यति समूहको पथ पच्छ्याउँदै बतास समूह : जहाँ-जहाँ एमाले नेतृत्व त्यहीँ बतासको प्रभाव

यति समूहको पथ पच्छ्याउँदै बतास समूह : जहाँ-जहाँ एमाले नेतृत्व त्यहीँ बतासको प्रभाव

पर्यटनको विकास भन्दै यती समूहले नारायणहिटी अगाडिको नेपाल ट्रष्टको जग्गादेखि निकुञ्जको जग्गा निर्णायक राजनीतिक तहलाई प्रभावमा पारेर सस्तो दरमा भाडामा लिएको छ। बतासको पनि शैली यतीको भन्दा भिन्न देखिदैन।

प्राय धार्मिक र पर्यटकिय क्षेत्रमा नजर लगाउँदै आएको यो समूहले यस अगाडि नै पशुपति क्षेत्र विकास कोषको नेतृत्वलाई प्रभावमा पारेर मन्दिर दर्शनका लागि आउने भक्तजनका लागि भारत सरकारको सहयोगमा बनेको धर्मशाला भाडामा लिएर होटल बनाउन सफल भएको थियो। पशुपति मन्दिरको दर्शनका लागि आउने धार्मिक पर्यटकको सुविधाका लागि धर्मशालाको अभाव भएपछि भारत सरकारले तिलग‌ंगा क्षेत्रमा आधुनिक धर्मशाला बनाउन सहयोग गरेको थियो।

तर पर्यटन मन्त्रालयको तत्कालीन नेतृत्वलाई बतास समूहका प्रमुख आनन्द बतासले प्रभावमा पारेर संरचना समेत बदलेर होटलका रूपमा चलाउन अनुमति पाएको थियो। यति मात्रै हैन। यही समूहले पाटन क्षेत्रमा समेत पाटी भाडामा लिएर व्यापार गरिरहेको छ। पोखरा महानगरपालिकाको नेतृत्वलाई प्रभावमा पारेर रामघाट क्षेत्र भाडामा लिएर स्थायी ड्याम बनाएर पर्यटकीय प्रयोजनमा प्रयोग गर्ने र पातले छाँगो भाडामा लिएर व्यापारिक प्रयोजनमा प्रयोग गर्न समेत यही समूह सक्रिय छ।

सरकारलाई पत्तै नदिई पोखराको मणिपाल अस्पतालको शेयर किन्ने २ व्यापारिक संस्थामध्ये बतास पनि हो। बतासले नै मनाङकोमा सरकारी जग्गा भाडामा लिएर रिसोर्ट लगायतका संरचना बनाउने प्रयास गरिरहेको छ।

बतास समूह अन्तर्गतको इस्टर्न एजेन्सीले आइसर ब्रान्डका गाडी विक्री गर्दै आएको छ। तर यसका सञ्चालक आनन्द बतासको पर्यटकीय क्षेत्रमा बढी रुचि देखिन्छ। जसरी यती समूहले सरकारी निकायलाई प्रभावमा पारेर पर्यटकिय दृष्टिले महत्त्वपूर्ण क्षेत्र सस्तो दरभाउँमा भाडामा लिँदै आएको छ बतास अर्गनाइजेसले पनि उस्तै शैली अपनाएको देखिन्छ।

जता एमाले नेतृत्व त्यहीँ बतास

पर्यटन, कृषि र अटोमा लगानी गर्दै आएको यो समूहले प्राचीन सम्पदा र ऐतिहासिक क्षेत्रलाई उपयोग गर्दै व्यापार गर्दा विवादमा आउने गरेको छ।  यसका प्रमुख हुन् पोखराका आनन्द बतास। पर्यटन सम्बन्धी निर्णायक तहमा रहेका एमालेका नेता र जनप्रतिनिधीहरुमा उनको बलियो प्रभाव देखिन्छ। पर्यटन मन्त्रालयमा एमालेका सांसद मन्त्री भएर गएपछि नै पर्यटन क्षेत्रमा उसको प्रभाव बढेको थियो। 

पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर धर्मशालालाई होटल बनाउन होस् या नारायणहिटीभित्र रेस्टुरेन्ट खोल्न होस् उनलाई एमालेबाट बनेका मन्त्रीले नै सघाएका थिए। पहिला उनलाई पोखराका सांसद रवीन्द्र अधिकारीले सघाए। अधिकारीको निधनपछि पर्यटन मन्त्री बनेका योगेश भट्टराइले सघाए।

पातले छाँगो र रामघाट क्षेत्र भाडामा दिन पोखरा महानगरपालिकाको नेतृत्वले बतास समूहलाई सघाएको थियो। पोखरा महानगरपालिकाका मेयर एमालेका हुन्। महानगरले सम्झौताको तयारी गर्ने तयारी गरे पनि विरोधका कारण पछि हटेको थियो।

धर्मशाला यसरी बन्यो होटल

तिलगंगा क्षेत्रमा रहेको आँखा अस्पतालसँगको पशुपति क्षेत्र विकास कोषको जग्गामा भारत सरकारले धर्मशाला बनाइदियो। धर्मशालाको नाम राखियो 'नेपाल-भारत मैत्री धर्मशाला।

२०७१ साउन १८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आएको बेलामा धर्मशाला बनाउने सम्झौता भएको थियो। करिब २५ करोडको खर्चमा धर्मशाला बनेपछि मोदी नेपाल आएको अवसर पारेर  २०७५ भदौ १५ मा मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मशालाको उद्घाटन गरेका थिए।

रमन कन्ट्रक्शनले धर्मशाला बनाउँदा तिर्थालुहरुको सुविधा अनुसार बनाएको थियो। २०७६ मा धर्मशालाको व्यवस्थापन आफैँले नगरेर पर्यटन मन्त्रालय मातहत रहेको पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव  डा. प्रदीप ढकालले बतास अर्गनाइजेसन अन्तर्गतको होटल आनन्द प्रालीलाई भाडामा दियो। अनि नेपाल-भारत मैत्री धर्मशाला बन्यो आनन्द होटल। ढकाल सदस्य सचिवहुँदा पर्यटन मन्त्री थिए  नेपाल लोकतान्त्रिक फोरमका जितेन्द्र देव।

पाटनको पाटीमा व्यापार

बतासकै बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालीले ४ वर्षयता पाटन दरबार क्षेत्रको  बोधपाटीमा व्यापार गर्दै आएको छ। पाटन सङ्ग्रहालय विकास समितिसँग उसले  १५ वर्षका लागि पाटी भाडामा लिएको थियो। प्रालीले २०७३ चैत १ गते देखि पाटी भाडामा लिएर पसल चलाउँदै आएको छ।  स्थानीयले त्यसको विरोध गरे पनि पर्यटन मन्त्रालय अन्तर्गतको सङ्ग्रहालयले त्यसको वास्ता गरेको छैन। 

१५ वर्षका लागि पाटी भाडामा पाएको उसले त्यहाँ  हिमालयन जाभा कफी सप, नेपाल इन्भेस्टमेन्ट बैङ्क लगायत तीन बैङ्कको काउन्टर राखेर भाडा उठाइरहेको छ। सम्पदा संरक्षकहरूले परम्परागत पाटीलाई व्यापारिक प्रयोजनमा प्रयोग गरेको भन्दै विरोध गर्दै आए पनि सम्झौता तोडिएको छैन।

सरकारलाई छलेर मणिपालको शेयर

यही समूहले सरकारलाई बाइपास गरेर पोखरामा रहेको मणिपाल अस्पतालको सेयर किनेको थियो। सम्झौता अनुसार भारतीय पक्षले अस्पताल चलाउन नसके नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा बतास र अटोवेज ग्रुपले भारतीय पक्षको शेयर किनेका थिए।

भारतीयपक्षले सम्झौता अनुसार सरकारलाई हस्तान्तरण नगरी व्यापारिक समूहलाई शेयर बेचेको खुलासासँगै विवाद भयो। संसदीय समितिले समेत यसबारे छानबिन गरेको थियो। तर सरकारले यसबारे अझैँ कुनै निर्णय गर्न सकेको छैन।

रामघाट र पातले छाँगोमा नजर

बतास समूहकै व्यास हिल्स प्राइभेट लिमिटेडले मानुङकोटमा पर्यटकीय संरचना बनाउन  ४ अर्बको लगानी गर्ने भन्दै व्यास नगर पालिका पेस गरेको प्रस्ताव पारित भएको थियो। 

पोखराको रामघाट क्षेत्रमा रिसोर्ट बनाउन बतास समूहले ४० वर्षका लागि सरकारी जग्गा भाडामा लिने प्रयास गरेपछि विवाद भएको थियो। सेती नदीको किनार अनि धार्मिक रूपमा समेत महत्त्वपूर्ण भाग व्यापारिक स्वार्थमा उपयोग गर्न लागेको भन्दै विवाद भएको थियो। 

पोखरा महानगरपालिकाको नेतृत्वलाई प्रभावमा पारेर रामघाट क्षेत्र भाडामा लिन लागेको भन्दै विवाद भएको थियो। महानगरले सार्वजनिक–निजी साझेदारी (सानिसा) अवधारणामा पातले छाँगो सिसा पुल निर्माण तथा अन्य पूर्वाधार विकास आयोजना र सेती खोँच पर्यटन पूर्वाधार विकास आयोजनामा २०७५ फागुन २० मा मनसाय पत्र आह्वान गरेर प्रक्रिया अगाडि बढायो।

रामघाट क्षेत्रमा सेती नदीमा स्थायी ड्याम बनाएर ३५ वर्षसम्म नदीजन्य सामग्री सङ्कलन अनि निकासी गर्ने भन्दै बतास अर्गनाइजेसनको बी रिभर माइनिङ प्रालीलाई जिम्मा दिने तयारी गरियो। यसमा बतासका अध्यक्ष आनन्दराज बतास र मोरेखरेका अध्यक्ष विजय भट्टराई साझेदार छन्।

सँगै महानगरले पोखराको पातले छाँगो क्षेत्र समेत बतास समूहलाई  भाडामा दिने प्रयास  गरेको थियो। रिसोर्ट लगायतका भौतिक संरचना बनाउन पाउने गरी सम्झौताको तयारी भएपछि भौगोलिक रूपमा समेत जोखिम रहेको क्षेत्रमा व्यापारिक स्वार्थमा भौतिक संरचना बनाउने अनुमति दिन लागेको भन्दै विरोध भएको थियो।

सरकारी अनुदान लिन फन्डा

तस्बिर : मकालुखवर

बतास समूहले नै केही समय पहिला व्यवसायीक रूपमा कृषि फार्म सञ्चालन गर्ने भन्दै किसानहरू आवश्यक भएकोबारे विज्ञापन प्रकाशित गरेको थियो। हिमाल साप्ताहिकको खोजमा बतास समूहले व्यवसायीक कृषिको नाममा सरकारबाट अनुदान लिने गरेको खुलाएको थियो। 

पुष १९, २०७८ सोमबार १९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।