पल प्रकरणमा कानुनी आदेश त आयो, अब समाजबाट के आदेश आउला !
नाबालिग बालत्कारको अभियोग लागेका पल शाह अनि मतियार भनिएका कृष्ण जोशीलाई पुर्पक्ष गर्ने कि छाड्ने भन्ने बहस भइरहेको थियो जिल्ला अदालत तनहुँमा। म त्यही इजलासमा बसेर बहस सुनिरहेको थिए। इजलासमै बसेर लाइभ बहस सुन्नु नौलो अनुभव थियो। बहस प्रक्रिया अगाडि बढ्नुभन्दा अगाडि अभियुक्तको बयान लिइने रहेछ। धपेडीमा अदालत पुगेकाले मेरो मुख सुकेको थियो। एउटा बेन्चमा गएर बसे। नजिकै एक जना पुरुष थिए। उनीसँग पानी थियो। एकै पटक पानी माग्नुभन्दा कुरा सुरु गरौँ भनेर कुरा सुरु गरे 'दाइ तपाई किन आउनुभएको ?' उनले' एउटा मुद्दा छ, अनि तिमि नि' भनेर सोधे। मैले' नायक पल शाह छन् नि। उनको मुद्दा सुन्न आएको। कस्तो बदमास रहेछ केटा' भने।
मेरो मुख सुकेको थियो। 'दाइ पानी खान मिल्छ' भनेर सोधे। उनले नसुनेझैँ गरे। मैले दोहोर्याएर पानी मागे। उनले बोतल अन्तैतिर फालेर झर्कँदै 'अर्कै पानी खानु' पो भने। उनी पलको आफन्त रहेछन्। मैले पललाई गाली गरेकोमा रिसाएछन्।
न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना सामु उभिएका थिए पल। उनी कठघरामा उभिए लगत्तै मसँग नजर जुध्यो। उनले नमज्जाले घुरेर हेरे मलाई। यी सबै दृश्य न्यायाधीश ढुङ्गानाले पनि देखेछन्। हासे। पलको बयान सुरु भयो।
पलले अदालतको बयानमा अधिकांश जिल्ला प्रहरी कार्यालय तनहुँमै दिएको बयान दोहोर्याए। उनले बयानमा आफू बेलुका कमल खत्रीसँग सुतेकाले बलात्कार गरेको दाबी झुटो भएको भन्दै आफूलाई फसाउने षड्यन्त्र भएको तर्क गरे।
उनको बयान सकिएपछि पालो आयो जोशीको। उनी नर्भस थिए बयान गर्दा। बयान सकिएपछि बहस सुरु भयो वादी र प्रतिवादीको। वादीकोबाट जिल्ला महान्यायाधिवक्ता रामचन्द्र शर्मासँगै मोहना अन्सारी, राधिका खतिवडा र सरिता तिवारी,किशोर सापकोटा, टेकनारायण गौतम लगायतकाले बहस गरे। उताबाट टन्नै थिए वकिलहरू।
पहिलो दिनको थुनछेक बहस सकिएन। बिहीबार पनि बहस हुने भयो। नाबालिगको पक्षमा बहस गर्न नेपाल बार एसोसिएसन पोखराका अधिवक्ताहरू पनि थिए। काठमाडौँमा केही महत्त्वपूर्ण काम पनि थियो। काठमाडौँ फर्किनुपर्यो भनेर अदालतको भर्याङबाट ओर्लँदै थिए एक युवतीले 'तिमी यो केसमा किन बढी जान्ने भएको' भनेर हप्काइन्।
म त वाल्ल परे। 'को हो तपाई' भन्दै थिए म। मोहना दिदीले' एक नारी भएर नारीमाथि भएको अपराधमा यस्तो भन्ने भन्नुभएपछि उनी केही नरम भइन्। तै पनि कराइरहेकी थिइन्। हामी हिँड्यौँ।
मध्यरात काठमाडौँ आइपुगेपछि सामाजिक सञ्जालमा हेर्दा थाहा भयो अदालतको भर्याङमा हप्काउने पलको बहिनी रहिछिन्। दाइ प्रहरी हिरासतमा परेको बेलामा बहिनी यत्तिको आक्रोशित हुनु स्वाभाविकै लाग्यो।
तर सामाजिक सञ्जाल हेर्ने हो भने पलसँग साइनो नै नभएकाहरू पनि आक्रोशित देख्दा भने दिक्क लाग्यो। यो घटनाबारे प्रहरीमा जाहेरी परेदेखि नै जस्तो प्रतिक्रिया आएको थियो त्यसले नेपाली समाजले अझैँ बालिग र नाबालिगबिचको भिन्नतै बुझ्नै नसकेको लागेको थियो। कानुनमा १८ वर्ष मुनीकारसँग कस्तो व्यवहार स्वीकार्य अनि कस्तो अस्वीकार्य लेखियो। तर समाजका सदस्य नै यसबारे जानकार लागेन।
कानुनको अज्ञानता क्षम्य हुन्न त भनिन्छ तर कानुनबारे समाज जानकार नभएपछि पीडितलाई कसरी समाजले थप पिडा दिने रहेछ अनि पिडकले कसरीले लाभ पाउने रहेछ भन्ने घटना पनि बन्यो यो।
अनि फिल्मी दृश्यले समाजका सदस्यहरू कत्ति प्रभावित हुने रहेछन् भन्ने पनि यही घटनाले देखायो। प्रतिवादै नगरे पनि बलात्कार हुन्छ र भन्ने तर्क सुन्दा/पढ्दा ढोका थुनेर, लुगा च्यात्दै, महिलाको मुख थुनेर फिल्महरूमा देखाइने बलात्कार दृश्यको प्रभाव नेपाली समाजमा कस्तो गढेको रहेछ भन्ने नमिठो अनुभव पनि भयो।
अरू त अरू कानुनका जानकार, समाजमा बौद्धिक भनेर पहिचान बनाएका पिएचडी होल्डर अनि समाजका गहना मानिएका कलाकार अनि केही पत्रकारको बलात्कारबारेको सोचाई पनि फिल्मी पाराकै देख्दा दुख लाग्यो।
OOO
महिलाबारे नेपाली समाजको सोचाइको स्तर देखेर यसलाई बदल्न सानै योगदान भने पनि गर्न सकिन्छ कि भन्ने नै हो मेरो उद्देश्य। त्यसैले यस क्षेत्रमा सक्रिय हुने प्रयास गरिरहेको हुँ। यस अगाडि पनि केही केसमा सहयोग गर्न पाएको थिए पीडितलाई। तर यति ठुलो घटनामा कुनै न कुनै रूपमा म जोडिन्छु भन्ने सोचेको थिइन।
अनि जो पीडित नाबालिग हुन् उनी मसँग परिचित पनि हैनन्। पलसँगको परिचय पनि कलाकार र दर्शकको मात्रै त हो। तर कता-कताबाट संयोगले जोडिन पुगेँ।
पर्दाको हिरोसँग कुन चैँ किशोरीको मन बस्दैन र। मलाई पनि शाहरुख खान अधिक मन पर्छ। तर मन पर्नुको अर्थ सम्बन्धका लागि राजी हुनु हो र?
तीन महिना भयो ती नाबालिगसँग परिचय भएको। महिला अधिकार अनि विशेष किशोरीमाथि हुने घटनाबारे सञ्चारमाध्यममा लेखिरहन्छु म। कसैले उनलाई मेरो नम्बर दिएछ। तीन महिना अगाडि उनले मसँग सम्पर्क गरेकी थिइन्। उनीसँग म परिचित थिइन। तर उनीबारे म परिचित थिए, सम्भावना बोकेर गायिका भनेर। स्वर मिठो लाग्थ्यो मलाई उनको।
फोनमा कुराकानीको शृङ्खला बाक्लिँदै गयो। म पनि भर्खर टिनएज पार गरेको युवती। उनको उमेर र मेरो उमेरविच त्यति धेरै ग्याप छैन। त्यसैले हुनसक्छ हाम्रो कुरा मिल्न थाल्यो। बजारमा उनीबारे चल्ने गसिपहरुबारे हल्काफुल्का जानकारी पनि थियो। अब यो रंग क्षेत्र भनेको यस्तै त हो। कुनै पुरुष कलाकारसँग अभिनय गरेकै भरमा ' फलानाको फलानासँग लभ पर्यो' भनेर समाचार आइरहेकै हुन्छन्। गसिप यस्तै हुन पनि सक्थ्यो।
कुरै कुरामा उनी खुल्दै गइन्। राती अबेर निन्द्रा लागेन दिदी भन्दै म्यासेज गर्न थालिन्। उनको व्यवहारले मन स्थिर छैन भन्ने देखाएपछि भने म उनीसँग निकट भएर कुरा गर्न थाले। जब उनले आफ्ना मनका सबै कुरा खोलिन् छाँगाबाट खसेझैँ भयो।
अहो ! १६ वर्षकै उमेरमा यति धेरै तनाव? उनको बोलीले उनी गम्भीर समस्यामा छिन् र उनलाई विश्वासिलो साथीको खाँचो छ भन्ने अनुभव गरायो मलाई। किनकि उनले जसलाई विश्वास गरिन् उसैबाट धोका पाएकी रहिछिन्। के कलाकार अनि के पत्रकार जसलाई आफ्नो ठानेर उनले मनको बह पोखिन् त्यो त उनीहरूका लागी हतियार बनेछ।
मसँग कुरा गर्दा मन हल्ला हुने रहेछ उनको। म पनि उनलाई पर्याप्त समय दिन्थे। उनका कुरा सुन्दै जाँदा मनमा प्रश्न खेली रहन्थे' एक वयस्क अनि त्यो पनि परिचित कलाकारले कसरी मायाको अभिनय गरेर एक नाबालिगको अस्तित्वमाथि यसरी खेलबाड गर्न सक्छन्?' अर्को मनले भन्थ्यो' सत्य नहुन पनि सक्छ।'
उनले आफ्ना मनका सबै कुरा खोलेपछि भने मेरो मनमा आँधी चल्यो।
पर्दाको हिरोसँग कुन चैँ किशोरीको मन बस्दैन र। मलाई पनि शाहरुख खान अधिक मन पर्छ। तर मन पर्नुको अर्थ सम्बन्धका लागि राजी हुनु हो र?
गाउँका हुर्किएको चेली। सामाजिक सञ्जाल हुँदै स्वर फैलिएपछि काठमाडौँ आइन्। गाउने मौका पाइन्। श्रोताहरूले स्वर मन पराएपछि यतै करिअर बनाउन सङ्घर्ष गर्न थालिन्। यही त हो उनको पृष्ठभूमि। हामीले बाहिरबाट हेर्दा अहो यति चलेको गायिका भने पनि उनको हुर्काई र पृष्ठभूमि उही सामान्य परिवारकी सदस्य त हुन्।
उनलाई पनि पल मन पर्यो। मन पर्ने 'हिरो'सँगै म्युजिक भिडियोमा अभिनय समेत गर्न पाउँदा खुसी भइन्। कलिलो उमेर। पर्दामा देखिने हिरो आफ्नै जीवनको हिरो बन्छु भनेपछि १५ वर्षकी किशोरीको मन कस्तो हुन्छ? उनको मन पनि त्यस्तै भयो। उनले त्यो उमेरमा कसरी बुझुन् यहाँ प्रेमको नाटक मञ्चन गरेर यौवन चुस्नेहरू पनि हुन्छन् है भनेर। काँचो उमेर। नाइँ भन्दाभन्दै भएको सम्बन्ध समाजमा खुलेर भन्न सकिनन्। जतिलाई मनको गाँठो फुकाइन् त्यतिले 'हैट यस्तो कुरा बाहिर भन्न हुन्न' मनमा डर बसाइदिए।
मनको हुरी नथामिएपछि उनले परिवारको सदस्यलाई भनिन्। हरेक घटनामा महिलालाई नै दोषी देख्ने समाजले भोलि ती किशोरीलाई कसरी हेर्ला ? खराब मानसिकताको वर्चस्व रहेको यो समाजमा एक किशोरीको परिवार हच्किनु स्वाभाविकै हो।
'ममाथि प्रेमको नाममा गलत भएको हो' भन्ने वास्तविकताले नाबालिगको मन भित्रभित्रै खाइरहेको उनको परिवारले जब अनुभव गरे तब उनीहरू कानुनी बाटो अपनाउन राजी भए। जिल्ला प्रहरी कार्यालय तनहुँ अनि इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी पर्यो। अनि के भयो सार्वजनिक भइसकेका छन्।
जिल्ला अदालत तनहुँले थुनछेक बहस सक्काएर तत्कालका लागि अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दा अगाडि बढाउने आदेश दियो। जिल्ला अदालत नवलपुरमा अभियोग पत्र दर्ता भएर बसेको छ। त्यो पनि प्रक्रियामा जाला नै।
OOO
यो प्रकरणमा जति लामो व्याख्यासहित आदेश आएको छ त्यस्तो आदेश मैले अन्य केसमा देखेको थिइन्। जाहेरी परेदेखि नै समाज जसरी विभाजित भयो अनि जे जस्ता शङ्का-उपशङ्का गरिए ती सबैलाई प्रस्ट व्याख्यासहित आदेशमा समावेश भएको अनुभव भयो मलाई।
यत्तिको आएपछि त' मन मिलेसम्म चमत्कार, मन नमिलेपछि बलात्कार' भनेर गम्भीर घटनामा हल्का टिप्पणी गर्नेहरूले पक्कै यसको गम्भीरता बुझ्छन् भन्ने लागेको थियो। तर बिहीबार आदेश आइसकेपछिको सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाले खिन्नै बनायो।
उनीहरूले सञ्जालमा जे-जे प्रश्नहरू उठाइरहेका छन् ती सबैको उत्तर त्यही आदेशमै छ। आदेश अदालतको साइटदेखि अनलाइन पोर्टल अनि सामाजिक सञ्जालमै छन्। तर उनीहरूमा आफ्नो प्रश्नको उत्तर आदेशमा खोज्ने जाँगर छैन।
यो घटनामा पात्र कलाकार र गायिका देखिए। तर यस्ता घटना अन्य क्षेत्रमा पनि टन्नै छन्। विविध कारणले पीडित बाहिर आउन नसकेका मात्रै हुन्। तिनलाई लुकेको लुक्यै गराउने कि बाहिर आउन प्रोत्साहित गर्ने ? समाज पीडिततिर या पिडकतिर ? समाजका सदस्य जता उभिन्छन् त्यसले नै छिनोफानो गर्नेछ।
जाहेरी किन ढिला? राती करिब १२ बजेतिर पीडितलाई म्यासेज गरेर बियर खाएर पीडितको कोठामा किन गएको ? पीडित नाबालिग हुन् भन्ने जानकारी भएको ३२ वर्षका वयस्क व्यक्तिले किन प्रेम सम्बन्ध राखेको?, उनको परिवारसँग विवाह गर्ने उमेर भएपछि विवाह गर्छु किन भनेको?, गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डविच यस्तो सम्बन्ध नर्मल हो भनेको कस्तो सम्बन्ध हो?
यसको उत्तर नाबालिगले दिनुपर्ने हो कि वयस्क अभियुक्तले ?
पक्का, यसको उत्तर दिनुपर्ने अभियुक्तले नै हो। अभियुक्तले यी नै प्रश्नको विश्वासिलो उत्तर दिन नसकेर नै त अदालतले तत्कालका लागि उनले बलात्कार गरेको हैन भन्न सक्ने आधार नभएको भन्दै पुर्पक्षका लागि थुनामा पठायो।
तर समाजले यो किन बुझ्न खोजेको छैन? बुझेकाले पनि किन बुझ पचाइरहेका छन्?
OOO
नेपाली चलचित्र क्षेत्रमा रहेकाहरूको मानसिकता कतिसम्म यौनमुखी छ भन्ने त यस अगाडिका केही घटनाले देखाएकै हो। तर ती कुनै न कुनै बहानामा दबाइए। तर एक किशोरीले आफ्नो भावी जीवनलाई दाउँला राखेर गरेको प्रहारले अनेक बहानामा यौन शोषण गर्नेहरूको मुटु पक्कै कमाएको छ। एक किशोरी र उनको परिवारले जुन हिम्मत गरे त्यसले विभिन्न आवरणमा रहेका यौन पिपासुहरूको मुटुको धड्कन पक्कै बढाएको छ।
यो त सामाजिक सञ्जालमा देखिने केहीको बरबराहटले पनि देखाएको छ।
यो घटनामा पात्र कलाकार र गायिका देखिए। तर यस्ता घटना अन्य क्षेत्रमा पनि टन्नै छन्। विविध कारणले पीडित बाहिर आउन नसकेका मात्रै हुन्। तिनलाई लुकेको लुक्यै गराउने कि बाहिर आउन प्रोत्साहित गर्ने ? समाज पीडिततिर या पिडकतिर ? समाजका सदस्य जता उभिन्छन् त्यसले नै छिनोफानो गर्नेछ।
नेपाली समाज पीडितको पक्षमा उभिनै नसक्ने आपराधिक मानसिकताले थिचिएको सदस्यहरूको बाहुल्यता रहेको समाज हो त?, नेपाली कला क्षेत्रमा सक्रियहरू अभिनय र शब्दमा मात्रै अन्यायको विपक्षमा उभिने पात्र बनेका हुन् या वास्तविक जीवनमा पनि अन्यायको प्रतिकार गर्न सक्षम छन्?
ती नाबालिकालाई घरबाट निस्कनै नसक्ने वातावरण बन्छ कि उनी सहज रूपमा आफ्नो क्षेत्रमा क्रियशिल हुनसक्ने वातावरण बन्छ ? अनि आफूमाथि भएको खराब पक्ष उजागर गर्नेलाई दुत्कार्ने कि प्रोत्साहित गर्ने?
पल प्रकरण त अदालतमा प्रवेश भइसक्यो। को निर्दोष हो अनि को दोषी हो अब यसको छिनोफानो अदालतबाटै हुन्छ नै।
तर माथिका प्रश्न र आशङ्का भने कानुनी कोर्टमा हैन नेपाली समाजमा अझ विशेष नेपाली रंग क्षेत्रको इजलासमा आइपुगेको छ। बिहीबारको आदेशले अदालतको गम्भीरता देखियो। कानुनी आदेश आयो। अब समाजबाट के आदेश आउँछ? प्रतीक्षा त्यसैको हो।
(उकेराकर्मी केपी ढुङ्गानाले ओझासँग गरेको कुराकानीमा आधारित)
चैत ११, २०७८ शुक्रबार २१:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।