आइतबारसम्म कर्णाली सरकारले पूर्णता पाउने, गैरसांसदलाई मन्त्री बनाउने निर्णयले माओवादीमा खैलाबैला

आइतबारसम्म कर्णाली सरकारले पूर्णता पाउने, गैरसांसदलाई मन्त्री बनाउने निर्णयले माओवादीमा खैलाबैला

सुर्खेत : कर्णाली प्रदेश सरकारले आइतबारसम्म पूर्णता पाउने मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन्।

उनले ‘बारम्बार-बारम्बार मलाई सोधिरहने प्रश्नको जवाफ आइतबारसम्म पाउनुहुनेछ महोदयहरु’ भन्दै फेसबुकमा स्टाटस लेखेका छन्।

मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसका निवर्तमान सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीलाई निरन्तरता दिने र दलका सचेतक हिमबहादुर शाहीलाई नयाँ मन्त्री बनाउन लागेको कांग्रेसका एक सांसदले उकेरालाई जानकारी दिए।

यता दलका सचेतक शाहीले पार्टीभित्र छलफल अन्तिम चरणमा पुगे पनि नाम सार्वजनिक नभएको बताए।

यस्तै माओवादीले पनि जाजरकोटका सांसद गणेशप्रसाद सिंह र हुम्लाबाट गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउनका लागि सिफारिस गरिसकेको छ।

यसभन्दा पहिले माओवादीकै विन्दमान विष्टलाई मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए।

प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले हिमाली समुदायको प्रतिनिधित्वका लागि भन्दै हुम्लाका कार्चेन लामालाई मन्त्री बनाउन खोजेपछि पार्टीभित्रै खैलाबैला भएको छ।

माओवादी स्रोतका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहालले नै लामालाई कर्णाली प्रदेश सरकारमा सहभागी गराउन निर्देशन दिएका छन्।

दाहालको निर्देशनपछि माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलमा पनि छलफल भएको थियो। ‘अध्यक्षज्यूकै निर्देशन भएकाले उहाँलाई सरकारमा सहभागी गराउन थालिएको छ,’ माओवादीका एक सांसदले भने, ‘सांसद हुँदाहुँदै गैरसांसदलाई मन्त्री जनमतको अपमान गर्नु हो । गैरसांसदलाई मन्त्री बनाउने भए किन सांसद बनाउन पर्यो र?’

उनले पार्टीमा सांसद भएर मन्त्री हुने अवसर नपाएकाहरुको मूल्याङ्कन नभएको चन्दै यो निर्णयले पार्टीलाई नै घाटा पुग्ने बताए। 

लामा हुम्लाको सिमीकोट गाउँपालिकाका हुन्। उनी सशस्त्र द्वन्द्वका बेला भूमिगत थिए।

त्यस्तै एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया मन्त्री बन्ने चर्चा चलेको छ। समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन्।

समाजवादीकी सांसद देवी ओली भन्छिन्, ‘मन्त्री को हुने भन्ने कुरा भोलिसम्म फाइनल हुनेछ। आज पनि हाम्रो दलको बैठक छ। त्यसपछि मात्रै टुङ्गिने छ।’

यसरी सरकार गठन भएको खण्डमा कांग्रेसले मुख्यमन्त्रीसँगै दुई मन्त्री, माओवादीले तीन मन्त्री र समाजवादीले दुई मन्त्री पाउने छन्। योसँगै कर्णाली मन्त्रिपरिषद् ८ सदस्यीय हुनेछ।

यसअघि माओवादीले चार, समाजवादीले तीन र कांग्रेसले दुई मन्त्री माग गरेर भागबण्डा नमिलेका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन।

प्रदेशका मन्त्रालय भागवण्डा नमिलेपछि यसलाई ढुंगोमा पुयाउने जिम्मा केन्द्रलाई दिइएको थियो।

केन्द्रमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालबीच हुने सहमतिका आधारमा कर्णालीमा मन्त्रालयको ढुंगो लागेको हो।

माघ २१, २०७८ शुक्रबार ११:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।