मूर्ति चोरेर जेल सजाय भोगेका गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउन प्रचण्डको निर्देशन

मूर्ति चोरेर जेल सजाय भोगेका गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउन प्रचण्डको निर्देशन

सुर्खेत : हुम्लाको सिमीकोट गाउँपालिका-३ का कार्चेन लामा उर्फ छिरिङ दमदोल लामा यतिबेला नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेशको मन्त्री हुने चर्चा चलेको छ।

उमेरले ५० वर्ष नाघेका लामा हुम्लाबाट माओवादीमा भूमिगत हुने पहिलो व्यक्ति हुन्।

उनी पार्टीमा ‘कार्चेन’ भनेर चिनिए पनि वास्तविक नाम भने छिरिङ दमदोल लामा हो। २०५४ सालमा भूमिगत भएका लामा २०६९ मा पार्टीको हेटौंडा महाधिवेशनमा केन्द्रीय सदस्य चयन भएका थिए। त्यसपछि उनी पार्टीको पोलिटब्युरो सदस्यसम्म पुगे।

कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिमाली समुदायको प्रतिनिधित्वका लागि भन्दै लामालाई मन्त्री बनाउने सिफारिस गरेपछि अहिले पार्टीभित्रै खैलाबैला मच्चिएको छ।

माओवादी स्रोतका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहालले नै लामालाई कर्णाली प्रदेश सरकारमा सहभागी गराउन निर्देशन दिएका छन्। दाहालको निर्देशनपछि माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलमा पनि छलफल भएको थियो।

प्रदेश सभामा माओवादीका निर्वाचित र समानुपातिक सांसद हुँदाहुँदै गैरसांसदलाई मन्त्री बनाउने निर्णय विरुद्ध कार्यकर्ताहरु विभाजित भएका छन्।

कतिपय सांसदले त गैरसांसदलाई मन्त्री बनाउने भए आफूहरु किन सांसद हुनुपर्यो भन्दै जनमतको कदर नभए राजीनामा दिनेसम्म चेतावनी दिएका छन्।

मूर्ति चोरीमा जेल सजाय
२०४९ मंसिरमा छिरिङ दमदोल लामा ‘कार्चेन’ ले तिब्बतको खोचेरनाथ गुम्बाबाट करिब १२ सय वर्ष पुरानो ऐतिहासिक मूर्ति चोरेपछि २०४९ मंसिर १४ गते नै उनी विरुद्ध हुम्ला जिल्ला अदालतमा चोरीको मुद्दा दर्ता भएको थियो। उनको मुद्दाको दर्ता नम्बर ४१० थियो।

अदालत स्रोतका अनुसार उनलाई जिल्ला अदालतले २०५१ साल मंसिर २५ गते दुई वर्ष कैद र चार हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

स्रोतका अनुसार दुई वर्षको कैद काटिसकेर पनि उनले २०७८ असोज ११ गते पाँच हजार रुपैयाँ जरिवाना समेत तिरेका छन्।

‘उहाँ छिरिङ दमदुलले दुई वर्षको सजाय काटेर पनि यही असोज ११ गते पाँच हजार रुपैयाँ जरिवाना तिरिसकेको अदालतमा तथ्याङ्क छ,’ अदालत स्रोतले भन्यो, 'फैसला र अभियोगपत्र पुरानो भएका कारण अलि अपुष्ट छन्।’

उनले कैद सजाय पाएपछि आफूलाई छिरिङ दमदुल नामले भन्दा पनि कार्चेन नामले परिचय गराउँथे।

लामा २०५४ सालमा परगाउँ गाविसको उपाध्यक्ष हुँदै अध्यक्ष भइसकेका व्यक्ति हुन्।

२०७० सालको चुनावमा पनि छिरिङ दमदुललाई नै केन्द्रबाट संविधान सभा सदस्यको टिकट आएको थियो। मूर्ति चोरीको विवादकै कारण उनले आफ्ना नातेदार छक्कबहादुर लामालाई टिकट दिएका थिए। छिरिङ र छक्क भेना-साला हुन्।

२०७४ मा पनि यही विवादका कारण छिरिङले आफूले पाएको हुम्ला प्रदेश (ख) को टिकट पनि अरुलाई छोडेका थिए।

तपाईं कर्णाली प्रदेशको मन्त्री बन्न लाग्नुभएको हो र? भन्ने उकेराको प्रश्नमा छिरिङले भने ‘पार्टीले निर्णय गरेपछि म तयार छु। मलाई विश्वास गरेर पठाएपछि म आफ्नो जिम्मेवारी पूरा गर्छु। पार्टीले चर्चा त चलाएको छ। नतिजा के हुन्छ हेरौं। पाए पनि गुनासो छैन, नपाए पनि गुनासो छैन।’

अनि तपाईंले त मूर्ति चोरीको मुद्दामा दुई वर्ष कैद सजाय र जरिवाना पाउनुभएको रहेछ, मन्त्री हुन मिल्छ छ? भन्ने प्रश्नमा उनले भने, ‘यी सब कुरा जसले तपाईंलाई सुनाएको छ, उसैलाई भन्नुहोला। राजनीतिक प्रतिसोध र व्यापारिक रिसइबीका कारण बनाइएका घटनाहरुमा म धेरै बोल्न चाहन्नँ।’

माघ २१, २०७८ शुक्रबार १४:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।