क्रिप्टोकरेन्सीमा जोडिइन् अभिनेत्री प्रियंका, सिआइबीले अनुसन्धानका लागि बोलायो
काठमाडौँ : क्रिप्टो करेन्सीको प्रवर्दन गर्ने गरी विज्ञापन गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अभिनेत्री प्रियंका कार्कीलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको छ। फेसबुकको एक पेजमा उनले क्रिप्टोकरेन्सीको विज्ञापन गरेको देखिएको भन्दै ब्युरोले उनलाई बोलाएर आइतबार यसबारे सोधपुछ गरेको छ। ब्युरोले महाराजगन्जमा रहेको कार्यालयमा उनलाई बोलाएर क्रिप्टोको विज्ञापनहरूमा उनको सम्बन्धबारे सोधपुछ गरेको छ।
पछिल्लो समय अर्थ मन्त्रालय बिट क्वाइन र क्रिप्टोकरेन्सीको कारोबार नियन्त्रणमा सक्रिय देखिएको छ। अर्थले समिति समेत गठन गरेको छ। उता सूचना मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई बिटक्वाइन र क्रिप्टोसँग जोडिएका वेबसाइटदेखि एपहरू समेत नेपालमा खोल्न नमिल्ने बनाउन इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको छ।
यही अध्ययनको क्रममा अभिनेत्री कार्की समेत जोडिएको हुनसक्ने देखिएपछि सिआइबीले जानकारीका लागि उनलाई कार्यालयमा बोलाएको ब्युरोका एक प्रहरी अधिकारीले उकेरालाई जानकारी दिए।
'फेसबुकमा उहाँले क्रिप्टोको विज्ञापन प्रमोट गरेको देखियो। उहाँको तस्बिर समेत देखेपछि संलग्नताबारे सोधपुछका लागि बोलाएका हौँ,' ब्युरोका ती अधिकारीले भने।
उता अभिनेत्री कार्कीले भने आफूलाई प्रहरीले नबोलाई 'क्रिप्टोकरेन्सीसँग आफ्नो नाम नजोडियोस् भनेर आफै सिआइबीको कार्यालय आएको' दाबी गरिन्। उनले उकेरासँग भनिन्,' मेरो फोटो प्रयोग गरेर डिजिटल एप बनाइएछ। त्यो थाहा पाएपछि म आफै सिआइबीसँग सहयोग माग्न कार्यालय गएको हो।'
उनले आफू सिआइबीको कार्यालयमा रहेको बताउँदै 'भोलि गएर आफ्नो नाम क्रिप्टोकरेन्सीसँग नजोडियोस् भनेर आएको दाबी गरिन्। 'यसमा मेरो कुनै संलग्न छैन,' प्रियङ्काले भनिन्,'बिहानैदेखि श्रीमान् आयुषमान देशराज जोशीले सिआइबीका मानिससँग छलफल गरिरहेका थिए।'
(कभर फोटो कोलाज हो)
चैत ६, २०७८ आइतबार १६:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।