्यु भएको सम्झँदा उनको आँखा अहिले पनि रसाउँछ।
'त्यो बेला के भयो, भयो। हल्का ज्वरो आएको थियो। अस्पताल कतै थिएन। ठिक हुन्छ होला भनेर घरमै सानोतिनो उपचार गरियो। केही सिप लागेन। पछि पो थाहा भयो, छोरालाई त निमोनिया भएको रहेछ,’ उनी भन्छन्, 'त्यसको केही महिनापछि नै अर्को छोरालाई पनि सन्चो भएन। उपचार गर्न नपाएर त्यो पनि बित्यो।’
पौडेलको घर शोकमा डुब्यो। छोराहरुसँग बिछोडिनुपर्दा उनकी श्रीमतीलाई असह्य भयो। छोराहरुको शोक र श्रीमतीको अवस्था नाजुक भएपछि ट्रक चलाएर राम्रो आम्दानी गरिरहेका पौडेल श्रीमतीलाई लिएर काठमाडौं आए।
काठमाडौं पहिलो पटक आउँदा पनि खासै गाह्रो भने नभएको उनी सुनाउँछन्। 'अहिले पो काठमाडौंमा यति धेरै घर, यति धेरै मान्छे भए। त्यतिखेर त फाँट नै फाँट थियो। कोठा पनि पाइहालिन्थ्यो। घरभेटीले तानी-तानी लगेर कोठा दिन्थे,’ सुरुमा ३० रुपैयाँ कोठा भाडा तिरेर बसेको उनी सम्झन्छन्।
दुई छोराको मृत्युपछि पौडेल दम्पतीले अर्को सन्तानको बारेमा सोच्दै सोचेनन्। ट्याक्सी चलाएर दुवै जनाको गुजारा चल्न थाल्यो।
०००
१० वर्षअघि पौडेलकी श्रीमतीले पनि संसार छोडिन्। त्यसपछि भने उनी एक्लै भए। उनी अहिले पनि श्रीमती र दुई छोरालाई याद गरिरहन्छन्।
अहिले पौडेलको एक्लो जीवन ट्याक्सी चलाएको कमाइ र वृद्द्ध भत्ताबाट चलिरहेको छ। उनले वृद्दा भत्ता पाउन थालेकै ८ वर्ष भइसकेछ। 'महिनामा चार हजार भत्ता आउँछ। अरु त आफैं कमाइहल्छु। कसैलाई खुवाउनु पर्दैन। खाए पनि, नखाए पनि एक्लै हो। जबसम्म सक्छु तबसम्म काम गर्छु,’ उनी भन्छन्।
पौडेल आजकल चाडपर्वको समयमा पनि घर जान छोडिसकेका छन्। एकोहोरो काम गरिरहन्छन्। पहिला ट्रक चलाउँदा धेरै आम्दानी गरेका उनलाई अहिले पनि घरी-घरी ट्रक चलाउन मन लाग्छ। त्यसको लागि प्रयास पनि नगरेका होइनन्। तर उमेरको कारणले गर्दा ट्रक चलाउन पाएनन्।
जताततै भीड र महँगीले एकदमै गाह्रो बनाएको उनको अनुभव छ। उनी भन्छन्, 'पेट्रोलको मूल्य ७ रुपैयाँ हुँदादेखि चालकको काम गरेको मलाई अहिले १६० रुपैयाँ तिर्नुपर्दा त गाह्रो हुने नै भयो नि। दिनको २/३ हजार त ३०/४० वर्ष अगाडि नै कमाउँथे। पहिला खर्च कम हुन्थ्यो। आम्दानी मजाले हुन्थ्यो। अहिले कमाइ थोरै अनि खर्च धेरै।’
ट्याक्सी चलाउँदाको अनुभव सुनाउँदै पौडेल भन्छन्, 'पहिला-पहिला गुरुजी, यो ठाउँसम्म पुर्या।इदिनूस् न। कति लिनुहुन्छ? भन्थे। अहिलेका मान्छे त 'ओ ट्याक्सी खाली हो?' भन्छन्। ठाउँ मात्र हैन मान्छे पनि परिवर्तन हुनेरहेछ।'
पहिला गाडी चलाउँदा सडक कच्ची भए पनि राम्रो र खाली हुने गरेको अनुभव पनि पौडेलले सुनाए। 'वरिपरि जंगल भएका कारण जंगली जनावर आउँछ कि भनेर सावधान भएर हिँड्नुपर्थ्यो। अहिले त बाटो बनेको भन्छन्, खै कस्तो बाटो बनाको हो यो। झन् खराब। जताततै गाडी नै गाडी। उल्टै मान्छे देखेर पो डराउनुपर्छ। कताबाट आएर ठोक्दिन्छ थाहै हुँदैन,’ उनले भने।
पौडेल अहिले प्रेसरका बिरामी हुन्। औषधि खान थालेको ७ वर्ष भइसक्यो। अब उनको एउटै इच्छा छ, आफ्नै ट्याक्सी किन्ने। आफ्नै ट्याक्सी भए ड्राइभर राखेर आफू आराम गर्न पाइन्छ भन्ने उनलाई लागेको छ।
अहिले पौडेल साहुको गाडी चलाउँछन्। दिनको १ हजार साहुलाई बुझाउँछन्। साहुलाई बुझाएपछि आफूलाई दिनको ५ सयलेखि १५ सयसम्म बच्ने गरेको उनी बताउँछन्।
जति गोता र हन्डर खाए पनि जिन्दगीसँग खासै गुनासो छैन पौडेललाई। 'मलाई जिन्दगीसँग केही गुनासो छैन। बरु ८० वर्ष हुन लाग्दासम्म काम गर्न सकिरहेकोमा गर्व लाग्छ,' उनी भन्छन्।
जिन्दगी के-के न हो भन्नेहरुलाई उनी सुझाव पनि दिन्छन्, 'जिन्दगी के नै हो र! कहिले सुख त कहिले दु:ख। तर जिन्दगीमा रमाइलो भने गर्नेपर्ने रहेछ। कुन दिन अन्तिम दिन हुन्छ, कसलाई के थाहा? अहिले हामी जे गरिरहेका छौ। जहाँ छौं, त्यही नै त रहेछ जिन्दगी।’
वयोवृद्ध पौडेललाई एक्लो हुनुपर्दा जति दु:ख लागेको छ, त्यो भन्दा बढी आफूले जिन्दगी जिउन पाएकोमा खुसी छन्। भन्छन्, 'त्यत्ति हो, कहिलेकाहीँ श्रीमती र छोराहरुको यादमा आँखा रसाउँछन्।'
मन्द मुस्कान छोड्दै ट्याक्सी लिएर हुइँकिए पौडेल।
चैत २८, २०७८ सोमबार १३:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।