गृहको विज्ञप्तिपछि सशस्त्रले जारी गर्‍यो स्थायी आदेश

गृहको विज्ञप्तिपछि सशस्त्रले जारी गर्‍यो स्थायी आदेश

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालले आफ्ना कर्मचारीहरूलाई कुटनीतिक नियोग तथा राजनीतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचारण सम्बन्धि स्थायी आदेश २०७९ जारी गरेको छ।

गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेताहरूलाई भेट्दा अनिवार्य रूपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी बलले स्थायी आदेश जारी गरेको हो।

यसबाट आफुखुशी भेटघाट गर्ने परम्पराको अन्त्य हुने र भेटघाट गर्नुपरेमा आचारण सम्बन्धि स्थायी आदेशनुसार अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने प्रवक्ता सहायक प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी कर्मचारीहरूले सरकारी प्रयोजनको लागि भेटघाट गर्नुपर्ने भए संगठनको तर्फबाट सम्बन्धित कर्मचारीको नाममा जारी गरिएको रवानापत्र वा तोक आदेशपत्र साथमा लिई जानुपर्ने सूचनामा उल्लेख छ।

यसैगरी कुतनीतिक भेटघाटका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी गरिएको कुतनीतिक आचारसंहिता, २०६८ मा उल्लेख भएनुसारको प्रक्रिया पूरा गर्नुपर्नेछ।

भेटघाट तथा सम्पर्क सम्बन्धमा राजपत्राङ्कति अधिकृतहरूले फारम अनुसारको निवेदन आफू कार्यरत कार्यालयबाट सिलसिलेवार रूपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मार्फत सशस्त्र प्रहरी महानिरीक्षकबाट स्वीकृति लिनुपर्नेछ भने राजपत्र अनङ्कित कर्मचारीहरूले आफू कार्यरत कार्यालय मार्फत सिलसिलेवार मानवश्रोत विभाग प्रमुखको स्वीकृति लिनुपर्नेछ र सो स्वीकृतिको जानकारी मानवश्रोत प्रमुखले सशस्त्र प्रहरी महानिरीक्षकलाई गराउनुपर्नेछ।

यसरी स्वीकृती लिई गरिएको भेटघाट तथा सम्पर्कको संक्षिप्त विवरणको जानकारी सिलसिलेवार रूपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा दिनुपर्नेछ।

साथै, स्थायी आदेशमा विभिन्न संचारमाध्यहरूमा सम्पर्क तथा सूचना आदनप्रदान गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता वा सूचना अधिकारीबाट मात्र गर्नुपर्नेछ भने मातहत इकाईका सूचना अधिकारीहरूले सशस्त्र प्रहरी बल नेपालको परिचालन सम्बन्धमा सूचना प्रवाह गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्तासँग समन्वय गर्नुपर्नेछ।

सशस्त्र प्रहरी प्रवक्ता, सहायक प्रवक्ता तथा सूचना अधिकारीहरू बाहेक अन्य सशस्त्र प्रहरी कर्मचारीले सञ्चारमाध्यममा कुनैपनि सूचना संप्रेषण गर्नुपरेमा वा अन्तरवार्ता दिनुपरेमा स्थायी आदेशमा जारी गरिए अनुसारको निवेदन दिई सशस्त्र प्रहरी प्रवक्ता मार्फत सशस्त्र प्रहरी महानिरीक्षकको स्वीकृति लिनुपर्नेछ।

पुष १६, २०७९ शनिबार २१:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।