प्रहरीको कुटाइबाट युवाको मृत्यु भएको भन्दै आफन्त आन्दोलनमा
सुर्खेत : प्रहरीको कुटाइबाट कालिकोटका एक युवाको मृत्यु भएको भन्दै सुर्खेतमा आफन्त आन्दोलित भएका छन्। नेपालगन्जबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका ३२ वर्षीय मिनी हमालको प्रहरी कुटाइबाट मृत्यु उनको परिवारको दाबी छ।
शुक्रवार राती नेपालगन्ज भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्री हमाललाई सुब्बाकुना प्रहरीले कुटपिट गम्भिर घाइते बनाएको उनको आफन्तको आरोप छ।
‘प्रहरीको कुटाइबाट तल्लो पेट र अण्डकोषमा चोट लागेको थियो,’ मृतकका अङ्कल कलमबहादुर हमालले भने, ‘गाडीको स्टाफलाई पनि दुई जना प्रहरीले कुटपिट गरेका थिए। उनीहरूलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।’
हमाललाई उपचारको लागि शनिवार बिहान सुर्खेत अस्पताल ल्याए पनि अस्पताल नपुर्याउँदै उनको मृत्यु भइसकेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
के कति कारणले मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको सुर्खेत प्रहरीका प्रवक्ता रामप्रसाद घर्तीले बताए।
‘कुटपिटपछि मृत्यु भन्ने खबर आयो,’ प्रहरी प्रवक्ता घर्तीले भने, ‘विस्तृत विवरण बुझ्दै छौँ। अनुसन्धानपछि सबै खुल्नेछ,’ उनले भने।
फागुन २१, २०७८ शनिबार १८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।