पोखरा ओपन टेनिसको उपाधि प्रदिप र अभिलाषालाई
पोखरा : पोखरामा सञ्चालन भएको टेनिस प्रतियोगिताको उपाधि खेलाडीद्वय प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन्।
बिजेता टेनिस खेलाडी खड्का नेपालको च्याम्पियन खेलाडी हुन्। उनीसहित अभिलाषाले १९औं माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस सिंगल्सतर्फको उपाधि हात पारे।
पोखरा रंगशालामा सम्पन्न मेन्स सिंगल्सतर्फको प्रतिस्पर्धात्मक खेलमा प्रदिपले प्रनभ खनाललाई २–१ ले हराउँदै उपाधि हात पारेका हुन्। प्रदिपले पहिलो सेट ६–३ ले जित्दै प्रनभमाथी दबाव बनाउने प्रयास गरेका थिए।
तर, दोश्रो सेटमा प्रनभ खेलमा फर्कँदै १–६ ले जितेर प्रदिपलाई चुनौती दिए। तर अन्तिम सेटमा प्रदिपले ७–५ ले खेल जित्दै उपाधि सहित नगद ८० हजारका साथमा ट्रफी हात पारे।
प्रदिप नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता समेत हुन् । उपविजेता बनेका प्रनभले नगद ४० हजार रूपैयाँ पाए।
सिंगल्सका उपाधि विजेता प्रदिप डबल्सतर्फको उपाधिसमेत जिते। नेहाल जङ्गबहादुर थापा र प्रदिपको जोडीले डबल्सतर्फ उपाधि जिते।
त्यस्तै उमेन्सतर्फ अभिलाषा विष्टले उपाधि सहित नगद ८० हजार रूपैयाँका साथमा ट्रफी हात पारिन्। फाइनल खेलमा अभिलाषाले सर्भानी श्रेष्ठलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरिन्। उपविजेता सर्भानीले नगद ४० हजारका साथमा ट्रफी हात पारिन्।
यस्तै शनिबार नै सम्पन्न ३५ वर्षमाथिकोख मेन्स भेट्रान्स सिंगल्सको उपाधि जितेन्द्र परियारले जिते। जितेन्द्रले कमल भण्डारीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरे। उपाधिसहित उनले ६० हजार रूपैयाँ हात पार्दा उपविजेता कमलले ३० हजार रूपैयाँमा चित्त बुझाए।
४५ वर्षमाथि भेट्रान्स सिंगल्समा बिमल गुरुङलाई सुपर ट्राइ ब्रेकरमा हराउँदै रोहित सुनुवार विजयी भए। पहिलो सेट ६–४ ले जित्दै रोहितले आफ्नो पक्षमा पारे पनि दोश्रो सेट २–६ ले गुमाए। अन्तिम सेटमा १०–४ ले जित्दै रोहितले उपाधिसहित नगद ४० हजार रूपैयाँ पाए।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधिसहित ३५ हजार रूपैयाँ सौगात बिकले हात पारे।
पुष १६, २०७९ शनिबार १९:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।