गैरसांसदलाई मन्त्री बनाउने प्रचण्डको निर्देशनविरुद्ध माओवादी सांसद विष्ट: 'काल पल्कियो भन्ने त्रास बढ्यो'

गैरसांसदलाई मन्त्री बनाउने प्रचण्डको निर्देशनविरुद्ध माओवादी सांसद विष्ट: 'काल पल्कियो भन्ने त्रास बढ्यो'

सुर्खेतः कर्णाली प्रदेशमा गैरसांसदलाई मन्त्री बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्देशन दिएपछि यतिबेला पार्टीभित्रै व्यापक विरोध भइरहेको छ। प्रचण्डले हुम्लाको सिमीकोट गाउँपालिका-३ का छिरिङ दमदोल लामा उर्फ कार्चेन लामालाई हिमाली समुदायको प्रतिनिधित्वका लागि भन्दै मन्त्री बनाउने सिफारिस गरेका थिए।

लामा गैरसांसद मात्र नभएर मूर्ति चोरीको अभियोगमा दुई वर्ष जेल सजाय समेत भोगिसकेका व्यक्ति हुन्। २०४९ मंसिरमा लामाले तिब्बतको खोचेरनाथ गुम्बाबाट करिब १२ सय वर्ष पुरानो ऐतिहासिक मूर्ति चोरेपछि २०४९ मंसिर १४ गते नै उनीविरुद्ध हुम्ला जिल्ला अदालतमा चोरीको मुद्दा दर्ता भएको थियो।

हाल प्रदेश सभामा माओवादीका निर्वाचित र समानुपातिक सांसद हुँदाहुँदै गैरसांसदलाई मन्त्री बनाउने निर्णयविरुद्ध नेता/कार्यकर्ताहरू विभाजित भएका छन्।

यस्तै माओवादीका कर्णाली प्रदेश सांसद ठम्मर विष्टले लामो फेसबुक स्टेटस लेख्दै विरोध जनाएका छन्। उनले व्यङ्ग्यात्मक शैलीमा 

यस्तो छ विष्टको स्टेटस

पहिला–पहिला बुढाबुढीले भन्थे– कासी जान कुतिको बाटो नसमाउनू बाबु। आज यही चरितार्थ भएको छ, माओवादी संसदीय दल कर्णाली प्रदेशमा।

यसै पनि चाहे जुनसुकै पार्टी सम्बद्ध सांसद हुन्, कर्णाली प्रदेशका सांसदहरूको प्रदेश सभामा उनीहरूको भूमिकालाई हेर्यो भने कुनै खोट लाउने ठाउँ छैन। किनकी कर्णाली प्रदेश सभा र सरकार पेरिफेरीमा जे–जे घटना परिघटना भए पनि कुल योगमा सरकारलाई सचेत बनाउने, प्रदेश र जनताको पक्षमा कसरी राम्रो गर्न सकिन्छ भन्ने उद्देश्यबाटै गरिएको हो।

चाहे नेकपा हुँदा सरकारका विरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने कुरा होस् वा प्लोरक्रस गर्नेदेखि सांसद पद नै जाने सम्मका घटना किन नहुन। राजनैतिक रंगतरंगबाट हेर्दा राम्रोदेखि नराम्रो, प्रतिक्रियावादी वा दक्षिणपन्थी कदम, क्रान्तिकारी वा पश्चगामी जे–जे नामाकरण गरिए पनि सारमा ती सबै कदमहरू एकातिर जनताकै लागि थिए भने अर्कोतिर ती कदमहरूले सम्पूर्ण सांसदहरूको क्षमतालाई स्पातिलो, दक्ष र अनुभवी बनाउन बल नै पुगेको छ।

कर्णाली प्रदेश सभाको उत्तरार्धतिर यस्तै अर्को एपिसोड थपिएको छ, यहाँको सांगोपांगो राजनीतिमा। त्यो भनेको सांसद हुँदाहुँदै गैरसांसदलाई मन्त्री बनाउने अराजनैतिक कदम हो। त्यो पनि पुनः एकचोटि कलाविहीन नाटक प्रहसनको दुस्साहास गरिएको छ।

हेक्का रहोस्, यहाँ कुन व्यक्ति आउँदै छ भनेर जनताबाट मन्त्री बन्ने व्यक्तिको विरोध गर्न खोजेको पटक्कै होइन। तर राजनैतिक जिन्दगीमा अनेक पापड मोलेर जनताको मन जितेर आएका सांसदलाई धोवीको कुकुर जस्तो घरको न घाटको जस्तो बनाएर जेसीबीले हयाङ्गर लगाएर ताने जस्तो गरी जनताबाट एकैचोटि मन्त्रीमा ल्याउने कुराले अहिले निर्णय गर्ने महाशयहरूलाई ‘जंगे बोल्यो बोल्यो, जंगेपछि फर्कदैन’ भनेर आफूलाई जंगबहादुर नै ठाने पनि प्रकारान्तरले निम्न दुष्परिणामहरू भोग्नुपर्ने निश्चितप्रायः छ।

१. गैरसांसदलाई मन्त्री बनाउँदा स्वयं मन्त्री हुने व्यक्तिको समेत अपमान हुनेछ। किनकी मन्त्रालयमा आउँदा सचिव उपसचिवको कुरा परै छोडौँ, कार्यालय सहयोगीले समेत रेन्पोन्स नगर्ने कुरा हामीले विगतमा कैयन् त्यस्ता सांसद र मन्त्रीको कार्यकालमा अनुभूति गरिसकेका छौं।

यसैले ६ महिनामा जति दिन मन्त्रीको रूपमा बस्ने छ, उसलाई स्वयं जेल घरमा बसेजस्तो अनुभूति हुने कुरा निश्चित छ। अर्को कुरा त्यस्ता जिल्लाबाट कार्यकर्तालाई टिपेर मन्त्री बनाउँदा जिल्लाको पार्टी बन्छ भन्ने भ्रम छ भने त्यो ‘गोरु ब्याएर दूध खाने’ भने जस्तै हो। किनकी एकातिर उक्त व्यक्तिले ६ महिनामा काम गर्नै नसक्ने, अर्कोतिर जिल्लाभरिका आम कार्यकर्ताले उक्त व्यक्तिबाट विकास निर्माणदेखि ठूलै कुराको अपेक्षा गरिरहेको अवस्थामा परिणाम शून्य हात लागेपछि बिचरा त्यस्तो अमुक मन्त्रीको पद गएको भोलिपल्ट के हालत होला?

यस्तो शैलीले त्यहाँको पार्टी बन्ने कुराको सम्झना मात्र गर्यो भने पनि आङै जिरिङ्ग हुन्छ। किनकी ४–४ वर्ष प्रदेश सभामा खारिएका सांसदलाई त प्रदेशको विकास, जनसेवा र कानूनमा अझ मेहेनत गर्नुपर्ने अवस्था छ भने एकैचोटि जनताबाट आएको व्यक्तिले अध्ययन गर्दागर्दै र दौरा सुरुवालको फेरो समाउँदा समाउँदै उसको ६ महिने कार्यकाल सकिएको पत्तै हुने छैन।

अनि त्यस्तो व्यक्तिलाई चौतर्फी प्रश्न गर्नेछन्, 'तपाईंले ६ महिना मन्त्री हुँदा के त्यस्तो उल्लेख्य काम गर्नु भयो?' भनेर। त्यतिबेला ती व्यक्ति नाजवाफ हुनेछन्।

अर्को महत्त्वपूर्ण विषय भनेको पद्धति हो। लोकतन्त्र भनौं वा गणतन्त्र जे भने पनि त्यसको शाब्दिक अर्थ 'डेमोक्रेसी' हो। तर बिडम्बना के भयो भने, हाम्रो संसदीय दलमा यति ठूलो निर्णय लिँदा न त संसदीय दलमा छलफलको कुनै एजण्डा नै बनाइयो, न त दलको नेतालाई त्यो अधिकार नै प्रदान गरियो।

जबकी, यसो गर्नु नै थियो भने पनि यो सबै गर्ने भूमिका दलको नेतामार्फत संसदीय दलको नै हुन्थ्यो। तर मैले दलको नेतालाई सोधें, 'यस्तो पश्चगामी निर्णयमा किन ल्याप्चे लाउनु भयो?' उहाँले मलाई जवाफ दिनु भयो, 'यही त बिडम्बना भयो। यस विषयमा मलाई समेत कुनै जानकारी छैन। लेखेर दे भनेपछि मैले दिनुपर्ने भयो।'

दलको नेताको यो जवाफले मलाई झनै चिन्तित बनायो।

यसले ‘के मर्यो भन्ने मात्र नभई काल पल्कियो’ भन्ने त्रास बढेको छ। किनकी जब जनताबाट सिधै मन्त्री बनाउने भएमा अब सबै जिल्लामा यसको नजीर स्थापित हुनेछ। कुल २४ निर्वाचन क्षेत्रमध्ये अहिले हामीसँग १२ सांसद छन्। अब बाँकी रहेका १२ वटै क्षेत्रका पार्टीका कार्यकर्ता मन्त्रीको लबिङमा आउने छन्।

स्थिति कतिसम्म भयावह हुने खतरा छ भने, अब बाँकी रहेका सांसदबाट मन्त्री बन्ने कुरा त परै छोडौँ, बचेका हामी सांसदले राजीनामा दिएर उहाँहरूलाई मन्त्री बनाउने मार्गप्रशस्त गर्दिनुपर्ने अवस्था आउनेछ।

प्रत्यक्ष निर्वाचित क्षेत्रमा चुनाव हुने भएको हुनाले सायद राजीनामा माग्ने दुस्साहस नगरिएला, त्यो पनि कानून संशोधन गर्नेतिर एकचोटि नेतृत्त्वगणले दुस्प्रयास गर्नेछन्। तर समानुपातिक सांसदहरूबाट राजीनामा दिलाउने र जनताबाट मन्त्री बनाउने कुराको दबाब थेग्नै नसक्ने गरी आउने छ।

अब यसपछि मूलभूतरूपमा चारवटा खतरासँग हाम्रो पार्टीले खेल्नु पर्नेछ। पहिलो, जनताबाट मन्त्री बनाइएका जिल्लामा असन्तुष्टि र अकर्मण्यताले पार्टी क्षतविक्षत हुनेछ। दोस्रो, भएका सांसदहरूलाई अपमान गरेर जनता र सांसदको निर्वाचन क्षेत्रको समेत अपमान गरी पलाएन हुन बाध्य गराउने छ।

तेस्रो, जनता र भुगोलले एडप्ट नगर्ने व्यक्तिलाई फटाफट सरकारमा ल्याउँदा मन्त्रिपरिषद्मा मौज्दात क्षमतावान् मन्त्रीहरूलाई समेत मानमर्दन भएको अनुभूति हुनेछ। र चौथो, देशैभर यसले संघ, प्रदेशमा विकृति मौलाउनेछ।

त्यसले ल्याउने दुष्परिणामहरूको अपजस माओवादीले लिनुपर्ने छ। यसरी कुल मिलाएर माओवादी सक्ने अभियानमा नेताहरू लागेकाले यसतर्फ हाम्रो संसदीय दल, प्रदेश पार्टी र केन्द्र पार्टीमा आवद्ध सबै नेतागणहरू जनता र पार्टीविरोधी हर्कतलाई सच्याउन र खबरदारी गर्न अघि बढ्ने साहस गरौँ।

मलाइ थाहा छ ओरालो लागेको मृगलाई बाच्छाले खेदे जस्तो व्यक्तिगत, सांगाठनिक जीवनमा क्षति व्यहोरिरहेको मैले थप क्षति व्यहोर्नुपर्ने निश्चित छ। दलको अमुक नेतृत्त्वमा बसेको व्यक्तिले यस्तो कुरा उठाउन मिल्ने वा नमिल्ने? यस्ता तर्क–कुतर्कमा बहस पैरवी पनि गरिनेछन्।

तर रगतको आहालबाट सिर्जित हाम्रो पार्टी आन्दोलनमा थोपरिन लागेको कलंक र मडारिन लागेको कालो दृश्य मेरा खुला आँखाले मूकदर्शक बन्न नसकी सत्य र न्यायको पक्षमा केही बोल्नैपर्ने अवस्था सृजना भएकोले यो चुनौती मोल्न तयार भएको हो।

कुनै आग्रह पूर्वाग्रहमा नलागी विधि, पद्धति र नैतिक मूल्य मान्यतामा आधारित रही बहसबाट तार्किक निष्कर्षमा पुगौं।

माघ २१, २०७८ शुक्रबार १५:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।