पशुपतिको धर्मशाला पनि मिलेमतोमा बतासलाई दिएको छानबिन समितिको दाबी
धर्मशालाको ठेक्का प्रकरणबारे छानबिन गर्न पर्यटन मन्त्रालयले गठन गरेको समितिले ' बोलपत्र आव्हान गर्दा प्रतिस्पर्धीलाई समिति गर्न कुनै फर्मलाई मात्रै सहज हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकाले मिलेमतो भएको हुनसक्ने देखिएको निष्कर्ष निकालेको छ।
कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा बनेको समितिले सोमबार पर्यटन सचिव महेश्वर न्यौपानेलाई मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो। समितिले धर्मशाला भाडामा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृति विना गरिएको देखिएको समेत बताएको छ।
कोष र बतास अर्गनाइजेशनको होटल आनन्द प्रालिविच धर्मशाला भाडामा दिँदा र सम्झौताका सर्तहरू निर्धारण गर्दा कानुन बमोजिम पदीय दायित्व निर्वाह नगरी कोषलाई हानी नोक्सानी पूर्याउने कर्मचारी र अनधिकृत सम्झौता कानुन सम्मत छ भनी छापा र विद्धुतिय माध्यममा प्रवाह गर्ने तत्कालीन पदाधिकारी समेतलाई कारबाहीको सिफारिस समेत गरेको छ।
यसै गरी धर्मशाला निर्माण गर्दा र सम्झौता भए बमोजिम बेडको सङ्ख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनुपर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरू राखेको, कोषको स्वीकृति बेगर धर्मशालाको भित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरू निर्माण गरेर सर्तहरू उलङ्घन गरेको समितिले दाबी गरेको छ।
उकेराले आइतबार कोष र होटल आनन्दबिच भएको सम्झौता पत्र सहित कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल र होटल आनन्दको तर्फबाट ओस्कर बतासले गरेको सम्झौता-पत्रमा नयाँ संरचना बनाउन दुई करोड रुपैयाँसम्म लगानी गर्नुपर्ने र पूर्वस्वीकृति लिएर भाडा दर तोक्न सकिने सुविधा दिइएको खुलासा गरेको थियो।
२०७५ माघ २९ मा भएको टेण्डर आह्वान अनुसार २०७६ वैशाख ३० मा भएको सम्झौतामा कोषका उप-निर्देशक राजुकुमार रेग्मी साक्षी बसेका छन्।
उकेरालाई प्राप्त सम्झौता-पत्र अनुसार सम्झौताको १६ नम्बरमा भवनमा आवश्यक थप सुविधाहरु निर्माण गर्नका लागि भवनको मुल संरचना (बिम पिलर) बाहेक अन्य आन्तरिक तथा बाह्य संरचनामा थप निर्माण, फेरबदल गर्न प्राप्त निवेदन सम्बन्धमा कोषको तर्फबाट संयोजक, कोषाध्यक्ष परिषद् सदस्य तथा धर्मशाला हेर्ने महाशाखा प्रमुख सदस्य सहितको तीन सदस्यीय समितिको सिफारिस भई स्वीकृतिपश्चात् आफ्नै लगानीमा गर्नुपर्ने उल्लेख छ।
करारको तेस्रो नम्बरमा १९ रोपनी क्षेत्रफलमा रहेको धर्मशालाको मुल संरचना निर्माण र खाट-पलङको व्यवस्था भइसके पनि कोठाहरुमा स्नान गर्ने तथा अशौच गर्ने संरचना, कोठामा वातानुकुलित प्रणाली, आन्तरिक सजावट, इन्टरकम प्रणाली, सभा-सेमिनार हल, पसल कबल लगायतको जडान र निर्माण काम बाँकी रहेको भन्दै सो दोस्रो पक्षको लगानीमा बनाउनुपर्ने उल्लेख छ।
माघ ३, २०७८ सोमबार १७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।