तनहुँमा जारी छ युट्युवरको रमिता : भेटघाटको प्रतिस्पर्धाले अनुसन्धान प्रभावित, पलको हिरासत अवधि बढ्ने

तनहुँमा जारी छ युट्युवरको रमिता : भेटघाटको प्रतिस्पर्धाले अनुसन्धान प्रभावित, पलको हिरासत अवधि बढ्ने

प्रहरी कार्यालय अगाडि क्यामरा/मोबाइल तेर्स्याउँदै 'आदरनिय दर्शकबृन्द हामी पलपलको खबर दिँदै छौ' भन्दै पललाई भेट गर्न आएका कलाकार र आफन्त अनि जानाजान भाइरल हुन पुगेकाहरूको नौटङ्की खिचेर आफ्नो युट्युब च्यानलमा हाल्न हतारमा छन् उनीहरू।

बुधवार त झन् पूजा शर्मा पुगेको। प्रहरी हिरासतमा रहेकाहरूलाई प्राय परिवारका सदस्य अनि कानुनी सहयोगीलाई भेट्न दिने गरे पनि पलको केसमा भने प्रहरीले जो आए पनि भेट्न दिइरहेको छ। भेट्न आउनेहरूले हेर्ने पलको निन्याउरो अनुहारसँगै हातमा लागेको हतकडी अनि सोध्ने 'आरामै छौँ' मात्रै हो।

तनहुँका एक प्रहरी अधिकारीका अनुसार पलसँग उनको परिवारका सदस्य र उनको कानुनी सहयोगीलाई कुरा गर्न पर्याप्त समय दिइएको छ। तर यो केससँग सम्बन्धै नभएकाहरू प्रहरी कार्यालय अगाडि झुम्मिएका युट्युबवरसँग कुरा गर्ने बहानाकै लागी भेट्न आउँदा अनुसन्धान समेत प्रभावित बनेको छ।

'प्रहरीले हिरासतमा कुनै दुख दिएको छ या छैन। उनको स्वास्थ्य अवस्था कस्तो छ त्यो उनको वकिलले बुझ्ने हो। परिवारका सदस्यले पनि भेटघाट गर्न सक्छन्। तर सम्बन्धै नभएकाहरू पनि आएर समय मात्रै खर्च गराइरहेका छन्। यसले अनुसन्धान लम्बिने मात्र हो,'ती प्रहरी अधिकारीले भने' कलाकार हुँ भन्दै आएपछि भेट्न नदिए हल्ला गरिहाल्छन्। भेट्न दियो अनुहार हेरेर फर्किएर बाहिर अनुसन्धानै गरेर फर्किएझैँ कुरा गरेर भ्रम फैलाइरहेका छन्।'

यतै काठमाडौँबाट यूट्युवरको हुल बोकेर गएकाहरू त जाने पललाई हेरेर फिस्स हाँस्ने अनि फर्कने मात्रै हो। तर बाहिर निस्किएर उनीहरूले भित्र मुस्किलले २-४ मिनेटमा अनुसन्धानको फाइलै पल्टाएर आएझैँ गफ दिने गरेका छन् युट्युवर अगाडि।

पलबारे तनहुँबाट यूट्युवरको पिप्ली लाइभ : शाहकै वकिल भए पीडित

यो घटनाप्रति गम्भीर रहेकाहरूले बाहिर आएर' सन्चो-विसञ्चोबारे कुरा मात्र भएको' बताउने गरेका छन्। पलभित्र छन्। तर युट्युवरहरु फिल्मको प्रचारका लागि बक्स अफिस कस्तो छ भनेर सोध्न छाडेका छैनन्।

मङ्गलवार उकेराले तनहुँमा युट्युवरहरुले गरिरहेको पिप्ली लाइभबारे समाचार सम्प्रेषण गरेपछि युट्युवर अनुप भट्टराइले आफूबारे केही ट्रोल बनेको दाबी गर्दै भने' केही कुरामा म मिडियाका साथीहरूसँग माफी पनि माग्न चाहन्छौँ। न्यायाधीश बन्यो, प्रोभोक गर्यो भन्ने आएको। त्यस्तो भएको भए माफी चाहन्छु भने। हामी कुनै क्राइम रिपोर्टर हैन। कुनै कमीकमजोरी भएको भए क्षमा दिनुहोला। नेपालको एउटा सुपरस्टार हिरासतमा छ। न्युजको गहिराई बुझाउन खोजेका हौँ।'

तर उनले भेट्न आएकाहरूलाई प्रहरीले भित्र जाने अनुमति दिन किन ढिलाइ गरेको होला भनेर उही पुण्य गौतमसँग सोधिरहेका छन्।

युट्युवरहरुको रमिता चौथो दिन पनि जारी छ। भित्र कोही भेटेर बाहिर आउँदा हुरुरु यता र उता भिड जाने क्रम जारी छ। बुधवार पूजा शर्मा आउँदाको माहौल पनि उस्तै नै थियो। भेटघाटले प्रहरी अनुसन्धान बिथोल्दा प्रहरीले अनुसन्धानमा पुरा गर्नुपर्ने प्रक्रियामा बाधा पुगेकाले पहिलो पटक जिल्ला अदालत तनहुँले दिएको सात दिनमा अनुसन्धान सकिने सम्भावना देखिन्न।

सञ्चो-विसञ्चो सोध्ने भिड जति बढ्यो पलको हिरासतको अवधि त्यति बढ्ने देखिन्छ। ' पीडितपक्षबाट आएको जाहेरी अनुसारको अनुसन्धानको एक पाटोमा समस्या छैन। तर अनावश्यक ब्यक्तीहरु भेट्न आएकाले आरोपोसँगको बयान लगायतका प्रक्रिया प्रभावित भएकाले पहिलो म्यादभित्र अनुसन्धान सकाउन गार्हो छ,' अनुसन्धानमा संलग्न स्रोतले उकेरासँग भन्यो।

अदालतको अनुमतिमा प्रहरीले अनुसन्धानका लागि २२ दिनसम्म हिरासतमा राख्न पाउने कानुनी व्यवस्था छ।

फागुन १८, २०७८ बुधबार १७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।