चौथो अंगमा कन्हैयालाल केशरी : मोफसलका पत्रकारले भोकै काम गर्नुपर्ने हो ?
भूराजनीति र औद्योगिक हिसाबले संवेदनशील नगर हो वीरगञ्ज। यहाँका पत्रकारले विचार पुर्याएनन् र अनुचित लाभतर्फ लागे भने बोर्डरका खास समाचार बाहिर आउँदैनन्। केही पत्रकारले त पत्रकारितालाई बार्गेनिङ गर्ने टुल्स बनाएका पनि छन्।
एउटा उदाहरण- २०६४ सालमा मधेश विद्रोह भयो। मधेश विद्रोहपछि वीरगञ्जमा धेरै भारतीयलाई नागरिकता बाँडियो। ५०/६० वर्ष नेपाल बसेका थुप्रै भारतीयलाई नागरिकता दिइयो। जनप्रतिनिधि पाँच जना र प्रशासनबाट पाँच जना बसेर उनीहरुले सिफारिस गरेको आधारमा नागरिकता वितरण गरिएको थियो।
५०/६० वर्षभन्दा कम समय बसेका कतिपय भारतीयलाई पनि नागरिकता बाँडिएको थियो। त्यतिबेला केही पत्रकारलाई १० हजार दिएर समाचार किल गराइएको थियो।
भारतीय व्यापारीले आफ्नो नेपालबाट र श्रीमतीको भारतबाट नागरिकता लिए। र, दुवैतिरको सम्पत्ति जोगाए। नेपालबाट नागरिकता बनाउनेहरुले पनि भारतको भोटर कार्ड भने राखिरहे। यहाँका पत्रकारले त्यस विषयमा खोज्न त खोजे तर त्यसैलाई आधार बनाएर रकम असुले, समाचार लेखेनन्।
सीमा क्षेत्रको रिपोर्टिङ हुन सकेको छैन
मैले वि.सं. २०४० देखि पत्रकारिता सुरु गरेको हो। म वीरगञ्जमै रहेर काठमाडौंबाट प्रकाशित हुने पत्रकारितामा संलग्न रहेँ। पञ्चायतको बेला भएकोले पत्रकारहरु प्रत्यक्ष राजनीतिमा पनि संलग्न हुन्थे, म पनि थिएँ।
'राष्ट्र पुकार', 'बिमर्श', र 'देशान्तर' मा काम गरेँ मैले। पत्रकार किशोर नेपालसँग काम गर्दा सिने अवसर धेरै पाइयो।
बहुदल आउनुअघि राष्ट्रिय दैनिकमा गोरखापत्रको एकाधिकार थियो। बहुदलपछि गोरखापत्रको एकाधिकार तोडिँदै थियो। म भने गोरखापत्रतिरै लागेँ।
अहिले वीरगञ्जमा ५/६ वटा पत्रिका, ७ वटा रेडियो र केही अनलाइन छन्। राष्ट्रिय स्तरका अधिकांश पत्रिकाको संवाददाता पनि यहाँ छन्। एक हिसाबले भन्दा वीरगञ्जमा पनि संख्याको हिसाबले पत्रकारहरु धेरै नै छन्। गुणस्तर कस्तो छ, त्यो अलग्गै कुरा भयो।
पत्रकारिता देशैभरि व्यापक हुँदै गएको छ। व्यापक हुँदै गएपछि केही विकृति त अवश्य आउँछन्। पहिलेभन्दा अहिले वीरगञ्जबारे धेरै समाचार आउँछन् तर समाचार नै किल भएको अवस्था पनि नभएको होइन।
वीरगञ्ज औद्योगिक नगरी मात्रै नभएर सीमा-नाका पनि हो। सीमा-नाकामा हुने तस्करीबाट अन्यले जसरी लाभ लिइरहेका छन् त्यसरी नै पत्रकारले पनि अनुचित लाभ लिइरहेका छन्।
सरकारले वीरगञ्ज-पथलैया करिडोर निर्माण गरेको छ। यहाँ हजारौँ उद्योग छन्। उद्योगको लागि चाहिने कच्चा पदार्थ पनि यतैबाट आएका हुन्छन्। नेपालकै सबैभन्दा बढी आयात हुने नाका वीरगञ्ज हो। यहाँ बदमासी पनि उत्तिकै भएका छन्। यसबारे उधिनेर समाचार आएका छैनन्।
जस्तो कि, कुनै सामान मगाउँदा एलसी खोल्नुपर्छ। तर यहाँका केही व्यापारीले एलसी नखोलिकनै सामान ओसार-पोसार गर्छन्। यसबारे समाचार आउन सकेको देखिँदैन।
सिमाना भइसकेपछि यसको भू-राजनीतिबारे पनि गम्भीर रिपोर्टिङ हुनुपर्ने हो, तर भएको छैन। यहाँ जति पनि उद्योग छन्, ९० प्रतिशत उद्योगको पानी प्रशोधन छैन। सिधै सिर्सैया खोलामा उद्योगको फोहोर मिसिन्छ। यसबाट नदी प्रदूषण बढेको छ। वीरगञ्जको एउटा मात्रै खोलाको अवस्था नाजुक छ।
यो इस्यु नउठेको होइन। केही पत्रकारले उठाएका थिए। तर धेरैजसो पत्रकार उद्योगीसँग मिलिदिँदा र बार्गेनिङ गरिदिँदा सिर्सैया खोलाको संरक्षण गर्न सकिएको छैन। इस्यु छ, पत्रकार पनि छन्। तर धेरैजसो पत्रकारले आफ्नो जिम्मेवारी नसम्झिँदा, प्रलोभनमा पर्दा उद्योगीलाई जिम्मेवार बनाउन नसकिएको सत्य हो।
पत्रकारले राजनीति बुझेका हुन्छन्। राजनीति गर्दा पनि फरक पर्दैन मेरो विचारमा। तर लेख्न बसिसकेपछि बायस हुनु भएन। यहाँ त धेरै पत्रकार आफ्नो नेताले गरेको नराम्रो काम लेख्दै-लेख्दैनन्।
पहिलेको स्थानीय चुनावमा वीरगञ्जको मेयर नेपाली कांग्रेसले जितेको थियो। वीरगञ्ज बाइपासको जग्गा ऐलानी थियो। खानेपानीको डिजी, सिडिओ, राष्ट्रिय अनुसन्धान केन्द्रको हाकिम र मेयर मिलेर त्यो जग्गा राति नै नापी बोलाएर कित्ताकट गरी आफ्नो नाममा पास गरेछन्। मैले गोरखापत्रमा छापेँ। त्यसपछि मुद्दा-मामिला परेको थियो। अहिले त आफ्नो हिमचिम भएको पार्टीको सरकार छ र बेइमानी छ भने समाचार नै लेखिँदैन।
समाचार किल गर्ने धेरै भए
यहाँको उद्योगले गर्ने बदमासीको उदाहरण दिन्छु। कुनै नेपाली चकलेट कारखानाले भारतीय ब्राण्डको नक्कली खोल राखेर चकलेट बेचिरहेको हुन्छ भारतीय भन्दै। पत्रकारले यो कुरा थाहा पाउँछ। समाचार लेखिदिन्छु भनेर बार्गेनिङ गर्छ अनि पैसा लिन्छ। त्यस्ता केही पत्रकार अझै छन्।
पञ्चायतकाल थियो। पत्रकार महासंघको चुनाव काठमाडौँमा भएको थियो। त्यतिबेला वीरगञ्जका पत्रकार प्लेन चढेर भोट हाल्न आए भनेर चर्चा हुन्थ्यो।
यसो भन्दै गर्दा समाचार किल हुने वीरगञ्जमा मात्रै भने होइन। काठमाडौँमा बसेर काम गर्ने पत्रकारले पनि समाचार किल गर्छन्। उता र यताको काम गर्ने शैली फरक हुन्छ। फरक यत्ति हो, मोफसलेको धेरै हल्ला हुन्छ, उताको हुँदैन।
सचिव, मन्त्रीदेखि राजदूतावाससम्म पहुँच बढाउने, छोराछोरीलाई छात्रवृत्ति दिलाउनेदेखि विदेश भ्रमणमा संलग्न हुने धेरै छन् उता पनि। पत्रकारितामा मोफसलभन्दा बढी विकृति काठमाडौंमा देखिन्छ।
कन्टेन्टको हिसाबले मोफसलमा आउनुपर्ने जति नआएका हुन्।
सुपारी र मरिचमा दिएको लाइसेन्सले व्यापारीलाई फाइदा गरेको छ। हाम्रो मागभन्दा बढी आयत हुनु भनेको अन्य देशमा पैठारी हुने हो। यसैलाई चिरेर लेख्न सक्ने पनि भएनन्।
मोफसलका पत्रकारले भोकै काम गर्नुपर्ने हो?
केन्द्रका साथीहरुले मोफसलका पत्रकारलाई समाचार लेख्न जान्दैनन् भन्ने आरोप लगाउँछन्। तर मोफसलका पत्रकारलाई कति सिकाइन्छ भन्ने कुरा महत्वपूर्ण हो भन्ने मलाई लाग्छ। प्रधान-सम्पादकले आफू अनुकुल समाचार बनाउन खोज्यो भने नहुने हो। उसले यहाँ कस्तो देख्छ, सोही अनुसार समाचार लेख्ने, यस्तो पुगेन, उस्तो पुगेन भन्दै गर्दा यहाँको वस्तुस्थिति बुझेको हुनुपर्छ।
४० वर्ष भयो मैले काम गरेको। मोफसलका पत्रकारले तालिम र विदेश भ्रमणमा किन प्राथमिकता पाउँदैनन्? एनजिओ-आइएनजीओ शैलीले काठमाडौँबाट पत्रकार आएर तालिम दिने, उनीहरुको बाटो-खर्चभन्दा तालिममा थोरै खर्च गर्ने अनि बढ्छ गुणस्तर? अझ नियमित तलब पनि पाउँदैनन् मोफसलका पत्रकारले।
काम गर्ने व्यक्तिलाई नोकर जस्तो व्यवहार गर्ने, चाहिने पैसा नदिने, दिन-रात काम गरिदिनुपर्ने। यसरी पनि काम हुन्छ? तलबले जीविका चलाउन नपुग्ने भएपछि पत्रकार विभिन्न धन्दामा सक्रिय हुने हुन्। समय अनुसारको पैसा दिउन् र काम पनि लिउन् न मिडिया हाउसले। तालिम समयमा तलब दिने हो भने मोफसलमा काम गर्न गाह्रो छैन। इस्यु पनि प्रशस्त छन्।
(४० वर्षदेखि विभिन्न पत्रिकामा काम गरेका केशरी नेपाल प्रेस युनियनका संस्थापक सदस्य एवं गोरखापत्रका पर्साका सवांददाता हुन्। केशरीसँग मोफसलको पत्रकारितामा आधारित रहेर प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)
चौथो अंगका पुराना श्रृंखला
चैत १, २०७८ मंगलबार १५:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।