दिपेन्द्र र पारससँग पौडी पोखरीमा जम्काभेट
भोजपुर षडानन्द नगरपालिकाका तेजबहादुर भुजेलको आज जन्म दिन। बिहानै बालाजु बाइसधारा पार्क आइपुगे उनी।
त्यसो त बालाजु, बाइसधारा पार्क धाउनु उनको तीन दशकदेखिको दैनिकी नै हो। भुजेल त्यहीँका कर्मचारी हुन्।
‘यही ठाउँमा मेरा तीस वर्ष बिते। कस्तो पार्क कस्तो भयो,’ भुजेल कुराको पोयो फुकाए, ‘महेन्द्र पार्क हो यो खासमा। लभ साइनमा महेन्द्रपार्क राखेको बोर्ड थियो पहिले। अहिले बालाजु पार्क भन्छन् मान्छेले।’
कुनै बेला राजा खानदानदेखि ठूलाबडाको बढी उपस्थिति रहने पार्कमा अहिले भने सबै खालका मान्छेको उपस्थिति छ। तर पछिल्लो समययता भने नशामा लिप्त भएका युवाको अखडा जस्तै बन्दै गएको छ बाइसधारा पार्क।
कुनै बेला सभागृहको मातहत रहेको पार्क १५ वर्षअघि काठमाडौं महानगरपालिकाको पोल्टामा पर्यो। त्यसपछि निरन्तर पार्कको चमक खस्किँदै गएको हो कि भन्ने भान हुन्छ भुजेललाई।
‘पहिला सुरक्षाकर्मीको रुपमा रहँदा ठिक थियो। सुरक्षित नै थियौं,’ भुजेल भन्छन्,’ तर अब समय फेरियो। ज्यानको सुरक्षा गर्न नै गाह्रो छ। नशा खानेको अखडा नबनोस् भनेर गर्न सकेजति काम गरिरहेका छौं।’
पार्क व्यवस्थापनले प्रहरीको साथ भने गतिलो गरी पाएको छैन। समयमा नै प्रहरीलाई खबर गर्दा प्रहरी समयमा नआइपुग्नु, युवाहरुले समयमा नै सुध्रिने मैका नपाउनु हो भन्ने बुझाइ छ भुजेलको।
‘पार्क सबैको लागि हो। अब नआऊ भन्न कसैलाई सकिँदैन। सबै मान्छे राम्रा नियतका हुँदैनन्,’ भुजेलले भने।
०००
२०४३ सालमा बहिनीको भाँचिएको झुम्के बुलाकी चोरेर भुजेल काठमाडौं आए। त्यतिबेला बस चढ्न हिले आइपुग्नु पर्थ्यो। कन्काई यातायातले भुजेललाई सुन्धारा झारी दियो। भुजेल हिँड्दै एयरपोर्टको चौरमा पुगे। त्यतिबेला एयरपोर्टको चौर आज जस्तो बारभित्र थिएन।
‘म चौरमा पल्टिएँ। जाने, खाने ठाउँको पत्तो छैन। आमाले लुकाएर राखेको ७५ रुपैयाँ र बहिनीको भाँचिएको झुम्के बुलाकी चोरेर आएको,’ भुजेलले भने।
संयोग अचम्मको जुर्यो भुजेलको। मितिनी दिदी एयरपोर्टमा बदाम बेचेर बस्दी रहिछिन्। उनी दिदीकै छेउमा पल्टिएका रहेछन्।
केही दिन मितिनी दिदीकैमा बसे। त्यसपछि उनले भाँडा माझ्ने काम पाए होटलमा। केही समयमा नै ज्यानले साथ दिएन भुजेलको। उनी गाउँ फर्किए।
‘हात-खुट्टा सुन्निएर बिजोग भयो। म त गाउँ नै फर्कें,’ उनले सुनाए।
गाउँ फर्केपछि भुजेल फेरि पढ्न थाले। जम्मा पाँच कक्षा पढ्दै थिए, उनी सहितका चार जना साथीले स्कुलका प्रध्यानाध्यापकलाई प्रस्ताव राखे, ‘हामी अब सहर जान्छौं। चिनेको मान्छे छन् भने भन्दिनुपर्यो। काम चाहियो।’
नेपालीडाँडा विद्यालयका प्रध्यानाध्यापकले काठमाडौंमा चिनेको मान्छेलाई चिट्ठी लेखिदिए। त्यही चिट्ठी बोकेर भुजेल सहितका चार युवा मनभरि सपना बोकेर राजधानी छिरे।
‘हेडसरको पावरले काम गर्यो। चिट्ठी दिएपछि हामीलाई प्रहरीको जागिरमा भर्ती गरियो,’ भुजेल भन्छन्, ‘हाम्रो कुनै चेक-जाँच भएन। सिधै भर्ना पाइयो।’
भुजेलसँग आएका तिनै जना तालिममा खरो उत्रिए। उनको भने मति बिग्रियो। दुई महिनाको तालिमपछि उनी गाउँ नै फर्किए। सपनाले उडान लिन सकेन।
गाउँले दैनिकीमा २४ महिनाको समय कटाए भुजेलले। समय यत्तिकै बित्ला जस्तो लाग्यो र उनले फेरि स्कुलका प्रध्यानाध्यापकलाई गुहारे। उनले फेरि चिठी लेखिदिए, पहिलेझैं अञ्चलाधीश धरोहर थापालाई।
‘हेडसरले दमकलमा जागिर लगाइदिनू भनेर चिठी लेखिदिए। त्यो जागिरमा मान्छे चाहिएको रहेनछ,’ भुजेलले भने, ‘त्यति बेला खुलामञ्च खुद्रा व्यापार गर्ने थलो थियो। त्यो पनि सभागृहकै निगरानीमा। मैले खुलामञ्चमा सुरक्षाकर्मीको जागिर पाएँ। तीन सय तलब थियो त्यो बेला।’
चार वर्ष भुजेलले खुलामञ्चमा व्यापारीले पसल थाप्न ल्याएका इँटा उठाएर बिताए। त्यसपछि पार्कमा सुरक्षाकर्मीका रुपमा खटिन पुगे। रत्नपार्कमा एक वर्ष र शंखपार्कमा दुई वर्ष बिताएका उनका बाँकी वर्षहरु बालाजु बाइसधारामा नै बिते, बित्दै छन्।
०००
बालाजु बाइसधारा पार्कमा भुजेलले राजालाई समेत सुरक्षा दिन भ्याए। युवराज दीपेन्द्र र पारसलाई पनि सुरक्षा दिए।
‘सियो पनि देखिने सङ्लो पानी हुन्थ्यो स्विमिङ पुलमा,’ भुजेल भन्छन्, ‘ पासाङल्हामु हाइवेको मुन्तिर डुग्रे पानीमा ठूला दुई पोखरी थिए। त्यहाँबाट पानी आउँथ्यो। बाइसधाराको ठूलो धारामा टाउको थाप्न सकिन्नथ्यो। त्यत्रो पानी आउँथ्यो। त्यही पानी पुलमा जान्थ्यो। पारस, दीपेन्द्र सरकार आउनुहुन्थ्यो धेरैजसो पौडी खेल्न। उहाँहरुको लागि छुट्टै बस्ने खाने ठाउँ थियो पुलछेउ।’
भूकम्पले पुललाई असर गर्यो। पुल नभएपछि बाइसधाराको चार्म नै घट्यो भन्ने लाग्छ भुजेललाई। अठार वर्ष बिताएका भुजेलले बाइसधारा स्विमिङ पुलमा राजपरिवारका सदस्यदेखि गुण्डा नाइके बाघेसम्मलाई देखे।
‘बाघे त सानै थियो मैले देख्दा। जाली नाघेर पौडी खेल्न आउँथ्यो,’ भुजेल हाँसे।
राजदरबार हत्याकाण्डभन्दा अघि पारस र दीपेन्द्र स्विमिङ गर्न आउँदा पार्कको रौनक नै अर्कै हुन्थ्यो। भुजेलहरु सेवामा कमी नहोस् भनेर ज्यान लगाएर खटिन्थे। दरबार हत्याकाण्डपछि दरबारका कोही सदस्य फेरि बाइसधारा पुगेनन्।
'हत्याकाण्डको केही समयअघि बाइसधारा भित्रको मन्दिर दर्शन गर्न राजा वीरेन्द्रको सवारी भएको थियो स-परिवार। त्यही बेला राजालाई नजिकबाट देखियो,’ भुजेल भन्छन्, 'पारस र दिपेन्द्रेलाई त निकै पटक नजिकबाट देखियो। दरबारमा त्यस्तो नराम्रो भयो। त्यसपछि आक्कल-झुक्कल नेताहरु आउन थाले। गिरिजा पनि भानुको सालिक उद्घाटन गर्न यहाँ आएका थिए।’
पहिले-पहिले बाइसधारा पार्कमा शान्ति थियो। जंगलका घरहरुमा बस्ने व्यवस्था थियो। आराम गर्न मान्छेहरु आउँथे। त्यो प्रणाली अब हटिसक्यो। पछिल्लो समय भूकम्पले पार्कलाई केही समस्या पार्यो। पुन:निर्माणका काम कति भए, कति भइरहेका छन्। भुजेल अब दुई वर्ष पार्कको सुरक्षामा खटिने सोचमा छन्। आफू कार्यरत रहँदै पार्क ठिकठाक होस् भन्नेमा छन्।
‘अब रिटायर्ड हुने उमेर पनि भयो। ज्यानमा रोग आयो,’ भुजेल भन्छन्, ‘ब्रेन ट्युमरले भेट्टायो। मुटुको अप्रेसन गरें। यो जागिर नगरुम् भने औषधि खान समस्या हुन्छ। गरौं ज्यानले गाह्रो पार्न थालिसक्यो।’
बेला-बेलामा पार्कको जागिरबाट बचेको समयमा आफ्नो सपना रंग्याउन भुजेलले रङको काम गरे बल छँदा। तर अब रङको काम गर्न पनि ज्यानले दिँदैन।
उनी नेपाल सरकारका तीन तहका कर्मचारी थिए केही महिना अघिसम्म। हाल उनको बढुवा भएको छ। अब चौथो तहका कर्मचारी भएका छन्।
०००
प्रहरीको जागिर छाड्नु, ज्यानमा गहिरो रोग आउनु र कमजोर आर्थिक अवस्थाले भने भुजेललाई सताइरहन्छ। तर उनी जिन्दगीसँग धेरै गुनासो गर्ने पक्षमा छैन।
‘प्रहरीमै टिकेको भए अवस्था अर्कै हुन सक्थ्यो। बल छँदा जिन्दगी घिसारेर अघि बढाइयो। गाउँ फर्केर बस्ने अवस्था पनि सहज छैन, ज्यानको बिमारीले। सहरै बस्न पनि कोठे जीवन धान्नै गाह्रो,’ कुराको बिट मार्दै भुजेलले सुनाए।
चैत १४, २०७८ सोमबार १६:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।