जग नै कमजोर ‘कठपुतली’ उर्फ प्रकाश सपुतको बदला बरिलै
भूत, प्रेत, आत्मा। यिनीहरूसँग कहिल्यै वास्तविक जीवनमा भेट भएको छ? यिनीहरूकै परिवारका सदस्यहरू हुन् किचकण्डी र मुकुर्टाहरु। यहाँ हामीले मुकुर्टाका कुरा गरिरहेका छैनौँ, किचकण्डीका आत्माहरू सलबलाइरहेका छन्, राजासँग बदला लिन।
आम नागरिकहरू राजाको शासन विरुद्ध आन्दोलनमा छन्।
देशका युवराज आकाशदिप (कर्मा शाक्य)लाई राजा हुनुछ, आफ्नो भर्खर जन्मेको छोरालाई दरबार सुम्पनु छ। त्यसैले उ नागरिकलाई भेडा सोच्दै माफी मागेर राज्य जोगाउन पिताजीसँग बिन्ती गर्छ। तर राजा सहित राजपुरुषहरू नागरिकका अघि घुँडा टेक्न चाहँदैनन्।
जनताको साथ नपाएर दरबार कमजोर बनेको छ। यही मौकामा किचकण्डीहरु दरबारसँग बदला लिने सोचमा छन्। राजा महाराजाको भोग विलासीका सामान बनेका, बलात्कारपछि गर्भवती भएका महिलाहरूलाई दरबारले मार्ने गरेको थियो।
कसैको घाँटी थिचेर, कसैलाई नदिमा बगाएर त कसैलाई जिउँदै खाल्टो खनेर पुरेका महिलाहरू किचकण्डी बनेर बदला लिन एकीकृत बनेका थिए।
ती किचकण्डीहरुको दरबारसम्म पुग्ने पहुँच बन्छन्, युवराज। फिल्मको कथा किचकन्डीको राजा र राजपुरुषसँगको बदलामा घुमेको छ।
जग नै कमजोर
घर बलियो बन्नका लागि जग बलियो बनाउनुपर्छ भन्छन् सिकर्मीहरू। फिल्मका लागि कथा जग हो भन्छन् फिल्मकर्मीहरू। तर प्रचार प्रसारका क्रममा जति नै ठुला गफ लडाए पनि फिल्मको कथा कमजोर छ।
फिल्ममा अभिनय गर्ने कलाकार भयङ्कर डराउँछन् तर दर्शकलाई कति पनि डर लाग्दैन।
फिल्मले दरबारको इतिहास भनिरहेछ या किचकण्डीको बदलाको कथा। जनताको जनआन्दोलनको कथा भनिरहेको छ या दरबार भित्रको पारिवारिक लडाइँ। कथा प्रस्ट छैन। फिल्मले देखाउन खोजेको कथा के हो? यसको उद्देश्य के हो भन्ने नै प्रस्ट नभएपछि अरूतिर जति नै मिहेनत गरे पनि फिल्म कमजोर बनिदिन्छ।
फिल्ममा राजाले जनतालाई कठपुतली बनाए कि जनताले राजालाई? कि किचकण्डीले बदला लिन युवराजलाई कठपुतली बनाए? कतै तान्त्रिक (मिथिला शर्मा) ले दरबारसँग बदला लिन किचकण्डीलाई त कठपुतली बनाइनन्? फिल्ममा केही प्रस्ट छैन।
अब फिल्ममा युवराज सुत्यो, झुलुक्क एक डरलाग्दो दृश्य झुल्कन्छ अनि शान्त हुन्छ। डरलाग्दो आवाज ब्याकग्राउण्डमा बज्न थाल्यो, अब भूत पानीको बाल्टीबाट निस्कन्छ, फिल्मका मुख्य कलाकार डरले काम्छन्। यी कुराहरू फिल्म हेरिरहँदा सहजै अनुमान लगाउन सकिन्छ। फिल्ममा अभिनय गर्ने कलाकार भयङ्कर डराउँछन् तर दर्शकलाई कति पनि डर लाग्दैन।
फिल्मको अन्त्यमा मिथिला शर्माले दरबारको ढोकामा ताल्चा लगाउँछिन् र साँचो खोलामा बगाउँछिन्। यसको अर्थ के हो? फिल्ममा यसको महत्त्व के छ? के दर्शक फिल्म बुझ्दैनन् भन्ने देखाउन मात्रै त्यस्ता दृश्य राखिएका हुन्? किनभने यस्ता कुराले फिल्ममा केही महत्त्व राख्दैन।
फिल्म हेरिरहँदा युवराजप्रति दया पलाउँछ। बिचरा बाबुले गरेको अपराधको सजाय उसले भोगिरहेको छ। आखिर किन? युवराजले केही अपराध नगरेरै लेखकले किन सजाय दिए होलान्, कथामा यसको उत्तर छैन।
जब युवराजले भुतनीको वास्तविकता थाहा पाउँछ, शोभा(उषा रजक) निराश बन्छिन्। आफ्नो वास्तविकता थाहा पाएको भन्दै तान्त्रिकसँग बिदा माग्छिन्। उनी ज्युँदै गाडिएर किचकन्नी बनेकी छिन्। बदला लिन त्यत्रो भूमिका निभाएकी बहादुर शोभा काम सकिएपछि आँखा रसिलो पार्दै भन्छिन्, अब यही जङ्गलतिर भड्किने त होला नि। बदला लिन सफल भएकोमा शोभा खुसी हुनुपर्ने हैन र? कि दर्शकले लेखकको कथा बुझेनन्?
फिल्मको अन्त्यमा एक भुतनीले बच्चा उठाएर हाँस्छिन्। फिल्म चलिहाले अर्को सिजन बनाउन त्यो दृश्य राखिएको हो भने ठिक छ, नत्र त्यो किन राखिएको हो त्यो पनि दर्शकको दिमाग भन्दा माथिको कुरा हो।
कथाले डर नलागे पनि कलाकारको मेकअपले दर्शक तर्सन्छन्।
फिल्मको सम्पूर्ण कथा प्रकाश सपुतको तिज गीतले भनिदिएको छ। यदि युट्युबमा सपुतको बदला बरिलै गीत हेर्नुभएको छ भने पिडकको ठाउँमा दरबार र पीडितको ठाउँका दरबारका नोकर्नीहरूलाई राख्नुस्। भड्किएका आत्मा एकीकृत गर्न र त्यसलाई नचाउन एक तान्त्रिक थप्नुस्। बस् फिल्मको कथा त्यत्ति हो।
अरूसँग तुलना गर्दा...
हामी नेपालीको बानी छ, तुलना गर्ने। अन्य देशसँग तुलना गर्दा हामी नेपाली भएर यत्तिको बन्नु धेरै राम्रो हो भन्छौँ। यदि कठपुतलीलाई पनि सिमाना निर्धारण गर्ने हो भने, अहिलेसम्म बनेका नेपाली हरर फिल्ममा यो उत्कृष्ट हो। किनभने कथा बाहेक फिल्मका अन्य पाटोहरू राम्रो छ।
फिल्मको खिचाइ राम्रो छ। सिङ्गल थिएटरमा त खासै जम्दैन तर मल्टिप्लेक्स हलमा लाइटिङ राम्रो देखिन्छ। कलरिंगमा पनि मेहनत गरिएको छ। हरर फिल्ममा ध्वनिको महत्त्व धेरै हुन्छ। फिल्ममा ध्वनिको काम मध्यम देखिन्छ।
पहिरन र मेकअपमा उत्कृष्ट
फिल्मको सबल पक्ष भनेको कलाकारको अभिनय हो। तान्त्रिकको भूमिका निर्वाह गरेकी मिथिला शर्मा र भूत बनेकी उषा रजकको अभिनय गज्जब छ। युवराज बनेका कर्मा शाक्यले पनि दर्शकलाई तानिरहन्छन्। फिल्ममा गौरी मल्ल, सुवर्ण थापा, शिल्पा मास्के, धुव्र कोइराला लगायतको अभिनय पनि अब्बल छ।
फिल्ममा मेकअपमा राम्रो काम भएको छ। कथाले डर नलागे पनि कलाकारको मेकअपले दर्शक तर्सन्छन्। कलाकारको पहिरनमा पनि राम्रो काम भएको छ। फिल्ममा धन्यवादका पात्रहरू मेकअप, पहिरन र कलाकार छन्। नेपाल बाहिरका ध्वनि सम्पादक, छायाकारले पनि राम्रो काम गरेका छन्।
जग बलियो नभए पनि झलक्क हेर्दा फिल्म राम्रै देखिन्छ। अन्तर्राष्ट्रिय अवार्ड जितेको फिल्म, मन पर्ने कलाकारले अभिनय गरेको फिल्म लगायतका विधामा छुट्टाएर हेर्ने हो भने तपाइँका लागि फिल्म मन पर्न सक्छ। तर तपाई द मम्मी, द कन्जुरिङ, द नुन, गुडनाइट मम, आइटी जस्ता हरर फिल्मको फ्यान हुनुहुन्छ भने कठपुतली मन नपर्न सक्छ।
पुष १७, २०७८ शनिबार ०९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।