जग्गा कारोबारसँग जोडिएको क्रूर हत्या शृङ्खला : मोरगंको उखुबारीदेखि ललितपुरको घरको कम्पाउन्डको खाल्डोसम्म तीन शव

जग्गा कारोबारसँग जोडिएको क्रूर हत्या शृङ्खला : मोरगंको उखुबारीदेखि  ललितपुरको घरको कम्पाउन्डको खाल्डोसम्म  तीन शव

काठमाडौँ : मोरगंको उखुबारीमा गाडेको अवस्थामा फेला परेको २ वटा शवको रहस्य ललितपुरको एक घरसँगै गाडिएको तेस्रो शव फेला परेसँगै खुलेको छ।

महानगरीय प्रहरी अपराध महाशाखा र ललितपुर प्रहरीले बिहीबार बेलुका ललितपुरको धाप खेलमा ६२ वर्षीय मोहनप्रसाद लिम्बुको शव घर नजिकै गाडेर ढलान गरेको अवस्थामा फेला पार्यो।

मोरङको धनपालथान-७ बोर्डिङ टोलको उखुबारीमा दुई वटा शव फेला पर्दा स्थानीयको सूचना प्रमुख आधार थियो। तेस्रो शवबारे स्थानीयले सूचना दिने अवस्था थिएन। घटनामा जो संलग्न हो उसले नभनी लिम्बुको शव फेला पार्न सम्भव थिएन। किनकि शव घर बाहिर ५ फिट खाल्डो खनेर पुरिएको मात्र थिएन त्यसमाथि ढलानै भइसकेको थियो।

घटनाको अनुसन्धानकोक्रममा प्रहरीले अनिलकुमार मण्डललाई नियन्त्रणमा लिएको थियो। उनै मण्डलको बयानको आधारमा लिम्बु गाडिएको स्थान खुलेको हो। मण्डलले भनेको स्थानमा प्रहरीले खन्दा शव फेला पर्यो।

लिम्बुको शव एक तले घर रहेको कम्पाउन्डभित्रै गाडेर ढलान गरेको अवस्थामा फेला परेको हो। बयानमा मण्डलले ललितपुरको गोदावरी नगरपालिका १२ थेचो बसपार्क नजिकै आफू बस्ने घरको कोठाभित्रै खाल्डो खनेर पुर्ने प्रयास गरेको तर कोठाभित्रको ढलान फुटाउन गाह्रो भएपछि कोठा बाहिर कम्पाउन्डमा खाल्डो खनेर पुरेको बताएको अनुसन्धानमा संलग्न महाशाखाका एक प्रहरी अधिकारीले बताए।

तीनै जनाको हत्याको कारण एकै

मोरगं प्रहरीले पहिला सुनसरीको धरानका राजेन्द्रकुमार श्रेष्ठको शव उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा फेला पारेको थियो। त्यस लगत्तै सप्तरीका शम्भु चौधरीको शव फेला पार्यो उखु बारीमै। दुवै शव गाडिएको स्थानको दुरी करिब ३० मिटर थियो।

यी दुवै जग्गा कारोबारी रहेको बाहेक प्रहरीले थप सूचना पाउन सकेन। हत्याको कारण लेनदेन हुनसक्ने अनुमान मात्र थियो। अनुसन्धानकैक्रममा सिराहाका अनिलकुमार मण्डल पनि सोही समूहका सदस्य रहेको खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेपछि तेस्रो व्यक्ति लिम्बु समेत हराएको सूचना पायो प्रहरीले।

मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा कारोबारको विवादका कारण भारतबाट पेशेवर अपराधीलाई झिकाएर लिम्बुको पनि हत्या गरेको खुलेपछि प्रहरीले बिहीबार शव फेला पार्यो।

पहिल्यै मारिएका थिए लिम्बु

महाशाखाका प्रहरी अधिकारीका अनुसार अन्तिममा शव फेला परे पनि यो घटनामा लिम्बु सबैभन्दा पहिला मारिएका थिए। मण्डलले मङ्सिर २८ गते लिम्बुको हत्या गरेर गाडेका थिए।

त्यसपछि मोरगंमा रहेका श्रेष्ठ पुस ५ मा मारिए भने  चौधरी पुस ७ गते मारिए। दुवैको हत्यापछि शव लुकाउन एकै उखुबारीमा लगेर खाल्डो खनेर गाडियो।

एकै समूहका साथी एकै समूहबाट मारिए

तेह्रथुमका मोहनप्रसाद लिम्बू, सुनसरीको धरान-३ का श्रेष्ठ जो भक्तपुरमा बस्थे अनि सप्तरीको शम्भुनाथ गाउँपालिका–४ का शम्भु चौधरी जो काठमाडौँ बस्थे। यी तीनै जना जग्गाको कारोबारमा सँगै काम गर्नेसम्म खुलेको छ। लिम्बु र श्रेष्ठ जग्गा किनबेच गर्ने र चौधरी घर समेत बनाउने काम गर्थे।

उनीहरू मङ्सिरमै कारोबार मिलाउन भनेर हिँडेकोसम्म प्रहरीले खुलाएको छ। त्यसपछि के भयो खुलेको छैन। यदि माघ १२ गते स्थानीय गङ्गाप्रसाद सिंहको उखुबारीमा उखु काट्ने क्रममा देखिएको खाडलबारे स्थानीयले शङ्का गरेर प्रहरीलाई खबर नगरेको भए यो हत्या घटना बेपत्ताकै सूचीमा मात्र समेटिन सक्थ्यो। किनकि जसले घटना गरायो निकै योजनाका साथ गरेका थिए।

भारतबाट आपराधिक समूहका सदस्य नै बोलाएर पटक-पटक गरेर एकै समूहका तीन जनाको हत्या हुनु र उनीहरू जग्गा कारोबारमा संलग्न रहनुले घटना लेनदेनका कारण भएको हो भन्ने सहजै देखिन्छ। तर यति क्रूर रूपमा तीनै व्यक्तिको हत्या गर्नुपर्ने गरी भएको लेनदेन र विवाद भने खुलिसकेको छैन।

घटनामा संलग्न एक मुख्य आरोपी प्रहरीले पक्राउ गरिसकेकाले घटनाको कारक र कारण र यसमा संलग्न थप आरोपहरू खुलाउन त्यति जटिल देखिँदैन।

माघ २०, २०७८ बिहीबार २२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।