ब्याच नम्बर ६९ : डेरा होला भनेको त चरेसको कारखानै रैछ
लागुऔषध कारोबारमा संलग्नहरू कतिसम्म दुस्साहसी हुन्छन् भन्ने देखाउने एक घटना छ जसलाई भत्काउन अमेरिकी प्रहरीले हामीलाई सघाएका थिए।
छोटो छ यो तर रोचक छ।
कहिले एयरपोर्टमा, कहिले एयरपोर्ट बाहिर चरेस समातिइरह्यो। तर कहाँबाट आइरहेको छ अनि कसले पठाइरहेको छ पत्तै लाग्न सकेन।
पक्राउ परेकाहरूबाट दोस्रो तहमा जानै नसक्ने। सङ्गठित अपराधमा यस्तै गर्छन्। बिच-बिचमा सम्बन्ध ब्रेक हुन्छ। समूहका कुनै सदस्य पक्राउ पर्यो भने पनि समूहका अन्य जोगिन सकुन् भनेर त्यस्तो सम्बन्धको साङ्लो बनाएका हुन्।
पक्राउ पर्नेले नबोल्ने हैन। उनीहरूलाई थाहै हुन्न को-कोले काम गर्छ भन्ने। यसमा पनि यस्तै देखियो।
उनीहरूले नेपालबाट बैंकक, हंगकगं सिंगापुर लगायतका देशमा चरेस पठाइरहेका थिए। ठुलो मात्रा हैन, एक पटकमा ८-१० किलो पठाउने। तर पठाएको पठायै गर्ने। हैरानै भइयो समूह खोज्दा।
लागु औषधको कार्यालय बानेश्वरमा पुगिसकेको थियो। कसरी समूहसम्म पुग्ने होला भनेर दिमाग घुमाइरहेको थिए अमेरिकाबाट फोन आयो। लागु औषध अनुसन्धान सम्बन्धी काम गर्ने अमेरिकी सुरक्षाकर्मीको फोन थियो।
'तिमिहरूको देशबाट विदेशमा चरेस पठाइरहेको एक समूहबारे जानकार व्यक्ति हाम्रो सम्पर्कमा आएका छन्। उ सहयोग गर्न राजी छ। उसलाई लिएर नेपाल आउँ' पो भन्छन्।
अब नआऊँ भन्ने कुरै भएन। आउँ भने।
उनीहरू नेपालसँग संयुक्त अप्रेसन गर्न चाहन्थे। संयुक्त अप्रेसन भने पनि नेपालमा आएर उनीहरू बस्ने नै हो। फिल्डमा अनि अनुसन्धानमा संलग्न हुन पाउने हैन। उनीहरूले इच्छा राखेर हेर्नसम्म लैजाने हो।
तर जोइन्ट अप्रेशनभन्दा उनिहरुको पोर्टफोलियो बलियो बन्छ अनि करिअरमा पनि सहयोग पुग्छ। त्यसैले उनीहरू विभिन्न देशमा संयुत अप्रेसन गर्न बढो इच्छुक हुन्छन्।
अब हामीलाई सहयोग चाहिएको थियो। उनीहरूसँग सहयोग गर्न सक्ने व्यक्ति सम्पर्कमा आएको थियो। उसलाई अमेरिकी प्रहरीले नै नेपाल ल्याउँथ्यो सघाउन। त्यसैले संयुक्त अप्रेसनमा कुनै समस्या भएन।
उनीहरू अनुसन्धानमा सघाउन राजी भएको व्यक्ति लिएर नेपाल आए। सो समूहका कार्यशैली हेर्दा चरेस फेला परे लगत्तै उनीहरूको डेरामा छापा मारिएन भने फेरी बिचैमा चेन ब्रेक हुने जोखिम थियो।
तुरुन्तै रियाक्ट गर्ने समूह बनाउनुपर्ने देखियो। कृष्ण गोपाल पनेरु थिए। उनी जत्तिको अन्डरकभरमा सिपालु प्रहरी कमै देखेको छु मैले। अन्डरकभरको मास्टर हुन् उनी। अनि किशोर खरेल पनि समूहमा राख्यौ। अहिले उनी सई छन् अपराध महाशाखामा। जीवलाल पाण्डे पनि समेटिए। उनी प्रहरी निरीक्षकमा रिटायर भए। पाण्डे चैँ गजबका प्रोफाइलर।
हामीले ट्र्याप बनाउन थाल्यौ। उनीहरू सम्पर्कमा आए। तर फुत्केलान् कि भन्ने जोखिम थियो। लैनचौरतिर ट्र्याप थापेका थियौँ। २ जना फेला परिहाले। उनीहरूलाई नियन्त्रणमा लिए लगत्तै डेरा कहाँ छ भनेर सोध्यौ उनीहरूले बालकुमारी भनेपछि कुदिहाल्यो टोली।
कोठामा थप अन्य व्यक्ति र थप प्रमाण फेला पर्छ कि भनेर डेरामा पुगेका थियौँ। एक व्यक्ति डेरामा फेला पनि परे। डेरा देखेर हामी छक्कै पर्यौँ।
सामान्य डेरा होला भनेको त चरेसको कारखानैमा पो पुगियो। ब्याग, किताब, मूर्तिमा चरेस लुकाउन विभिन्न आकारमा बनाउँनु पर्छ। त्यसका लागि चरेस पेल्नुपर्छ। त्यहाँ चरेस पेल्ने ग्राइन्डरदेखि सबै प्याकिङ गर्नेसम्मका सबै सामान थियो।
त्यही फल्स बटम बनाउने, फल्स बटम अनुसारको चरेसको आकार बनाउने अनि डेलिभरी गर्ने व्यक्ति खोजेर पठाउने गर्ने रहेछन्।
अप्रेसन सफल भयो। अमेरिकी टोली पनि खुसी भयो। उनीहरूले पनि चरेस कारखाना हेर अनि छक्क परे। अब काठमाडौँमै त्यो खालको काम हुनु छक्क पर्ने विषय पनि हो नि।
कतै सूचना नपाएर अमेरिकामा रहेको सोर्सको सहयोग लिनुपरेको थियो। अनुसन्धानमा समातिएकाहरू नै सो समूहका प्रमुख हुन् भन्ने खुल्यो। उनीहरूले नै यो समूह चलाएका रहेछन्। त्यसले पनि ढुक्क बनायो। विदेशमा पटक-पटक चरेस पठाएर हैरान बनाएको समूह भत्कियो।
अमेरिकी प्रहरी उताबाट ल्याएको सहयोगी लिएर धन्यवाद भन्दै फर्किए।
अमेरिकामा कुनै अपराधमा संलग्न व्यक्तिले प्रहरीलाई अनुसन्धानमा सघाएको हकमा सजाय छुट दिने अधिकार अनुसन्धान अधिकारीलाई दिएको छ।
जो व्यक्तिले नेपालमा रहेको समूहबारे जानकारी दिएको थियो उ पनि यही समूहको सदस्य हुनसक्छ। तर उसले नेपाल आएर अनुसन्धानमा सघाएकाले अमेरिकी प्रहरीले उनलाई सजायमा छुट दिन सक्छ। त्यसका लागि अन्त कसैको अनुमति लिन पर्दैन।
उनीहरूले यस्तो अधिकारको खुब सदुपयोग गर्छन् अपराध अनुसन्धानमा। अपराधबारे जानकार व्यक्तिले सूचना नदिई प्रहरी अनुसन्धानबाटै मात्र सूचना आउने हुन्न सधैँ। जसलाई आपराधिक काम गरिरहेकाहरूबारे जानकार हुन्छ उ पनि त्यही समूहमा बसेर काम गरेको हुनसक्छ।
अब समूहबारे प्रहरीलाई जानकारी दिँदा आफू पनि समातिने र जेल पर्ने भयो भने कसले सूचना दिन्छ र प्रहरीलाई !
आपराधिक काम गर्दागर्दी समूहका कुनै व्यक्ति दिक्क भएर अपराध छाडेर अन्य काम गर्न चाहिरहेको हुनसक्छ। तर आफू पनि फस्ने भयले उसले कसैलाई जानकारी नदिएको हुनसक्छ।
यस्तोमा सूचना दियो भने सजाय छुट हुने भएपछि सूचना दिन्छन्। प्रहरीको उद्देश्य भनेको सबैलाई जेलै हाल्ने भन्ने पनि हैन नि। समूह भत्काउनु पनि सफलता हो। अपराधमा संलग्न भए पनि प्रहरीलाई जानकारी दिनु भनेको अपराध नियन्त्रणमा सघाएको हो। त्यसैले यस्तोमा सजायमा छुट हुने हो।
प्रहरी अधिकारीले नै निर्णय गरेर छुट दिन सक्ने भएपछि विश्वास पनि भयो।
नेपालमा नि अपराध अनुसन्धानमा सघाएमा सजाय छुट हुने प्रावधान छ। जस्तो अपराधमा संलग्न व्यक्ति आफैँ प्रहरी कार्यालयमा गएर आत्मसमर्पण गर्दा पनि सजाय छुट हुन्छ। एकै समूहमा रहेर अपराध गरेका कुनै व्यक्तिले समूहका अन्यले गरेको अपराध पुष्टि हुने प्रमाण दिएमा अनि अनुसन्धानमा सघाएमा पनि सजाय छुट हुन्छ।
तर नेपालमा प्रहरी आफैँले यस्तो निर्णय गर्न सक्दैनन्। सजाय छुटको निर्णय अदालतले मात्र गर्न सक्छ।
ब्याचका पुराना अंक
फागुन २५, २०७८ बुधबार २१:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।