ड्रिङ्क एन्ड ड्राइभका दोषी पृथ्वी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रका पारिवारिक सदस्य
काठमाडौँ : रक्सी पिएर गाडी चलाएर पैदल यात्री लीला देवकोटालाई ठक्कर दिएर ज्यान गएको घटनाका मुख्य दोषी पृथ्वी मल्ललाई कोरोना सर्न सक्ने र मानसिक समस्या देखाउँदै सर्वोच्च अदालतबाट धरौटी निस्कँदा नै मुद्दामा चलखेल सुरु भएको आशङ्का गरिएको थियो।
पर्याप्त प्रमाण हुँदाहुँदै जिल्ला अदालत काठमाडौँबाट लापरबाही गरेर जानाजान पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको घटनालाई अनजानबस भएको दुर्घटना भन्दै एक हजार जरिवाना र ६ महिना कैदको फैसला भएपछि प्रभावमा फैसला आएको भन्दै आलोचना भइरहेको छ।
बयान कसरी बदलियो अनि कुन-कुन प्रमाणले मल्लले सो दिन रक्सी खाएर गाडी चलाएको पुष्टि गर्छ लगायतका पक्षमा उकेराले विस्तृत सामग्री प्रकाशित गरिसकेको छ। मल्लले रातभर रेष्टुरेन्टहरुमा नडुली घटना भएको दिन बिहान शिवपुरी जानेक्रममा घटना भएको दाबी गरे पनि सो दिन घटनाको बेलामा कारमा रहेका चारै जना सो दिन एलओडीमा गएको तस्बिर समेत सार्वजनिक भएको थियो।
उकेराकर्मीले यो घटनाको मिसिलको अध्ययन गर्दा सवारी दुर्घटना हुनसक्छ भन्ने जान्दाजान्दै सवारी चलाएर विपरीत सडक पेटीमा हिँडिरहेकी देवकोटालाई ठक्कर दिएको पुष्टि हुने पर्याप्त प्रमाण भए पनि अदालतबाट अनजानमा दुर्घटना भएको भन्दै फैसला आउनु स्वाभाविक देखिँदैन।
आखिर कानुनी क्षेत्रमा मल्ल परिवारको के सम्बन्ध छ ? उकेराको खोजविनमा पृथ्वी मल्ल परिवारको सम्बन्ध महाअभियोग दर्तापछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र दाजु चोलेन्द्रमार्फत न्यायालयमा बिचौलियाको काम गरेको आरोप खेप्दै आएका प्रभु शमशेर राणासँग रहेको खुल्यो। विश्वस्त स्रोतले दिएको जानकारी अनुसार पृथ्वी मल्लकी आमा जुना चोलेन्द्रकी भान्जी नाता पर्छिन्।
चोलेन्द्रमाथि प्रधानन्यायाधीशको रूपमा न्याय किनबेच गरेको समेत आरोप लागेको छ। महाअभियोगमा समेत सो उल्लेख छ। उनको पृष्ठभूमि र अदालतमा चल्ने सेटिङले नातेदारलाई उन्मुक्ति दिलाउन उनको भूमिका रहेन भन्न सकिन्न।
रुकुमको खलङ्गा ३, सेरीगाउँ मूल घर रहेका मदन मल्ल पछि मदन दाङ झरेका थिए।उनको बिहे जुनासित भएको थियो।
मदनले इन्जिनियरिङ पढेर केही समय सरकारी जागिर समेत खाएका थिए।पछि सरकारी जागिर छाडेर उनी गैर सरकारी संस्थाहरूमा काम गर्न थाले। उनी अहिले युएन ह्याबीट्याटमा परामर्शदाताको रूपमा कार्यरत छन्।
प्रहरीमा पनि मल्ल परिवारका निकटहरू उच्च ओहदामै छन्। प्रहरीले समेत घटनाको प्रारम्भिक अनुसन्धानमै यसलाई जानाजान दुर्घटना नदेखाई अनजानमा दुर्घटना भएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमा महानगरीय प्रहरी वृत्त महाराजगन्जले प्रस्तावित राय सुझाव पठाएको थियो।
पछि जिल्ला सरकारी वकिल कार्यालयले सबै प्रमाणले मापसे गरेर सवारी चलाएको पुष्टि हुने भन्दै जानाजान दुर्घटना गराएको देखिएकाले सोही अनुसारको प्रतिवेदन पठाउन भनेपछि मात्रै प्रहरीले प्रस्तावित राय संशोधन गरेको थियो। सोही अनुसार १० वर्ष कैद हुने मागदावी लिएर अभियोग पत्र दर्ता भएको थियो।
'त्यही बेलामा प्रहरीले यसलाई अनजानमा भएको दुर्घटनाको दफा आकर्षित हुने गरी राय पठाएको थियो,' सो घटनाबारे जानकार स्रोतले उकेरालाई भन्यो' प्रमाण एकातिर अनि सजायको मागदाबी अर्कोतिर देखिएपछि अभियोग पत्रमा सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ को दफा १६१ को उपदफा २ अनुसार सजायको मागदाबी गरिएको थियो।'
फैसलाको प्रतिरक्षामा न्यायाधीश : यसमा अल्झिनुपर्ने के छ र!
अभियोग पत्रमा मागदावी १० वर्ष कैदको गयो। तर गत सोमबार फैसला आउँदा भने ऐन २०४९ दफा १६१ को उपदफा ३ बमोजिम कसुरमा ठहरिएको भन्दै ६ महिना कैद र एक हजार जरिवानाको मात्र सजाय सुनाइयो। फैसलाको पूर्ण पाठ आएको छैन।
फैसलाको आलोचना भएपछि न्यायाधीश सूर्यप्रसाद अधिकारी आफ्नो फैसलाको प्रतिरक्षामा मिडियामा आए। उनले नेपालसमयसँग भनेका छन्'‘ती महिलालाई ठक्कर दिँदा गाडीको गति २०-२५ किलोमिटर प्रतिघण्टा रहेको पाइयो, तर यो गति त सामान्य नै होइन र? तपाईँ हामी चढ्ने गाडीको सामान्य गति पनि त्यति नै हो, यसमा अल्झिरहनुपर्ने कुनै ठुलो कुरा छैन।’
काठमाडौँ जिल्ला अदालतले २०७६ पुस २३ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि मल्ल कारागारमा बस्नु परेन। उनी चिरायु अस्पताल बसे दमको समस्या छ भन्दै। पछि उनमा मानिसक समस्या समेत रहेको भन्दै
जिल्लाको आदेशविरुद्ध उच्चमा परेको पुनरावेदनमा २०७६ फागुन १५ मा धरौटी स्वीकार भएन। जिल्लाकै आदेश सदर भएपछि मल्ल परिवार सर्वोच्च अदालत गएका थिए। सर्वोच्च अदालतमा मानसिक समस्या, दम अनि कोरोनालाई कारण देखाउँदै न्यायाधीश सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासले जिल्ला र उच्चको आदेश बदर गर्दै पाँच लाख धरौटीमा मल्लाई छाड्न आदेश दिएका थिए।
अधिकारीले पनि फैसला गर्दा मल्ल रोगी रहेकोलाई विशेष जोड दिएको नेपालमयमा प्रकाशित उनको भनाइले देखाउँछ।
बाबु-छोरालाई उन्मुक्ति दिन अन्तर्राष्ट्रिय लाइसेन्सको खेल
कानुन अनुसार सवारी चलाउने अनुमति पत्र नपाएका व्यक्तिलाई सवारीसाधन दिएर कसैको ज्यान गएमा सवारी धनी वा सवारी जिम्मा लिएको व्यक्तिलाई समेत २ वर्ष कैदको व्यवस्था छ। पृथ्वी र उनको परिवारले प्रारम्भमा नेपालबाटै चार पाङग्रे सवारीसाधन चलाउने अनुमति पत्र लिएको दाबी गरेका थिए। तर पछि २ पाङ्ग्रेको मात्र अनुमति लिएको खुल्यो।
पछि उनीहरूले अमेरिकाको फ्लोरिडाबाट इन्टरनेशनल ड्राइभिङ लाइसेन्स लिएको दाबी गरे। उनको आमाले फ्लोरिडा राज्यबाट जारी भएको लाइसेन्स पनि बुझाइन्। सो लाइसेन्स एक त सिकारुको थियो। दोस्रो त्यो सक्कली हो या नक्कली कतै परीक्षणै भएन।
प्रहरीले समेत अनुसन्धानकोक्रममा यातायात व्यवस्था विभागमा मात्रै सोध्यो। उसले नेपालमा रहेको अमेरिकी दूतावासमार्फत सो लाइसेन्स सक्कली या नक्कली के हो भन्ने खुलाउन पत्राचार गर्न सक्थ्यो। तर गरेन। यातायात व्यवस्था विभागले पनि दूतावासबाट पुष्टि गर्नुको साटो इन्टरनेटमा सर्च गरेकै आधारमा मल्लको सो लाइसेन्स अन्तर्राष्ट्रिय लाइसेन्स भएको भन्दै प्रहरीमा पत्र पठायो।
नेपालको कानुन अनुसार अन्तर्राष्ट्रिय लाइसेन्स भएको अवस्थामा नेपालमा पनि सो लागु हुने उल्लेख छ। कुनै देशको मात्र लाइसेन्स छ भने नेपालमा आएर त्यसको स्थानीयकरण गरेर परीक्षा समेत दिनुपर्ने नियम छ।
त्यही अन्तर्राष्ट्रिय लाइसेन्सको आधारमा मल्लले सवारी चालक अनुमति पत्र नभई सवारी चलाएको अभियोगबाट उन्मुक्ति पाए नै उनको बाबु समेत २ वर्ष कैद सजायको माग दाबीबाट जोगिए। तर खोज पत्रकार उमेश श्रेष्ठले मल्लको परिवारले अदालतमा पेस गरेको अन्तर्राष्ट्रिय सवारी चालक अनुमति पत्र नै नक्कली रहेको खुलाएका छन्।
उनले मल्लले लाइसेन्स निकालेको आइटीएको साइटमा गएर 'भुस्याहा कुकुर'को नाममा मल्ल परिवारले अदालतमा पेस गरेको जस्तै लाइसेन्स निकालेका थिए।
मल्लले पेस गरेको जस्तो अन्तर्राष्ट्रिय सवारी चालक अनुमति पत्र जारी गर्ने निकाय आइटीए नरहेको अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख छ। अन्तर्राष्ट्रिय सवारी चालक अनुमति पत्र (आइडीपी) छुट्टै लाइसेन्स नभएर सरकारी निकायले जारी गरेको अनुमति पत्रको अनुवाद मात्र हो। पृथ्वी मल्लसित रहेको जस्तो लर्नर्स लाइसेन्स अर्थात् सिकारु चालक अनुमति पत्रबाट यस्तो आइडीपी निकाल्न समेत मिल्दैन। तर मल्ल परिवारले त्यही नक्कली लाइसेन्सलाई सक्कली बनाएर पेश गरे। अदालतले त्यसैलाई आधार बनाएर लाइसेन्स भएको स्विकार्यो।
न्याय कि अन्याय !
चैत १४, २०७८ सोमबार २२:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।