'मेरो विरुद्ध समाचार लेखिस् भने छाड्दिन' भन्दै युनिफाइड प्रमुख भूपेन्द्रले धम्क्याए उकेराकर्मी

'मेरो विरुद्ध समाचार लेखिस् भने छाड्दिन'  भन्दै युनिफाइड प्रमुख भूपेन्द्रले धम्क्याए उकेराकर्मी

काठमाडौँ : केन्द्रीय युनिफाइड अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी भूपेन्द्र बस्नेतले उकेरामा प्रकाशित समाचारका विषयलाई लिएर उकेराकर्मी उपेन्द्र खड्कालाई धम्क्याएका छन्। उकेराकर्मी वीर अस्पतालमा समाचार सङ्कलनको क्रममा बुधवार पुग्दा बस्नेतले' तैँले मेरो करिअर बरबाद पारिस्। फेरी पनि मेरो विरुद्ध समाचार लेखिस् भने छाड्दिन' भन्दै धम्क्याएका हुन्।

उनले आफ्नोबारेमा उकेरामा प्रकाशित समाचारहरू खड्काले सामाजिक सञ्जालमा सेयर गरेको भन्दै साइबर क्राइमको मुद्दा लगाउने धम्की समेत दिएका थिए।

१० औँ तहका बस्नेत ११ औँ तहको प्रमुख हुने केन्द्रीय यूनिफाइड अस्पतालको निमित्त प्रमुखमा नियुक्त भएर गरेका बदमासीबारे उकेराले शृङ्खलाबद्ध रूपमा समाचार प्रकाशित गर्दै आएको छ।

उनी यस अगाडि वीर अस्पतालको निर्देशकहुँदा ३९ करोड खर्च गरेर खरिद गरिएको टोमोग्राफी मेसिन सशस्त्र प्रहरीको चौरमा थन्काएर राखेकोबारे उकेराले पहिलो पटक समाचार प्रकाशित गरेको थियो। सो मेसिन अहिलेसम्म पनि सशस्त्र प्रहरी अस्पतालको चौरमै छ।

उनी युनिफाइड अस्पतालको प्रमुख भएपछि स्वास्थ्य मन्त्रालय र लोकसेवा आयोगको केही अधिकारीको मिलेमतोमा रद्द भइसकेको ११ औँ तहको विज्ञापनमा बढुवा सिफारिस भएपछि उकेराले यसबारे निरन्तर समाचार प्रकाशित गरेको थियो।

उकेराको निरन्तर निगरानीपछि बढुवा समिति पछि हट्दै उनको बढुवा सिफारिस रद्द गरेको थियो। सोबारेमा उनले पठाएको स्पष्टीकरण उकेराले आफ्नो धारणा सहित प्रकाशित गरे पनि बस्नेतले उकेराकर्मीलाई धम्याउन छाडेका छैनन्। यस अगाडि पनि उनले नेपाल प्रेस काउन्सिलको पदाधिकारीको नाम लिँदै कारबाही गराउने भन्दै उकेराकर्मी खड्कालाई धम्क्याएका थिए।

बस्नेतबारे उकेरामा प्रकाशित समाचार

 

फागुन १८, २०७८ बुधबार १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।